Tuesday, June 30, 2009

स्रस्टासंग अन्तरंग कुराकानी - जुन २००९

मैले बुझेको साहित्यमा कुनै धार र बाद छैन ।
-सञ्जय राई 'छुच्चा'


♣ साहित्य सागरको मझेरीमा तपाईलाई हार्दिक स्वागत गर्दछु ।
-धन्यबाद । साहित्य सागरको मझेरीमा बिसाउन काबिल सम्झिदिनु भएकोमा ।
♣ हाल कहाँ र के गर्दै हुनुहुन्छ ?
- झण्डै आधा दशकको प्रबास बसाइ पश्चात मातृभूमि आइपुगेको छु । केही पत्रपत्रिकाहरुमा छिटफुट समसामयिक लेख रचना सम्प्रेषण गर्नुको अलावा एकाध गीतहरु रेकर्ड गरिरहेको छु ।
♣ एक समयमा डायोस्परिक साहित्य बिकासमा दिन रात मरिमेट्ने तपाईं अचेल कसरी साहित्यिक क्षेत्रमा सक्रियता जनाई रहनु भएको छ ?-नेपाली साहित्यको ईतिहास नै प्रबासबाट शुरु भएको छ । डायोस्परी स्रस्टाहरुको अथक प्रयास नै आजको बिशाल नेपाली साहित्याकाश हो । सोही कुराको मनन गर्दै मैले पनि मेची काली पर बस्दा अन्य धेरै साथीहरु (जो नेपाली भाषा साहित्यको लागि मरिमेट्छन् ) सङ्गको साहित्यिक सन्सर्ग र भावनात्मक मेल सङ्ग सङ्गै आफ्नो तर्फबाट नेपाली साहित्यको लागि के कति गर्न सकिन्छ, एउटा प्रयास मात्र गरेको हुँ । हाल प्रबासी साहित्य सङ्ग उतिकै नजिक छु जस्को उदाहरण भर्खरै अनेसास मलेसिया शाखाले मेरो कार्यकारी सम्पादनमा स्मारिका प्रकाशन गरेको छ ।
♣ अलिकती फरक प्रश्न , तपाईंले आफ्नो नामको पछाडि ' छुच्चा' फुर्को किन झुन्ड्याउनु भएको ?
-यो कसैले मायालु भावमा झर्किएर दिएको उपनाम हो, जस्को उमेर झन्डै १४ बर्ष पुगिसकेको छ र मेरो साहित्यिक यात्राको निम्ती प्रेरणा पनि हो यो शब्द ।
♣ साहित्य क्षेत्र नै किन रोज्नु भयो तपाईंले ?
- कल्पना गर्नोस् तपाईं भन्दा माथि कोही केही छ भने त्यो शुन्य आकाश मात्र हो न त तपाईं भन्दा मुनि नर्क नामको कुनै अर्को संसार नै छ । यी सोचहरु साहित्य भित्र भेटिएको ज्ञान हो त्यसैले।
♣ गीत बाहेक साहित्यको अन्य कुन्-कुन् बिधाहरुमा तपाईंको कलम दौडिरहेको छ ?
-कथाले आत्मा सन्तुष्टी मिल्छ मलाई । यद्दपी हाल आएर कबिता,गजल र मुक्तकहरु पनि लेख्ने गरेको छु। कारण मन र परिबेश बीचको सन्सर्ग भित्र एउटा सिर्जना जन्मने गर्छ जस्को न्वारन जसरी-जे गरे पनि हुन्छ ।
♣ साहित्य के हो तपाईंको बिचारमा र किन लेखिन्छ ?
-साहित्य परिभाषाहरुको महासागर हो, भोगाइ भित्रको महशुस हो। त्यो महशुस जस्को कुनै आकार छैन, प्रकार छैन, सीमा छैन, परिधि छैन, रङ रोगन छैन तैपनि जीबनको लागि हावाको जतिकै महत्व छ यसको। मलाई लाग्छ साहित्य संसार परिवर्तनको खातिर लोकले कतै केही अतिनै कमी महशुस गरिरहेको बेला यसको आवाज स्वरुप लेखिन्छ ।
♣ बर्तमान नेपालको राजनैतिक अवस्था प्रति नेपाली साहित्य कतिको सम्बेदनशील भएको पाउनु भएको छ ?
-किटेर भनी हाल्नु भन्दा पनि बजारको कुरा गरौ । साहित्यिक बिचारको कुरा गरौ । वरपर डुल्दा घुम्दा भेटिएका माहोलको कुरा गरौ । के र कस्को लागि लेख्ने भन्ने सन्दर्भमा जर्मनी साहित्यको प्रमुख हस्ती विश्व प्रसिद्द लेखिका 'एल्फ्राइड जेलिनेक'को बिचार उध्रित गर्न मन लाग्यो। उनी लेख्छिन् -'जब म लेख्छु ,सधैं कमजोरको पक्षमा रहने कोशिश गर्छु यसर्थ कि बलिया प्रतिको पक्षधरता साहित्यिक पक्षधरता होईन।' अब यहाँ के स्पष्ट हुन्छ भने नेपाली बर्तमान राजनैतिक अवस्थामा पनि केही साहित्यिक सम्बेदनशीलता देखियो तर त्यो कमजोरको पक्षधरतामा रहन सकेन । तसर्थ साहित्यिक सम्बेदनशीलता नयाँ राष्ट्र निर्माणको खातिर सुन्य हुन पुग्यो भन्दा पनि हुन्छ ।
♣ राष्ट्र निर्माणमा नेपाली साहित्यिक स्रस्टा सर्जकहरुको बर्तमान भूमिका कस्तो हुनुपर्दछ ?
-एउटा खास प्रकारको आकृति र उसको भाषा मान्छेको परिचय हुन सक्ला तर सबै ती मान्छेहरु मानब होइनन् ठीक त्यसै गरी बुझ्नु पर्दछ स्रस्टाहरुलाई पनि हामीले । देश निर्माणको बर्तमान घडीमा स्रस्टाहरुको लेखकीय भूमिका हिटलर शासन ताकाकी लेखिका 'एन्ने फ्र्यान्क' को जस्तो हुनुपर्छ ।
♣ नेपाली साहित्यमा आएका धार/बादहरु प्रति तपाईंको धारणा कस्तो रहेको छ ?
-पहिलो कुरो मैले बुझेको साहित्यमा कुनै धार बाद छैन, परिधी र सीमा बीचमा खुम्च्याउन मिल्ने साहित्य खाली एउटा निश्चित स्वार्थ बोकेको गुट मात्र हो भन्छु म। यद्दपी बर्तमान विश्व साहित्य भित्र मौलाई रहेको बिभिन्न बाद अनी धारहरु बिचार सम्बद्द छैनन् भन्न खोजिएको होईन । नकार्न नमिल्ने बाद साहित्यहरु छन् जस्तै माक्सबादी साहित्यलाई अग्रगामी साहित्य पनि भनिन्छ। यसलाई हाल आएर छिद्र देखा परिसकेको यी बाद साहित्य जस्ता अरु धेरै धार र बादहरु नेपाली साहित्यमा पनि देखिसकेको छ । जसले समाज परिवर्तनको हकमा के कती भूमिका खेलिरहेको छ भन्ने कुरा पनि स्पष्ट हामीले देखिरहेका छौ। म जस्तो साहित्यमा मौलिक बुझाई बोकेर ताते गरिरहेको बालकले भबिष्यमा एउटा धार समाते भने त्यो सबै भन्दा नौलो हुनेछ ।
♣ तपाईंको लेखनमा प्राय: जसो कस्तो बिषयबस्तु हुने गरेको छ ?
-बचेँरोलाई चारो ल्याउछु भनी बिहानै गुड छोडेकी आमा चरी बेलुकी अबेर सम्म गुड नफर्के पछि अर्थात् कहिल्यै नफर्किने गरी गए पछि बचेँरोको मन भित्र कुडुलिने पिडाको बादलहरु जस्तो बिषयबस्तु माथि आधारित रहेर लेख्न मन लाग्छ।
♣ अबको नेपाली साहित्य कसरी हिडोस् भन्ने लाग्छ तपाईंलाई ?
-अबको नेपाली साहित्यले बैज्ञानीक बाटोलाई आत्मसात गरेर अगाडि बढेको खण्डमा उपयुक्त बिचारबादी साहित्य हुने थियो जस्तो लाग्छ ।
♣ साहित्य लेखेर नेपालमा बाच्ने दिन आउँला त ?
-शक्तिपरक नभई सत्यपरक अनि कमजोरको पक्षधर भई लेख्न सकेमा छिट्टै ।
♣ साहित्य क्षेत्रमा लागेर के कस्तो पुरस्कार सम्मान पाउनु भयो अहिले सम्म ?
-छाम्न र थाम्न नमिल्ने तर हृदयबाट महशुस गर्न मिल्ने थुप्रै मान सम्मान र पुरस्कारहरु पाएको छु।
♣ अहिले सम्म पढ्नु भएको देशी बिदेशी साहित्यकारहरुको कृति मध्येमा कुन कृतिले अनावश्यक चर्चा पायो र किन ?
-गोर्कीको 'आमा' जस्को शिर्षकको अलवा बिषयबस्तुमा खासै साहित्यिक बिचार अनि साहित्यिक छन्द त्यति भेटिदैन ।
♣ कुनै साहित्यिक कृति प्रकाशित गर्नु भयो कि ?
-बोटैमा पाकेको फल जस्तो स्वादिलो होस्, समाज र लोकको निम्ती आफ्नो कृति भन्ने लाग्छ। छिटो पकाउनलाई फल भुसमा गाड्ने घ्रिष्टता हुन सकेन म बाट, तसर्थ तयार अवस्थामा रहेका केही सिर्जनाले पनि कृतिको रुप पाउन अझै केही समय प्रतिक्षा गर्नु पर्छ ।
♣ समग्र नेपाली साहित्य बिकासमा डायोस्परिक साहित्यको प्रभाब कस्तो देख्नु भएको छ ?
-बिश्व साहित्यको कुनै पनि हारमा पुग्न नसकेको हालको नेपाली साहित्यलाई सीमा कटाउन डायोस्परिक साहित्यको बिशेष भूमिका रहनु पर्छ, यसमा अनलाईन साहित्यलाई प्रमुख रुपमा लिन सकिन्छ किनकी अहिलेको नेपाली साहित्य बाँस साहित्यको प्रभाब हो भन्न सकिन्छ ।
♣ मोफसलका साहित्यलाई कसरी हेर्नु हुन्छ तपाईं ?
-हालको परिबेशमा मोफसलका बिभिन्न क्षेत्रहरु सिर्जनाका उर्बर भूमि साबित भएका छन् जस्तै पूर्वको बिराटनगर,झापा मध्येपश्चिमको चितवन र पश्चिमको पोखरालाई साहित्यको केन्द्र भन्न सकिन्छ । यहाँको बिचारी साहित्यले मोफसल जस्तै मेची काली पर रहेका डायोस्परिक साहित्यलाई पनि नेतृत्व गरिरहेको छ ।
♣ अन्त्यमा 'साहित्य सागर' मार्फत सम्पूर्ण साहित्यप्रेमी पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
- जीबन र जगत सँग मेल खाने लेखन सबै साहित्य भए पनि परिबेश सम्बद्द मेल खाने साहित्य कुन हो भनेर खुट्ट्याउने जिम्मेवारी हरेक बौद्दिक पाठकमा हुनु पर्छ तसर्थ देशको बर्तमान परिस्थितीमा कुन र कस्तो साहित्यको खाचो छ भनेर औलाई दिने काम पनि असल पाठकहरुले लिई दिनु पर्‍यो जसले गर्दा सबै लेखक साहित्यकारहरुले पनि यसको आलो अनुमान गर्न सकुन् ।

