-आचार्य प्रभा
♣ सम्पूर्ण साहित्यप्रेमीहरुको बिसाउने चौतारी 'साहित्य-सागर' मा यहाँलाई स्वागत छ ।
-धन्यवाद । मलाई पनि आफ्ना भावनाहरु पोख्ने अवसर दिनु भएकोमा 'साहित्य-सागर' प्रति आभारी छु ।
♣ तपाईंको लेख, रचना पढ्ने पाठकहरुले तपाईंलाई एउटा राम्रो साहित्यकार/ लेखिकाको रूपमा चिन्छन् अवश्य तर तपाईं कहाँ के गर्दै हुनुहुन्छ भन्ने चाहि धेरैलाई थाहा नहुन सक्छ । संक्षेपमा बताई दिनुहोस् यसबारे ।
-म राम्रो साहित्यकार आफूलाई भन्न चाहन्न । अवश्य लेख्न प्रयास गर्ने लेखिका भन्न रुचाउछु । अहिले म अमेरिकामा छु र प्राय: मेरा पाठक र श्रोताहरुलाई जानकारी पनि छ किनकी म धेरै वेबसाईट पत्रपत्रिका मार्फत् मेरा पाठकहरु माझ प्रस्तुत भैइरहेकी छु । बाँच्नको लागि आफ्नै रेस्टुराँमा काम गरिरेह्की छु ।
♣ नेपाली भाषा र साहित्यको सेवामा कसरी आफ्नो सक्रियता जनाउदै हुनुहुन्छ ? अमेरिकाको डायोस्परिक नेपाली साहित्य गतिबिधिहरुको बारेमा भनि दिनुहोस् न ।
-म यस्तो ब्यस्त शहरमा भए पनि भाषा र साहित्य सेवामा समर्पित छु ।अमेरिकाको डायोस्परिक नेपाली साहित्य गतिबिधिको कुरा गर्ने हो भने यहाँ बस्ने साहित्यकार, लेखकहरुले आफूलाई यो क्षेत्रमा ज्यादै समर्पण गरेका छन् ।
♣ शुरुमा यो साहित्य क्षेत्रमा लाग्न कसरी प्रेरणा मिल्यो तपाईलाई ?
-आफूमा प्रतिभा हुनुको साथै घरको माहौल पनि त्यस्तै थियो र मैले पनि यसैमा आफ्नो सम्पूर्ण समय खर्चिएँ। प्रेरणा भन्नु नै आफ्नो लगाव पनि हो र बाँकी प्रयास पनि हो ।
♣ साहित्यिक यात्रामा धेरै पाइला अघि बढाई सक्नु भएको तपाईं आफूलाई कहाँ पुगिसकेको आभाष हुन्छ ?
-मैले यो क्षेत्रमा बिगत २०३४ साल देखि नै यात्रा गरिरहेता पनि म आफूलाई भर्खर यसको छानो मुनिबाट बामे सर्दैछु जस्तो लागेको छ ।
♣ तपाईको कलम गीत र कबिता बाहेक अरु कुन-कुन बिधाहरुमा चलिरहेको छ ?
-मेरो कलम साहित्यको प्राय:सबै बिधामा नै चलिरहेको छ । म बिगत देखि नै नाटक, गीतिकथा, लघु कथा, गजल, भजन, समिक्षा, लेख आदि लेख्ने गर्दथेँ । मेरा सम्पूर्ण रचनाहरु बिभिन्न रेडियो, एफएम, पत्रपत्रिकाहरुमा प्रशारण र प्रकाशित हुने गर्दथ्यो । म नेपाल आर्मीको रडियोमा नियमित नाटक, गीतिकथा र अन्य रचनाहरु लेख्ने गर्दथेँ ।
♣ साहित्यलाई परिभाषित गर्नु पर्दा के भन्नुहुन्छ ?
-साहित्य निश्छल निष्कलंक समुन्द्र हो। जहाँ हामी पौडेर यसको गहिराइ भेट्न नै सक्दैनौ । साहित्य मनको भावना पोख्ने चौतारी हो। जहाँ हामी आफ्ना गुम्सिएका भावनाहरुलाई ब्यथा, कथा, गीत बनाएर पोख्छौ। सबैको भाषामा भन्नु पर्दा साहित्य समाजको दर्पण हो, जस्ले समाज, देशको बिसंगती, बिकृतीलाई ऐना भएर छर्लङ्ग देखाईदिन्छ । साहित्य लुछाचुँडी गर्ने अरु क्षेत्र जस्तो ठाउँ हैन जहाँ जहिल्यै तेरो र मेरोको भावना र बर्ग, भेद, जाति , लिङ्गको लागि लडिन्छ । समग्रमा भन्नु पर्दा साहित्य सुन्दर नगरी हो जहाँ फूलैफूलको बगैचाले ढकमक्क सजिएको आभाष हुन्छ ।
♣ प्राय: जसो तपाईंले आफ्ना लेखनमा घुसाउने बिषयबस्तु कस्ता खालका हुन्छन् ?
