Saturday, January 31, 2009

गजल

-ठागु जि
अब तिम्रो प्रगतिले,सगरमाथा छुन्छ कि
माकुरीको जाल सरी,मायाको जाल बुन्छ कि

दियौ घात सारा मैले,उपहार सम्झिएँ

जीउँदो लाश देख्दा शायद्,तिम्रो मन रुन्छ कि

कस्तो मन एकै पलमा,बनाई दिने पराई

भन तिमी दिलको दाग,कुनै खुशीले धुन्छ कि

पर्खाई छ त्यही दिनको,सधैं लाग्छ मलाई

तिम्रो जन्ती मेरो मलाम,एकै चोटी हुन्छ कि ।

-लम्जुङ
E-mail:
thagu_g@yahoo.com

लघुकथा

'बधाई'

-मौलश्री लिम्बु
उनको वाग्दान भईसकेपछि मलाई भनिन्- 'तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।' जवाफमा मैले भने- 'आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष छैन,समय र परिस्थितीको यस्तो मोडलाई हामीले किमार्थ स्वीकार्नै पर्छ ।' मेरो अभिप्रायमा सहमत भईन्।उनको विवाहले मलाई मर्माहत पार्‍यो ।त्यसैले सम्हालिने वहानामा रोजगारिको लागि विदेश रमाना भएँ ।

पाँच वर्षपछि स्वदेश फर्किएँ ।गाँउघर परिवर्तन भईसकेकोरहेछ ।घरमा उनिलाई बाँझी ठहर्याईएकोले अनमेल भई माइती आएकी महिना दिन भएछ ।एक साँझ उनिसंग भलाकुसारी भो ।त्यसपछि हाम्रो भेटवार्ता बढ्न थाल्यो ।पाँच महिनापछि पाँच वर्षअघिको वाचालाई उनकै सहमतिमा पुरा गर्न उनको घर गएँ ।जहाँ उनको श्रीमान्,सासु-ससुरालाई देखेर म नि:स्तब्ध भएँ ।बस्ने ईशारा गर्दै बोलिन्- 'म दोजिया भएकी खबर पाउनु भएर लिन आउनु भएको रहेछ,म के गरुँ?' आफुलाई सम्हालेर उनको र मेरो बन्न लागेको सम्बन्धलाई तीलाञ्जली दिदै भने-'तिम्रो दाम्पत्य जीवनलाई मेरो हार्दिक बधाई ।'

-झापा
E-mail:-maulshri_limbu@yahoo.com

Thursday, January 29, 2009

कबिता












पाउजु


-कुसुम ज्ञवाली
फुत्किएको मालिकका खुट्टाहरुबाट
मन पर्दैन पाउजुहरुलाई
आफ्नो मसिनो आवाज
सुम्पिन्छन् मालिकहरुका पाऊमा
बेरिइरहन्छन्, टासिइन्छन्, निशर्त कुल्चिइरहन्छन्
तर पनि कहिलै दुख्दैन
पाउजुहरुको स्वाभिमान !

कहिले नीलाखुट्टाहरुमा
कहिले पहेला खुट्टाहरुमा
कहिले राता खुट्टाहरुमा
पाउजुहरु हल्लाहरुको मन्द आभाष मात्रले
निशंकोच वा निशर्त फेरिईरहन्छन्
नयाँ समयहरुसँगै अपरचित खुट्टाहरुमा
जीवनहीन पाउजूहरुलाई के मतलव नवीनताको
तर पनि निरन्तर जारी छ पाउजुहरुको
कथित नवीनताको उत्तरआधुनिक खोज

निलो बर्तमानको एन्टी क्लक यात्रामा !
पाउजुहरले व्यापार गर्छन र सेवाको अभिनय गर्छन
पाउजुहरु वेश्यावृत्ति गर्छन र राजनीतिको अभिनय गर्छन
पाउजुहरु मृत्युको अभ्यास गर्छन र जीवनको अभिनय गर्छन
खुट्टाहरुको रङ्गले फरक पार्दैन पाउजुका आवाजहरुलाई
खुट्टाका गन्तब्यहरुले बद्ल्दैन पाउजुका मनोवृत्तिहरुलाई
पाउजुले गाएका सुमधुर दासताका संगीतहरुमा
विपनामै नाचेको देख्न सकिन्छ बजारमा
स्वाधिनताको सुदूर यात्रामा निस्केका
शालीन खुट्टाहरु पनि

खुट्टामा झूण्डिनू परेकोमा पाउजुहरुले गुनासो गर्छन्
झूण्डिन चाहान्छन् टाउकोमा, गलामा वा छातिमा
सुकसुकाउँदा सरीरहरुलाई थाहा हुदैन
टाउको भित्र झुण्डिएको हुन्छ वास्तविक पाउजू
नलगाउदैमा खुट्टाहरुमा सुनका कुनै पाउजुहरु
कहिलै मुक्त हुन सक्दैनन् सरीर
नफुकाले सम्म टाउको भित्र झुण्डिएका नीला पाउजु
गणतन्त्र ब्राण्डका नयाँ एसेम्बल्ड पाउजूहरु
रातो कपडामा पनि बेरिएका हुन्छन्
टाउकामा बाधिने ती पाउजुहरु
खुट्टा लगाइने सुनका पाउजुहरु भन्दा
धेरै डर लाग्दा छन्

साढे अठारसय वर्षभन्दा पनि पुरानो छ पाउजुको इतिहास
तिमीले पढ्न अस्वीकार गरेपछि
सुनौला श्रीपेचका काला इतिहासहरु
तयार पारिएको छ पढाउन अब
सुनका पाउजुहरुको इतिहासहरु
के हामी पढ्न तयार छौ ?

-काठमान्डौ

लघुकथा

सक्रिय उद्धार

-गोरखवहादुर सिंह
काठमाडौं-मुग्लिङ सडकको मर्मत र विस्तार कार्य भर्खर्रभर्खर सकिएको थियो । सडक चिल्लो र चौडा थियो । त्यही चिल्लो सडकमा गुड्दै गरेको चिल्लो गाडी एउटा स्कुले बालकलाई बचाउन खोज्दा सडकबाट करिब दुइ सय फिट तलको नदी किनारको बगरमा उत्तानो पर्न पुग्यो । उक्त चिल्लो गाडीको पछिपछि आइरहेका बसबाट उद्धार कार्यका लागि यात्रु ओर्लिए । तर गाडी पल्टिएको बगरमा पुग्ने बाटो अप्ठेरो थियो, ठाडो भीरमा खुट्टा राख्ने ठाउँ बनाउँदै ओर्लनु पर्ने । त्यसैले उद्धारकर्मीमा युवाहरूको बाहुल्यता थियो ।

उद्धारकर्मीले घायल युवतीको कोरिएको निधारको रगत पुछे, उनको कम्मरमा अलिकति छाला खोस्रिएको रहेछ, घाउलाई कमिज फुकालेर साफ गरे, उनको छातीमा लागेको हिलोलाई रुमाल भिजाएर पुछिदिए । दुर्घटनाको कारणले होला युवती काप्दै थिइन् । केही उद्धारकर्मीले आफ्ना ज्याकेट ओडाएर न्यानो पार्ने प्रयास गरे । उनीहरू युवतीको उद्धार कार्यमा सक्रियतासाथ लागिपरेका थिए ।

हात खुट्टा भाँचिएर हलचलसम्म गर्न नसक्ने भएको युवक नजिकै एक्लै छट्पटाइरहेको थियो, उसकी श्रीमतीलाई गरिदै गरेको सक्रिय उद्धार कार्य हेर्दै ।

Tuesday, January 27, 2009

गजल

-मौलश्री लिम्बु
कहाँ खोजुँ दुनियाँ त्यो, जहाँ तिम्ले पठायौ
शिकायत छैन अब, आफ्नै संसार सजायौ

पोखिएर नरितिने, म पानीको बुँद हुँ
बेकसुर दियौ घात, मेरो आयु घटायौ

छचल्किएर पोखिने त्यो, मायामा के भरोसा
थाहा छैन सम्बन्धको, दुरी किन बढायौ

आकाशसंग तारा मागी, आफुमा म आभा छाउँ
अँध्यारोमा नशासंगै, आँशु पिलाई मतायौ

बेमौसम नवर्षिने, वादलको हुल हुँ
आजकाल मलाई सदा, वर्षीदिने बनायौ।

-झापा
हाल: मलेसिया

गजल












-केदार श्रेष्ठ "गगन"
तिम्रो नाममा गजल लेखे नरिसाउनू सबि
मलाई जस्तै उसलाई नरुवाउनू सबि

तथानाम गाली गर्दै हिड्छौ अरे मलाई
अरु जे गर तस्बीर् चाँही नजलाउनू सबि

बेईज्जत गर्दा मेरो सोच्ने गर अलिकति
आफैलाई दाग लगाई शत्रु नहसाउनू सबि

म बाच्ने छु आशुको सहारा लिई भए'नी
अब 'गगन' सँग आँखा नजुधाउनू सबि

-भीमस्थान-५, सिन्धुली
हाल: अनेसास यू ए ई

कथा

कल्पनाको क्यानभास

-शर्मिला खड्का (दाहाल)
प्रिय बहिनी अनामिका ! तिम्रो 'समयको क्यानभासमा ' पढेँ। तिमी उही प्रिया (साहित्य) को अर्को रूप रहिछ्यौ। वास्तवमा तिमीले परिचयको ढोका नखेलेर अपरिचयतामा नै परिचयको हजारौँ ढोका खोल्न बाध्य बनायौ मलाई। तिमीले मलाई छोडेर गएपछि म निकैबेर तिमीलाई पर्खिरहेँ।तर तिमी आइनौ। मैले यसबीचमामा तिमीभित्र अनुमानका धेरै बिस्कुन फिँजाएँ। तिमी तल्लो स्तरकी नारी हौ, जो स्वार्थपूर्तिको कुनै आधार नहुँदा बिनाधार जोसुकैलाई जहाँ पनि छोड्न सक्छ्यौ अथवा तिमी सीमाछेउका सामाहरू ओसारपसार गर्ने क्यारिअर हौ, जसलाई मेरो उपस्थितिले बाधा पुर्‍ाइरहेको हुन्छ, अथवा तिमी कुनै सभ्य नारी हौ जसलाई परपुरुषसँग हिँडेको कसैले देख्‍छ कि भन्ने त्राश हुन्छ। तिमी धेरैबेर नआउँदा मैले यस्तै अडकलको डोरीमा तिमीलाई अड्काइराखेँ। त्यसपछि म त्यहाँबाट डोरिएँ। व्यक्तिले आफूलाई नकारात्मक सोचमा मात्र हिँडायो भने ऊ गलत बाटो हिँड्न सक्छ। त्यसैले मैले तिमीप्रति सकारात्मक सोच राख्‍न थालेँ।तिमीले मलाई त्यस बेलासम्म साथ दिएकी थियौ।तिम्रो सहयोग कम मह्त्त्वपूर्ण थिएन। तिमीभित्र मैले अलिकति प्रेम र अलिकति विश्वास रोपेको थिएँ। नत्र भने अहिले स्वार्थीपनले निलेको समयमा तिमीजस्तो सहयोगी भेटाउन मुस्किल पर्न सक्थ्यो। तिमीले मेरो शिरमा विश्वासको एउटा श्रीपेच पहिराएकी थियौ। जसलाई मैले सजिलै फ्याँक्न हुँदैनथ्यो। तिम्रा आँखाहरूमा मैले समस्या र बाध्यता पढेको थिएँ। त्यसैले राहतका केही आहत लिन तिमी जोगवनी गएकी हुन सक्थ्यौ। तिम्रा ओठहरू बोल्न नसकेका धेरै शब्दहरूले सुकेका देखिन्थे। मैले तिमीलाई आफूभित्र प्रवेश गराएको थिएँ। तिमी मेरो कथाकी एउटा पात्र हुन सक्थ्यौ। त्यसैले तिमीसँग बिताएका प्रत्येक पललाई सजाव बनाउँदै लगेको थिएँ। तिमी मेरो कथाको प्रतिबिम्ब थियौ। तिम्रा आँखामा मेरा कथाका घटनाहरू सलबलाइरहेका पाएँ। तिम्रा ओठमा मेरो कथाका शैली र प्रस्तुति मुस्कुराइरहेका थिए। तिम्रा शरीरका प्रत्येक अङ्गले बिम्ब र प्रतीक झल्काइरहेका थिए। तिम्रा हिँडाई र चालमा मैले मेरा कथाका शब्द र अलङ्कार सलबलाइरहेको पाएँ। तिमीसँग बिताएको प्रत्येक समय मेरा कथाका विषयवस्तु थिए। कतै तिमीले मलाई चिनेकी छैनौ ? भन्ने आशङ्का मनमा पलाएको थियो। तिमीले अव्यक्त रूपमा नै यी कुराहरू व्यक्त गरिरहेकी थियौ। म पनि तिमीले देखाएको अज्ञानतामा रमाइरहेको थिएँ।जसरी एउटा बाल अनभिज्ञतामा नै क्षणिक शुसीका लागि रमाइरहेको हुन्छ।त्यसैले तिमीभित्र मैले अलिकति माया रोपेको थिएँ। तर तिमीलाई पनि कुनै समस्या परेको हुनसक्थ्यो जुन मेरो उपस्थितिमा गर्न वा भन्न अप्ठ्यारो भएको हुन सक्थ्यो त मैले यति चाँडै तिम्रो आस्थाको दियो निभाउन हुँदैनथ्यो। त्यसैले तिमीप्रति सकारात्मक सोच राख्तै तिमीभित्र रोपेको मायालाई हुर्काउँदै लगेँ।तिम्रो बिदाइलाई मैले हाँसीहाँसी स्वीकारेँ।म तिम्रै विषयमा नानाथरीका कल्पना, परिकल्पनामा डुब्दैउत्रँदै हिँडेँ।कल्पनाको क्यानभासमा अनेकौँ चित्र कोरिँदै गए, मेटिँदै गए। तर म थाकिनँ, कोर्दै गएँ, कोर्दै गएँ। अन्तिममा गएर छायालाई कल्पनाको यस्तो बिन्दुमा पुर्‍याएँ जुन बिन्दुलाई व्यक्तिले जुन रूपमा हेर्छ प्रेमको त्यही रूपमा पाउँछ। त्यहाँ उसले प्रेमको जुन आकार कोर्न खोज्छ त्यही आकार पाउँछ। त्यो कलाकारिताको एउटा उत्कृष्ट नमूना थियो।प्रेमको उत्कृष्ट कलाकारिता, जसले जुन प्रतिमूर्ति स्थापना गर्न चाहन्छ त्यही राख्‍न सक्छ। मैले आफ्नो साहित्यसाधनामा तिम्रो सान्निध्यमा यो अमूर्त कला रच्न सकेँ। यसका लागि तिमीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। यो कथा तिमीजस्तै हजारौँ मेरा प्रिय आत्मालाई समर्पित गर्न चाहन्छु। सायद यसको शीर्षक मैले 'तिम्रो सम्झनामा' राख्न रूचाएँ।