Tuesday, June 23, 2009

कबिता












आऊ कफन बाँधेर

-राज रोबर्ट अजनबी सुब्बा
म त भन्छु सायद
प्रकृति नै मात्तिएको थियो बैशले
तब त लाली पोतेर बनै भरि
रातम्य गुराँस फुलेको त्यो समय
मेरा हर...
अधरहरुमा/नजरहरुमा
धड्कनहरुमा/स्पन्दनहरुमा
तिमी नै तिमी थियौ
खोइ...!
गुराँसे माया भनौ कि
चैते खडेरी....?
आज तिमी र म
कहिल्यै नजोडिने
दुई किनारा भएका छौ ।

अब त मलाई
कति पनि रहर छैन
मखमली फूल फुलाउन
बरु उजाडियोस् मनको बगैचा
अब त...
दोबाटोमा लासो ओछ्याएर
तम्फुङ्नालाई अन्डा भोग दिदै
बाटो छेक्छु म तिम्रो
घुङ्गृङ् ठोकेर चारै किल्ला
माङ्गेना गर्छु 'म'
आफ्नै प्रेमको
अझ...
कुखुराको भोग चढाई
तावा खोलामा
साक्मुरा बगाउनुछ
तङ्सिङ् राखेर तिमीबाट
मेरो माया फिर्ता लिनुछ
हो.., अब म साच्चै...!
बिजुवाको मोर्चा कसेर
उत्रेको छु रणभूमिमा
हिम्मत भए तिमी पनि
कफन बाँधेर आऊ लड्न
मुन्धुमको यो युद्द समरमा ।


-मामाखे, ताप्लेजुंग
हाल: इजरायल

गीत










मरेर बाँच्ने कुरा

-नाकिमा
सुन है सुस्तामा छिमेकी नाच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

सिक्किम, टिस्टा हाम्रै हो तर 'थियो' भयो
कालापानी उसैलाई दियो, लियो, गयो
सोच है नेपाली सिमाना जाँच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

तिनीसँग बन्दुक छन् हामीसँग मुठी
सहिदका रगतहरु थोपा-थोपा जुटी
आँट है मुठीले बन्दुक भाँच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा


-खोटांग
हाल: काठमान्डौ

Monday, June 22, 2009

गजल










-अर्जुन दुङमेन् राई
लेकतिर जाडो बढे पछि बेशीतिर झर्नु पर्‍यो
आफ्नो घर भत्किए पछि, छिमेकतिर सर्नु पर्‍यो


वर्षातको समय राती बाढी आउन पनि सक्छ
राँको बाली आजै साँझ, पारी गाउँ सम्म तर्नु पर्‍यो ।

गरीवकै घरमा ईश्वरले नि बास गर्नुपर्छ
पारी गाउँकै खेतालो गई, आफ्नो पेट भर्नु पर्‍यो ।

न्यायको आँखा नपुग्ने ठाउँमै दैबको आँखा पुग्छ
निशाफको कुरो नबुझ्ने, प्रत्येक पाइला हर्नु पर्‍यो ।

प्रभातको खोजीमा कति अन्धकारमा भौतारिनु
निधारमा हात राखी, कर्मै यति रै'छ भन्नु पर्‍यो ।

- बगदाद, ईराक

गजल










-नेपोलियन मरहट्टा
एउटा जाबो बैंश पनि भारै भयो मलाई त,
दिन त काँटे तर रात गाह्रै भयो मलाई त ।

नत मिलन नत बिछोड ब्यर्थै माया लगाएछु,
तिम्रो माया करौँतीको धारै भयो मलाई त ।

ओरालीको मृगलाई जस्ले पनि खेद्दो रैछ,
दैबबाट पनि अत्याचारै भयो मलाई त ।

एक्लै एक्लै तड्पिएर खरानी छु भित्र भित्रै,
जवानी त साँच्चै उल्का तारै भयो मलाई त ।

पहिले जस्तो कहाँ छु र ? सिकिस्त छु आजभोली,
हिजो बेलुका त झन साह्रै भयो मलाई त ।


-चितवन

गजल










-डिआर निश्छल
तिम्रो मेरो चोखो प्रीति, ढकमक्क फूल्यो ठूली
अधेँरी मन उज्यालो छर्दै एकाएक खुल्यो ठूली

मेरो नयन भित्र तिमी, म तिम्रो मुटु भित्र छिरे पछि
सगरमाथा छुनलाई हाम्रो प्रेम त चुल्यो ठूली

रोमियो-जूलियट लैला-मजनू , केबल कथा मात्र रहेछ
हाम्रो प्रेम त नमूना भो मुनामदन भूल्यो ठूली

रात दिन एउटै लाग्ने, निरस निरस जिन्दगीमा
तिमी आयौ रंग भर्दै खुशी मात्र डुल्यो ठूली

बिश्वास आशा पलाएर, झ्यागिदै'गो मनको फाँट्भरि
मायै माया जताततै शंका ईर्ष्या सब धुल्यो ठूली

-महेश्वरी -२, खोटांग

Sunday, June 21, 2009

समय-सन्दर्भ








खडेरी लागेको मन र असार

-गणेश खड्का " प्रतिक्षा "
"हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।"
प्रिय सखा डल्ली,
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई ।
संपर्क बिनाका थुप्रै वशन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन , न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे सँगै तिम्रो पनि अस्पस्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।

प्रिय डल्ली, छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ?
"पानी पर्‍यो सालघारी करायो
वर्खा लाग्यो भेटघाटै हरायो ।
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।"
मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?

मेरी प्रिय सखा, हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।
"खोला पारी म मायाँ लाउँदिन
वर्खा लाग्यो आइरहन पाउँदिन ।
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल
मिठैमा खाउँला राम्रैमा लाउँला हजुरको जीउ छउन्जेल ।"
कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा कृषि प्रधान देशको लागि कती जर्जर होल कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।

प्रिय डल्ली, असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।

प्रिय बालसखा , प्रकृतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो गृहस्ती , चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटकहरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् ।
तिम्रो बाल सखा
जीवन संघर्षको मैदानबाट ।

"रिमिमाझिमी पानी है पर्‍यो असारे मासैमा
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू । "


-तिवारी भञ्ज्याङग - ४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Friday, June 19, 2009

गजल







-इन्द्र नारथुङ्गे
सुन्दर धर्तीको निम्ति भार भएँकी म
कोमल मनहरु रेट्ने धार भएँकी म ।

युगले मान्छे होईन मान्छेले युग बोक्छ
परिबर्तन रोक्ने छेकबार भएँकी म ।

धर्ती सजाउने फूल फूलै हो जिन्दगानी
फूल लुकाउने पापी झार भएँकी म ।

गुलियो-मीठो भन्छन् बचन र आनीबानी
घाँटी अठ्याउने तितो छार भएँकी म ।

जन्मेर आएको थिएँ कर्तब्य पूरा गर्न
पाखुरी हुँदाहुँदै निस्सार भएँकी म ।

सिर्जना कला गला आफ्नै हुनुपर्छ
अर्काकै खोसेर लिने जार भएँकी म ।

सत्यको मार्ग खोजी सत्यमै हिडुँ भन्थेँ
दुनियाँ देख्दा आफै लाचार भएँकी म ।

आमाको बचन नाघ्ने कोखै अगति भन्छन्
श्रृष्टीको निम्ति कतै हार भएँकी म ।


-ईन्द्राणीपोखरी, खोटांग

गजल










-नेपोलियन मरहट्टा
पछि शरीर कब्जा गर्छन् मनमा बास माग्नेहरु,
रित्याउँछन् बायुमण्डल मात्र सास माग्नेहरु ।

भिखारीको नकाब भित्र शिकारीको रुप हुन्छ,
असीमित चाह राख्छन् थोरै आश माग्नेहरु ।

अलिकती फुलेपछी बोलाएर भँमरालाई,
जताततै चुम्न दिन्छन् मधुमास माग्नेहरु ।

शहर भित्र भिड एक्लो,भिड भित्र मान्छे एक्लो,
झुक्क्याएर छुरा हान्छन् बहुपास माग्नेहरु ।

कोही रित्तो फर्किदैनन्,भोलि मनको बर्खास्तीमा,
उपदान र पेन्सन खोज्छन् अबकास माग्नेहरु ।


-चितवन

कबिता









बेकाम जिन्दगी

-केदार श्रेष्ठ 'गगन'
बुझ्नै सकेको छैन यो मनलाई मैले
मनले नै हाँक्दो रहेछ जीवन
मन नै रहेछ जिन्दगीको चालक
तर राम्रो चालक हुन सकेन किन ?

यसलाई
फुकाल्ने थिएँ
दाँत फुकालेझैँ
फुकाल्न मिल्ने भए
फ्याकिदिन्थेँ पर-पर धुरी कटाएर
कसैले नदेख्ने गरी यो थोत्रो मनलाई
खोटैखोट खाटैखाटा
बग्रेल्ती घाउहरु भएको कसैले देख्न सक्दैन
र त
सबै मलाई मान्छे भन्छन्
नत्र पशु भन्न लायक छुइन म
के गर्न सकेर मैले मान्छे हुने काम ?

