Thursday, April 30, 2009
स्वदेश गान
गजल
-राज लम्साल "यात्री"
आज तिम्रो जन्म दिन रमाउदै हाँस तिमी
भोलि आउने खुशीयाली आँखाभरि साच तिमी
हिजो जे थ्यो भुलिदेऊ नराम्रा ती सबै कुरा
राम्रो पक्ष मनन् गरी मष्तिस्कलाई जाँच तिमी
बढाऊ अघि पाइला तिम्रो एउटै लक्ष्य बोकी सधै
बिजयको उदघोष गरी अलिकति नाच तिमी
जिन्दगी त त्यो हो राम्रो नदुखाई कसैको मन
काँडा सरी हैन साथी फूल बनी बाँच तिमी
-महारानी झोरा-३, झापा
Tuesday, April 28, 2009
स्रस्टासँग अन्तरङ कुराकानी-अप्रिल २००९
-आचार्य प्रभा
♣ सम्पूर्ण साहित्यप्रेमीहरुको बिसाउने चौतारी 'साहित्य-सागर' मा यहाँलाई स्वागत छ ।
-धन्यवाद । मलाई पनि आफ्ना भावनाहरु पोख्ने अवसर दिनु भएकोमा 'साहित्य-सागर' प्रति आभारी छु ।
♣ तपाईंको लेख, रचना पढ्ने पाठकहरुले तपाईंलाई एउटा राम्रो साहित्यकार/ लेखिकाको रूपमा चिन्छन् अवश्य तर तपाईं कहाँ के गर्दै हुनुहुन्छ भन्ने चाहि धेरैलाई थाहा नहुन सक्छ । संक्षेपमा बताई दिनुहोस् यसबारे ।
-म राम्रो साहित्यकार आफूलाई भन्न चाहन्न । अवश्य लेख्न प्रयास गर्ने लेखिका भन्न रुचाउछु । अहिले म अमेरिकामा छु र प्राय: मेरा पाठक र श्रोताहरुलाई जानकारी पनि छ किनकी म धेरै वेबसाईट पत्रपत्रिका मार्फत् मेरा पाठकहरु माझ प्रस्तुत भैइरहेकी छु । बाँच्नको लागि आफ्नै रेस्टुराँमा काम गरिरेह्की छु ।
♣ नेपाली भाषा र साहित्यको सेवामा कसरी आफ्नो सक्रियता जनाउदै हुनुहुन्छ ? अमेरिकाको डायोस्परिक नेपाली साहित्य गतिबिधिहरुको बारेमा भनि दिनुहोस् न ।
-म यस्तो ब्यस्त शहरमा भए पनि भाषा र साहित्य सेवामा समर्पित छु ।अमेरिकाको डायोस्परिक नेपाली साहित्य गतिबिधिको कुरा गर्ने हो भने यहाँ बस्ने साहित्यकार, लेखकहरुले आफूलाई यो क्षेत्रमा ज्यादै समर्पण गरेका छन् ।
♣ शुरुमा यो साहित्य क्षेत्रमा लाग्न कसरी प्रेरणा मिल्यो तपाईलाई ?
-आफूमा प्रतिभा हुनुको साथै घरको माहौल पनि त्यस्तै थियो र मैले पनि यसैमा आफ्नो सम्पूर्ण समय खर्चिएँ। प्रेरणा भन्नु नै आफ्नो लगाव पनि हो र बाँकी प्रयास पनि हो ।
♣ साहित्यिक यात्रामा धेरै पाइला अघि बढाई सक्नु भएको तपाईं आफूलाई कहाँ पुगिसकेको आभाष हुन्छ ?
-मैले यो क्षेत्रमा बिगत २०३४ साल देखि नै यात्रा गरिरहेता पनि म आफूलाई भर्खर यसको छानो मुनिबाट बामे सर्दैछु जस्तो लागेको छ ।
♣ तपाईको कलम गीत र कबिता बाहेक अरु कुन-कुन बिधाहरुमा चलिरहेको छ ?
-मेरो कलम साहित्यको प्राय:सबै बिधामा नै चलिरहेको छ । म बिगत देखि नै नाटक, गीतिकथा, लघु कथा, गजल, भजन, समिक्षा, लेख आदि लेख्ने गर्दथेँ । मेरा सम्पूर्ण रचनाहरु बिभिन्न रेडियो, एफएम, पत्रपत्रिकाहरुमा प्रशारण र प्रकाशित हुने गर्दथ्यो । म नेपाल आर्मीको रडियोमा नियमित नाटक, गीतिकथा र अन्य रचनाहरु लेख्ने गर्दथेँ ।
♣ साहित्यलाई परिभाषित गर्नु पर्दा के भन्नुहुन्छ ?
-साहित्य निश्छल निष्कलंक समुन्द्र हो। जहाँ हामी पौडेर यसको गहिराइ भेट्न नै सक्दैनौ । साहित्य मनको भावना पोख्ने चौतारी हो। जहाँ हामी आफ्ना गुम्सिएका भावनाहरुलाई ब्यथा, कथा, गीत बनाएर पोख्छौ। सबैको भाषामा भन्नु पर्दा साहित्य समाजको दर्पण हो, जस्ले समाज, देशको बिसंगती, बिकृतीलाई ऐना भएर छर्लङ्ग देखाईदिन्छ । साहित्य लुछाचुँडी गर्ने अरु क्षेत्र जस्तो ठाउँ हैन जहाँ जहिल्यै तेरो र मेरोको भावना र बर्ग, भेद, जाति , लिङ्गको लागि लडिन्छ । समग्रमा भन्नु पर्दा साहित्य सुन्दर नगरी हो जहाँ फूलैफूलको बगैचाले ढकमक्क सजिएको आभाष हुन्छ ।
♣ प्राय: जसो तपाईंले आफ्ना लेखनमा घुसाउने बिषयबस्तु कस्ता खालका हुन्छन् ?