तिम्रो सम्झनामा,
तिमीसँग जब बिहान ब्यूझन्छ, एउटा अन्धकार निलेर तब उषाको लालीले धर्तीमा सजीवता छरेझैँ छरिन्छन्, तिम्रा सजीव पाइलाहरू। तिमीसँग बग्छन् वर्तमानहरू अनि समयको लहरसँगै खुसीहरू तरङ्गित हुन्छन्।जब तिम्रो हाँसो फुल्छ लालीगुराँसझैँ अनि असीमित आनन्दहरू आफैँ फैलन्छ, हावामा सुगन्ध फैलिएझैँ।तिमी जहाँजहाँ फैलन्छौ, सम्पूर्ण आयतन ओगट्न सफल हुन्छ्यौ, तिमी जीवन्त भएर तिम्रो अज्ञानताले भरिएको क्रीडाले समयलाई रोकिदिन्छ। जसरी सहरको घन्टीसँगै नागरिकहरू समयको पछि दौडिरहेका हुन्छन्, हो त्यसरी नै तिम्रा प्रत्येक क्रीडामका पछि समय दौडिरहेको हुन्छ। तिम्रा मधुर पदचाप मन्दिरको कर्णप्रिय घन्टी झैँ झङ्कृत भइरहन्छ।

तिमीले अज्ञानतावस गरेका गल्तीहरू पनि सहज भइदिन्छ। तिमीसँग एउटा कालजयी समय छ जोसँग तिमी बाँचिरहेकी छ्यौ। तर कुनै बेला तिमीलाई गाह्रो भइदिन्छ, आफ्नो समयसँग बाँच्न। तिमीलाई हिँड्न कठिन भइदिन्छ,तिमीलाई भोग्न कठिन भइदिन्छ, अनि प्रत्येक पाइलामा झारिदिन्छ्यौ मोतीरूपी आँसुहरू, म पनि बग्छु- तिम्रो बैँसालु खहरेसँगै। केही समयपछि बैँस सकिएको खहरे जब सुक्छ, तिमी पनि सुकिदन्छौ केही नभएजस्तो गरी। तिम्रा प्रत्येक क्रियाकलाहरू सहज भइदिन्छन्। सायद तिमीले सहजताका दुबेमाला पहिरेकी छ्यौ। जुन जुनसुकै परिस्थितिमा पनि हरियो नै भइरहन्छ।
म सोच्छु, तिमी यो संसार हौ, तिमी नै सृष्टि हौ, तिमी नै सागर हौ।तिमीभित्र म आफ्ना धेरै पीडाहरू लुकाउन चाहन्छु। एउटा समुद्र अथाह पीडा बोकेर पनि शान्त र सुरम्य हुनुपर्ने बाध्यताले थिचिएझैँ, म आफ्ना पीडाहरू तिमीभित्र गर्भित गर्न चाहन्छु। तिमी समुद्र हौ, तिमीभित्र अथाह सुन्दर वस्तुहरू छन्। जसलाई प्राप्त गर्न म लालायित भइरहेको हुन्छु, म आफ्ना फुलाउन नसकेका आलाकाँचा चाहनाहरू तिमीसँग साट्न चाहन्छु। तिमी चौतारी हौ। जहाँ म सुस्ताउन चाहन्छु। तिमी मेरो सृष्टि हौ। तिमीलाई मैले सिर्जना गरेँ। तिमीले एउटा सिङ्गो संसार बोकेकी छ्यौ। तिमीमा म संसार देख्छु। गीतामा अर्जुनले कृष्णमा अलौकिक शक्ति समाहित भएको देखेझैँ म पनि तिमीमा त्यो सार्वभौम संसार देख्छु। तिमीमा भूत, वर्तमान र भविष्य देख्छु। म प्रत्येक पल यसैमा बाँचेको हुन्छु। तिमीलाई कुनै कालले, दोष, आक्षेप, कष्ट नदिउन्, म यसैमा हराइरहेको हुन्छु तिमीले बाँच्नुपर्छ काललाई हराएर मृत्युलाई जितेर। तिमीले हराइदिनुपर्छ ती सम्भावनाहरूलाई जसले मृत्युलाई विजयी बनाउँछ। जसरी कालो रातलाई निलेर दिनले निर्जीव बनाउँछ, हो त्यसरी नै तिमीले निलिदनुपर्छ मृत्युलाई। तिमी समय हौ, त्यसैले समय आफैँदेखि भागेर टाढा जान सक्तैन। पलपल बाँचिरहेकी छ्यौ। तिमी मेरो मुटुमा, मेरो मानसपटलमा कहीँ कतै। कुनै बेला तिम्रा अबोध चाहनाहरूसँग म रोकिन्छु, ठोकिन्छु, अनि टुक्रिन्छु। तर म असीमित आनन्दसँग तिम्रा चाहनाहरू साटिरहेको हुन्छु। कहिलेकाहीँ म तिमीभित्र सुन्दर कलाकृति देख्छु। एउटा उत्कृष्ट कालिगढको कला हौ तिमी जसमा धेरै कुराहरू झल्किरहेको हुन्छ। तिमी शुक्लपक्षको चन्द्र हो जो दिनपरदिन आफ्नो उज्ज्वलता बढाइरहेको हुन्छ। जसको मधुर प्रकाशले अद्भूत आनन्द दिइरहेको हुन्छ।

तिम्रा अबोध आँखाले धेरै कुरा बोध गराइरहेको हुन्छ। जहाँ इच्छा छ, चाहना छ, जिज्ञासा छ, उत्सुकता छ। तिमी कहिलेकाहीँ असीमित चाहनाहरू व्यक्त गर्दछ्यौ। जुन चाहना मेरा लागि महाभारत बनेर अगाडि तेर्सिदिन्छ। तिमी कहिले जिज्ञासाको ब्रम्हास्त्र प्रहार गर्छ्यौ। म मर्माहत हुन पुग्दछु, तिम्रो अस्त्रदेखि। कहिलेकाहीँ तिमी उत्सुकताको बिस्कुन छरिदिन्छ्यौ, आकाशमा हजारौँ तारा छरिएझैँ। म आफू असमर्थ हुन्छु ती उत्सुकता बटुल्न। तिम्रो हरेक क्रियाप्रतिक्रियाबाट म एउटा समीकरण तयार गर्छु जसलाई समाधान गर्न मलाई केही समय लाग्न पनि सक्छ, अथवा वर्षौँ लाग्न सक्छ। तिमीले देखाएका साधारण क्रियाकलाप पनि कहिलेकाहीँ मेरा लागि अद्भूत हुन पुग्दछ। तिम्रा अलौकिक क्रियाकलाहरू आफूमा एउटा सुन्दर उदाहरण हुन्, तिमी उत्कृष्ट हुनुका। तिम्रा पछाडि हजारौँ ईर्ष्यालु सर्पहरू पछ्याइरहेका पनि हुन सक्छन् तर तिमी निर्दोष छ्यौ। तिम्रो निर्दोषपन नै मेरो कमजोरी भइदिन्छ। मेरो कमजोरीले तिमीलाई बिगार्न पनि सक्छ, त्यसैले म सतर्क भइदिन्छु बेलाबखत। आफूलाई नियन्त्रित पार्न जतिसुकै कठिन भए पनि म प्रयासरत रहन्छु नत्र बने मेरो कमजोरीपनाले तिमीमा विकृति देखा पर्न पनि सक्छ। जसले तिमीलाई जीवनपर्यन्त असफल बनाइदिन सक्छ किनभने तिमी मेरो सुन्दर भविष्य हौ। तिमीभित्र मेरा धेरै सपनाहरू छन्। यी सपनाहरू जीवन्त पार्न सक्नुपर्छ तिमी भोलिको सुन्दर आशा हौ जसले धेरै निराशाहरूलाई आकृतिविहीन बनाउन सक्नुपर्छ। लाग्छ, यो समय रोकियोस्। सधैँ स्थिर भइरहोस्, कहिल्यै नबगोस्, तर प्रकृति आफ्नो नियममा चलिरहन्छ जसलाई कसैले नियन्त्रणमा लिन सक्तैन। त्यसैले बगिदिन्छु तिमीसँग, प्रकृतिसँग थाहा छैन मलाई कहाँ पुर्‍याउँछ, कहाँ डोर्‍याउँछ। हृदयमा एउटा मीठो अतीत भएर तिमी बाँचिदिन्छ्यौ। हाम्रो मिलन, त्यो एउटा समय थियो, त्यो एउटा संयोग थियो, त्यो आवश्यक थियो। मैले तिमीभित्र आत्मविश्वासको एउटा दरिलो मन्दिर तयार गरिदिएँ जहाँ प्रेम, आस्था र विश्वासका त्रिमूर्तिहरू सजिए। तिमी पूजा गर्न थाल्यौ। त्यस बेला त तिमी प्रत्येक पाइलामा सफलताको खुड्किलो चढ्दै गयौ। तिमीभित्र सत्य थियो। जुन सत्य यथार्थमा परिणत भएको थियो। प्रेमको परिभाषा आआफ्नै हुन्छ। प्रेम नै ईश्वर हो। प्रेम नै पूजा हो। प्रेम नै संसार हो। तिमीप्रतिका मेरा प्रेमका परिभाषा धेरै छन्। जसरी आकाशमा सप्तरङ्गी इद्रेणीले रङको हजारौँ किरण फैलाउँछ। हो, त्यसरी नै तिमीप्रतिको मेरो प्रेमको परिभाषा खुल्न आउँछ। जीवन अमूल्य छ। यहीँ अमूल्यता जन्माउँछ, प्रेमको परिभाषालाई,तर तिमी कसरी स्वीकार गर्छौ नै मेरो प्रेमलाई।