उधार्न मिल्ने भए
अर्धानो मन
उधारी दिन्थेँ सबै सिउनीहरु
फेरि
सिलाउने थिएँ टम्म मिलाएर
र लगाउन दिन्थेँ मेरी आमालाई
एउटा फूलबुट्टे गुन्यू ।

पकाउने थिएँ
यो भोको मनलाई
पकाउन मिल्ने भए
र लगेर दिन्थेँ कर्णाली तिर
वैरागी मनलाई
अघाएर कोही खुसी त हुने थिए ।

तोडिदिन्थेँ
चिरैचिरा परेको मनलाई
घनैघनले हिर्काएर
बन्चरोको पासोले फुटाइदिन्थेँ
झर्यामझुरुम सिसाझैँ अझैँ
के काम विनासित्तिको
निकाल्ने थिएँ खल्यामखुर्लम
निकाल्न मिल्ने भए
गालेर तन्काउने थिएँ
तनक्क डोरी बनाएर
अनि त्यही डोरीले कोर्थे
लक्ष्मणरेखा मेरो देशको
र मान्छे बन्ने कोसिस गर्ने थिए ।


-भीमस्थान-५, सिन्धुली
हाल: युएई

गजल










-अर्जुन दुङमेन् राई
दिल सफा तर मान्छे अलि काली छ
हेर्दा सोझी भनुँ भने जाली अलि छ

देखिन्छिन् उमेरले डाँडा काटे झै
सोधुँ भने उनको सिउदो खाली छ

खुम्चन थाली गए यौवनका अंग
हेर्दा मै हुँ भन्छिन, ओठमा लाली छ

लालुपाते जोवनमा माया गासुँ कि ?
जे भए नि ज्यान त उनको डाली छ

प्रेम-प्रस्तावको हात दिनै पर्‍यो नि !
के गरुँ ? उनको रिसाउने बानी छ ।

- बगदाद, ईराक

गीत












चाँदमा कुनै

-दिलिप योन्जन
कसरी गरूँ तिम्रो प्रसंशा, चाँदमा कुनै दाग छैन
तिमी बिना यो जुनीमा, जिउने कुनै आधार छैन ।

तिम्रो हासो मेरो खुसी, यसै गरी जिबन बितोस्
सुख त दुईपलको हो, सधै दु:खमा साहारा मिलोस्
कसरी देखाउँ तिम्रो माया, छाती चिरी देखाउँ सक्दिन
तिमी बिना यो जुनीमा, जिउने कुनै आधार छैन ।

तिमी आयौ जिबन पाएँ, सुख शान्ति मिलेकै छ
अर्को जन्म तिमीलाई पाउँ भगवानसंग यही प्रार्थना छ
कसरी भनूँ तिम्रो बारेमा, खोट लाउने ठाउँ छैन
तिमी बिना यो जुनीमा, जिउने कुनै आधार छैन ।


-अस्टिन, अमेरिका

कथा

ती उदासी आँखा

-कृष्ण धाराबासी
सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, 'उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ? बिस्तारै फोनलाई कानमा लगिन् र बोलिन्, 'हेल्लो !'
उतापट्टिबाट मसिनो पुरुष आवाज आयो ।

मोबाइलको आवाजसँगै उनको हिँडाइको गति धिमा भएको थियो । उनको हिँडाइको गतिलाई असहयोग गर्दै म अघि बढेँ । बिहानको कलिलो घामसँगैको सहनसकिने चीसो हावा शरीरका विभिन्न भागलाई र्स्पर्श गर्दै बगिरहेको थियो । बाटाका दुवै किनारमा आधाशताब्दि उँभो उमेर खाएका स्त्रीपुरूषहरू एक्लाएक्लै वा संयुक्त यात्रामा देखिन्थे । कोही खोच्याउँदै, कोही लट्ठी टेक्दै, कोही दौडँदै, कोही छिटोछिटो अघि बढिरहेका देखिन्थे । छिटै पुग्न खोजेझैँ देखिन्थे प्रायः सबैजना । नमस्ते गर्दै, हात उठाउँदै, कुकुर पच्छयाउँदै, धमाधम भएको थियो बिहानलाई । प्रायः एकै प्रकारका परिचित अनुहारहरू, एउटै समयमा भेट हुन्थ्यो, तै पनि कतिसँग चिनजान, परिचय आदि बिनै पनि बितिरहेको थियो समय । धेरैजसो परिचित बोल्ने सर्न्दर्भमा बन्द-हडताल र महँगीको विषय शिर्षकमा देखिन्थ्यो ।

मीरा र मेरो यो 'प्रातयात्रा' सुरू भएको पनि झन्डै चार वर्षभइसकेको छ । उमेरको हदले जागिरबाट अवकास पाएपछि पूर्णकालीक गृहवासपछि यस यात्राले निरन्तरता पाएको हो । जागिरे अवधिमा बसाइको अव्यवस्थाले गर्दा प्रायः खटाइएको ठाउँमा एक्लै बस्ने गरेको थिएँ । आफूसँगसँगै भुरालाई पनि स्कुल सरुवा गरिरहँदा उनीहरूको पढाइ बिग्रने हुनाले आमा र केटाकेटीलाई घरमै छाडेँ । प्रायः लामै जागिरे जीवन मैले एक्लै बिताएँ भने पनि हुन्छ । यस एक्लो जागिरे यात्रामा खाने, सुत्ने, कुनै कुरा पनि व्यवस्थित थिएनन् । साथीभाइहरूका लहैलहैमा लागेर खाने, खेल्ने कुरा पनि सिकियो । मनले बेठीक ठान्दाठान्दै पनि घरलाई ढाँटेर बेकामे कुरामा पैसा खर्च गरियो । पैसा खर्च भएको अर्को दिन मनमा निराशा र पश्चाताप झाँगिएर आउँथे । श्रीमती र छोराछोरीको अनुहार आँखामा नाच्दथ्यो । साथीभाइका अघि नजरशर्मी हुने भएर बेकारमा गरिएको खर्चको हिसाब आज दिमागमा बारम्बार आइरहन्छ ।

श्रीमती र छोराछोरीहरूमाथि अगाध स्नेह र प्रेम हुँदाहुँदै पनि आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुँदै आउँथे । इच्छा र रहर नहुँदानहुँदै पनि कताकताबाट प्रेमजस्तो कुरा उम्रिदै आएको हुन्थ्यो । कुनै बेला कार्यालयका महिला साथीहरू, कुनै बेला डेरा वा घरपटीका छिमेकीहरू, कुनै बेला खाना वा खाजा खाने क्यान्टिनका सेविकाहरू आँखाबाट मनतिर ओर्लिंदै गरेको अनुभव हुन्थ्यो । उनीहरूको आफूसँग हुने प्रस्तुतिले कतिकति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लगी मन बहकिने गर्दथ्यो । महिलाको नबाँधिएको फुकेको कपालजस्तो जति बेला पनि असरल्ला छरिने यस मनले कैयौँ रूप र सौर्न्दर्यको यात्रा गर्‍यो । मानसिक रूपमा आकषर्णको यात्रामा घुम्दाघुम्दै एकाएक नराम्रो गरी अल्झिएको मन एउटा पीडाको लामो यात्रामा हेलिन पुग्यो । छोप्दाछोप्दै पनि त्यो कुनै कुनाबाट बिस्तारै देखिँदै गएछ । प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो, जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ । प्रेम कहाँ उम्रिन्छ र त्यो कसरी झाँगिदै जान्छ भन्ने कुरा कसैले भन्न सक्छ जस्तो मलाई लाग्दैन । कुनै काल, स्थान र उमेर विशेषले नबाधिने यस अनुभूतिले आक्रान्त हजारौँ मनस्थितिहरू जतासुकै असरल्ल देख्छु, अचेल म । सबै कुरा थाह भईभईकन पनि खेल्न मन लाग्ने कस्तो अप्ठ्यारो खेल हो यो । जब म एकान्तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुडि्कलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ ।

