नयाँ वर्ष लागेछ !
-दिलीप योन्जन
मिठा सपनामा डुब्दा डुब्दै
सुख र शान्ति खोज्दा खोज्दै
कुन बाटो कता जाउँ हेर्दा हेर्दै
मन भरिको सवाल र जबाफको युद्धले
एक पना बेदना, बिरह र गीत
लेख्दा लेख्दै गन्तब्य भुलिएछ
न त हिडेर उद्देश्य भेटियो
न त खोजेर केही नै पाइयो
आफ्नै ब्यथा, कथा अनि पीडा
त्यहीँ घर,भित्ता अनि फुटेको सिसा
हेर्दै बसियो, गर्न केहि सकिएन
घाम छिरेको छ, पानीले भिजेको छ
दिन - दिन भन्दा भन्दै महिना बितेछ
महिना गन्दै हिजो बेलुकी लडेको
बिहान उठ्नै नपाई ओछ्यानमै
नयाँ बर्ष लागेछ।
त्यो दिन कहिले आउला भनी
मेहनेतको पसिना बगाएर
शिखर चुम्ने आसै आसमा
दिन रात, रात दिन गरी
परिबर्तन आउने बिश्वासमा
मैनबत्ती भै अन्धकारमा बले
न त कसैले देख्यो दु:ख
न त कसैले सोध्यो पीडा
उकूस मुकुस उत्साही भाबनाहरु
लह - लह फुल्न नपाउदै
मन भित्र भित्रै ओइलिएर
झर्न नपाउदै फेरि फुल्ने आसमा
नयाँ पालुवा भै फेरि पलाउन खोजे
उमेर नपुगेर दिन गन्दै बस्दा
नयाँ बर्ष लागेछ ।
चाड पर्व लाग्यो
रमाउने रमाईरहेछन
हराउने हराई नै रहेछन्
हुनेलाई छदैछ
नहुने खोज्दैछ
भएर पनि हराए जस्तो
सब चिज छैन सस्तो
सबै फोस्रो खाली खाली जस्तो
देखिने लाज छोप्नलाई
खाली हात साहुको आस
दुईको चार, चारको आठ
जता टेके नि अभावै अभाव
यता नि भिर, उता हेरे तीर
खेत नि छैन, बारी नि बगायो
एक छाक त दु:ख सुख
अब त त्यो पनि हरायो
जाने ठाउँ खोज्दा खोज्दै
मूल बाटो र चोर बाटो हेर्दा हेर्दै
नयाँ बर्ष लागेछ।
खेत बारीमा अन्न पाक्ला
अभाबको सागरमा मुना पलाउला
एक गाँस भए पनि सँगिनीसँग हाँसेर
भत्किएको भिता टालेर
मक्किएको खम्बा फेरेर
खुल्ला आकासमा सेउला हालेर
हावा हुरी नआउन्जेल सम्ममा
नयाँ डोब र किल्ला गाडेर
पहरों टहरो हालुँला
फाटेको चोली च्यातिएको फरिया
त्यो नांगे भुन्तेलाई भोटो
खुसीले आत्मा छल्किन्छ, पोखिन्छ
पसाइसकेको धान
फलिसकेको मकै
असिना पानीले कुट्नै कुटेछ
भत्केको कर्म, हारेको भाग्य
पुरिएको डोब र भत्किएको किल्ला
च्यातिएको मन सिउदा सिउदै
नयाँ बर्ष लागेछ।
जाडोमा कक्रिन्दै रात रातभरि
गर्मीमा पाक्दै दिन दिनभरि
माघको जाडो साट्नलाई
खुल्ला आकाश , त्यो पेटी
बिहानीको शितसगै बिउझेको निद्रा
रात भर छट्पटिदा देखेको सपनी
महलको सिसाहरुमा देखिने नांगो जबानी
साहुको आठ, बाह्र , बीसको काहानी
दुर्भाग्यको रेखा मेटिएला कि भनी
बुढी आमा अनि बाबुको सपना
एउटा पेटिकोट र अर्को इस्टकोट फेर्न
एकादेशको कथा झै भा छ
फाटेको छ, च्यातेको छ देख्दैछु
कति हाँस्छ खिसी गरेर
कति रुन्छ आफ्नै दु:ख सम्झेर
कोही भन्छ शत्रुलाई पनि यस्तो नपरोस्
आमाको आशिरबात बाबुको
हाकिम हुने बरदान
संगीनीको दुखेर भिजेको आत्मा
अभाबले पोलेको दुधे बालक
सोच्दा सोच्दै, हिड्दा हिड्दै
नयाँ बर्ष लागेछ।
-अस्टिन, अमेरिका
ईमेल: hyounjon111@gmail.com
No comments:
Post a Comment