मैले तिम्रो सम्झनामा यी शब्दहरू कोरिदिएको थिएँ। समयले यति चाँडै हामीसँग ईर्ष्या गर्छ होला भनेर मैले सोचेको थिइनँ। त्यो वर्तमान त्यति चाँडै अतीत बन्ला भन्ने पनि सोचेको थिइनँ। तर भयो, व्यक्तिले आफूले सोचेकै कुरा मात्र हुनसक्छ भन्न सकिन्न रहेछ। तिम्रो कथा पढेपछि थाहा पाएँ वास्तवमा तिमी त्यस समय पेन्टी र ब्रा किन्न गएकी रहिछ्यौ। त्यसपछि तिमीप्रतिको मेरो भ्रमलाई तिम्रो सम्झनाले धोइपखाली गरिदिए। वास्तवमा नै तिमीसँगको मेरो भेट एउटा संयोग, एउटा आवश्यक र एउटा समय थियो। जसको क्यानभासमा मैले आफ्नै अमूर्त रचना कोर्न सकेँ। तिम्रो र मेरो बिछोड पनि एउटा समय थियो। दिनपछि रात अपरिहार्य भएझैँ यो पनि अकाट्य थियो। जसको क्यानभासमा तिमीले आफ्नो प्रेमको परिभाषा देखाउन सक्यौ। त्यस समयलाई यति जीवन्त र मार्मिक बनाउन सफल भयौ। वास्तवमा शाश्वत प्रेम भनेको यही हो। तिमीले बुझेको प्रेमको परिभाषा र मैले व्याख्या गरेको प्रेमको परिभाषा एउटै रहेछ। तिमी स्वयम् एउटा सफल कथाकार रहिछ्यौ। तिमी पनि यो कथा पढेर आफ्नो कथाकारितालाई वा मलाई नै प्रतिमूर्ति बनाएर 'तिम्रो सम्झनामा' स्थापित गर्न सक्छौ। जसरी मैले तिमीलाई स्थापित गरेँ।

उही तिम्रो प्रिय कथाकार
दिवाकर नेपाली


-ईटहरी
ईमेल: sakhada4@yahoo.com

गजल

-कृष्ण दर्शन
र्बिसें आफ्नो घर भन्छ्यौ के सम्झन्छौ अरु तिमी ?
मायालाई रहर भन्छ्यौ के सम्झन्छौ अरु तिमी ?

भेट्छ्यौ होला दिन दिनै प्रीति साट्ने साथीहरु
जीबनलाई प्रहर भन्छ्यौ के सम्झन्छौ अरु तिमी ?

तिर्खाएका प्यासहरु पैसा पिई मेटिदिने
सागरलाई सगर भन्छ्यौ के सम्झन्छौ अरु तिमी ?

युगौं युग को यात्रा तिमी रातौं रात पार गर्न
जोवनलाई सहर भन्छ्यौ के सम्झन्छौ अरु तिमी ?

कति सम्म उर्लिएको रैछ बैंश देखिदै छ
सिमसारलाई बगर भन्छ्यौ के सम्झन्छौ अरु तिमी ?

-काठमान्डौ
ईमेल: shresthakrishnakumar@gmail.com

कबिता







पतनको बाटो

-रबिन्द्र राई 'अधुरो'
कोतारायाको भिडमा
मान्छे मात्रा हुँदैन रहेछ
मान्छेकै नकाब धरेर
मान्छेलाई तर्साउने
प्रेतात्माहरु सल्बलाई रहेछन
कसैलाई फकाएर
कसैलाई थर्काएर
ठगिखाने भाडो भर्दै आईरहेका
ति साधु नकाब धारीहरुको
वास्तबिक कद् खुल्दै गए पछि
रेबिज ग्रस्त कुकुर झै
बहुलाउन थालेका छन
सडक गल्लीहरुमा
बेला न कुबेला
भुक्दै हिंड्न थालेका छन
तलाई टोक्छु र मार्छु भन्दै
दानबीय कायर बोलीहरू
उराल्दै पुछर लुकाएर
हिडि रहेछन
उफ !
मानब सभ्यताको बिकास भैरहेको बेला
तानाशाह हिट्लरी शासन गर्न खोज्नु
कहाँ सम्मको मुर्खता हो ?
आफुले खनेको खाल्डोमा आँफै पर्नु
निस्चित छ यो पतनको बाटो हो
त्यसैले आऊ
मुर्ख नबनी नकाब खोलेर
मानब भएर बाचौ
र अरुलाई पनि बाँच्न देऔ ।

(*कोताराय -मलेसियाको नेपालीहरुको जमघट हुने शहर )

-बुईपा, खोटांग
ईमेल: rbndr_adhuro@yahoo.com

Monday, January 26, 2009

गजल












-केदार श्रेष्ठ "गगन"
मैले मात्र तिमीलाई वक्रै दृष्टी छ-या होइन
म पनि उतै भा'छु तिम्रो मात्र नीद भोक ह-या होइन

पुग्नु पर्ने टाढा थियो हिड्दै थिए आफ्नै बाटो
भेटेको चाँही बाटैमा हो झुक्याई जालमा पा-या होइन

सागर जस्तै गहिरो माया कहिल्यै नटुङ्गिने
संसारको रीत यस्तै अनौठो नाता मैले जोड्या होइन

यौबनमा ढिलो चाडो जसले पनि खोज्छ आफ्नो मान्छे
तिमी पनि डुल्छौ मनमा मैले मात्र मन तिम्रो ह-या होइन

जे भनेँ सही भनेँ,जे गरेँ सही गरेँ तर
माया मात्र गरेको हुँ 'गगन' को तारा झा-या होइन

-भीमस्थान-५, सिन्धुली
हाल: अनेसास यू ए ई

Saturday, January 24, 2009

गजल

-कृष्ण दर्शन
कस्तो मात रौनकको लागि नाच नाच्यौ तिमी
किन आखिर मर्न देखी डराएर बाच्यौ तिमी

आँखा चिम्ली चुनौतिका पाईलाहरु अघि सारी
आफ्नै मनको माया गर्ने कांडाहरु भाच्यौ तिमी

धेरै त्यस्तै असंतुष्टी बीच तिम्रा प्रगति छन
तर मनकै आर्दशहिन रुखो हाँसो हाँस्यौ तिमी

बाहिरी बानी देखाएर महान बन्ने भ्रम हो त्यो
तर चाह सुनै सुनको मनमा आफ्नो साच्यौ तिमी

ओठमा शब्द यथार्थको मनमा महल सपनाको
कल्पनामै पु-याउन रहर नाता गांस्यौ तिमी

-काठमान्डौ

कबिता

मलाई मेरो नेपाल चाहिन्छ

-गौतम दाहाल
अनेकतामा एकताको फूलबारी
गोडमेल गर्दै हुर्काउने ती मालीहरू
विषे नगर्चीहरू र भक्ति थापाहरू
बगैंचाको संरक्षणमा जुट्ने मेरा पूर्वजहरू
सबैलाई सम्झेर
यो पराई भूमिबाट माग्दैछु भीख
मलाई मेरो शान्त र विशाल देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
विविधताभित्रको त्यो मीठास र आफ्नोपन
खोजेर कहाँ पाउनु यो पातालमा
स्वार्थीहरूको मात्र वास छ
म रम्न सकेको छैन यहाँ
छैन हाँस्न सकेको
खण्डहर बाँचिरहेँछु पलपल मरेर
केवल रुखो र निरस जिन्दगी
हाँस्न मलाई मेरै परिवेश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
यान्त्रिक होइन मलाई प्राकृतिक जीवन चाहिन्छ
मलाई रम्ने साथ चाहिन्छ
खुसीमा रमाउन, हाँसोमा फैलिन
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
चराहरूको चिरबिर कोकिल ध्वनि
भालेको डाकसँगै बिउँझने मेरो हरेक बिहानी
उषाको मिर्मिरेमा रक्त लालिमा छर्ने पूर्वी क्षितिज
सबै गुमाएर खै के पाएँ मैले ?
म प्राप्तिको लेखा गछुर्’
योग निस्किन्छ शून्य
केवल गुमाएको छु सधैँ
मेलापातमा जुट्ने चेली माइतीहरू
मादलुको तालमा छमछम नाँच्ने सँगीहरू
देउरालीभञ्ज्याङ र मानेमा रमाइरहनेहरू
मलाई सबै आफ्नो लाग्छ
मलाई मेरै गाउँको सुसेली मनपर्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
म हेर्न सक्तिन आफ्नै आँखाले
आमा बलात्कृत भएको कहालीलाग्दो क्षण
खबरदार मेरीआमालाई बलात्कार नगर
नखेल रगतको होली मेरीआमाको छातीमा
चीर हरण नगर मेरी बहिनीको
नपड्काउ गोलीहरू
निर्दोष मेरो गाउँबस्तीमा
रम्न देउ आफ्नै खुसीमा ।
मलाई मेरै पहाड मनपर्छ
छोडिदेउ आफ्नै पनमा रम्न
मलाई मेरो पवित्र देश चाहिन्छ
एउटै मालामा उनिएको
सिङ्गो नेपाल चाहिन्छ
मलाई मेरो बुद्धको देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।


-बाल्टिमोर, अमेरिका

साभार : मधुपर्क

गजल

-मनु ब्राजाकी
आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ ।

आफूलाई बेच्न खोज्यौ भने बुझिराख
किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

मनमा पर्दा लगाएर बसेका छौं किन ?
नाङ्गोले त खोल्छ-खोल्छ पर्दाले झन् खोल्छ ।

रङ्गीन यो दुनियाँमा आँसुसित रगत
घोल्नेले त घोल्छ-घोल्छ भिज्नेले झन् घोल्छ ।

दुख्ख आए पनि दुख्ख, गए पनि दुख्ख
पीर बसे पनि पिर्छ गए झन् पिरोल्छ ।

एकान्त मन पराउने 'मनु’ घुइँचोमा,
एक्लो हुँदा आफूलाई आफैंले छिचोल्छ ।


-औरही-२, महोत्तरी

साभार: मधुपर्क

लघुकथा

अतृप्त रात

-रामबिक्रम थापा
तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ ।
बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन ग-यो । मृदु मुस्कानले स्वागत गर्दै मित्र-पत्नीले उसको अभिवादन फर्काइन् ।

अगेनाको डिलमा बसेर आगो ताप्दै घर-व्यवहार र छोरा-छोरीको पढाइ सम्बन्धी नाना थरी कुराकानी भए । अगेनाको अगुल्टो खेलाउँदै मित्र-पत्नीले सुस्तरी भनिन्- "आज त मलाई उहाँ आफ्नै खसम नै परदेशबाट आइपुग्नुभएको जस्तै लागेको छ ।" मलाई पनि त्यस्तै त्यस्तै लागिराछ । पति-मित्रले पनि नशालु नजर फ्याँक्दै जवाफ बोल्यो ।
अनि अत्यधिक स्वादिष्ट परिकारहरु बनाएर हार्दिकतापूर्वक मित्र-पत्नीले पति-मित्रलाई भोजन गराइन् ।

त्यसपछि पल्लो कोठामा पति-मित्रलाई सुताएर ओल्लो कोठामा लाहुरेनी सुतिन् । भोलिपल्ट बिहानै चिया दिँदा राता-राता काँचा आँखा जुधाउँदै लाहुरेनीले विस्तारै भनिन्- 'मन भित्र हुरी चलेर? के के कुरा सम्झें के के? ?रातभरि निद्रै लागेन ।'
बिहानीको घामको रोशनीजस्तै मधुर मुस्कानमा पति-मित्र बोल्यो- 'हो भाउजू ! मलाई पनि रातभरि त्यस्तै त्यस्तै भएर छर्लंङै रात बित्यो ? ?।'

-फाक्टांग -२, खोटांग

गजल












-अनिता वाग्ले
सम्झनाको घर तिमी,बिर्सनलाई छैन गाह्रो
नपुग्ने रहर तिमी,बिर्सनलाई छैन गाह्रो

कति भेटे कति छुटे,यस्ता साथ जीबनमा
सपनीको प्रहर तिमी,बिर्सनलाई छैन गाह्रो

माया भन्दा पैसा ठूलो,आडम्बरी दुनियाँमा
आडम्बरको सगर तिमी,बिर्सनलाई छैन गाह्रो

अझै धेरै बाकी छ,यात्राहरु तय गर्न
नपुगिने शहर तिमी,बिर्सनलाई छैन गाह्रो

खहरे झै होला माया,बैश ती उन्मादमा
कल्पनाको बगर तिमी,बिर्सनलाई छैन गाह्रो

हाल: सिंगापुर

Thursday, January 22, 2009

गजल









-अम्बिका गिरी
हजुरले छोडेदेखि सबै आँखा तर्छन मलाई
नानाथरी कुरा झिकी त्यसै गाली गर्दछन् मलाई

आफ्नो सोझो गर्दा पनि सारै गाह्रो भयो बाच्न
सत्य कुरा बोले पनि उल्टै दागा धर्छन मलाई

नबोले नी सुख छैन बोले झनै गाह्रो हुने
एउटा कुरा के बोलेथे हजार कथा भर्छन मलाई

घरभित्र के हुँदैछ केही पनि थाहा दिन्नन
केही कुरा बुझ्न खोजे उसै उसै टार्छन मलाई

साह्रै गाह्रो हुँदो रैछ आफ्नो मान्छे टाढा हुंदा
छिट्टै फर्की आउनुस् हजुर यिनीहरुले मार्छन मलाई
हाल: नेदरल्यान्ड

कबिता












बीच बाटोमा ब्यूँझेर

-नवराज सुब्बा
सर्प लम्पसार
बीच बाटैमा
घाम तापेर बसेको छ
बाटो छोडेर भागूँ
कि कसरी र्सपलाई लखेटूँ !