घरमा भएका श्रीमती र छोराछोरीहरू गृहस्थीका महान् सदस्यहरू रहे पनि तिनीहरूका अतिरिक्त यस मनमा अर्कै स्वतन्त्र पात्रसत्ताको अनुभूति भइरहन्छ सधैँ । पत्नीबाहेक अरू कसैसँग शरीरसुखको अनुभव साटासाट गरेको नभए पनि मनको तहमा प्रेमका अनेक पर्दाहरू खुल्दै बन्द हुँदै गरिरहन्छन् ।

जोगिँदाजोगिँदै पनि प्रेमको अनौठो जालमा म फँसेछु नराम्रै गरी । उमेर, अवस्था र स्तर केही पनि मिल्दोजुल्दो थिएन । तिनीसँग बिहे गर्ने, घरजम गर्ने वा सँगै जीवन बिताउने इच्छा पनि थिएन । कहिलेदेखि कसरी म एकोहोरिएछु थाहै भएन । आफूलाई साधारणजस्तो लागेको कुरा देख्नेलाई असाधारण हुँदै गएछ । एक दिन एकाएक श्रीमती बिनाखबर डेरामा आइपुगिन् । उनको यो आगमन मेरा लागि ठूलै आपत्तिजस्तो भयो । उनी यसरी एकाएक बिनासूचना आउनाको कारण सोधेँ, उनले त्यस प्रश्नको खासै उत्तर दिइनन् । केवल मुसुक्क हाँसेर भनिन्, 'दिक्क लाग्यो, एक्लै बस्न, अनि...।'

केही दिन त्यत्तिकै बित्यो तर उनले घर फिर्ने लक्षणै देखाइनन् । एकदिन सोधेँ, 'मीरा ! घर जाने होइन - भुरा एक्लै छाडेर यहाँ कतिन्जेल बस्ने - उनीहरूको पढाइ बिग्रेला नि फेरि ।'
'भुराको पढाइ बिग्रिए अर्को वर्षसप्रिन्छ, ठूलाको बानी बिग्रिए कहिले सप्रिन्छ - म त अब नजाने गरी आएकी ।'
म झसङ्ग भएँ । अग्लो ठाउँबाट खसेझैँ । जुन कुरा लुकाउन म कत्ति प्रयत्न गरिरहेको थिएँ, उनले त्यसलाई निर्णय जस्तै सुनाइन् । आफैँसँग लाज, घिन र शरम उम्लिएर आयो । उनको अनुहार हेर्न कत्ति कठिन भयो त्यस क्षण । तर, उनको बुद्धिमानीको अगाडि म नतमस्तक भएँ । यस्तो अनौठो उपचार गरेकी थिइन् तिनले म आफैँभित्र पग्लिएर पानीपानी भएँ । त्यो साँझ मैले मीरालाई भनेँ, 'मलाई माफ देऊ, मैले आफैँलाई बिर्सिएँछु ।'

उनले भनिन्,'मैले किन माफ दिनु नि ! तपाईं आफूले आफैँलाई सम्झे भइगयो नि । म तपाईंलाई तपाईं को हो भन्ने सम्झाउन आएकी थिएँ । अब भोलि नै जान्छु ।'
नभन्दै भोलि बिहानै उठेर उनी बाटो लागिन् । आमा माइत गएको परबाट रुँदै हेरिरहेको भुराभुरी जस्तो मनको भएँ म त्यो दिनभरि । वास्तवमै मलाई त्यो दिन आफ्नो स्थितिको ज्ञान आफैँलाई झस्काउने गरी भयो ।

त्यसको एक हप्तापछि मैले त्यस कार्यालयबाट सरुवा लिइसकेको थिएँ । हिँड्ने बेलामा राधिका साह्रै रोइन् । मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन । म उनलाई फेरि कुनै दिन लिन आउने कुरा पनि थिएन । हाम्रो प्रेमलाई झन्झन् झाँगिएको पार्ने रहर पनि थिएन । कुनै आश्वासन नै थिएन मेरो उनका लागि । खालि यत्ति मात्र भन्न सकेँ मैले, 'प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ राधिका ! मानिसले अन्तिम क्षणमा रोज्नुपर्दा गृहस्थी नै रोज्नुपर्ने रहेछ । प्रेमलाई छातीभरि निमोनियाजस्तो पालेर कहाँकहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ । तिम्रो गृहस्थीको लागि शुभकामना ।'

उनी रोइरहेकी थिइन् । म लुरुलुरु गएर बसको सिटमा भरिएको थिएँ । यात्राभरि मेरा आँखा राधिकाकै आँशुले भिजेका थिए । कुनै बेला आफैँसँग रिस उठ्थ्यो, किन मैले त्यो कलिली केटीलाई सपना बुनिरहेको बेला भत्काउने आदेश दिइन । आमाले काखमा टाउको अड्याएर जुम्रा खोजिरहँदा फुस्स निदाएजस्तो म किन निदाएँ उनको अनौठो आग्रहसँग । मैले उनीमाथि सपना ओच्छ्याएको थिएन, तर के उनले मैलेजस्तै निरपेक्ष सपना बुनेकी थिइन् होला त ?

होस्, एउटै घटनाले म दुई नारी हृदयबाट फालिएको थिएँ । मीराको मनभित्र म एउटा प्राविधिक 'लोग्ने'मात्र थिएँ । राधिकाको मनमा म निष्ठुरताको प्रतीक । आज पनि मीराका अघि मलाई गहिरा भावुक कुराहरू गर्न लाज लाग्छ । मेरो भावको नाङ्गो रूप देखिसकेकी उनका अघि मैले आफ्नै उपस्थितिलाई उभ्याउन सकिन । केवल कर्तव्यको एउटा दिग्दार लाग्दो यात्रामा हिँडिरहेकी जस्तो लाग्छ मलाई उनी । मुखले आजसम्म एक शब्द तलमाथि नबोलेकी भए पनि उनका आँखामा गृहस्थीको निरसता सधैँ उभिएको देख्छु । कैयौँपल्ट मैले माफी मागिसकेँ, तर उनी मुसुक्क हाँसेर यसरी टार्छिन्, मलाई लाजको बर्कोले गम्ल्याङ्ग छोप्छ घरीघरी ।

