Friday, April 10, 2009

कथा

फरक अस्तित्व

-नव सिलवाल
घटना पुरानै हो । एउटा गोरो वर्णको विदेशी टुरिस्ट काँधमा क्यामरा भिरेर हामी भएतर्फ आइरहेको थियो । उसले हाम्रो फोटो खिच्यो ।
के छ बच्चाहरू ? उसले उराठ प्रश्न राख्यो ।
हामी बोलेनौँ ।
लाटोहरू त होइनौ नि तिमीहरू ?
उसले अर्को निराशा फैलायो ।

कोही बोलेन ।
सायद रमेशले उसको प्रश्नमाथि हाँसो उडाएको थियो ।
ऊ फटाफट हामीलाई उछिनेर अगाडि बढ्यो ।
म दौडँदै उसको पछि पुगेँ ।
थाहा छैन मैले किन त्यसो गरेँ ।
तिमी मलाई एक डलरको नोट दिन सक्छौँ ? मेरो प्रश्न सुनेर ऊ हतास उभियो ।
पैसा रे ? उसका आँखामा उब्जिएको प्रश्न त्यस्तो थियो ।
दिन्छु, पख ।
उसले ब्यागबाट एउटा कागज निकालेर केही लेख्न थाल्यो ।
लेखिसकेर कागज पट्याएर मलाई हातमा राख्दै एक डलरको नोट पनि थमाइदियो ।
"अनि धन्यवाद नभन ।"
उसले मलाई रोक्यो ।
म उसलाई धन्यवाद भन्न चाहन्थेँ वा चाहन्नथेँ मलाई याद छैन ।
ऊ सरासर अगाडि बढ्यो ।
उसले पर पुगेर जुम गर्दै क्यामराबाट मेरो फोटो खिच्यो ।
"तिमी हाँसेनौ । तैपनि ठीकै छ ।" ऊ खिस्स हाँस्दै आफ्नो बाटो लाग्यो ।

मैले त्यो हरियो एक डलर नोटलाई ओर्काइफर्काई हेरेँ । कुनै विशेष आकर्षण थिएन । मैले उसले लेखेको चिटलाई खोलेर हेरेँ । चिटमा यस्तो लेखेको रहेछ ।

"ए माग्ने बच्चा, तिम्रा पुर्खाहरू पनि माग्ने नै थिए होलान् । तिमी पनि मागिरहेका छौँ । तिमीहरू अरू गर्न पनि त केही सक्दैनौ सायद । माग्ने काम सजिलो छ । तिम्रा आउँदापुस्ताले पनि मागेरै बिताउलान् भन्ने चिन्ताले मलाई खाइरहेको छ । तिम्रो माग्ने बनिरहने इच्छालाई यो एक डलरले योगदान दिने भयो भनेर मलाई दुःख लागेको छ ।"

फिरङ्गी पराई मान्छे ।

म माग्ने होइन र भोलि हामी माग्ने बन्ने क्रममा पनि छैन भनेर उसको मुखमा ˆयाँक्न चाहन्थेँ म त्यो नोटलाई तर ऊ त्यहाँबाट सायद टाढा पुगिसकेको थियो । मैले उसलाई खोज्ने प्रयत्न पनि गरिनँ । मनमा अव्यक्त ग्लानि भरिएर आयो । उदासी र पश्चातापले सबैतिरबाट मलाई घेरेको अनुभूति बढेर गयो ।

एक डलरको नोटलाई स-साना टुक्राहरूमा च्यापेर मैले हावामा उडाइदिएँ । एक प्रकारको पीडा जोडले दौडियो मभित्र । मेरो स्वाभिमानमा सायद चोट लागेको थियो । सम्बन्धहरू बन्ने र बिगि्रने क्रम निरन्तर रहन्छ । त्यो फिरङ्गी विदेशीसँगको मेरो छोटो सम्बन्ध नमिठो र पीडादायी बनेर टुङ्गनि सकेको भए राम्रो हुन्थ्यो तर उसको एक डलरको नोट र माग्नेको उपाधिले मलाई उसँग अनवरत जोडेर राखेको छ । कति वर्षहरू बितेर गएका छन् । उसको आकृति मबाट टाढिन सकेको छैन । म माग्ने बनिनँ उसले दिएको अपमान पिएर । अरूबाट आशा गर्ने, भरोसा खोज्ने प्रवृत्तिहरूबाट एकदम टाढा बसेको छु म । सायद त्यो एक डलरको नोटको पीडाले मलाई सताइरहेको छ । हाम्रो माग्ने प्रवृत्तिलाई रोक्न र आर्थिक परनिर्भरता कम गर्न मैले कुनै ठोस योगदान दिन सकेको छैन । त्यो फिरङ्गीको एक डलरको नोटको किस्साले मेरो पूरै जीवन पोतिएको छ । मलाई यहाँसम्म पुर्‍याएको छ त्यो विदेशीले होच्याएको घटनाले । आजसम्म पनि मैले मुक्ति पाउन सकेको छैन ।