-मेरा कुनै पनि लेखनमा म समाज र देशमा भैरहेका बिकृती, बिसंगती र आफूलाई कुनै कुराले चोट पारेको छ भने त्यसैलाई उजागर गर्ने कोशिश गर्छु । यही नै मैले लेख्नु पर्छ भन्ने बिषय छैन अर्थात् जुन लेख भावनाले मात्र ओतप्रोत भएको हैन,त्यो लेख रचनाले सबैलाई नै जागरुक बनाउने, हौसला दिने र केही गर्न प्रेरणा दिने खालका लेख्ने कोशिश गर्छु । मेरो लेख रचनामा जाति , भेद, बर्ग,लिङ्ग यी कुनै पनि कुराको गन्ध हुँदैन । म समान रूपमा सबैलाई पात्र बनाएर लेख्छु ।
♣ नेपाली साहित्य अहिले कतातिर गैरहेको महसुश गरिरहनु भएको छ ?
-नेपाली साहित्य पनि अहिले आफ्नो दौड्मा अरु देशको साहित्य झै रफ्तारमा र स्तरियतामा गैरहेको मलाई आभाष भैरहेको छ । हाम्रा अग्रजहरुले यसको लागि धेरै लडाईं लडिदिनु भएको छ र हामीले पनि यसमा सजिलै पाईला चाल्न सकिरहेका छौं ।
♣ अहिले नेपालमा मोफसल र राजधानीको साहित्यमा कुन बडी तगडा छ तपाईंको बिचारमा ? -म यसको सही जवाफ दिन सक्षम छैन किनकी साहित्य लेखनलाई भूगोल र परिधिले छेक्दैन जस्तो लाग्छ ।सबै साहित्यकार मोफसलबाट नै लेखिरहेका छन् औसतलाई छाडेर जस्तो लाग्छ मलाई ।
♣ नेपाली राजनीतिमा सडक र सदन 'समाबेशी ' को कुरा चर्की रहेको बेला पनि साहित्यमा भने 'समावेशी' को नामोउच्चारण सम्म भएन किन होला ?
-साहित्य चोखो खेलको मैदान हो । यसका पात्रहरु सडक नै चाहन्छन् जहाँ नाङ्गो पाईतला लिएर पनि बिझाएको आभाष नगरी हिड्न चाह्न्छन् ।
♣ स्थापित साहित्य लेखेर पनि नेपाली साहित्यकारहरु जिविकोपार्जनको लागि अन्य रोजगारीमा किन भर पर्नु परेको जस्तो लाग्छ तपाईंलाई ?
-हाम्रो देशको बिडम्बना नै यही छ कि साहित्य अहिले सम्म ब्यवसायिक हुन सकेको छैन र साहित्यलाई हेर्ने आँखाहरु अझै सम्म उघ्रेका छैनन् । त्यसैले पनि नेपाली साहित्यकारहरु अन्य पेशामा नै भर पर्नु परेको छ ।
♣ अहिले सम्म प्रकाशित तपाईंका कृतिहरु कुन-कुन हुन् ?
-धेरै लामो यात्रा पछि मात्र मेरो कबिता सङ्ग्रह भर्खर जन्मेको छ । 'परदेशबाट' २०६४ सालमा म अमेरिकामा भएपनि मैले यो मेरो कृतिलाई आफ्नो देश नेपालबाट नै जन्माउने प्रयास गरें। गीति सङ्ग्रहहरु भने २०५१ सालमा 'तिम्रो पर्खाइमा' र 'ड्रिम्स' एकै साथ रिलिज भयो 'ईश्वर बन्दना' २०५५ सालतिर नेपाल क्यासेट इन्डस्ट्री बिराटनगरले निकाली दियो । अन्य धेरै सङ्ग्रहहरुमा मेरा गीतहरु सङ्ग्रहित छन् ।
♣ तपाईंको मनलाई ओल्टाई पोल्टाई छुन सफल साहित्यकारहरुमा को-को पर्दछन ?
मलाई सबै साहित्यकारहरुको आ-आफ्नै बिशेषता भए जस्तो लाग्दछ । पारीजातको आफ्नै बिशेषता थियो । बिपीको आफ्नै थियो। खगेन्द्र सङ्ग्रौलाको आफ्नै छुट्टै बिशेषता छ । कथाकारहरुमा पुराना कथाकारहरु मध्ये गोबिन्द गोठाले, अषेश मल्ल। त्यसैले मेरो मनलाई छुन सफल सबै साहित्यकारहरु पर्नु हुन्छ ।
♣ साहित्यमा आएका बग्रेल्ती धार र बादहरुको आन्दोलन प्रति तपाईंको धारणा नि ?तपाईको लेखनमा कुन धार बादमा प्रभावित छ ?
-साहित्य आखिर समाजको चेतना हो। यो जुनसुकै धारमा बहे पनि यसको उदेश्य समाजका बिकृतिहरुलाई उजागर गर्नु हो । बाद् र धारमा परिभाषित भएर यसले आफूलाई कमजोर बनाउनु भन्दा साहित्य कंचन नदी हो भनेर परिभाषित गर्नु नै श्रेयस्कर होला जस्तो लाग्छ । मेरा रचनाहरु धार र बाद मा भन्दा सही चेतना दिलाउनमा अभिप्रेरित छन् जस्तो लाग्छ । म धार र बाद सम्म आफूलाई पुगेको जस्तो लाग्दैन। म त बामे सर्दैछु नि त !
♣ कतिपय नेपाली साहित्यकारहरुले नेपाली साहित्य स्तरिय भएन,भएन भनेर बिभिन्न साहित्यिक गोष्ठी, सभा र जमघटमा भन्ने गरेका छन् । के नेपाली साहित्य साच्चै स्तरहिन नै छ र ?