सोच्दासोच्दै
कता अड्कियो खुट्टा
कहाँ भास्सियो जीवन !
यतिन्जेलसम्ममा त म
कहाँ-कहाँ पुग्नु थियो
के के गर्नु थियो ।

अचम्म !
र्सप कता लुत्त लुक्यो ?
सायद मैभित्र पस्यो कि !
लम्पसार छु म आज बीच बाटोमा
बाटो मैमाथि चढेर हिँडिसकेछ ।
कसैका पदचापले ब्यूझेर बल्ल उठ्दै
जीउको धूलोमैलो टक्टक्याउँदैछु
आँखा मिच्दै नियाल्छु म
छाडिगएको मेरो भाग्य
कहा पुग्यो होला भन्दै
पर... लक्ष्यसम्म ।

-बिराटनगर

गजल

-स्वयंम्बर सिंह लामा
उडि रहने चरी हौ तिमी
स्वर्गको एउटी परी हौ तिमी

खडेरीमै रुझाई दिने
बिना बादल झरी हौ तिमी

मनको बह लेखि दिने
नमेटिने खरी हौ तिमी

सुगन्धले मोहित पार्ने
लेकको सुनाखरी हौ तिमी

बा–है महिना पसाएर
बुँङ्गा फुल्ने घरी हौ तिमी

Wednesday, January 21, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -जनवरी २००९

साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।
-युबा साहित्यकार देबेन्द्र सुर्केली खापुङ





♣ तपाईलाई चिन्न बाँकी रहेकाहरुमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?
सर्बप्रथम त मलाई चिन्न सक्ने कुनै पहिचान नै बनाएको छैन मैले । कुनैबेला राजनीति गरेँ त्योबेलाका साथीहरुले मलाई त्यही रुपमा चिन्छन् । पत्रकारिता पनि गरेँ र साहित्य पनि कोरेँ । अहिले मलेसियामा रहेर पनि विभिन्न संघसंस्थामा आवद्ध छु । मलेसियामा पत्रकारिताको साथ बढि चाही ग्राफिक डिजाइनर पेशा अपनाएको छु । अनि यसै वर्षदेखि मलेसियाको एक निजी कम्पनी डिजी मोवाइलमा नेपाली समाचार सम्पादन तथा वाचनसमेत गरिरहेको छु । जुन मोवाइल लाइन १ लाख भन्दा बढि नेपालीहरुले प्रयोग गर्छन् । मलेसियाबाट अपडेट हुने www.malayanepal.com मा दैनिक समाचार अपडेट गर्ने गर्छु । तसर्थ मेरो कुनै स्पष्ट चिनाउने खालको पहिचान छैन ।

♣ तपाईको सिर्जनात्मक हिडाई कतातिर जाँदैछ यतिबेला ?
मेरो सिर्जनात्मक हिडाइ पनि पहिचानजस्तै अस्पष्ट नै छ । साच्ची मलेसिया भित्रिएपछि सिर्जनातर्फ धेरै कम हिडाई भएको छ मेरो ।

♣ मिलन देवान स्मृति अनेसाम पुरस्कार तपाईको कृतिले पाएको कि तपाईको सिर्जनात्मक खुबीले ?
मिलन देवान स्मृति अनेसाम पुरस्कार मैले कृति खुबी भन्दा पनि सक्रियाताले पाएको हो कि जस्तो मलाई लागेको छ । किनभने कृतिको हिसाबमा मेरा भन्दा राम्रा राम्रा कृतिकार दामली साथीहरु छन् । सिर्जनात्मक खुबी त मलेसियामा रहेका अन्य सर्जकहरुलाई मैले सम्मान गर्नुपर्ने हुन्छ । तर मलेसियामा रहेका सर्जकहरुको सिर्जनालाई प्रचारप्रसारमा मैले दिलोज्यान दिएको छु । सर्जकहरु कहिल्यै नमरुन् भनेर सर्जकको अभिव्यक्तिलाई प्रकाशनमा ल्याउने काम गरेको छु ।

♣ साहित्य के हो ?
साहित्यको माध्यमबाट मनको गुम्फन बाहिर ल्याउने विचार दिने उपयुक्त बाटोको रुपमा लिएको छु ।

♣ तपाई के का लागि साहित्य सिर्जना गर्नुहुन्छ ?
माथि नै भने नि मैले -मुखले अभिव्यक्त गर्न नसकेको कुरा साहित्यको माध्यमले सरल र सहज उत्तर दिनसक्छु । देश काल परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण पेश गर्न सक्छु । यतिको लागि मात्रै ।

♣ मलेसियामा डायस्पापोरिक नेपाली साहित्यको अवस्था कस्तो छ र यो आन्दोलनमा तपाई भूमिका कस्तो रहँदैछ ?
ओह ! मलेसियामा डायस्पोरिक नेपाली साहित्य त यति अगाडि बढिरहेको छ कि प्रत्येक महिनामा दुई जति कृति प्रकाशित भइरहेको छन् । प्रत्येक स्टेटमा नेपाली सर्जकहरुद्धारा साहित्यिक संस्था स्थापना गरेका छन् । कम्पनीभित्र बन्दि अवस्थामा काम गर्नुपर्ने भएपनि कुनै एक ठाउँलाई केन्द्र बनाएर पुस्ताकलायको निर्माण गरेका छन् । मलेसियाबाट प्रकाशित हुने ५ वटा भन्दा पत्रपत्रिकामा सिर्जना नै बढि प्रकाशित हुने गर्छ । मैले यस आन्दोलनमा एक यात्रीको भूमिका गरेर हिडिरहेको छु । अनेसास मलेसियाको पुस्तकालयलाई संरक्षण गरिदिदै आएको छु र सर्जकहरुको कृतिहरुलाई प्रकाशनको निमित्त सम्पूर्ण गृहकार्य र प्रचार प्रसारको भूमिका निर्वाह गरिरहेको छु ।

♣ अहिले नेपाली साहित्यमा विभिन्न धार र वादका कुरा चर्किरहेका छन् यो अवस्थामा तपाईले समातेको धार कुन हो ?
खासमा साहित्यमा एउटै मात्र धार हुन्छ -त्यो हो साहित्यको विकास । साहित्यको विकास गर्ने क्रममा विभिन्न उपधार र वादहरु जन्मिछन् । त्यो चर्काचर्की होइन त्यसले साहित्यलाई पूर्ण रुप दिन्छ । मैले जहिले पनि साहित्यको विकास होस् भन्ने ठानेको छु ।

♣ साहित्यको कुन विधामा आफूलाई अब्बल ठान्नुहुन्छ तपाई ?
मैले कुनै पनि विधामा आफूलाई अब्बल ठानेको छैन । सिक्दैमात्र छु ।

♣ तपाइको ठम्याइमा जीवन र साहित्यबीचको सम्बन्ध के हो ?
साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।

♣ मलेसियामा बसेर नेपाली साहित्य साधना गर्दै हुनुहुन्छ मुलधारबाट अलग रहेजस्तो लाग्दैन आफैलाई ?
पटक्कै लागेको छैन । सबैभन्दा ठूलो सक्रियता हो । म कुनैबेला काठमाडौमा ४ वर्ष रहँदा पनि मोफसलमा रहेजस्तै थिएँ । तर राजधानीमा रहने साहित्यकारले मोफसलमा रहनेलाई मान्यतामा तलमाथि गर्न भने हुँदैन ।

♣ साहित्य र राजीनितिबिचको छनौटमा तपाई कुन रोज्नुहुन्छ ?
दुवै एकअर्कामा परिपुरक हुन् ।

♣ अलिकति प्रसँग बदलौ देश नफर्किने ?
म देशको लागि पिरोलिएको छु । फर्किन्छु नै अवश्य । तर विदेशलाई हेरेर नेपालमा भईरहेको खिचातानी नाजुक विचारको उपज देखिरहेको छु ।

♣ जिन्दगीमा सबभन्दा गहिरो प्रेम कोसँग भयो तपाईको ?
जति पनि मेरा साथीहरु छन् सबैसँग नै गहिरो प्रेम छ मेरो ।

♣ तपाईको जीवनको एउटा अविश्मरणीय क्षण भन्नुस् न ?
म समयसमयमा भएको क्षणहरुलाई विशेष महत्व राख्छु । त्यसैकारण मेरा अविश्वमरणीय क्षणहरु धेरै छन् । मैले आमूल परिवर्तनको बाटो नामक पुस्तकमा पनि केही समावेश गरेको छु । र आउँदा दिनहरुमा पनि गर्नेछु ।

♣ तपाईलाई साहित्यकै बाटोमा हिड्न चाही कसले सिकायो ?
समय र परिस्थितिले भनौ ।

♣ दिनमा कतिपटक देशलाई सम्झनुहुन्छ नढाटी भन्न मिल्छ ?
पुरै समय नै देशलाई छ । परदेशमा भएपनि नेपाली भाषाको सेवा गरिरहेको छु । नेपाली बोलिरहेको छु । नेपाली साथीहरुको लागि काम गरिदिदै आएको छु ।

♣ तपाईले आत्मादेखि नै मन पराएको नेपाली साहित्यकार र कृतिको नाम लिनपर्दा, र किन ?