शिक्षाको जगमा अन्धकार व्याप्त छ । इमानदारी उजाडिएको छ । अधिकांश व्यापारीहरू राज्यका कर छल्न र लुट्नमा अभ्यस्त लाग्दछन् । कर्मचारी र राजनीतिवालाहरू भ्रष्टाचारका पर्याय बनेका छन् । इमानदार मान्छेहरू हेलित, सङ्कोचित र उपेक्षित बनेका छन् । मान्छेहरूमा मुलुक र समाजका प्रति निष्ठा एकरति छैन । बौद्धिक दरिद्रता र खोक्रिएको इमानले सम्पूर्ण समाज आक्रान्त बनेको छ । म ठिङ्ग उभिएर हेर्छु मान्छेहरूलाई । मेरा असहज आँखाहरूमा उत्रिने गर्छन् व्याप्त अनैतिक र अमर्यादित आचरणहरू । व्यवधान र बेचैनीले घेरेको छ । उत्साह छैन । एक्लो र बेमेल अस्तित्व बोकेर म कुन परिवर्तन अजमाउन उभिएको छु । शङ्का लाग्छ आफैँमाथि । उल्टो गतिमा बगेको प्रवाहलाई एक्लै छेक्न सक्छु म भन्ने आत्मबल पनि कमजोर भएजस्तो लाग्दछ ।


हरेक मान्छे, परिस्थिति र वातावरणसमेत एक प्रकारले अन्योलग्रस्त बनेको छ । ती अन्योलहरूको सघन व्याप्ततामा म उभिएको छु एउटा चौबाटोमा । कुनै दिशा छैन । कुनै मुकाम पाउने आधार छैन । कुनै उपलब्धि चुमिने सङ्केत छैन । म एक्लो उभिएको छु भीडहरूमा । बालीमा नडुबेको डुमसरी एउटा फरक प्रतिरोध उभिएको छु म ।

पशुपतिको मन्दिर र स्वयम्भूको चोटीहरूमा पैसा मागेर बस्ने असहाय, अपाङ्ग र कोही ठग सपाङ्गहरूलाई मैले कुनै विकल्प प्रस्तुत गर्न सकेको छैन । गान्धीले भनेजस्तै तिमी आˆनो तर्फबाट राम्रो गर, अरूको जिम्मा नलेउ, चिन्ता नलेउ भनेर सम्झाउन खोज्छ आफैँलाई तर म त गान्धीको अर्ति लिएर पनि चैन पाउन सक्ने अवस्थामा छैन । म हुनु र नहुनु, मैले असल बन्नु र नबन्नु, मैले माग्नु र नमाग्नु, अनि मैले रुनु र सुस्काउनुले यहाँ केही फरक पर्न सक्ने छैन । देश रोइरहेको अवस्थाले पनि यहाँका मान्छेहरूलाई कदाचित कुनै फरक पर्नेवाला छैन । मान्छे निर्जीवझैँ लाग्न थालेका छन् । कुनै व्यक्ति रहनु र नरहनुको बीचमा एउटा सानो समय हुन्छ । आˆनाहरूको लागि थोरै पीडाजन्य । त्यो समय गतिशील छ । समयको गतिशीलतासँगै कसैको नहुनुको पीडा आफन्तको लागि कम बन्दै जान्छ । उसको नरहनु एक प्रकारको अभ्यस्तता बन्न थाल्छ अनि ऊ भुलिछ । जीवनका अवयवहरूलाई ऊर्जाशील बनाउन चाहने मान्छेहरू पनि एक तमासले थाकिरहेका हुन्छन् । आफैँबाट घेरिँदा र आˆनै एकोहोरो रटानबाट सेकिँदा । म त्यस्तै माग्ने नबन्ने रटानबाट थाकेको छु । म आफू माग्ने नबनेर गान्धीले भनेजस्तै अरूहरूलाई निस्पिmक्री माग्ने बन्न दिइरहन पनि सक्दिनँ । उनीहरूलाई माग्ने बन्नबाट रोक्न पनि सक्दिन म । मेरो मनले मसँग विद्रोह गर्ने गर्छ । म हार स्वीकार गर्छु र अन्तरद्वन्द्वलाई किनारा लाउँछु । म कुनै बच्चा छैन । मेरो वयस्कपनले मेरो सकस बढाएको छ । माग्नेविरुद्धको अनास्था फैलाउन पनि सक्दिन म । माग्नेहरूलाई विस्थापित गराउन पनि सक्दिन । माग्नेहरूको माग्नुको विकल्प दिन पनि सक्दिन । म माग्ने होइन र म माग्ने बन्नबाट रोकिएँ भनेर चिच्याउन सक्छु सायद तर मेरो उद्देश्य अलपत्र बनेको छ । एउटा फिरङ्गीले दिएको अपमानको बदला लिन सकिनँ मैले । मेरा थुप्रै मान्छेहरू माग्ने बनेर बरालिएका छन् सडक, सहर र गल्लीहरूमा । म देश बन्न सकेको भएँ, राज्य व्यवस्थामा प्रभावी बन्न सकेको भए सायद रोक्न सक्थेँ होला तिनीहरूलाई माग्ने बन्नबाट । आज हार खाएको छु आˆनो अभियानमा अघि बढ्न नसकेर र अघि बढ्ने कुनै गोरेटो नभेटिएर । भीडको एउटा निरीह मान्छेमा परिणत भएको छु मेरो निराशा बढ्न थालेपछि म । मेरा विद्यार्थीहरूलाई माग्ने नबन तिमीहरू भनेर सिकाउनुबाहेक कुनै ठूलो योगदान रहेन मेरो माग्ने हुनबाट देशलाई रोक्न ।