-हेर्नुहोस् मान्छेका हेर्ने आँखाहरु आ- आफ्नै प्रकारका हुन्छन् । तपाईंलाई दुर्गालाल श्रेष्ठको 'फूलको आँखामा फूलै संसार, काढाको आँखामा काढै संसार' भन्ने गीत त याद होला नि । हो यस्तै हो एउटालाई मन परेको अर्कोलाई मन नपर्न सक्छ अनि अर्कोलाई मन परेको अर्कालाई मन नपर्न सक्छ । जुन आँखाले हेरयो त्यही हुन सक्छ । त्यसैले मलाई लाग्छ हेर्ने आँखामा जुनै पनि कुरा भर पर्छ ।कस्को स्तरिय ? कस्को कमसल ? भन्ने छुट्याउने हैसियत अहिले ममा छैन । मलाई नेपाली साहित्य आफ्नो अवस्था र देशको स्थिति अनुसार स्तरिय नै लाग्छ किनकी हाम्रो देशले भोगिरहेको पीडा अनुसार नेपाली साहित्यलाई स्तरहिन भन्न मिल्दैन । जब जन्म दिने धर्ती नै अन्योलमा छिन् भने जन्मेको बच्चाको के हालत हुन्छ ? त्यसैले म यही भन्छु नेपाली साहित्यलाई स्तरहिन भन्नु भन्दा पहिला यसको पृष्ठभूमिलाई हेर्नु पर्दछ ।
♣ प्रबासी नेपालीहरुबाट बिभिन्न साहित्यिक कार्यक्रम, पुस्तक ,पत्रपत्रिका प्रकाशन, साहित्यिक वेबसाइट सन्चालन आदि भएका छन् । यसले सिङ्गो नेपाली साहित्यमा कस्तो प्रभाव पुर्याएको छ ?
-ओहो !यो प्रश्नले मलाई ज्यादै भाबुक बनाउछ किनकी परदेशमा रहेर जिजीबिषाको लडाईं पनि लड्नु पर्ने । केही महत्वकाङ्क्षा पनि पुरा गर्नु पर्ने। सन्तानको सपना पनि साकार पार्नु पर्ने । केही अर्थ पनि आर्जन गरेर समाजलाई देखाउनु पर्ने बाध्यतामा पनि प्रबासी नेपालीहरुले साहित्यलाई यति माया दिएर आफ्ना समय खर्चेका छन् । यसको स्याबासीको कुनै लेखा जोखा छैन । आफ्नो देशमा यदि थियौ भने हामी सारा राजनीतिकै मैदानमा कुस्ती खेल्दा नै ठिक्क हुनेथियौ । तर प्रबासमा रहेर यसरी साहित्यलाई माया र आदर गेरर प्रबासी नेपालीहरुले पुस्तक, पत्रपत्रिका, वेब साइट संचालन गरेका छन्। यिनीहरुले सिङ्गो नेपाली साहित्यमा धेरै योगदान पुर्याएका छन् र हामी जस्ता प्रबासी लेखकहरुको मर्म बुझेर हामीलाई बिसाउने चौतारी बनि दिएको छ । धन्यवाद सबै संचालकहरुमा ।
♣ अलिकति फरक प्रश्न , राष्ट्रको बाङमयको बिकासमा सरकारले के यथेष्ट भूमिका खेलेको छ जस्तो लाग्छ तपाईंलाई ?
खै ! देश, सरकार आफ्नै युद्धको योद्धा बन्दा नै ठिक्क छ। कहाँ फुर्सद र बाङमयको बिकासको लागि सोंच्ने समय ?
♣ अन्त्यमा मैले सोध्न छुट्याएको तर तपाईंलाई भने भनूँ-भनूँ लागेको केही छ भने भनि दिनुहोस् न ।
-निश्छल भाइ, प्रथमत: म भाइको गहक र परिमार्जित प्रश्नहरुकै नै कदर गर्न चाह्न्छु। जसमा मेरा भावनाहरु पोख्ने सारा स्थान प्रयाप्त मात्रमा मैले पाएँ । मैले आफ्ना सारा भावनाहरुलाई छताछुल्ल बनाएर पोखी दिएँ । यसरी बिदेशको पीडालाई पनि आत्मासात गरेर साहित्यलाई माया दिएर हामी जस्ता लेखकहरुको भावनालाई कदर गरिदिनु भएकोमा म हृदयभित्रबाट नै हार्दिकता प्रकट गर्दछु । तपाईको प्रयास र परदेशको यस्तो समर्पण सधै सफल रहोस् ।अस्तु ।
Sunday, April 26, 2009
कबिता
-राज रोबर्ट अजनबी सुब्बा
रहर त थियो मेरो पनि
तिम्रो नागबेली सिउँदो भरि
सिन्दूर नै सिन्दूर खसाउने
अनि,
सहयात्राको अबिरलतामा
पिरतीको उत्सव मनाउदै
तिम्रो र मेरो एउटा,
पृथक बस्ती बसाउने
तर तिमी त...!
पश्चिमकी घाम थियौ
पूर्बमा अस्ताउनु रित थिएन
बस् ! मेरो जीबनमा तिमी,
अनायासै झुल्कियौ
फ्याकेर नियतीले मलाई
पछारेको बेला सर्बाङ्ग बगरमा
तिम्रो ताप माथि
म जले तिम्रै अनुग्रहमा
रहर त थियो मेरो पनि
तिमीलाई,
मेरो मनको कुसुमहरुमा राखेर
पूर्बको लाली पवन चखाउने
रहर नभएको कहाँ हो र ?
तिमीलाई,
जीबनरथमा सहयात्री बनाएर
प्रत्येक पल तिमी सङ्गै कटाउने
तर!