कुमार लिङ्देन र उनको कविताकृति "आधा चन्द्रमा" । बास्तविक नेपाली साहित्य र कोरिनपर्ने विषयहरु त्यसमा समेटिएका छन् ।

♣ कस्तो पुस्तक लेख्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
जीवनको परिवेशमा भईरहेको क्षणहरुलाई जस्ताको तस्तै उतारेर लेख्न मन लाग्छ । जुन थोरै मात्र लेखिएका छन् ।

♣ यहाँ मैले सोध्न बिर्सेको र तपाईलाई भन्न मन लागेको कुरा धक फुकाएर भन्न चाहनुहुन्छ ?
मात्र धेरै धेरै धन्यवाद ।



प्रस्तुती : गणेश खड्का "प्रतिक्षा"

Sunday, January 18, 2009

गजल

-श्रीजन श्री
पोलेन है तिमीलाई ,मेची काली जल्दा पनि
तिम्रै नाक मुनि तिम्रो, सागरमाथा ढल्दा पनि

लाटो बहिरो अन्धा तिम्रो, कानुनले के देख्यो खै ?
आँखै अघी रक्त मुछेल ,तातो हावा चल्दा पनि

अरुका त कुरै छोडौ,आफ्नै भाई आउछन अचेल
मुठ्ठी भरी छुरा बोकी ,जती टाढा छल्दा पनि

ढुङ्गो पनि रसाएछ ,रसाएन मन तिम्रो
स्वयम्भूका जोडी आँखा, गङ्गा सरी गल्दा पनि

-महेन्द्रनगर
हाल: मलेसिया

गजल

-गंगाकुमारी राई 'सुम्निमा'
रौनकको मात लाग्दा नाचेकोमा गर्व छैन
मर्नदेखि डराएर बाँचेकोमा गर्व छैन ।

चुनौतीका पाइलाहरु बढाए त भन्थें हुँला
तीखो काँडा टेकिएर भाँचेकोमा गर्व छैन ।

प्रगतिमा लागिएन, असन्तुष्टी यस्तै-यस्तै
आदर्शहिन रुखो हाँसो हाँसेकोमा गर्व छैन ।

भोलिवादी आफ्नै बानी दिक्क लाग्छ आँफैसंग
गगनचुम्वी मनहरु साचेकोमा गर्व छैन ।

सपनाका महल अझै यथार्थमा पूर्ण छैन
काल्पनिकतासंग नाता गासेकोमा गर्व छैन ।

कबिता











नयाँ प्रेमको कथा


-जोतारे धाइबा
अनुहारको सुक्खा पोखरीमा
आत्महत्या गरिसकेजस्तो छ-
मुस्कानले

बग्दैबग्दै चाल्नीमा
पानी-पानी भए कि भन्छु-
पिठोझैँ बुङ्बुङ्ती रहरहरू

आँखाको कोठाभरि
चिचिला लाग्दै गरेका
मध्यरातको सिरानीमाथिका
पिलपिले जूनकीरीहरू
सामसुम्म
निभ्दै छन् टेबलमाथिको उर्वर
एस्ट्रेमा

यस्तो छु म यस्तो-
छुटेपछि तिम्रो स्टेशनबाट ।

मायादेवीको ममताले बतासिएर
आएथ्यो तिम्रो मनको खोपबाट
मछेउ भुरुरु सारस चरो,
हस्ताक्षर गरेथ्यो नरम प्वाँखहरूले
मेरै आत्माको बहीखातामा

पितामह भाग्यले
चटक्क तानिदिएको गहुँगोरो धर्सो टीका
निधारभरि सूर्य बनाएर
एकाबिहान ब्युँझिरहेथेँ
साँझ सुस्ताइरहेथेँ

जसरी दुर्बल कोपिला छुट्छ हाँगाबाट
उसैगरी त हो म खुस्किएको-
जीवनजस्तै न्याना तिम्रा जोर्नीहरूबाट

कहाँ ?
कुन ?
कतिविघ्न ढुसीदार पातालमा पो
पुग्ने हुँ म

तिमीले उपहार दिएको
जिन्दगीभरको एउटै यो एउटै चश्मा - आँसुको
पाएर,
धमिलो यात्रामा
नयाँ प्रेमको कथा बगाइरहेछु ।


- नक्साल, काठमान्डौ

Saturday, January 17, 2009

गजल

-'विवश' बलिभद्र कोइराला

एउटा गर्छ झुटको खेती अर्मल तिर्छ अर्को,
बनाउँछ ज्यामी महल तक्मा भिर्छ अर्को ।

न्याय दिन्छु भन्नेहरूको आसमात्रै कति गर्नु,
यता साँझ झुपडीमा निद्रा चिर्छ अर्को ।

हामी तिर्छौँ सैलुङ्गेमा पसिनाका मोती दाना,
तिमी थाप्छौ दिउँसै डलर भन्सार छिर्छ अर्को ।

कस्को शोकमा हाँसौँ हामी कस्को शोकमा रोऔँ,
यहाँ पीडा नथामिदै त्यहाँ गिर्छ अर्को ।

हामी रोपार, बाउसे र साउनका हलीलाई
खान नपाई मङ्‍‌सिरमा पीर नै पीर छ अर्को ।


लघुकथा

दु: खको पहाड

-भीम राना "जिज्ञाशु"
ऊ असाध्यै सोझो थियो। छक्कापञ्जा केही गर्न पनि जान्दैनथ्यो। अति मेहनती र परिश्रमी थियो। देशमा गरीखान अनुकूल समय नभएकोले गाउँका उसका साथी भाइहरू रिन काढेर भए पनि अरब मुलुकतिर हानिएका थिए।
आफ्नै आँखासामुन्ने घरखेत बन्धकी राखेर गएकाहरू एक दुई वर्षमै घरखेत निखनी ठाँटका लाहुरे भएका देख्ता उसलाई पनि अरब जाने सकसकीले सतायो। रिन काढेरै भए पनि अरब जाने निश्चय गर्‍यो।

चिनेजानेको आफन्तबाट प्रक्रिया अगाडि बढायो। दुई चार महिनापछि अरब जाने दिन पनि आयो। राम्रोसँग काठमाडौं घुम्न पनि नसक्नेलाई एयरपोर्टमा कुन इन्टरनेशनल कुन डोमेष्टिक आदिबारे थाहा हुने कुरा पनि भएन।
उसको यही सोझोपनको फाइदा उठाएर अरब पठाउने एजेन्टले उसलाई कतार जाने भनी सोलुको सल्लेरी जाने विमानमा चढाइ पठायो। नेपालीभन्दा धेरै विदेशी भएकोले उसलाई त्यति शङ्का पनि भएन। सल्लेरी विमानस्थलमा झर्दा नेपालीहरूलाई देखेर झन् खुशी भयो। तर वास्तविकता थाहा पाएपछि छाँगोबाट खसेझैँ भयो।

प्रहरीको सहायताले जसरी तसरी भएपनि काठमाडौं आई बुझ्दा मेनपावरको ढोकामा भोटे ताल्चा लगाइएको थियो।

-काठमान्डौ

Friday, January 16, 2009

गजल








-इन्द्र नारथुङ्गे
तिमीसँग जवानीको जिली अड्कियो
आपसमा कुराकानी मिली अड्कियो

क्या बात गर्यौ सानु तीनछक्क परें
प्यूँदाप्यूँदै चुरोटको खिली अड्कियो

हत्ते गर्यौ तिमीले भोभो भन्दा भन्दै
हरे दैव ! गाँस पनि निली अड्कियो

आगन टेढो होकी मेरो अल्पज्ञान
नाच्दानाच्दै साकेलाको सिली अड्कियो

हुनेहार दैव नटार भन्छन् बुढापाका
कसो गरौं भन 'इन्द्र' किल्लि अड्कियो

-ईन्द्राणीपोखरी ,खोटांग

Wednesday, January 14, 2009

समय सन्दर्भ

कथा रोटीको, ब्यथा जाडोको

-गणेश खड्का " प्रतिक्षा "
कि रूई , कि फुई, कि दुई ... । यी तीन जाडो छल्ने अचुक औषधी हुन् । साइबेरिया र बरखोयानस्कबाट जाडो छल्न भू-मध्यरेखिय हावापानी तिर बतासइन्छन् कर्याङ्गकुरुङ्ग हरु पनि । हिमाली प्रदेशका तन्नेरी बसिन्दाहरु आफ्ना भल्ट्याङ्ग भुल्टुङ्गका साथमा मधेशतिर झर्छन्। काँचो लाहा, ठुलो ओखती, पाखनभेद, जेठी मधु, बेचेर जिबिका चलाउनु उनिहरुको परम्परा हो। जङ्गली जडिबुटी सँग अन्न साट्नुले जीवन धान्नु सँग साईनो जोड्दछ। हिंड्न सक्नेलाई आफ्नै लर्कोमा डोहोर्याउँछ मानब ज्यान होस् या चौपाया । खुन जम्ने जाडोमा बुढा पाकाको कन्तबिजोग हुन्छ। झुपडीभित्र ठुटा-मुढा को राम धुनी सँगै छोडिदिएका ब्रिद्ध हरु आफु फर्किदा जिवित भए भेटघाट छँदैछ, नत्र काज कृया बाहेक अर्को विकल्प हुँदैन । हिउँले पुरिएर सुकुटी भएका चौपाया खनिखोस्री गर्दा भेटिए गुन्द्रुक सँग तरकारी गज्जबले मिल्छ ।

गरिबीले छ्यान्द्रो भएको एउटा झुपडीबाट भित्रै बसीबसी आकाशका तारा मण्डल गन्न सकिन्छ । भोकले अतालिदै गरेको एउटा बालकले जाडोको चिलाई बिर्स्यो र आफ्नी आमालाई भन्यो - " आमा भोक लाग्यो " आमाले भनिन् - 'बाबु आजलाई पेटभरी पानी पिएर सुत , म भोली मेरो राजालाई खोजेरै भए पनि पेट भरी रोटी खान दिन्छु।' आमाको मुख बाट निस्केको रोटी शब्दले बालकको मनलाई झनै तान्यो, थुक निल्दै उसले फेरी सोध्यो-"साँच्चै आमा ?" 'हो बाबु हो , साँच्चै म भोली तिमीलाई धेरै रोटी खान दिन्छु ।'आमाले आश्वस्त पारिन्। तनतनी एक लोटा पानी पिएर कुकुर गुडुल्किए झै गुडुल्किएर सुत्यो बलक । पेटमा मुसा कुध्न थाले पछी निदाउन सकेन उू । त्यसो त आमा झन् कहाँ निदाउन सक्थिन् र ? छोरालाई भोकै सुताउन परेको पीडाले बेहद पिरोलिएकी थिइन उनी पनि । उत्तानो फर्केर टोलाउन थाल्यो बालक । बाहिर हाँसिरहेको चन्द्रमालाई नियाल्दै उसले भन्यो- 'आमा निद्रा लागेन !' 'सुत बाबु सुत, आँखा चिम्म गर न निद्रा लागिहाल्छ नि ।' भोकले बाटारिएको पेट सुम्सुम्याउदै बालकले फेरी भन्यो- " आमा कथा भन्नु न । " आमा झन् आन्दोलित भइन् । छोरो भोकले निदाउन नसकेको कुरा बुझ्न उनलाई गार्हो परेन। आफ्नो गरिबीलाई धिक्कार्दै आँशु बगाइरहिन् उनले। " छिटो कथा भन्नु न आमा निद्रा नै लागेन । " बालकले फेरी उही कुरा दोहोर्यायो आमा झन् निस्सासिन् र विक्षिप्त मनलाई सम्हाल्दै भनिन्- ' कस्तो कथा सुन्छौ बाबु ? स्वर्गका परिको ? बालकले ठुस्किंदै भन्यो-उँ हूँ ... । जादु बत्तिको नि ? उँ हूँ ... । घोडा घोडिको ? उँ हूँ ... । राजकुमार र रक्षसको नि ? अँ हँ ... । आमाले अलिक दिक्क हुँदै भनिन्- कुन कथा सुनाउँ त म तिमीलाई ? स्याल र कुकुरको कथा सुन्छौ त ? 'नाईँ आमा नाईँ, म तपाईंका अरु कुनै कथा सुन्दिन। बरु रोटीको कथा सुनाउनुस् न।'कोल्टे फर्किदै बालकले भन्यो। 'हुँदैन छोरा हुँदैन,त्यसो नभन मेरो राजा। म तिमीलाई आज रोटीको कथा सुनाउन सक्दिन । आमाले छोरालाई च्याप्प अँगालोमा बेरिन् र भक्कानिदै रुन थालिन्।

प्रसंग जाडो महिनाको हो। तर आङ छोप्नु भन्दा पेट भर्नु मुख्य कुरा हुँदोरहेछ। माथि उल्लेखित रोटीको कथा ले देखाउन खोजेको सार तत्व पनि यही सत्य हो। केटाकेटीको जाडो बाख्राले खाइदिन्छ रे। हिउँदे सिरेटोलाई बिर्सेंर रोटी खान खोज्नुले बालकको चरम गरिबीलाई प्रतिबिम्बित गर्छ। धेरै कुरा देखेर अघाउनु पर्ने र थुप्रै चिज सुनेर चित्त बुझाउनु पर्ने नियती हाम्रो रहर नभएर बाध्यता हो। पुस, फासफुस भएर एक बर्ष को बाटोमा जाँदै छ। नेपाली संस्कृतिको एउटा छुट्टै अर्थ बोकेको माघे संक्रान्तीले हाम्रो घर दैलो टेक्दैछ। हुने खाने हरुले तामझामसँग माघे सक्रान्ती मान्छन्। एक छक मिठो खान भोजकै साइत जुर्नु पर्नेहरुको लागि यसले पनि खै के महत्व राख्ला र ? धर्ती छेडेर माथि-माथि निस्केका तरुल जातिका कन्दमूलहरुको पहुँच कती प्रतिशतको हैसियत सम्मा पुगे ? बिषय गहन बन्न सक्छ यतिबेला। माघ महिना, जाडोको उत्क्रिस्ठ नाम बोकेको महिना हो यो। माघको नाम सुन्ने बित्तिकै जिउ कपाउँनेहरुको लागि पनि त्यही चिज एक फेरो घुमेर आइपुगेको छ। रुई , फुई र दुई बिना माघ कटाउन हम्मे पर्छ भन्छन् । सडक पेटिमा रात गुगार्ने हरु, जो यी तिनै कुरा बाट धेरै पर छन्, तिनिहरुलाई यो भनाइले पनि कुनै सार्थकता नदिन सक्छ। कथित हिटर ताप्ने, न्यानो सिराकमा घुस्रिने र खाली खुट्टा पँधेरोमा जाने अनी रनबन घाँस दाउरा गर्नेहरु बिचको खाडल न माघले पूर्ण सक्ला न चैतले । बुढापाकाहरु भन्छन्-" बलिया बाङ्गा बाघलाई, दुब्ला पातला माघलाई ।" मरिन्छ कि बाचिन्छ भनेर माघे सक्रान्ती मनाउनु रे । मुटु छुने माघको जाडो सँगै सबै कुरा बिर्सेंर रोटीको गाथा गाउने इच्छा जाग्यो मलाई यतिबेला एकाएक । मंसिरमा भित्रिएको अन्न माघ नलाग्दै अनिकालमा परिणत हुँदाको पीडा ढुकुटी रित्तिनेहरुलाई मात्रा थाहा हुन सक्छ। ज्याकेट र कोट किन्ने हरुको होडमा ढोड ताप्नेहरुको यथार्थ नमिठो रमिता बन्न सक्छ। माघ महिमा छ यात्रा तत्र सर्बत्र । मौसमले जाडोलाई एक कित्ता पर हुत्याउने तरखर गर्दैछ अहिले। आरु बखडा र पैयूँ फुल्ने मौसम नजिकिदो छ। घ्यू र तिलको लड्डु खाएर देह तताउनेहरु जाडो भागआएर गर्मी बोलाउने सूरमा छन्। जाडोको उपल्लो महिना भए पनि यही माघलाई सबभन्दा बढी जाडो मान्छन् मान्नेहरु। यद्धपी एक माघले जाडो जाँदैन भन्छन्। माघ सकिने बित्तिकै प्रयोग भइसकेको र मैला भएको बहानामा पुरानो कोट धोबीघाटमा पुर्याउनेहरुलाई उपरोक्त भनाइले खासै प्रभाव नपार्ला । न मिनी स्कर्टमा लस्किनेहरुले माघ र जाडोको चेत पाएका होलान्।

माघ महिनामा जन्मिनेहरु समयको बुढ्यौलीसँगै उमेरको एक खुड्किलो माथि चढ्छन् । यही महिनामा विवाह गर्नेहरु उत्सव मनाउँछन्। दु:ख पाउनेहरुले सराप्छन् होला । जे होस् जाडो मौसम, चिसो समय, ठण्डा हावापानी । समयले धर्म नछाड्नुले हाम्रो भोगाइको आयाम बनेर आइरहदोरहेछ यो याम। घाम रातो भए पछी जाडो भागाउने बहानामा भट्टी पस्नेहरुले कहिल्यै हिउँदलाई सराप्दैनन् होला शायद। गुन्यु चोलीले फेद टुप्पै सम्म गती छाडेर आधुनिकताको होड चलेको बेला तिघ्रा देखाउन कसले आईतवार बार्छ र ? वसन्त पञ्चमी भूलेर भ्यालेन्टाइन डे मा उचालिनेहरुलाई माघे सक्रान्ती पर्बको रुपमा होइन, चाकु खान पाइने अवसर भन्दा ठुलो केही नहोला। समय बतासिंदैछ, जमाना फेरिदैछ, रितिथिती बदलिंदैछ। हाम्रा पर्व, संस्कार, परम्परा, मान्यता र सस्कृतिलाई फर्केर हेर्ने फुर्सद कसैलाई छैन। जनताले पेटभरि खान नपाउन्जेल सांसदको भत्ता बढाइनु हुँदैन भनेर भारतका एक जना प्रधानमन्त्रिले उद्घोष गरेको ईतिहास पढ्छौ हामी। देशबासीले रोटी खान नपाउन्जेल कसैले केक खान पाउने छैन भनेर लेनिनले खबरदारी गरेको द्रिष्टान्त ज्यूदै छ। दुर्भाग्य हामी त्यसको ठीक बिपरित नियती भोग्दै छौं। एउटा बुद्ध, एउटा वी।पी। र एउटा पुष्पलाल नजन्मे सम्म त्यो आशा झिनो छ। हामी भएर होइन अभावमा दु:ख भोग्दैछौ। तर कोही कहरमा होइन रहरमा सास्ती खेप्दछन्। नत्र सेक्सी देखिने ध्याउन्नमा अनी छातीको उचाई, नाइटोको गहिराई, र साँप्राको आयतन प्रस्तुत गर्ने सुरमा रेखा थापा र रिचा घिमिरे जस्ता थुप्रै नवयौबनाहरु यो हिउँदको बेला पनि अर्धनग्न सडक र समारोहमा एक्स्पोज हुनुमा के तुक छ त ? होइन भने हिमालको फेदमा चलचित्र कारखाना र विश्वविद्द्यालय बनाउँदा हुन्छ। डाँफे मुनाल आँखा छोप्न सक्लान बरु। बर्थ डे पोजमा अन्मिन रमाउनेहरुलाई कुनै धक लाग्दैन। चैतमा रामधुनी ताप्न र माघमा नाङ्गै हिंड्न सक्ने आँट भएकाहरुले एउटा महँगो स्कर्ट किन्ने पैसाले दश जनालाई बक्खु किनिदिए कती सजिलै जान्थ्यो एउटा गरीबको हिउँद...? जाडो मनलाई लाग्ने कि तनलाई ...? या परिस्थितीलाई ...?

-तिवारी भञ्ज्याङग -४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Tuesday, January 13, 2009

संस्मरण

भेट

-राज रोबर्ट अजनबी सुब्बा
"नमस्ते- तपाईको आइडि डब्लुडब्लुडब्लु साहित्यसागर डट ब्लोगस्पोट डट कमबाट पाएको हु।मैले तपाईको आडि अनुमति बिना एड गरे माफ गर्नु होला।"नया आइडिबाट अपरिचित ब्यक्ति।
"अनुमति किन र? बरु तपाईको परिचय दिनुस् न ।"मैले भने।
"म रेखा लिम्बु । तपाईलाई दाइ नै भन्छु किन भने मेरो घर पनि ताप्लेजुङ नै हो ।"उनले भनी।
"ताप्लेजुङ कहा हो?" मेरो प्रश्न।
"टुक्रे बजार ।"उनले भनी ।
"अनि अहिले कहा बाट हो नि?" मैले भने।
"इजरायलबाट ।"उनले भनी।
"तपाईको मुल घर कतै तापेठोक त होईन?" मैले भने।
"हो.. तर तपाईलाई कसरी थाहा भयो?" उनको प्रश्न।
"मैले तपाईलाई चिनि सके ।" मैले भने ।
"हो र? तपाई को हो?" उनले भनी।
"म राज कुमार थेबे तपाईको दाइ ।तपाई मेरो मामाकी छोरी मेरी बहिनी हुनुहुन्छ ।" मैले भने ।

राज रोबर्ट अजनबी नाम रहेको र सानो छदा मात्र देख भेट भएको अनि भर्खरै खिचेको फोटो साहित्य सागरमा रहेको कारण बहिनी ले मलाई चिन्न नसक्नु स्वभाबिक नै थियो। उनै रेखा बहिनी मार्फत अर्की बहिनी लक्ष्मी सुब्बा (हेल्लोक) सङ्ग पनि अनलाईन मार्फत भेट भयो। जे होस् साहित्य सागर ले इजरायलमा रहेकी बहिनी हरु लक्ष्मी सुब्बा र रेखा सुब्बा सङ्ग भेट गराएर सदा ऋणी बनाएको छ।

रङ्गबादी साहित्यमा जीबन र जगतको ब्याख्या आश्चर्य अचानक र सम्भाबितमा गएर टुङिन्छ, जस्तै होला होला जस्तो, होला नहोला जस्तो, नहोला नहोला जस्तो, नहोला होला जस्तो। रङ्ग बादी साहित्यकार स्व। स्वप्निल स्मृती र बियोगी काइला हरुको रङ्गिक ब्याख्यामा जीबन लाई एउटा कोट जस्तै देख्छ र हेङ्गरमा सुकाउछ, ससुराली लान आटेको पेरुङ्गो भित्र कैद गरिदिन्छ, मतलब जीबन् र जगत लाई जसरी पनि परिबर्तित रुपले रङ्ग भर्न सकिन्छ भन्ने हो।

रङ्गबादी साहित्य जस्तै आश्चर्यजनक रुपमा साहित्य सागर मार्फत भेट भएका लक्ष्मी हेल्लोक र रेखा हेल्लोक मेरी मामाको सु-पुत्री हरु हुन। उनीहरु सङ्ग छुटेको ९ साल पछि अचानक अनलाइनमा मार्फत भएको भेट सदा अबिस्मरणीय रहनेछ।आफन्तहरु सङ्गको भेटले निश्चय नै अधिक खुसी दिन्छ, चाहे त्यो भेट अनौपचारिक नै किन नहोस्, तर भेट कहिले काही धर्मसङकट भित्र पनि फस्दो रहेछ। प्रबासी नेपाली साहित्यिक मन्च (पछि अन्तराष्टृय नेपाली साहित्य समाज,आईएनएलएस) प्रथम महाधिबेसन ताका भुल्नै नसकिने एउटा घटना घट्यो।मेरो नातेदार दाइ मलाई भेट्न भनी जोहोर भन्ने ठाउबाट क्वालालुम्पुर आउनु भयो। उहालाई भेट्ने मेरो पनि ठूलो सपना र योजना थियो। उहालाई देख्न मात्र भए पनि मेरा नयनहरु सधै आतुर रहन्थे तर म फसे जिम्मेवारी र कर्तब्य भित्र ।

कुरा के पर्यो भने महाधिबेसनको सभापतित्व मैले गरेको थिए। प्रमुख अथितिमा नेपाल सर्कार नेपाली दुताबास का राज्दुत श्री हरि कुमार श्रेष्ठ ज्यू हुनु हुन्थ्यो ।सभापतीको कुर्सीमा मात्र के बसेको थिए।दाइको फोन आयो- "नेपाल हाउसमा आएको छु ,तुरुन्तै भेट्न आऊ।" अधिबेसन सामाजिक सेवा केन्द्रको हलमा चलिरहेको थियो।त्यहाबाट नेपाल हाउस टाढा त थिएन तर एउटा महाधिबेसनको सभापती कार्यक्रम स्थल छोडेर हिड्न मिल्छ मिल्दैन म आफै अनबिज्ञ थिए। दाइहरुलाई कार्यक्रम स्थल मै आउनलाई अनुरोध गरे तर दाइहरु हतारमा रहेको करण मलाई नै नेपाल हाउसमा आउन भन्नु भयो। मैले कार्यक्रम सन्चालक तथा सस्थाका सचिब एबम एफएम पत्रकार ईन्द्र नारथुङ्गे समक्ष परामर्श लिए। ईन्द्र जीले "तपाई सभापती हुनुहुन्छ ।तपाई बिना त कार्यक्रम नै अगाडि बढाउन मिल्दैन। त्यसैले तपाई यहाबाट कतै पनि जान मिल्दैन।" भनेर सल्लाहा दिनु भयो। उता दाइहरुले जोहोरको टिकट कन्फर्म गरेर मलाई पर्खिरहनु भएको थियो भने यता म फसेको थिए कर्तब्यमा। मलाई लाग्यो-म उठेर गए भने त राजदुत ज्यूले मलाई र सस्थालाई के ठान्नु होला। त्यसैले मैले दाइ हरुलाई भेट्नु भन्दा मेरो जिम्मेवरी र सस्थाको गरिमालाई उच्च सम्झे।आजकाल यही एउटा सवालले बारंबार घोच्ने गर्छ- " कतै मैले गलत पो गरे कि?"

फेरि अर्को त्यस्तै घटना के भने श्रम साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक रमेश तुफान र सोही साप्ताहिकका कार्यकारी सम्पादक कोपिला गौतम ज्यूहरु दुबै जनाले मलाई फोन गरेर राती बस्ने गरि आउन उहाहरुको घरमा मलाई बोलाउनु भयो। मैले जसरी पनि आउने बचन दिए तर केही छिन पछि गाउले साथीले फोन गरेर भेट्न बोलाउनु भयो। मेरो गाउले साथी..., जो सङ्ग पहिलो पटक भेट हुदै थियो मलेसियामा। उता रमेश तुफान र कोपिला गौतम आदरणीय हुनु हुन्थ्यो।यहा पनि म धर्मसङकट मै फसे। अन्त त म सुङगाईबुलो दमनसरा नै पुगे गाउले साथीकोमा।भेट नै यस्तै हुदो हो, कहिले अचानक कहिले आश्चर्यजनक कहिले सुखद त कहिले सङकटका साथ।मामाका छोरी ६ जना मध्ये ३ जना मेरी दिदी र ३ जना चाहि मेरी बहिनीहरु। सानो छदा म जहिले मावली गैरहन्थे र भेट भै रहन्थ्यो। अलि उमेर चढेर मलाया उडे पछि उनीहरु सङ्ग भेट नभएको करीब ९ बर्ष भैसकेको थियो। बहिनीहरु सङ्ग छुट्दा म १८ बर्षको थिए। बहिनीहरु त्यस्तै १५/१६ जतिका, आज ९ बर्ष पछि वेबकाममा देख्दा रुप रङ्ग सबै परिबर्तन चिन्नै नसकिने ! प्रत्यक्ष भेट नभए पनि मामाको छोरीहरु मध्ये दिदी जितमाया र बहिनी हरु लक्ष्मी र रेखा इजरायलमा कर्यरत छन् भन्ने मलाई प्रष्ट थाहा थियो। जितमाया सङ्ग त बेला बेला मा फोन गरी कुरा पनि गरि रहन्थे।फेरि जितमाया दिज्यू सङ्ग त मेरो दोहोरो साईनो पनि छ- एका तिर मामाको छोरी (दिदी), अर्को तिर दाइको धर्म पत्नी (भाउज्यू ) ।तर दाइ भन्नाले मेरो साख्खै दाइ नभै मेरो माइला बुबाको छोरा हो।अर्थात म साईलाको छोरा भने जितमाया दिज्यूको श्रीमान चाहि माईलाको छोरा।

सानो छदा लक्ष्मी बहिनी बोल्ड (साहासी) स्वभाबकी थिई भने त्यसको ठिक उल्टो रेखा बहिनी एकदम लजालु स्वभाब की, कान्छी बहिनी त सानै थिई। मावली जादा रेखा बहिनी म सङ्ग बोल्न लजाउथी। कमै मात्र बोल्थी । लक्ष्मी बहिनी भने म सङ्ग खुलेर कुरा गर्थि। म त सानै देखि नै चन्चले स्वभाबको हुनाले कसै सङ्ग बोल्न धक लाग्दैनथ्यो। सानो छदा माईजूलाई त पालम (धान नाच नाच्दा गाइने गीत) नै गाएर सुनाएछु।माईजूले त्यो पालमका हरफहरु कण्ठै पार्नु भएछ। अझै सम्म माईजूले मलाई जिस्क्याई रहनु हुन्छ त्यो पालम सुनाउनु हुदै।
त्यो पालम यस्तो थियो-
नरसिङ्गाको फुदो- राती उदो,
सहनाईको टे टे- बल्ल भेटे,
कुखुराको भुत्ला- मन डुल्ला ।

बस् अहिले लाई यत्ति नै।

-मामाखे ,ताप्लेजुंग

Saturday, January 10, 2009

गजल












-यात्री शेखर

भावनाको कुरा गरी घाम-जून छुने मान्छे
पिरतीका कुरा गर्दै पराइ आफ्नो हुने मान्छे

बगरमा भेटिएका सुनै सुन का टुक्रा जस्तै
चम्काउन आफैलाई कसी लगाई धुने मान्छे

जिन्दगीको यात्राभरी साथहरू कति कति
दुःख पर्दा अरुलाइ, आफु पनि रुने मान्छे

देखासिकी चालवाजी नजानेको शायद छैन
बिनासित्ति कहीलेकाही कठोर पनि हुने मान्छे

मन माथि मनै मन रीसराग नराखेर
दायाँबायाँ जता ततै आफ्नै आफ्नो हुने मान्छे


-तकुवा -७, मोरंग



कबिता

प्रितिका कुरा मनमा नखेलाउनु ल

-केदार श्रेष्ठ
यादहरु यसरी मडारिदै छन्
आकाशको वादलजस्तै
प्रत्येक पलको हावाले
एक ध्रुवबाट अर्को ध्रुव पुर्याएर
सून्यबाट खसालिएकौ ढुङ्गाजस्तो
भएको छ मन
म निस्सासिदै छु हावाको वेगले
एउटा नावालक आमाको खोजीमा
रुँदै निस्सासिए जस्तै,
आकाशको चन्द्रजस्तै मेरी मायालु
आकाशको फलजस्तै छिन् उनी
त्यती टाढा
प्रीतिका कुरा गरेर के माया लाउनु
के प्रीति गास्नु
मुतको न्यानोजस्तो
यो धेरै टाढाको माया,
जाडोयाममा तताएर राखेको पानी
परदेश हिँडेको परदेशीले हल्लाएको हातजस्तो
क्षितिज पर–पर
विस्तारै–विस्तारै हराउदै जानेछ मेरो याद,
मेरो सम्झना तिम्रो मन मस्तिष्कबाट,
कस्तो थियो त्यो संयोग, कस्तो छ मेरो भाग्य
जीवनको एक मोडमा तिमीलाई भैट्टाएँ
जीवनको अर्को मौडमा तिमीलाई गुमाउदैछु ,
रातको सपनामा देखेको राजकुमारजस्तै
ब्यूँझेपछि विहानको याद सम्भि्कदिनू ल
म विस्तारै विलिन हुनेछु–यो टाढाको मरुभूमिमा
तिम्रो मन मष्तिष्कबाट
तिमी हौ मखमली फूल, सूनाखरी पहरामा फुलेकी
झरना भै छङ्छङाउदै आयौ मेरो मनमा
जादैछौ मेरो मुटुको बाटो भएर फेरि
वगेर आफ्नो यात्रा गंगामा,
आज त्यो कोमल हात समाति चुम्दै मेरो मायालाई
सेलाउदैछु त्यही सङ्ग्लो पानीमा
अव तिमी लाग्ने छौ आफ्नो वाटो म आफ्नै वाटो
हामीलाई साध लगायौ पापी समयले
म मरेर पनि पुग्न नसक्ने भूगोलमा छौ तिमी
हामी वाचा गर्छौ भैट्ने
के यो सम्भव छ?
के यस्ता प्रीतिका कुरा गर्न ठिक हौ?
आँखा रुँवाउने काम,
वा मुटु फाट्ने काम?,
ई–मैल,ईन्टरनैट र फोनको घोडा चढेर सधैँ हामी
एकअर्कामा विलिन हुन सक्दैनौ
हो कुनै क्षण,कुनै समय
दुई शरीर एउटै थियो,
दुई मुटु एउटै भयो
र दुई आँखा एक तिमी एक म भएका थियौ
जानी नजानी हामीले एकअर्कालाई माया गरैका थियौ
अव गर्ने छैनौ माया त्यसरी
हामीलाई वाध्यतालै घेरेको छ
परिवन्धले बाधेको छ
त्यसैले हाम्रो सम्बन्ध यसरी टुक्रिएको छ–
जसरी सीसा टुक्रिन्छ
टुक्रा–टुक्रा भएर तिम्रो मेरो माया प्रत्येक पलपलमा
अव नरोई बस है प्रीतिका कुरा खेलाएर मनमा
हाम्रो भेट कहिल्यै हुने छैन।

Thursday, January 8, 2009

कबिता









हेल्लो न्यू इयर... हाई न्यू इयर

-गणेश खड्का " प्रतिक्षा "
कलरफूल लाइटहरुको चमकता
नवीन आभुषण सँगै
रमाएका नूतन मनहरुको रौनकता
अर्धनग्न बन्दै
निमेष- निमेषमा
उघ्रिंदै फेरि
हावामा फिंजिदै
स्वच्छन्द उड्न आतुर
प्रत्येक स्याम्पियनका
फिंजहरुको मादकता
यी सब हेर्न
लालायीत मेरा
जोर आँखाहरु
ठिङ्ग उभिएका छन
म सँगै
एक साल पछि
बल्ल भन्न पाइने
बर्षै भरि
उच्चारणै गर्न नपाएको
प्रचलित नै भएर के भो
नयाँ जस्तै लाग्ने
त्यही प्यारो
शब्दावली पुकार्न
ब्यग्र ओठहरु
ह्यापी न्यू इयर
भन्न हातारिएका मनहरु
सहज आँकलन सहित
निर्मिमेष हेरिरहन्छन
मेरा अबोध नयनहरु
डिसेम्बरको अन्तिम रात
भोगाइको परकाष्ठामा
मदहोसी वयहरु
बाफिलो स्पर्शमा
आलिङ्गनबद्ध
नवयौबनाहरु
निकट खुशीको
नवागमन सँग
अङ्गालिन
प्रतिक्षारत ढुकढुकीहरु
मिडनाइट पछिको अर्को सेकेण्ड
सायद
त्यही हुने छ
न्यू इयर
सभ्यतासङ्गै
बाँचेकोजमाना सँगै
रमाएको
एउटा ध्रुब सत्य
च्याप्प समातेर
समयको
एउटा फुर्को
बुलन्द आवाजले
आकाश गुन्जिन्छ
ह्याप्पी न्यू इयर
भूगोलको एउटा कुनामा
ठिङ्ग उभिएको छ मेरो तन
जबर्जस्त
एउटा औपचारिकता
अलाप्छ मेरो मन
एउटा रमितेको भाँती
बग्रेल्ती छरिएका
रङ्गी चङ्गी मान्छेहरु
भित्री सकेको न्यू इयर
लागिसकेको जनवरी वान
बेतुकको एउटा हाँसो
निकाल्छ ओठ
हेल्लो न्यू इयर... हाई न्यू इयर
सम्झिन्छु हेपिएको मेरो बैशाख एक
कल्पिन्छु
होच्च्याइएको
मेरो नयाँ बर्ष
बिश्व सभ्यता सङ्गै
ग्लोबलाइजेसनले दिएको
यूनिभर्सल मान्यतामा
दौडिऊँ कि म पनि ?
आँखा भरी सजाएर
बुकी र लाली गुराँस
अचेल त
सापटी लगेको छ कसैले
हार्दिकताको मन
लिलाम बढाबढमा छ
शुभकामनाको तन
आँखा चिम्म गरेर
ब्रह्माण्ड हाँक्छन
अर्धबेहोस ओठहरु
ह्याप्पी न्यू इयर
टू मम -ड्याड
ह्याप्पी न्यू इयर
टू ब्रो -सिस
ह्यप्पी न्यू इयर
टू गिर्लज एण्ड गाइज
ह्याप्पी न्यू इयर
टू अल फ्रेन्ड्ज,...
एउटा औपचारिकता
नया बर्षलाई पनि
हेल्लो न्यू इयर... हाई न्यू इयर ...!

-तिवारी भञ्ज्याङग -४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

गजल

-सन्तोष माबुहांग 'अनसन'
के भो र तिमीलाई रिसा'को चाहि किन त?
कुरै नबुझी मन चिसा'को चाहि किन त ?

एउटा भुल भई हाल्यो अब हुदैन
बोलचाल नै ठ्याक्क बिसा'को चाहि किन त?

नदुख्ने मुटुलाई जबरजस्ती दुख्ने गरी
ढुंगा माथि राखेर पिसा'को चाहि किन त?