निकैबाटो हिँडिसकेछु, आफ्नै हिजोको स्मृतिको लौरो टेकेर । पछि र्फकेर हेरेँ, मीरा निकै पर बिस्तारै हिँड्दै आइरहेकी थिइन् । आफूभन्दा पाँच वर्षकान्छी तिनी पनि तीन बीसको छेउछाउ पुगिसकेकी छिन् । बाईस वर्षीय चन्चले केटीलाई बेहुली बनाएर आफ्ना घरमा भित्र्याएका दिन तिनको अनुहार हेरेर कहिले अघाउँला र म, जस्तो लागेको थियो । वास्तवमा जीवनमा कहिल्यै विरक्तिको भाव उत्पन्न भएन उनीप्रति । उनको अनुपस्थितिमा मभित्र सलबलाएको स्वच्छन्द लोग्ने मान्छेप्रति सधैँ व्रि्रोह गर्थें म, तर त्यत्तिकै थाकेको हुन्थेँ ।

मेरो घरगृहस्थी सम्हाल्न आएकी यिनले वास्तवमा पार लगाइन् एउटा ठूलै डुङ्गा । दुई छोरा र दुई छोरी आ-आफ्नै गृहस्थीमा प्रवेश गरिसके । जागीर र गृहस्थीका सिलसिलामा कोही देशभित्र कोही देशबाहिर कर्मक्षेत्रमा व्यस्त छन् । हामी बुढाबुढीलाई आवश्यक खर्च र टेलिफोनमाया दिन उनीहरू कन्जुसी गर्दैनन् । आज हामी एकअर्काको भर भएका छौं ।
जति हेर्छु त्यति माया लाग्छ उनको । मैले यिनीसँग प्रेम त गरिन, तर माया भने सुरु देखि नै गरेँ । जतिबेला पनि माया लागिरहन्थ्यो, तर त्यो माया कहिल्यै प्रेमजस्तो थिएन । सम्झौताको संसारमा प्रेमको उपस्थिति नहुँदोरहेछ । कहिलेकाहीँ लाग्छ, मानिसले हजारौं वर्षेखि जपेर ल्याएको यो प्रेमको आखिर के उपयोगिता छ - के अर्थ छ ?

छेउमा आइपुगेकी तिनलाई नियालेर हेरेँ । अनुहार एकदम निराश र दुःखीजस्तो थियो । बिहान घरबाट निस्कँदाको उज्यालो अस्ताइसकेको थियो, यो प्रात भ्रमणको रङ थिएन अनुहारमा । हेरेँ तिनको अनुहारको रङमा कुनै गृहस्थी वा पारिवारिक पीडाबाट उत्पन्न अभिव्यक्ति थिएन । त्यो सदाको भन्दा अनौठो र अपरिचित थियो । पहिला पनि बेलाबेला त्यस्सै उदाउँथ्यो उनको अनुहारमा त्यस्तो उदासी । अनि बिस्तारै हराउँदै गएको देखिन्थ्यो । उनको अनुहारमा उदाउने खुसी वा उदासी दुवैको कारण सोध्ने आँट मलाई कहिल्यै आएन । मैले उनको अनुहारमा हेरिरहँदा, उनले आफ्नो अनुहार भुइँतिरमात्र घोप्ट्याउँदै हिँडिरहिन् ।

घरमा आइपुग्दा पनि उनको उदासी हराएको थिएन । बाटामा मैले उनलाई भुलाउन के-के, के-के, भनिरहेँ तर ती कुनै कुरा पनि उनले मन दिएर सुनेजस्तो लागेन । यही बेला खेरीखेरी के सोधिरहनु, पछि आफैँ भन्लिन् नि भन्ने सोचेँ । साँझमा घर आइपुग्दा पनि मीराको अनुहार झन् अँध्यारो थियो । मनमा चीसो पस्यो । उनलाई केले त्यस्तो पार्‍यो होला ! सधैँ कस्ताकस्ता पीर लुकाएर हाँस्न सक्ने उनी झन्झन् अँध्यारिएकी थिइन् ।
मैले दुइटा मात्र रोटी खाएँ आज । सदा चारवटा खान्थेँ । उनले त एक गिलास दूधमात्र खाइन् । त्यत्तिकै घरको वातावरण अप्ठ्यारो भएको थियो । सोचेँ, 'अब धेरैबेर चुप लाग्नु हुँदैन, सोध्नुपर्छ ।'
तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।
तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।
उनको टाउकोमा हात खेलाउँदै भनेँ,'किन यसरी रोएकी मीरा ! बिहान फोन आएदेखि नै तिमी दुःखी देखिन्छ्यौ, कसको फोन थियो त्यो ?'

अनौठो पाराले हेरिन् उनले मेरो अनुहार । पहिलोपल्ट उनी मलाई राम्ररी चिन्न खोजिरहेकी छिन् जस्तो लाग्यो । मेरा दुबै हात समातेर बडो दयनीय अनुहारले अनुनयपूर्वक बोलिन्, 'आज ३ बजे उनको देहान्त भयो । भोलि बिहानै हस्पिटल जौँ न है ।' एकदम नै दबिएको र डराएको जस्तो थियो उनको आवाज ।
म अलमल्ल भएँ । सोधेँ, 'कसको देहावसान भयो ?'
मेरो आँखामा एकोहोरो हेरिरहिन् । तिनका आँखा कस्ताकस्ता अनौठा र एकोहोरो जस्ता थिए । कुनै प्रेत लागेको बिरामी धामीका अघि एकोहोरिएजस्तै एकोहोरी भएकी थिइन् तिनी । विस्तारै भनिन्, 'कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । बिरामी छु भन्थे, तर यति चाँडै सकिएलान् भन्ने सोचेकी थिइनँ ।'
कहाँकहाँ हेरेर एक्लै आफैँसँग बोलेझैँ भन्दै गइन्, 'सधैँ जीवनका बारेमा सम्झाइरहन्थे । गृहस्थीको महत्व दर्शाइरहन्थे । प्रेमको अर्थ बुझाइरहन्थे । तपाईं नहुँदा पनि फोनबाट तपाईंका बारेमा सोधिरहन्थे, तपाईंको ख्याल राख्नु भनिरहन्थे । मलाई एक्लै एकान्तमा रमाइरहन पुग्ने उनी साथी थिए । तपाईंको गृहस्थीले टम्म भरिएकी म, उनको प्रेमले रमाएकी थिएँ ।'
पागल बरबराएझैँ गर्न लागिन् । मैले दुबै हातले उनको कुम हल्लाएँ ।
झसङ्ग भइन् उनी । एकछिनपछि आँखाको आँसु पुच्छदै भनिन्, 'मैले सारा जिन्दगी तपाईंलाई दिएँ । यो घरलाई संसार बनाएँ । तपाईंको सुखका लागि समर्पित भएँ । भोलि एकपल्ट तपाईं मेरा लागि समय दिनोस् । म उनको अन्तिमपल्ट अनुहार हेर्न चाहन्छु ।'
उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, 'हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।'

राति ब्युझिदा पनि उनी भित्तातिर फर्किएर ठूलोठूलो सास फेरिरहेकी थिइन् । नाक पुछिरहेकी थिइन् ।

Wednesday, June 17, 2009

गजल










-नेपोलियन मरहट्टा
जति बोल्यो त्यति बोल्ने रहर लाग्न थाल्यो अब,
जसरी'नि बोल्नै पर्ने कर लाग्न थाल्यो अब ।

मिठो मिठो बोली तिम्रो अझ साथ विश्वाशिलो,
बेसाहारा हुँदा थोरै भर लाग्न थाल्यो अब ।

नगए'नि हुन्थ्यो कतै आँखाबाट ओझेल परी,
थोरै टाढा जाँदा पनि पर लाग्न थाल्यो अब ।

नचिनेकै भए पनि हेलमेल बढे पछि,
तिम्रो मन साँच्चै आफ्नो घर लाग्न थाल्यो अब ।

घट्दै छ दुरी हाम्रो, बढ्दै छन् पाईला अघि,
साह्रै नजिक भईन्छ कि ? डर लाग्न थाल्यो अब ।


-चितवन

गजल









-आचार्य प्रभा
तिम्रो मनको मझेरीमा बास दिन्छौ कि !
बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि !

तिम्रो निम्ति भएँ म त, भिखारी सरि नै
थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि !

ओलाएकी थिएँ म त, बसन्त नै नआई
फेरि फूल भै फुल्नलाई मधुमास दिन्छौ कि !

एक्ली थिएँ भिँडमा पनि उदास थियो नयन
खुशीको आसुँ झार्न बाहुपास दिन्छौ कि !


-अमेरिका

कबिता










हाम्रो माया

-अबिरल अधिकारी 'प्रेरणा'
तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन्
तिमीले आफ्नो पाइला नदीको धारमा
परिणत गरेपछि
म... आफू मरुभूमिमा अनुवाद भएको छु ।

अनि
आँधिहुरीको बेगले हरियालीलाई
पत्झडसरी बनाए झैं
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झैं बनेको छु ।
जब तिमी नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरेँ मैले
आफ्नै मनको चुल्होमा फेरि आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय...,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल, हरपल ।
भूल रहेछ मेरो,
चोखो माया दिएँ तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त
आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी ।
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि..तिम्रो पाइला सुखको दोबाटोमा
हिड्न खोजेपछि ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अंगाले पछि ।
म कॉँडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहून्
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु ।

कबिता












सिमानाहरू

-दिलिप योन्जन
सारिएका सिमानाहरु पुरानै डोबमा गाड्नु छ
खुम्चिएको देशको नक्सा फेरि नयाँ कोर्नु छ
टिष्टा र कांगडा फिर्ता लिन लड्न बाँकी नै छ
उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ ।

सन्धि र सम्झौतामा मेरो देशको माटो हराइरहेछ
कहिले कोशी कहिले गण्डकी पटक पटक बिक्री भैरहेछ
देशमा बिदेशीको हावी दिन दिनै बढ्दो छ
उठ है उठ राष्ट्रप्रमी हो, फेरि वीरता देखाउनु छ
उठ है उठ युवाहरु हो, सन्धि र सम्झौतामा फेर्नु छ ।

हिमालमा हिउँ रहिन्जेल एक थोपा रगत भइन्जेल
गल्ने छैनन् यी हातहरु गोली हाने नि भालाले रोपे नि
माटो नै रंगाउने छु रगतले झुक्दैन कहिल्यै मेरो शीर
उठ है उठ देशभक्तिहरु, एक जुट हुनु छ देशका शक्तिहरू
उठ है उठ युवाहरु हो, राष्ट्र र राष्ट्रियता बचाउनु छ ।


-अस्टिन, अमेरिका

Monday, June 15, 2009

कबिता













यो पर--देश

-राज रोबर्ट अजनबी सुब्बा
नियतिले हुत्त्याएर
पराइको माटोमा
अर्थात्, अर्कै परिबेशमा
अझ भनौ त,
आफ्नो भन्दा धेरै पर
अर्कैको परपिडक देशमा
डङ्रङ्गै पछारेको यो पल !
यत्र तत्र लतारेको यो बेला
बिजय उत्सब मनाउदै छ
साला, यो डायोस्परा।

के जित्यो र आखिर?
बोइलर कुखुराले
भत्काएर गिजाहरु
दाल र चनाले मलम लगाउन बाहेक ?
एक पेग रेड लेबलले
मुर्छ्याएर आत्माहरु
जीबनलाई ओरालो बगाउनु बाहेक ?
बरु बजारमा खरिद बिक्री गर्छ
मान्छेहरुको यो शहरले
मानबता पनि कति सस्तो यहाँ ?
यहाँ त जिउनुको अर्थ
मर्दै पनि फेरि जिउनु हो,
अर्थात्, जिउदो मृत्यु
एकै शब्दमा जिउदो लास
फगत् बाच्नुको असीम पिडा।

ठिही झै चिसोमा पनि
तात्तिनु जानेको छ यो शहरले
शरद ऋतु अनि....
पौष माघहरु आउछन् जान्छन्
तर यो मात्तिएको शहर चिसिदैन
सडक देखि पार्कसम्म
रेस्टुरेन्ट देखि होटेलसम्म
भोजनालय देखि बेश्यालयसम्म
यो अश्लिल शहर बाह्रै मास
कामुकतामा ब्युझन मात्र जान्दछ
साला, यो पर--देश।


-मामाखे, ताप्लेजुंग
हाल: भारत

गजल










-सुमन शर्मा
नपर दोधारमा आफ्नो मान्छे रोज मैया
मन मिल्ने जोवान साट्ने असल साथी खोज मैया

सास देऊ बास देऊ आशा देऊ जवानीलाई
आफ्नो जोवान आँफैलाई नबनाऊ बोझ मैया

खुराक देऊ सुराक देऊ बहुरस देऊ जवानीलाई
साथी संगीहरु बिच लगाईदेऊ भोज मैया

उमेरैमा लाहुर हजुर बैस छदै बिहे
बुढेसकाल हुन्न हेर अहिले गर मोज मैया

जो पनि जवान हुन्छ बैसको नसा लाग्छ
सम्हालेर राख यसलाई नदेखाऊ पोज मैया


-अमेरिका
ईमेल: sharmadsp@hotmail.com

गजल










-अर्जुन राई दुङमेन
सदा दिल खुशी राखी कर्ममा जुट्नु है
बुढापाका बृद्धाहरुको आशिष लिनु है

कुँदेको चट्टान अनि मुर्तिलाई भन्दा
देवता जस्ता आमा र बाबालाई पुज्नु है

लाखौं तारामण्डलको एक आकाश जस्तै
जन्मभूमिको धर्तिमा वीर सपुत बन्नु है

चर्किन्छ धर्तिको माटो होइन्छ वारीपारी
हृदय देखि भाइ-वन्धुत्वको जालो बुन्नु है

ढुंङ्गामाटो र हावापानी मुटु मिची रुन्छन्
यि साह्रा सिंगो राष्ट्र जोड्न, मनमा गुन्नु है

लोभीपापी र हत्या हिंसाले ढाक्दैछ देश
गाउँ-गाउँबाट उठी शान्तिको बिगुल फुक्नु है ।


-उदयपुर
हाल: बगदाद, ईराक

गजल










-नेपोलियन मरहट्टा
छल कपट गर्ने सँग नसकिँदो रैछ हजुर,
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