बिडम्बनाको भुईचालोले
मनहरुलाई भत्काएर
बिभत्स हत्या गरेको बेला
बिखण्डित आस्था/अनास्थाहरु
प्रताडित आशा/अभिलाषाहरु
पिडित इच्छा आकाङ्क्षाहरु बोकेर
तिमीलाई मैले सम्हाल्न सकिन,
माफ गर है !
तिम्रो सिउँदोमा सिन्दूर खसाउन सकिन
तिमीलाई आफ्नो बनाउन सकिन।
-ताप्लेजुङ
हाल: कस्टिच्युएसन् कोम्प्लेक्स,वोर्स्ट्रेन् ग्लास्गोव्
गजल
कहिलेकाही चोट दिन्छन् कहिले कुरा काट्छन्
आफ्नाहरू आफ्नै हुन्छन् मनमा माया राख्छन्
नदेखे झैं तर्किएर बाटो जति काटे पनि
ठेस लाग्दा अत्तालिदै देबीदेउता भाक्छन्
पराईले जति सुकै माया गरे पनि
आफन्तैले मिठो लाग्ने चोखो माया दिन्छन्
घुर्क्याउछन् , थर्काउछन् गाली पनि गर्छन्
अनि मुटु भित्र पिरतीको आफै डोरी बाट्छन्
-तुलसीपुर , दाङ
ईमेल: bibas_basant@yahoo.com
Saturday, April 25, 2009
कबिता
गजल
साथी संगी पनि मलाई यही प्रश्न गर्छन् हजुर,
नपाएको धेरै भयो कृष्णजी को दर्शन हजुर ।
याद आउँछ हरेक दिन गजलको दोहोरी त्यो,
सम्झिदा त बालापन आँसुहरु झर्छन् हजुर ।
शायद ब्यस्तताले होला,भेट हुन छोडेको छ,
थरी थरी जागिर गरी मान्छे पेट भर्छन् हजुर ।
आज यहाँ भोलि कहाँ ? के ठेगान मनिसको,
एकैदिनमा मान्छेहरु सात समुन्द्र तर्छन् हजुर ।
हामी सबै मिली अब गल्ली गल्ली खोज्नु पर्छ,
राजधानीमा मान्छे साँच्चै अलपत्र पर्छन् हजुर ।
-चितवन
Friday, April 24, 2009
गीत
जब सत्य बुझ्न खोज्दा अनि गर्छौ आनाकानी
गजल
गजल
नसमाऊ हात मेरा तिमीलाई बात लाग्ला
पिउदै नपिई जवानीको चर्को मात लाग्ला ।
नपठाऊ भो दिन दिनै मायाका चिठीहरु
मेरो सानो मनमा चिठीको ठूलो खात लाग्ला ।
मलाई पाउँछु भनेर नधाऊ मेरो घर
मेरो मन अन्तै छ तिमीलाई शुन्य हात लाग्ला ।
मलाई नपाउँदैमा जोगी नै बन्नु पर्दैन
कर्मयोगी बन नत्र दशा साढे सात लाग्ला ।
Thursday, April 23, 2009
कबिता
-नन्दलाल आचार्य
अब खेल कति खेल्ने
न तँ जित्छस् र म हार्छु
न तँ हार्छस् र म जित्छु
त्यसैले एउटा सल्लाह मान
आइज तँ मेरो घाटी रेट्
म पनि तेरो घाटी रेट्छु
बराबर दुबै बराबर
न कोही बनबास न कोही घरबार
तैले मेरो घरबार उजाडिस्
प्रतिशोधमा मैले तेरो घर जलाए
बदलामा तैले मेरो छोरो मारिस्
मैले तेरो छोरी अपहरण गरे
र दुई लाख असुलेर छोडे
अब तेरो पालो हो -
तँ मेरी श्रीमतीलाई बलत्कार गर्लास्
बरु आइज तँ मेरो घाटी रेट्
म पनि तेरो घाटी रेट्छु
बराबर दुबै बराबर
न कोही बनबास न कोही घरबार
-तपेश्वरी-१,उदयपुर
कथा
Wednesday, April 22, 2009
गजल
Monday, April 20, 2009
कबिता
गीत
कबिता
कबिता
Sunday, April 19, 2009
कबिता
गजल
Friday, April 17, 2009
कबिता
कबिता
Thursday, April 16, 2009
गीत
Wednesday, April 15, 2009
कबिता
-राम बिक्रम थापा
बिश्वको मानचित्रमा
नेपालको नक्शा नभेट्दा
आफ्नो देश हराएको शोकमा
ऊ
अस्ति भक्कानिएर रोयो ,
नेपालको मानचित्रमा
खोटांग नदेख्दा
आफ्नो जिल्ला हराएको शोकमा
ऊ
हिजो कोक्किएर रोयो ,
खोटांगको मानचित्रमा
सिमान्तित फाक्टांग नदेख्दा
आफ्नो गाउँ हराएको शोकमा
ऊ
आज झोक्किएर रोयो
हेर्नुस् त
ऊ अझै रोई रहेछ ।
-फाक्टांग, खोटांग
गजल
कबिता
भित्र पसी ऊ
र, उतारिइन थालिई बोक्राबाट ।
जगल्टा फारी
र, ङ्यार्र... हेरी
बोलोज फुकाली
र चेस्टर समेत च्याती
सोच्दा नसोच्दै -
उस्ले धक्का दिई
र अग्लो स्थिरता गर्ल्याम्म्म भयो
सगरमाथा उधोमुण्टो परेजस्तो ।
दुधमुखेले चुस्न नपाएको
लाम्टाहरु रगडिइ बिमुख मुख भरि
बोल्दा नबोल्दै-
चुडाई पेटिकोटको इँजार
मान्दा नमान्दै -
पोईले ठेगाउन नपाएको
फिला फारेर मर्दन गरी आफूलाई
बिपरित छाती घोच्ने गरी
बगैचाको काडा सप्रिएको जस्तो ।
भनी उसले-
'एक्काईसौ शताब्दीको क्रान्तिकारी आइमाई हुँ।'
र उठ्दा नउठ्दै -
अर्को चोटी ढोका लात हानी
उसले बोलोज र पेटिकोट छोडेर
टिका भुईमा पोखाएर
रोक्दा नरोक्दै -
सोहोरिएर गई
बाहेक भित्र बाकी नरहे जस्तो ।
पुतलीसडक चोकमा चाकले
उतार्नै नपर्ने आङले
सिर्लिप्पै बेरी
र टोकी गालाभरि
भाक्दा नभाक्दै -
खतै खत हुन्जेल्
मैदानमै पहिरो गए जस्तो ।
रमिते अज्ञानतामा गालिए ।
रिङरोडबाट आफ्ना बयको जुलुशमा
तालपोखरी गाउँ फर्किएर
भाषण गरी उसले-
'दिदीबहिनी अशिक्षित छन्'
र, रत्नपार्क तिर फर्किएर जोडले कराई -
'कुसंस्कारको जरा फ्याल्नै पर्छ '
क्रान्तीको हुँकार जस्तो ।
हाल: त्रिभुवन बिश्वबिद्यालय, कीर्तिपुर
लघुकथा
-एकलब्य राज
आज अनिल बिरामी परेर बिछ्यौनामा पल्टिरहेको छ। उसले बिगतमा गरेका गल्तीहरुको सपना सरी झल्झली उस्को दिमागमा आईरहेको छ। ऊ गाउ देखि पढ्न भनी शहर गएको हुन्छ। यता गाउको इमान्दार अनि असल केटो शहर बजारको हावापानीमा बिस्तारै बिस्तारै भिज्दै गई रहको हुन्छ। उसका शहरिया साथीहरु पनि उसलाई उकास्दै खाने नखाने चिजहरु ख्वाईरहेका हुन्छन्। हिजो उसका लागि चुरोटको गन्ध पनि मन नपर्ने आज ऊ गाजा, चरेस, ब्राउन सुगर र टिटी उसका लागि नभै नहुने बस्तुहरु भैसकेका हुन्छन्। साथीहरुको लहैलहैले गर्दा आज प्रत्येक दिन २-३ पल्ट सिरिन्जको नसामा मधुहोस बन्दै गई रहेको हुन्छ। उसका सबै साथीहरुको हालत पनि उसको जस्तै हुन्छ। उनीहरु एक किसिमले नसाको एडिक्ट भैइसकेका हुन्छन्। दिनमा एक चोटी भए पनि नसा लिनु नै पर्ने भैसकेको हुन्छ। त्यो क्रम बढ्दै गई रहेको हुन्छ।
ऊ यता बिस्तारै सुक्दै अनि बिरामी हुदै पनि गैइरहेको हुन्छ।ऊ बिरामी भएको थाहा पाएर गाउबाट उसका बाबा आमा उसलाई भेट्न आउछन् तर छोराको सुकेको ज्यान अनि बिरामी परेको हुदा उहाहरुलाई पर्नु सम्म चिन्ता पर्छ र छोरालाई अस्पतालमा भर्ना गराउछन् । अस्पतालको वार्डमा लगे पछि डक्टरले एक्स-रे र ब्लड् जाच गर्छ।ब्लडको रिपोर्ट अनुसार उसलाई एडस् लागेको भनेर लेखिएको हुन्छ किनकी उसले धेरै जनाले प्रयोग गरेको टिटी सिरिन्ज प्रयोग गरेको हुनाले उसलाई एड्स भन्ने खतरानाक रोग लागेको रहेछ। ऊ झन्-झन् सुक्दै ग ई रहेको छ भने उसका बाबा आमा चाहि चिन्तामा सधै डुबिरहेका छन्। 'हाम्रो छोरालाई कुन् जन्मको पाप बोक्नु पर्यो' भनेर भगवान सङ्ग प्रार्थना गरि रहेका छन्। तर के थाहा सोझा सिधा बाबा आमालाई छोराको कर्तुत...... छोरा झन् सिकिस्त बन्दै आज उसले यो सन्सार बाट बिदा लि ई सकेको छ यता आमा बाबा भने धिक्कारी रहेका छन् बिधाता सङ्ग कुन् जन्मको पाप भनी........... ।
-बयरबन -३, हरकपुर (मोरङ)
आबद्द: नबोदित साहित्यिक बाचनालय,दोहा
Monday, April 13, 2009
कबिता
Saturday, April 11, 2009
गजल
यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ
संगिनीले काट्ने कुरा तिमी आँफै खोलेकी हौ
दुनियाँ तड्पाउछु भन्थ्यौ आज आँफै तड्पिदैछौ
ढुंगे धाराको पानीमा बिष तिमी आँफै घोलेकी हौ
आलु बेच्यौ चना बेच्यौ दुनियाँलाई खुशी पार्न
कहिले बेच्न काँचो मासु तिमी आँफै पोलेकी हौ
आफुलाई फूल सम्झ्यौ भमरालाई निम्ता दियौ