कीर्तिपुरबाट बस चढेर बल्खु पुग्दा झ्यालमा आइपुग्छ एउटा लिखुरे केटो एक रुपियाँ दिनुहोस् न, खान नपाएको दुई दिन भयो भनेर हात पसार्छ । म आफैँसँग क्रूद्ध बन्छु ।

किन ? थाहा छैन । म एक रुपियाँको नोट दिएर उसलाई माग्नप्रति प्रोत्साहित गर्न कदापि सक्दिनँ । थुप्रै शृङ्खलाको एक टुक्रा थियो त्यो । माग्नेहरूलाई भिक्षा नदिनु भनेको धार्मिक मूल्यविरुद्धको अभियान हो भनेर आमाले सधैँ प्रतिरोध जनाउनु हुन्छ । म घरमा पनि एक्लो परेको छु । डिसेम्बर लाग्न थालेको थियो, मिन पचासको बिदा सुरु भएको दिनको साँझा चिसो बतासको प्रवाहमा कठ्याङ्गि्रएको थियो । म कम्प्युटर अघिल्तिर गएर थचक्क बसेँ । कुनै उत्साह छैन । इमेल बक्समा कसैको मेल आएको छ । खोलेर पढ्छु -

प्रिय जवान मान्छे,
तिमी एउटा असल मान्छे बन्न सकेका छौ भन्ने सुनेर मलाई खुसी लागेको छ । तिम्रा विद्यार्थीहरूले तिमीले सुरु गरेको अभियानलाई अगाडि बढाउने छन् । तिमी स्वाभिमानी मान्छे मात्र हैन स्वावलम्बनका प्रखर अभियन्ता बनेका छौँ । तिम्रा असहजता र थकाइहरूबाट तिम्रो अभियान समुद्रा पारि मेरो देशमा आइपुगेका छन् । तिम्रा विद्यार्थीहरूले खबर ल्याउने गरेका छन् । म त बूढो भएको छु । तिम्रो देशमा आएर तिमीसँग भेट्ने इच्छा छ । मानवताको प्रतिष्ठा अभिवृद्धि गर्न तिमीले अपनाएको स्वाभिमानको आन्दोलनले तिम्रो मुलुक समृद्ध बन्नेछ । तिमीलाई मेरो सलाम । अनि मैले एक डलरको नोट समातेको तिम्रो तस्बिर यहाँ एटाचमेन्टमा पठाएको छु । आफ्नो हेरर विचार गर्नु ।

(साभार : मधुपर्क )

No comments: