♣ 'साहित्य- सागर' को शितल यो चौतारीमा तपाईंलाई स्वागत गर्दछु ।
-धन्यवाद नमस्कार ।
♣ हाल कहाँ र कसरी समय बिताईरहनु भएको छ ?
-स्नातकोत्तर अध्ययनको लागि भोजपुरबाट काठमाँडौ आएको डेढ वर्ष भयो । अहिले त्रिभुवन विश्वविद्यालयमा मानविकी भाषाविज्ञान र शिक्षाशास्त्र अंग्रजीमा स्नातकोत्तर गरिरहेको छु । पढ्ने र लेख्ने काम भइरहेको छ ।
♣ तपाईंको साहित्यिक उपस्थिती चाहि कस्तो छ नि आजभोलि ?
-अहिले म समसमायिक स्तम्भहरु बाहेक गजल,कविता,कथा र निबन्ध लेखिरहेको छु । म प्रायशः लेखिनै रहेको हुन्छु । अनलाइन राजधानी र मोफसलका पत्रिकाहरुमा रचनाहरु छापिने गरेका छन् ।
♣ शुरुमै एउटा कुरा सोधी हालौ । तपाईंले आफ्नो नामको पछाडि किन 'बतास' फुर्को झुन्ड्याउनु भएको ? साहित्यिक स्रस्टा ,सर्जकहरुले त बियोगी/निराशी नाम पो रुचाउछन्, हैन र ?
-अँ, म धनकुटामा पढ्दाताक ०५९ सालतिर नै साहित्यिक पत्रिकाको सम्पादन गर्थें । त्यतिबेला प्रायशः सर्जक नामका पछाडि फुर्को हुन्थ्यो । मैले तपाईँले भन्नुभए जस्तै शुरुमा 'अत्यासी' भनेर फुर्को राखेको थिएँ । त्यस नामबाट पनि रचना छापिए । त्यतिबेला फुर्के नामको नक्कल गर्ने खुबै चलन पनि थियो । पछि मलाई चित्त बुझेन र सोंच्न थाले । अकस्मात फुर्ने तत्व अर्थात् बस्र्ट अफ माइण्डलाई अपोह सिद्धान्त भनिन्छ । मलाई झट्टै 'बतास' भन्ने शब्द फुर्यो । यसअघि यो शब्द कसैको नाम पछाडि सुनेको थिइनँ र मैले त्यै राख्न थालें । धेरैले मलाई नाम अनुसारको मान्छे भएन भन्छन् । म अलि गम्भिर प्रकृतिको छु ।
♣ तपाईं त एउटा राम्रो कबिता लेख्ने मान्छे अर्थात् उदयीमान कबि । बिशेष गरी कस्तो खालको बिषयबस्तु रोज्नुहुन्छ कबिताको लागि ?
-पाठकको मनमा कविताको प्रभाव अरु काब्य विधाको भन्दा लामो समयसम्म रहन्छ । खास गरेर मैले यस अघि गजल बढी लेखेको छु । ०५९ सालतिर धनकुटामा गजल त्यति परिचित नै थिएन र म 'तेश्रो आवाज' भन्ने मासिक पत्रिकामा गजल नआउने भएकोले सँधै म नै लेख्थें । दुइटा गीत र एउटा नाटक पनि रेडियो नेपाल धनकुटामा उत्कृष्ट भएका थिए । तर अहिले म अचेल भने बढी कविता,कथा र निबन्ध लेख्छु । सिर्जना भनेको भोगाइ नै रहेछ । देखेको र भोगेको कुरा लेख्न सजिलो हुँदो रहेछ । अहिले समसामयिक राजनीतिक विषय र आम मान्छेको भोगाइ सबैका विषय बनेका छन् ।
♣ आफ्नो कबितामा जातिय मिथक र बिम्ब कतिको प्रयोग गर्न रुचाउनु हुन्छ ?