जवानीको हासोको मोल तिमी आँफै मोलेकी हौ
-पर्वत
Friday, April 10, 2009
कबिता
-ईन्द्र नारथुंगे
तुवालोको खास्टो ओढेर
सधै गजधम्म बस्ने निनाम्ना
एक्कासी आधा उधारिएर देखेर म
अलिकति परिबर्तन भएको छु सिम्मा
सायद
उज्यालोको क्यान्भासमा
प्रतिबिम्ब उतार्न थालेको छु
तिम्रो र मेरो
चौबन्दीको तुनामा तिमीले भिर्ने त्यो बिनायो
म पनि बजाउन चाहान्छु आज
सिम्मा
भाका तिम्रै भए पनि
शब्द मेरो हुनेछ त्यहा
आमाले सुनाउने मुलखाबोको कथा
नक्छुङले फलाक्ने मुन्धुमहरु
थिबिया चरीले बोहोरीको रुखमा बसेर कराउने
बिरही स्वर
मेरो शब्द भित्र पक्कै हुने छैनन्
बिश्वास गर सिम्मा
मेरो गीत तुवालो हटेको निनाम्ना जस्तै
सागर पोतिएको हुनेछ
निराकार निरामय निराबृत
निरालस्य निरापद निराकुल।।
जहा हामी घाम सङ्ग सङ्गै उदाउनेछौ
घाम सङ्ग सङ्गै अस्ताउनेछौ
सिम्मा
हामीले धेरै पूज्यौ दायलुङलाई
र
थकाइ मेट्न वालाखा पुग्यौ।
साकेलामा नाच्यौ अनगिनि सिलीहरु
हुनसक्छ
खर्क भरि बुकी फूल्दा
रहरहरु फूले होलान् तिम्रो र मेरो
तर एक दिन
गोठालाको खस्रो हातले निमोठियौ र
दर्शनढुङ्गामा चकमकको ठ्याक्क सङ्गै बल्यौ झुलो बनेर
हो
निनाम्ना उघ्रिएको बेला
मन् उघार्नु पर्छ अब ।
के छैन हामी सङ्ग
सब थोक छ
पुर्खाको बिरासत
तोयामा खिमायाको तान
र घुर्यानमा सिस्नुको झाडी लुटिएको छैन अझै
यति हो
अरुको सुरक्षार्थ बुट बजार्दा-बजार्दा दिमाग भुत्तिएको छ
अरुको मनहरुको मान राख्दा-राख्दै सपना लुटिएको छ
त्यसैले त सिम्मा
साकेला गीतको भाकाहरुमा
म नया शब्दहरु थप्दै छु
सेल्मे र ट्याम्के हाराहार
अधिकार सबैको बराबर
सै सैला हो हुर्रा हा हा .....
सिम्मा
निनाम्ना उघ्रिएको बेला
सङ्घार नाघेर निस्कनु पर्छ आगनमा
पाखा भरि राताम्य फुलेका गुरासहरु सङ्गै
हामी लिम्चिङबुङ दाजिनु पर्छ
भत्काएर सस्कारहरुका पर्खालहरु
ढलाएर शासकका शालिकहरु
च्यातेर नाटकका पर्दाहरु रोकेर
निरन्तरताका गतिहरु
एउटा नया बिहानीको शङ्खघोष गर्नु पर्छ
सबैले छुन सक्ने
सबैको हुन सक्ने
त्यो बिहान्
बादल फाटेको निनाम्ना जस्तै
सागर पोतिएको हुनेछ
निराकार निरामय निराबृत
निरालस्य निरापद निराकुल
जहा हामी
घाम संग संगै उदाउनेछौ
घाम संग संगै अस्ताउनेछौ ।
-ईन्द्राणीपोखरी , खोटांग
कबितामा प्रयुक्त किरात चाम्लिङ राई भाषाका शब्द र मिथकको अर्थ
सिम्मा - कान्छी छोरी
निनाम्ना - आकाश
लिम्चिङबुङ - लेकमा फुल्ने एक प्रकारको फूल
वालाखा - पानी भर्ने पधेरो किरात राईका बिजुवाहरुले मुन्धुम फलाक्दै पहिलो पल्ट बिसाउने ठाउँ
मुन्धुम - किरातहरुको धर्म शास्त्र
तोयामा खियामा - एक किरात लोक कथा भित्रका किराती दिदी बहिनी छोरीचेली
साकेला - किरात राईहरुको जमिन खोस्रेर निकाल्ने अण्डा आकारको ढुङ्गा जुन ढुङ्गाको रङ हेरेर शुभ अशुभ छुट्याईने गरिन्छ , साकेला नाच
सिली - साकेला नाच्ने बिधी
दायलुङ् - चुल्हा अगेना
नक्छुङ - किरात राई जातीको बिजुवा
मुलखाबोको कथा - किरात राईहरुमा प्रचलित एक मिथक
थिबिया - चरा र बोहरीको रुख किरात राईहरुमा प्रचलित एक मिथक
सेहेतल - बितल परेर मृत्यु भएकाहरुको आत्मा जस्ले बाच्नेहरुलाई दु:ख दिन्छ भन्ने भनाइ छ ।
कथा
-नव सिलवाल
घटना पुरानै हो । एउटा गोरो वर्णको विदेशी टुरिस्ट काँधमा क्यामरा भिरेर हामी भएतर्फ आइरहेको थियो । उसले हाम्रो फोटो खिच्यो ।
के छ बच्चाहरू ? उसले उराठ प्रश्न राख्यो ।
हामी बोलेनौँ ।
लाटोहरू त होइनौ नि तिमीहरू ?