जोगाएर राखे पो त काम लाग्छ अनिकालमा,
सधैं खपत गर्ने सँग नसकिँदो रैछ हजुर ।

बल्ल बल्ल उन्को बचन हार्न नसकेर दिएँ,
साह्रै आपत गर्ने सँग नसकिँदो रैछ हजुर ।

भोलि फिर्ता गर्छु भन्छन् नानाभाँती कसम खान्छन्,
झुठो सपथ गर्ने सँग नसकिँदो रैछ हजुर ।

बर्षौँ भयो अझैपनि फर्काउने त कुरै छैन,
मनै जफत गर्ने सँग नसकिँदो रैछ हजुर ।


-चितवन

कबिता








स्वीकार्य छ

-गीता थापा
उदास यो मन तिमी बिना
म आँफैबाट टाढाछु रहर बिना

पिएर आशुँ मेटिएन प्यास
रितिदै गयो प्राण बीचको आस

लुटेको जिवन आँफैबाट
किन कसौ टाढा तिमी मबाट ?

भुल रहेछ जिन्दगी मेरो मलाई स्विकार्य छ
आफ्नै खुशीबाट झरेकी म, हरेक क्षण कालो छ ।

परिबर्तित गरूँ कसरी आफूलाई?
तिमीबाट खोसेर यो चिन्तित मनलाई ।

कोशीस गर्नेछु भुल्ने तिमीलाई
स्वार्थी नसम्झिदिनु बिन्ती मलाई ।


-इजरायल

Sunday, June 14, 2009

गजल










-सुमन शर्मा
बिदेशीको ईशारामा चल्ने नेता हाम्रा
रकेश सुदले फु गरे ढल्ने नेता हाम्रा

राम्रो काम राम्रै हुन्छ जस्ले गरे पनि
अर्काको देखेर जल्ने नेता हाम्रा

धोती गाठेले सिमा सारी देशलाई खुम्चाउदा
केही भएको छैन भनी छल्ने नेता हाम्रा

अमृत भनी पठाउछन् जनताले सिंहदरबार
जति मलजल गरेनि बिष फल्ने नेता हाम्रा

हरुवा,डरुवा र छेरुवाको सरकार बनाउने
दिल्लीमा सलाइ कोरे बल्ने नेता हाम्रा

सुनेको थिए नेताहरु स्वाभिमानी हुन्छन तर
बिदेशीको काट्टोले बदल्ने हाम्रा नेता हाम्रा
-अमेरिका
ईमेल: sharmadsp@hotmail.com

गीत











म त तितेपाती

-घायलश्री
तिमी फूल लालीगुराँस म त तितेपाती
तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।

बिहानीको घाम तिमी लामो यात्रा गर प्रिया
सन्ध्याको सूर्य म त हेर डुब्नै लागे प्रिया
हाम्रो माया छुटाउने समाज यो घाती
तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।

मनैभरी फुल्छौ तिमी म त सधैं तितो
मैले छुदा चोख्याउने फुकी पानी छितो
मुस्काउने दिन तिमी रातको म साथी
तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।


-पर्वत


Wednesday, June 10, 2009

कबिता












आइपुग्यौ राजधानी

-नाकिमा
आकाश थर्काउँदै
धर्ती गर्जाउँदै
आइपुग्यौं राजधानी
राँको सल्काउँदै ।

कसले ठान्छ भन
तिम्रो दरबार ठूलो
कसले मान्छ भन
हाम्रो संसार सानो
वर्षा वर्षाउँदै
बगर बगाउँदै
आइपुग्यौं राजधानी
राँको सल्काउँदै ।

सहिदको रगतले
रङ्गिएको रातो गाथा
टेकी छाड्छौँ एकदिन
विजयको सगरमाथा
शत्रु सिध्याउँदै
मित्र बढाउँदै
आइपुग्यौं राजधानी
राँको सल्काउँदै ।


-खोटांग
हाल: काठमान्डौ

गजल










-नेपोलियन मरहट्टा
तिमी मेरो जिबनबाट छुटेपछी पो याद आयो,
बाचा कसम पनि सारा टुटेपछी पो याद आयो ।

एक बूँद आसुँ भित्र पनि प्राण हुँदो रैछ,
आज आफ्नै अश्रुघडा फुटेपछी पो याद आयो ।

तिम्रो चाहनाको शिखर मैले चढ्नु पर्ने थियो,
मनमा बेग्लै सगरमाथा उठेपछी पो याद आयो ।

प्रयाश्चितमा सोच्दै छु म,मेरै भुल थियो कि त ?
तिम्रो नाम अर्कै सँग जुटेपछी पो याद आयो ।

तिमी साथ भईन्जेल अति सुरक्षित थिएँ म,
आज सारा दुनियाँले लुटेपछी पो याद आयो ।


-चितवन

कबिता










खुसीको स्वाद
(भुजंगप्रयाद छन्द )

-पर्शुराम पराजुली 'पराशर'
मिलाई ब्यबस्था गयौ भोज खान
बडो शान्त राम्रो गुराँसे धरामा ।
उज्यालो खुसीको सबैले फिजाए
बनाए यही स्वर्ग नाचे नचाए । (१)

बजाएर बाजा गरे नाचगान
सबैले सुनाए अनेकौ तराना
म ता खालि खान्थें तमासा नियाल्थेँ
बजाएर ताली गुजारा चलाएँ । (२)

न कैल्यै कुनै गीत काही सुसेल्थेँ
न कैल्यै कुनै ताल दिन्थेँ र भुल्थेँ
तिमी नाच भन्दा सधै लाज मानेँ
भयो लौ न यो के हरे ! राम जाने !! (३)

लिई पुष्प गुच्छा उठाए सबैले
खुसीले उचालेँ दुबै हात मैले
घुमाएछु खुट्टा गरी हाउभाउ
ननाच्ने नाचेछु ताली बजाऊ । (४)

चरी चिर्र गर्दै जवानी उचालेँ
नदी चल्मलाए भरोसा दिलाएँ
सुसेलेर मैले कुनै गीत गाएँ
खुसीको नयाँ स्वाद पो चाल पाएँ । (५)

-झापा
ईमेल: suravisahitya@gmail.com

गजल










-अर्जुन राई
किसानले कुलेशो खनेको, कुलो सरी भयो जिन्दगी ।
लौ न रजनी कुलो यो सुक्यो, धुलो सरी भयो जिन्दगी ।

बग्न खोज्छ कुलेशो बिना, लछारियो तल छाँगा बनी
पसारियो छाँगा मुनी, मृत शब सरी भयो जिन्दगी ।

छहराका छाल सँगै बौढिन खोज्छ, मृत शब पनि
बगी दियो आर्यघाट तिरै, चिता सरी भयो जिन्दगी ।

थाँती रह्यो कल्पनाका महलहरु, पुरा गर्न पनि
चिता जल्यो शब सिद्दियो, खरानी सरी भयो जिन्दगी ।


-बगदाद