-मेरो चाख पछिल्लो समयमा जातीय मिथक र विम्बमा बढेको छ । म त्यस्ता सिर्जना खोजेर पढिरहेको पनि छु । म त्यतातिर पनि मोडिदैंछु ।
♣ साहित्य सिर्जनाको अलावा तपाईं त पत्रकारिता क्षेत्रमा पनि उतिकै सक्रीय हुनुहुन्छ । यी दुई क्षेत्र बीचको अन्तर्सम्बन्ध कस्तो पाउनु भएको छ ?
-फिक्सन र ननफिक्सनले फरक पारेको छ पत्रकारिता र साहित्यलाई । समाचारको स्टोरी नै वास्तवमा साहित्यको विषयवस्तु पनि हो । हिँड्दा डुल्दा धेरै नयाँ सिर्जनाहरु फुर्ने गर्छन् तर एउटा साँचो कुरा पत्रकारिता लागेपछि साहित्य लेखन अलि कम हुँदो रहेछ ।
♣ साहित्य क्षेत्रमा तपाईं कसरी शुरुमा प्रभाबित हुनुभयो ? कुनै अबिश्मरणीय क्षण भए भनिदिनुस् न ।
-म विद्यालयमा नै भाग लिएका सबै कविता,निबन्ध लेखनका प्रतियोगितामा उत्कृष्ट भएको थिएँ । धनकुटामा पढ्न जाँदा ०५८ सालतिर पहिलोचोटि साहित्यिक पत्रिका 'सोल्टिनी' देखें । म आधा दर्जन पत्रिकाको प्रतिनिधि पनि भएँ । क्याम्पसका सबै भित्तेपत्रिकामा मेरो रचना छापियो । भित्ते पत्रिकाहरु हेरेपछि क्याम्पस प्रवेशको शुरुमा म सात वटा जति कविता बोकेर गएँ । मान्छेको अगाडि म नर्भस थिएँ । पछि साथी कृष्णलाई सबैको बाकसमा रचनाहरु झार्न लगाएँ । पछि पत्रिका प्रकाशन गर्दा खाने र सुत्नेको पनि कहिलेकाही टुंगो हुन्नथ्यो । कम्प्युटर गराउने ठाउँमा राती चकटी मागेर पनि सुतियो । अहिले सबै रमाइलो लाग्छ ।
♣ बर्तमान नेपालको तरल राजनैतीक स्थितिमा नेपाली साहित्य कसरी हिडिरहेको महशुस हुन्छ तपाईंलाई ?
-राजनैतिक रुपमा सबै सचेत छन् स्रष्टाहरु । सिर्जनालाई कुनै पनि राजनीतिक हुरीले छेक्न सक्दैन । हिजोको जस्तो लेखेर कुनै शासकलाई मनोरंजन दिने या भक्तिभाव देखाउने जमाना पनि रहेन । स्वतन्त्र लेखक लेख्दैमा डराउने अवस्था पनि छैन । साहित्यमा वर्तमानको चिरफार छ र तीक्ष्ण विचारको प्रवाह पनि ।
♣ राष्ट्रले साहित्यिक स्रस्टा सर्जकहरुलाई बेवास्ता गरिरहेको छ भन्ने कुरा सङ्ग कतिको सहमती छ तपाईंको ?-यो विषय सर्जकहरुको लागि कहिलेकाही आन्तरिक बहस बन्ने गरेको छ । हिजो पनि महाकविका श्रीमतीले देवकोटाकै उपचारको लागि सडकमा भिख माग्न बसेकी थिइन् । पारिजातले एकेडेमीमा आफ्नो लास नलानु भनेकी थिइन् । आज पनि एकेडेमी सांस्कृतिक संस्थानमा पार्टीकै मान्छेहरु भर्ती हुने गरेका छन् । यसले साँचो सर्जकको भलो हुने देखिँदैन । सर्जक पुरस्कार र पदकको पछि पनि दौडिएका देखिन्छन् । यो प्रवृति असली सर्जकलाई पटक्कै सुहाउँदैन । जेके रोलिङले जस्तो लेखेरै राजपरिवारको जस्तो जीवन जीउन त सकिँदैन तर राम्रा सर्जक पाठकले जहिले पनि खोजिरहनेछन् । अब बन्ने संघीय राज्यमा भने सर्जकको हितको लागि संवैधानिक भाषिक र साहित्यिक प्रतिष्ठानहरु खोल्नु जरुरी छ ।
♣ कस्ता साहित्य बढी राम्रा र कालजयी हुन्छन् तपाईंको बिचारमा ?