उसले अर्को निराशा फैलायो ।
कोही बोलेन ।
सायद रमेशले उसको प्रश्नमाथि हाँसो उडाएको थियो ।
ऊ फटाफट हामीलाई उछिनेर अगाडि बढ्यो ।
म दौडँदै उसको पछि पुगेँ ।
थाहा छैन मैले किन त्यसो गरेँ ।
तिमी मलाई एक डलरको नोट दिन सक्छौँ ? मेरो प्रश्न सुनेर ऊ हतास उभियो ।
पैसा रे ? उसका आँखामा उब्जिएको प्रश्न त्यस्तो थियो ।
दिन्छु, पख ।
उसले ब्यागबाट एउटा कागज निकालेर केही लेख्न थाल्यो ।
लेखिसकेर कागज पट्याएर मलाई हातमा राख्दै एक डलरको नोट पनि थमाइदियो ।
"अनि धन्यवाद नभन ।"
उसले मलाई रोक्यो ।
म उसलाई धन्यवाद भन्न चाहन्थेँ वा चाहन्नथेँ मलाई याद छैन ।
ऊ सरासर अगाडि बढ्यो ।
उसले पर पुगेर जुम गर्दै क्यामराबाट मेरो फोटो खिच्यो ।
"तिमी हाँसेनौ । तैपनि ठीकै छ ।" ऊ खिस्स हाँस्दै आफ्नो बाटो लाग्यो ।
मैले त्यो हरियो एक डलर नोटलाई ओर्काइफर्काई हेरेँ । कुनै विशेष आकर्षण थिएन । मैले उसले लेखेको चिटलाई खोलेर हेरेँ । चिटमा यस्तो लेखेको रहेछ ।
"ए माग्ने बच्चा, तिम्रा पुर्खाहरू पनि माग्ने नै थिए होलान् । तिमी पनि मागिरहेका छौँ । तिमीहरू अरू गर्न पनि त केही सक्दैनौ सायद । माग्ने काम सजिलो छ । तिम्रा आउँदापुस्ताले पनि मागेरै बिताउलान् भन्ने चिन्ताले मलाई खाइरहेको छ । तिम्रो माग्ने बनिरहने इच्छालाई यो एक डलरले योगदान दिने भयो भनेर मलाई दुःख लागेको छ ।"
फिरङ्गी पराई मान्छे ।
म माग्ने होइन र भोलि हामी माग्ने बन्ने क्रममा पनि छैन भनेर उसको मुखमा ˆयाँक्न चाहन्थेँ म त्यो नोटलाई तर ऊ त्यहाँबाट सायद टाढा पुगिसकेको थियो । मैले उसलाई खोज्ने प्रयत्न पनि गरिनँ । मनमा अव्यक्त ग्लानि भरिएर आयो । उदासी र पश्चातापले सबैतिरबाट मलाई घेरेको अनुभूति बढेर गयो ।
एक डलरको नोटलाई स-साना टुक्राहरूमा च्यापेर मैले हावामा उडाइदिएँ । एक प्रकारको पीडा जोडले दौडियो मभित्र । मेरो स्वाभिमानमा सायद चोट लागेको थियो । सम्बन्धहरू बन्ने र बिगि्रने क्रम निरन्तर रहन्छ । त्यो फिरङ्गी विदेशीसँगको मेरो छोटो सम्बन्ध नमिठो र पीडादायी बनेर टुङ्गनि सकेको भए राम्रो हुन्थ्यो तर उसको एक डलरको नोट र माग्नेको उपाधिले मलाई उसँग अनवरत जोडेर राखेको छ । कति वर्षहरू बितेर गएका छन् । उसको आकृति मबाट टाढिन सकेको छैन । म माग्ने बनिनँ उसले दिएको अपमान पिएर । अरूबाट आशा गर्ने, भरोसा खोज्ने प्रवृत्तिहरूबाट एकदम टाढा बसेको छु म । सायद त्यो एक डलरको नोटको पीडाले मलाई सताइरहेको छ । हाम्रो माग्ने प्रवृत्तिलाई रोक्न र आर्थिक परनिर्भरता कम गर्न मैले कुनै ठोस योगदान दिन सकेको छैन । त्यो फिरङ्गीको एक डलरको नोटको किस्साले मेरो पूरै जीवन पोतिएको छ । मलाई यहाँसम्म पुर्याएको छ त्यो विदेशीले होच्याएको घटनाले । आजसम्म पनि मैले मुक्ति पाउन सकेको छैन ।
शिक्षाको जगमा अन्धकार व्याप्त छ । इमानदारी उजाडिएको छ । अधिकांश व्यापारीहरू राज्यका कर छल्न र लुट्नमा अभ्यस्त लाग्दछन् । कर्मचारी र राजनीतिवालाहरू भ्रष्टाचारका पर्याय बनेका छन् । इमानदार मान्छेहरू हेलित, सङ्कोचित र उपेक्षित बनेका छन् । मान्छेहरूमा मुलुक र समाजका प्रति निष्ठा एकरति छैन । बौद्धिक दरिद्रता र खोक्रिएको इमानले सम्पूर्ण समाज आक्रान्त बनेको छ । म ठिङ्ग उभिएर हेर्छु मान्छेहरूलाई । मेरा असहज आँखाहरूमा उत्रिने गर्छन् व्याप्त अनैतिक र अमर्यादित आचरणहरू । व्यवधान र बेचैनीले घेरेको छ । उत्साह छैन । एक्लो र बेमेल अस्तित्व बोकेर म कुन परिवर्तन अजमाउन उभिएको छु । शङ्का लाग्छ आफैँमाथि । उल्टो गतिमा बगेको प्रवाहलाई एक्लै छेक्न सक्छु म भन्ने आत्मबल पनि कमजोर भएजस्तो लाग्दछ ।
हरेक मान्छे, परिस्थिति र वातावरणसमेत एक प्रकारले अन्योलग्रस्त बनेको छ । ती अन्योलहरूको सघन व्याप्ततामा म उभिएको छु एउटा चौबाटोमा । कुनै दिशा छैन । कुनै मुकाम पाउने आधार छैन । कुनै उपलब्धि चुमिने सङ्केत छैन । म एक्लो उभिएको छु भीडहरूमा । बालीमा नडुबेको डुमसरी एउटा फरक प्रतिरोध उभिएको छु म ।