शंकाले पुरै लंका जलेको यो बेलामा
अमृत माथि बिष मिसा'को चाहि किन त ?

मार्ने दाउपेच हो कि 'अनसन' लाई
बेस्मारी यताउता घिस्या'को चाहि किन त?

-बसन्तपुर , तेह्रथुम

गजल

-पदम चिन्तित पुनम
प्रीत रहेछ जिन्दगी
गीत रहेछ जिन्दगी

आफै हार्दा पनि यौटा
जीत रहेछ जिन्दगी

सुख दु:ख यस्तै यस्तै
रीत रहेछ जिन्दगी

एक्लै बाच्नु पर्दा आफ्नै
मीत रहेछ जिन्दगी

हास्नु, रुनु त - जूनको आशु
शीत रहेछ जिन्दगी

-घाचोक-६, कास्की

गीत










रहर पनि गुम्यो ...

-डिआर निश्छल
रहर पनि गुम्यो मेरो बैश पनि सुक्यो मेरो
ओईलायो जीबन अब भाग्य पनि भयो टेढो

दु:ख मेरो बाच्ने आधार सुख भन्ने कस्तो होला
भित्र भित्रै दुखिरहन्छ हानिरहन्छ झड्के सोला
बसन्त पनि छैन मेरो बहार पनि आएन मेरो
ओईलायो जीबन अब भाग्य पनि भयो टेढो

रूदा पनि खिसी गर्छन हात दिने कोही हुन्न
धरापमा पर्दा माया कठिन भयो जीबन जिउन
हासो मेरो क्षण भरको आशु सधै साथ मेरो
ओईलायो जीबन अब भाग्य पनि भयो टेढो

रहर पनि गुम्यो मेरो बैश पनि सुक्यो मेरो
ओईलायो जीबन अब भाग्य पनि भयो
टेढो

-महेश्वरी -२, खोटांग
हाल: भिक्टोरिया

Wednesday, January 7, 2009

संस्मरण












मेचीपारीबाट कंचनजङ्घासँग हेराहेर

-निराजन बतास
डिसेम्बर २७ बिहानको ८ बजेको छ । बाहिर सिमसिम पानी परिरहेको छ ।झ्यालबाट बाहिर हेर्दा छिमेकी घर र नजिकैका बस्तीहरुका घरको आगनतिर थुप्रै दिदी बहिनीहरु कामामा जान ठिक्क परिरहेका देखिन्छन । भन्दैछन्-'यो पानीले त हो अन्त निक्कै जाडो ल्यायो हो।' करसाङ दार्जिलिंग भन्दा करीब ३० किलोमिटर दक्षिण पूर्बको अर्को रमणीय ठाउ हो।यो ठाउ भन्दा केही तल पर्ने मकैबारी चियाकमान बीचतिर पर्ने फूलबारी र कोदोबारी बस्तीको कुरा हो यो।

दोश्रो पल्टको पाहुना बसाइ थियो मेरो त्यहा। आफ्नै दिदीको घर भए पनि बारम्बार गैराख्न के-के नमिलिरहेको हुन्छ।यसपल्ट त्यहा पुग्दा निकै कुसाईतमा हिडेछु भन्ने भयो पहिले त।हिउदे पानी र बाक्लो भुइ कुहिरोले त्यहाँका रमाइला दृश्यहाँरु आँखा भरि पर्न पाएनन ।यस क्षेत्रका लग भाग सबै बस्तीहरु मकैबारी, कर्मासरी,स्पृङसाइट्, करसाङ नामका चियाकमानहरुले सजिएर ढाकिएका छन । त्यस मध्ये मकैबारी चियाकमान पहिलो र गुणस्तरीय चिया उत्पादक मानिन्छ ।यस कमान वरपर नजिक -नजिकमा थुप्रै साना बस्ती हरु छन ।बस्तीकाघरहरु त्यती ठूला छैनन तर पनि सफा,चिटिक्क, आकर्षक्, राम्ररी रङरोगन गरिएको झ्यालमा सफा शिशा,वरिपरि फूलबारी रहनु त्यहाँका हरेक घरका बिशेषताहरु हुन ।यस्ता प्रत्येक घरहरु त्यही चियाकमान कै भरमा बाचेँका छन । रोजगारीको एक मात्र बिकल्प भन्नु नै चिया कमान हो ।

दिउसो अलि दिन उघ्रेको बेला म चिया कमान बीच तिर हराउन कोठा बाहिर निस्किए ।कोदोबारीको खासै चर्चित नबनाएको दुर्बिन डाडा दृश्यावलोकनको लागि निकै उपयुक्त बिन्दु रहेछ ।त्यहाँ देखि लभर पोइन्टको रुपमा खुब चर्चित करसाङ बजारको अर्को सुप्रसिद्द दुर्बिन डाडो पहरोको टोपी झै देखियो । मैदानमा सिलिगुढी र काकाट भित्ता देखिए भने हिजो सिलिगुढीबाट गुडेर आइएको बाटो पनि फनफनी घुमिएको देखियो । गिद्दे भीरलाई चिरेर गुडेका मसिना गाडीहरु पनि निकै पर देखिए । पङ्खाबारी छेउछाउ भिरालोमा चट्टान टेकेर उभिएका घरहरु आँफै भिरालो पाखाबाट रमिता हेरिरहेका झै थिए । आम्मामा ! यस्तो भीरमा पनि घरहरु हेर त! म सङ्गै जानु भएको बिष्णुकला दिदीको आश्चर्य उहाको पहिलो भ्रमणले पनि होला मेरो भन्दा बढी थियो ।त्यताका कुना कन्दराहरुमा गुडिरहेका गाडी र एउटै घर पनि नछोडीकन फैलिएका बिजुलीका तारहरु देखेर भौगोलिक रुपमा त्यो ठाउ भन्दा धेरै सघन तर त्यहाँको जस्तो बिकास सपनामा मात्र देख्ने म नेपाली गाउको ठिटोलाई यस अघि नै डाह लागेको थियो ।

अपरान्ह तिर करसाङको दुर्बिन डाडो टेक्ने र बजारको चक्कर लाउने बिचारले म फेरि जाडोमा उकालो लागे ।चिया कमानमा ड्युटी रहेका हरुको हुलहरु कमान भित्र यत्रतत्र छरिएका देखिन्छन ।हिउदको याम कामदारहरु कलमी गरिएका चियाका ठुटाहरु सफा गर्दैछन । कामदारहरुले काम गर्ने आफ्नै नियम छ ।कसले कहाँ देखि कुन समूहमा बसेर काम गर्ने? सबै तोकिएको हुन्छ ।८ बजे बिहान देखि १२ र दिउसो १ बजे देखि साँढे १ बजे सम्म कामको समय तोकिएको हुन्छ ।उनीहरु काम गर्दा त्यति हतार गर्दैनन -'अन्त हाजिराबसिहाल्छ हो के हतार गर्नु? आफ्नै शैलीमा बोल्ने ती दिदिबहिनीको दैनिक हाजिरा भने ८० देखि १०० सम्म हुने हुने गर्दछ ।समुहको काम गराइ,ख्याल ठट्टा,हासी मजाकमा उनीहरु काम गरेको चालै पाउदैनन तर काम गराइको मूल्याङकन गर्न बरोबर खटिएका सिआईडीहरुको चियाउने आँखाहरु डाडामा पटक -पटक देखिन सक्छन त्यति खेर भने उनीहरु बढी ईमान्दार देखिन्छन । काम गर्दा उनीहरु सङ्ग हातमा छुरी,गोड्दा प्रयोग हुने सानो तिखो कोदाली सिकल आदि हतियार हुन्छन । उनीहरु प्लास्टिकको जुत्ता टेक्छन र अगाडि बाक्लो बख्खु बेर्छन ।पानी पर्दा होस् या अरुबेला ठीक समयमा काममा पुग्नु र समय नभइ नफर्कनु यहाँका मानिसका आशाली बिशेषता हुन ।

चिया कमानका कामदा रहरुको ज्याला रकम भन्दा सुबिधा निक्कै आकर्षक छ ।कामदारको बच्चा स्याहार गर्न छुट्टै नियुक्तीमा कर्माचारीहरु खटिएका हुन्छन । बच्चाको लागि दुध र पौष्टिक को ब्यबस्था हुन्छ । नियमित मट्टीतेल्,बच्चाको लागि दुध्,बार्षिक ८ मन दाउरा, हप्तामा ४ किलो आटा उति नै चिनी लगायतका खुद्रा मसिना सुबिधाहरु लोभ लाग्दा छन ।औषधोपचारको समेत ब्यबस्था छ कामदारको लागि ।६० उमेर पछि पेन्सनको समेत प्राबधान छ । अढाइ दशक कमानमा काम गरेर केश फुलाएका हर्क बहादुर राईका अनुसार पहिले पहिले काम गर्न चाहनेले सजिलै काम पाइन्थ्यो तर अचेल त्यस्तो छैन ।काम गरिरहेका मधे बाट कोही काम गर्न नचाहने, अबकास लिएकाहरु वा कारणबश काम गर्न नसक्नेको ठाउमा लिखत गरी मात्र अर्को कामदार नियुक्त गरिन्छ ।

उक्लिदै गर्दा दाउरा काट्न हिंडेका अर्पणा र सालीना राई सङ्ग एक छिन बात चल्यो ।'अन्त कमानमा काम गर्नै पर्छ,पढ्न कहाँ भ्याइन्छ र?' उनीहरुले नारी बिरह सुसेले-'अन्त भाइहरु भने स्कुल जान्छन्, पढ्न मन कसलाई लाग्दैन र?कल्कलाउदो उमेरमा पढ्न नपाएका ती ठिटीहरु बोल्न पनि ज्यादै लजाए ।निर्दोष ओठको लाली र गाजलको बोलीमा नारी बेदना र बाध्यताका नमिठा रङ्गहरु वारपार भए ।दिउसो हुस्सुमा भूइकुहिरो छाम्दै शाहीद पार्क रहेको दुर्बिन डाडो पुगे । जोडीहरुको सदाबहार हाट लाग्ने त्यहाँ फगत म एक्लै जाडोमा काम्दै पुग्नु हेर्नको लागि म माया लाग्दो थिए शायद ।कुहिरो यति थियो कि आफ्नै अगाडीको शहीद स्तम्भको फोटो खिच्न पनि सम्भब थिएन । करसाङको पिरो मोमोले मात्र आङ ततायो ।अन्त कतै गैएन ।कबी उदधानका आदिकबी त भानुभक्त सङ्ग एकछिन भलाकुसारी गरे र सरासर ओरालो झरे ।

अर्को दिन दार्जिलिङ पुगियो ।त्यसको अर्को दिन दार्जिलिङ नजिक नजिकका ठाउहरु घुमियो ।यस अघि पुगेका पुरानै ठाउहरुमा मात्र पाईलाहरु पुग्न सके ।अरु ठाउ जान समय छोटो थियो ।तर बिष्णु दिदी र भान्जी प्रजुको लागि घुमेका ठाउ नयाँ थिए । त्यस्तो भिरालो पहाडमा अबस्थित सुन्दर दार्जिलिङको रुपको सौन्दर्य अबर्णनीय नै रहन्छ । यस अघि आउँदा देख्न नपाईएका बाघ र भालु भने दिउसो एक छिनको घामको दर्शन गर्न निस्केका बेला तस्बीरमा कैद गर्न भ्याइयो ।बजार भरिका सबै कुना डुले पछि दुई-दुई पेला थुक्पाले गोडामा इन्धन भर्यो ।फेरि दार्जिलिङमै अर्को बिहानीको भाले बास्यो ।मेची पारीको गाउबाट कन्चन्जङ्घासङ्ग एक छिन हेराहेर पछि हामी चढेको मारुतीले पशुपति नगरलाई ताक्यो ।फिक्कल र कन्यामका सुन्दरताहरु छिचोल्दै कहिल्यै नसिद्दिने जीबनका शाश्वत यात्राका बाटो झै लाग्ने कोलेबुङका कुईनेटाहरुमा जिन्दगीमा आइरहने अनेकन यात्राहरुको साक्षात्कार को लागि स्वयम जिन्दगी एक तमासले गुडुल्किरह्यो ।


-भोजपुर
हाल: त्रिभुवन बिश्वबिद्यालय ,किर्तिपुर