-मलाई त काल्पनिकता अनुभव नहुने रचना धेरै मन पर्छन् ।मुनामदन जस्तो कृति लोकजनजीवन चित्रणले नै कालजयी बनेको हो । अहिले आफुले खाएको लाएको वा घुमेको आत्मरतियुक्त संस्मरण वा कथाहरु धेरै पढिन्छन् । हुन त अहिले कविता ल्यापटपमा लेखिने गरिएको छ । तर आफ्नो भूगोल र परिवेशको मुहार र आफ्नै दुःख पढिने रचनामा पाठकले पायो भने उसले त्यसलाई अवश्य सम्झिरहन्छ ।
♣ समग्र नेपाली साहित्यको बिकासमा डायोस्परिक साहित्यको भूमिका कस्तो देख्नु भएको छ ?
-अहिले धेरै कृतिहरु नेपाली डायस्पोराबाटै निस्किएका छन् । रहरले डायस्पोरिक कृतिहरु निस्कन्छन् भन्ने भनाइ ठीक होइन धेरै नवीनतम विचार र गुणात्मकतामा पनि डायस्पोरिक सिर्जना मलाई राम्रा लाग्छन् । तर सिर्जनालाई भुगोलको हिसाबले तुलना गर्न राम्रो होइन । नेपाली साहित्यको विकासमा डायस्पोरिक साहित्यको भूमिका बढेर गएको छ र यो भोलि झनै बढेर जाने देखिन्छ ।
♣ बिशेष गरी नेपालका जनजाती स्रस्टा सर्जकहरु साहित्यमा धार र बादको कुरा गर्छन्। तपाईं आफूलाई कहाँ नेर उभ्याउनुहुन्छ ? यसरी आएका बिभिन्न धार र बादहरु प्रती तपाईंको निजी धारणा के छ नि ?
-हो, सिर्जनशील अराजकता जस्ता साहित्यिक आन्दोलन पनि चलिरहेका छन् । साहित्यमा धार र वादले सिर्जनालाई नयाँ उचाईँ दिलाउँछन् भन्ने मलाई लाग्छ । पश्चिमी साहित्यले पनि लेखकीय ढाँचा र विचारले नै विभिन्न युगलाई छुट्याएको छ । म अहिले साहित्यिक बादहरुको अध्ययन गरिरहेको छु । कुनै पनि स्वतन्त्र विचारमा सिर्जना गर्न सर्जक स्वतन्त्र रहन्छ ।
♣ तपाईंले थुप्रै देशी बिदेशी साहित्यकारहरुको कृति पढ्नु भएको होला नै। आज सम्म पढेका मध्ये कुन कृतिले तपाईंको मनलाई छुन सफल भयो र किन ?
-मैले एक वर्ष अघि पढेको पर्ल एस। बकको उपन्यास'द गुड अर्थ' मलाई सम्झना भइरहन्छ । अमेरिकी लेखिकाले चीनमा देखेको चरम गरीबी त्यसमा सजीव चित्रण गरिएको छ । लामो खडेरीका कारण आफ्नो ज्यान बचाउन आफ्नै बच्चा काटेर खानुपरेको बाध्यत्मक तस्वीर छ त्यसमा । त्यो उपन्यास पुलित्जर र नोबल पुरस्कार प्राप्त कृति हो ।
♣ कस्तो समय अवस्थामा फुर्छ तपाईंमा साहित्यिक सिर्जना ?
-सिर्जना फुर्ने कुनै समय हुँदैन । त्यो अफोह थ्योरी जस्तै बस्र्ट अफ माइन्ड नै रहेछ । तर जब कुनै दुःखले छुन्छ या पीडा हुन्छ वा खुशीले पुलकित पार्छ, केही लेखेर मात्र आफुलाई शान्त पार्न मन लाग्छ ।
♣ तपाईंको प्रकाशित र प्रकान्शोन्मुख कुनै कृतिहरु छन् कि ?