पशुपतिको मन्दिर र स्वयम्भूको चोटीहरूमा पैसा मागेर बस्ने असहाय, अपाङ्ग र कोही ठग सपाङ्गहरूलाई मैले कुनै विकल्प प्रस्तुत गर्न सकेको छैन । गान्धीले भनेजस्तै तिमी आˆनो तर्फबाट राम्रो गर, अरूको जिम्मा नलेउ, चिन्ता नलेउ भनेर सम्झाउन खोज्छ आफैँलाई तर म त गान्धीको अर्ति लिएर पनि चैन पाउन सक्ने अवस्थामा छैन । म हुनु र नहुनु, मैले असल बन्नु र नबन्नु, मैले माग्नु र नमाग्नु, अनि मैले रुनु र सुस्काउनुले यहाँ केही फरक पर्न सक्ने छैन । देश रोइरहेको अवस्थाले पनि यहाँका मान्छेहरूलाई कदाचित कुनै फरक पर्नेवाला छैन । मान्छे निर्जीवझैँ लाग्न थालेका छन् । कुनै व्यक्ति रहनु र नरहनुको बीचमा एउटा सानो समय हुन्छ । आˆनाहरूको लागि थोरै पीडाजन्य । त्यो समय गतिशील छ । समयको गतिशीलतासँगै कसैको नहुनुको पीडा आफन्तको लागि कम बन्दै जान्छ । उसको नरहनु एक प्रकारको अभ्यस्तता बन्न थाल्छ अनि ऊ भुलिछ । जीवनका अवयवहरूलाई ऊर्जाशील बनाउन चाहने मान्छेहरू पनि एक तमासले थाकिरहेका हुन्छन् । आफैँबाट घेरिँदा र आˆनै एकोहोरो रटानबाट सेकिँदा । म त्यस्तै माग्ने नबन्ने रटानबाट थाकेको छु । म आफू माग्ने नबनेर गान्धीले भनेजस्तै अरूहरूलाई निस्पिmक्री माग्ने बन्न दिइरहन पनि सक्दिनँ । उनीहरूलाई माग्ने बन्नबाट रोक्न पनि सक्दिन म । मेरो मनले मसँग विद्रोह गर्ने गर्छ । म हार स्वीकार गर्छु र अन्तरद्वन्द्वलाई किनारा लाउँछु । म कुनै बच्चा छैन । मेरो वयस्कपनले मेरो सकस बढाएको छ । माग्नेविरुद्धको अनास्था फैलाउन पनि सक्दिन म । माग्नेहरूलाई विस्थापित गराउन पनि सक्दिन । माग्नेहरूको माग्नुको विकल्प दिन पनि सक्दिन । म माग्ने होइन र म माग्ने बन्नबाट रोकिएँ भनेर चिच्याउन सक्छु सायद तर मेरो उद्देश्य अलपत्र बनेको छ । एउटा फिरङ्गीले दिएको अपमानको बदला लिन सकिनँ मैले । मेरा थुप्रै मान्छेहरू माग्ने बनेर बरालिएका छन् सडक, सहर र गल्लीहरूमा । म देश बन्न सकेको भएँ, राज्य व्यवस्थामा प्रभावी बन्न सकेको भए सायद रोक्न सक्थेँ होला तिनीहरूलाई माग्ने बन्नबाट । आज हार खाएको छु आˆनो अभियानमा अघि बढ्न नसकेर र अघि बढ्ने कुनै गोरेटो नभेटिएर । भीडको एउटा निरीह मान्छेमा परिणत भएको छु मेरो निराशा बढ्न थालेपछि म । मेरा विद्यार्थीहरूलाई माग्ने नबन तिमीहरू भनेर सिकाउनुबाहेक कुनै ठूलो योगदान रहेन मेरो माग्ने हुनबाट देशलाई रोक्न ।
कीर्तिपुरबाट बस चढेर बल्खु पुग्दा झ्यालमा आइपुग्छ एउटा लिखुरे केटो एक रुपियाँ दिनुहोस् न, खान नपाएको दुई दिन भयो भनेर हात पसार्छ । म आफैँसँग क्रूद्ध बन्छु ।
किन ? थाहा छैन । म एक रुपियाँको नोट दिएर उसलाई माग्नप्रति प्रोत्साहित गर्न कदापि सक्दिनँ । थुप्रै शृङ्खलाको एक टुक्रा थियो त्यो । माग्नेहरूलाई भिक्षा नदिनु भनेको धार्मिक मूल्यविरुद्धको अभियान हो भनेर आमाले सधैँ प्रतिरोध जनाउनु हुन्छ । म घरमा पनि एक्लो परेको छु । डिसेम्बर लाग्न थालेको थियो, मिन पचासको बिदा सुरु भएको दिनको साँझा चिसो बतासको प्रवाहमा कठ्याङ्गि्रएको थियो । म कम्प्युटर अघिल्तिर गएर थचक्क बसेँ । कुनै उत्साह छैन । इमेल बक्समा कसैको मेल आएको छ । खोलेर पढ्छु -
प्रिय जवान मान्छे,
तिमी एउटा असल मान्छे बन्न सकेका छौ भन्ने सुनेर मलाई खुसी लागेको छ । तिम्रा विद्यार्थीहरूले तिमीले सुरु गरेको अभियानलाई अगाडि बढाउने छन् । तिमी स्वाभिमानी मान्छे मात्र हैन स्वावलम्बनका प्रखर अभियन्ता बनेका छौँ । तिम्रा असहजता र थकाइहरूबाट तिम्रो अभियान समुद्रा पारि मेरो देशमा आइपुगेका छन् । तिम्रा विद्यार्थीहरूले खबर ल्याउने गरेका छन् । म त बूढो भएको छु । तिम्रो देशमा आएर तिमीसँग भेट्ने इच्छा छ । मानवताको प्रतिष्ठा अभिवृद्धि गर्न तिमीले अपनाएको स्वाभिमानको आन्दोलनले तिम्रो मुलुक समृद्ध बन्नेछ । तिमीलाई मेरो सलाम । अनि मैले एक डलरको नोट समातेको तिम्रो तस्बिर यहाँ एटाचमेन्टमा पठाएको छु । आफ्नो हेरर विचार गर्नु ।
(साभार : मधुपर्क )