-०६० सालतिरै मलाई तपाईको कृति पठाइदिनु भनेर चिठी आउँथें । गजलको पाण्डुलिपी पनि तयार पारें, प्रकाशक पनि भेट्टाएँ तर मलाई रचनाहरु परिस्कृत गर्न मन लागिरहेको थियो । वीचमा अलि नभ्याएको नभनौं समय त्यतिकै बितेर गयो । यो वर्ष म एकैचोटि दुई वटा कृति निकाल्ने तयारी गर्दैछु । फुटकर रुपमा भने कम्तीमा ६/७ सय लेख रचना छापिए होलान् ।
♣ नेपाली साहित्यकारहरु मध्ये कुन साहित्यकार मन पर्छ तपाईंलाई र किन ?
-देवकोटा,पारिजात,श्रवण मुकारुङ्ग आदि । मलाई पढिरहेको चीजले नै किन-किन आफैंलाई मन पर्नुको कारण पनि सिकाइरहेझैं लाग्छ ।
♣ साहित्यलाई परिभाषित गर्नु पर्दा के भन्नुहुन्छ तपाईं ?
-साहित्य जीवन र जगतको कलात्मक प्रतिविम्ब हो ।
♣ साहित्य क्षेत्रमा लागेर तपाईंले के कस्ता पुरस्कार सम्मान पाउनुभयो अहिलेसम्म?
-'तेस्रो आवाज' साहित्यिक मासिकले ०६३ मा सम्मान गरेको थियो । मैले काम गरेको मिडियाले सम्मानपत्र थमाएका छन् । प्रतियोगितामा त थुपै्र पुरस्कार जितेको छु ।
♣ अब नेपाली साहित्यले कुन दिशा पक्रेर जानु पर्छ जस्तो लाग्छ तपाईंलाई ?
-साहित्यलाई सर्जकको चेतनाले दिशानिर्देश गर्छ । अहिले जातीय उत्पीडन अधिकार र पहिचानको कुरा सिर्जनामा घनीभूत भएका छन् । आन्दोलनमा स्रष्टा सडकमै थिए । आफ्नो अधिकारको लागि सिर्जना हतियार बन्न सक्छ भने कुनै पनि स्रष्टा समुदायको लागि चुक्नु हुन्न ।
♣ विश्व साहित्यमा नेपाली साहित्यको ठाउँ कहाँनेर छ जस्तो लाग्छ तपाईंलाई ?
-विश्व साहित्यलाई हेरेर या दौडेर जान सकिदैन तर नेपाली साहित्यलाई भूईँमा मात्र छाम्नु र अरुलाई आकाशमा हेर्नु पनि राम्रो होइन । हिजोभन्दा आज केही विकसित छ अवस्था । मान्छेहरु टिकट काटेर कविता सुन्न थालेका छन् । सुन्ने कविताहरु पनि बजारमा पाइन्छन् । अनुवादहरुमा बढोत्तरी भएको छ । यसलाई बढावा दिनु आवश्यक छ । राज्यले पनि मापदण्ड बनाएर प्रोत्साहन दिनु जरुरी छ ।
♣ साहित्यमा तपाईंको के गर्ने भावी योजना छ ?
-साहित्यमा नयाँ सोंच आइरहनुपर्छ भन्ने मेरो पनि मान्यता र सोंच छ । म अब अलि बढी लेख्न थाल्छु होला ।
♣ अन्त्यमा साहित्य-सागरका साहित्यप्रेमी पाठकहरुलाई केही भनिदिनुहुन्छ कि ।
-राम्रा पाठक भनेका सबै सर्जक नै हुन्छन् । वास्तवमा बढी सर्जक नै पाठक पनि हो । थोरै र राम्रो सिर्जनाले साहित्य आफैं समृद्ध हुन्छ ।
♣ धन्यवाद। तपाईंको अमूल्य बिचारहरुको लागि ।
-निश्छलजी, साहित्यसागरको चौतारीमा तपाईसँगको कुराकानीले म आनन्दित भएको भएँ । धन्यबाद ।