-मेरा कुनै पनि लेखनमा म समाज र देशमा भैरहेका बिकृती, बिसंगती र आफूलाई कुनै कुराले चोट पारेको छ भने त्यसैलाई उजागर गर्ने कोशिश गर्छु । यही नै मैले लेख्नु पर्छ भन्ने बिषय छैन अर्थात् जुन लेख भावनाले मात्र ओतप्रोत भएको हैन,त्यो लेख रचनाले सबैलाई नै जागरुक बनाउने, हौसला दिने र केही गर्न प्रेरणा दिने खालका लेख्ने कोशिश गर्छु । मेरो लेख रचनामा जाति , भेद, बर्ग,लिङ्ग यी कुनै पनि कुराको गन्ध हुँदैन । म समान रूपमा सबैलाई पात्र बनाएर लेख्छु ।
♣ नेपाली साहित्य अहिले कतातिर गैरहेको महसुश गरिरहनु भएको छ ?
-नेपाली साहित्य पनि अहिले आफ्नो दौड्मा अरु देशको साहित्य झै रफ्तारमा र स्तरियतामा गैरहेको मलाई आभाष भैरहेको छ । हाम्रा अग्रजहरुले यसको लागि धेरै लडाईं लडिदिनु भएको छ र हामीले पनि यसमा सजिलै पाईला चाल्न सकिरहेका छौं ।
♣ अहिले नेपालमा मोफसल र राजधानीको साहित्यमा कुन बडी तगडा छ तपाईंको बिचारमा ? -म यसको सही जवाफ दिन सक्षम छैन किनकी साहित्य लेखनलाई भूगोल र परिधिले छेक्दैन जस्तो लाग्छ ।सबै साहित्यकार मोफसलबाट नै लेखिरहेका छन् औसतलाई छाडेर जस्तो लाग्छ मलाई ।
♣ नेपाली राजनीतिमा सडक र सदन 'समाबेशी ' को कुरा चर्की रहेको बेला पनि साहित्यमा भने 'समावेशी' को नामोउच्चारण सम्म भएन किन होला ?
-साहित्य चोखो खेलको मैदान हो । यसका पात्रहरु सडक नै चाहन्छन् जहाँ नाङ्गो पाईतला लिएर पनि बिझाएको आभाष नगरी हिड्न चाह्न्छन् ।
♣ स्थापित साहित्य लेखेर पनि नेपाली साहित्यकारहरु जिविकोपार्जनको लागि अन्य रोजगारीमा किन भर पर्नु परेको जस्तो लाग्छ तपाईंलाई ?
-हाम्रो देशको बिडम्बना नै यही छ कि साहित्य अहिले सम्म ब्यवसायिक हुन सकेको छैन र साहित्यलाई हेर्ने आँखाहरु अझै सम्म उघ्रेका छैनन् । त्यसैले पनि नेपाली साहित्यकारहरु अन्य पेशामा नै भर पर्नु परेको छ ।
♣ अहिले सम्म प्रकाशित तपाईंका कृतिहरु कुन-कुन हुन् ?
-धेरै लामो यात्रा पछि मात्र मेरो कबिता सङ्ग्रह भर्खर जन्मेको छ । 'परदेशबाट' २०६४ सालमा म अमेरिकामा भएपनि मैले यो मेरो कृतिलाई आफ्नो देश नेपालबाट नै जन्माउने प्रयास गरें। गीति सङ्ग्रहहरु भने २०५१ सालमा 'तिम्रो पर्खाइमा' र 'ड्रिम्स' एकै साथ रिलिज भयो 'ईश्वर बन्दना' २०५५ सालतिर नेपाल क्यासेट इन्डस्ट्री बिराटनगरले निकाली दियो । अन्य धेरै सङ्ग्रहहरुमा मेरा गीतहरु सङ्ग्रहित छन् ।
♣ तपाईंको मनलाई ओल्टाई पोल्टाई छुन सफल साहित्यकारहरुमा को-को पर्दछन ?
मलाई सबै साहित्यकारहरुको आ-आफ्नै बिशेषता भए जस्तो लाग्दछ । पारीजातको आफ्नै बिशेषता थियो । बिपीको आफ्नै थियो। खगेन्द्र सङ्ग्रौलाको आफ्नै छुट्टै बिशेषता छ । कथाकारहरुमा पुराना कथाकारहरु मध्ये गोबिन्द गोठाले, अषेश मल्ल। त्यसैले मेरो मनलाई छुन सफल सबै साहित्यकारहरु पर्नु हुन्छ ।
♣ साहित्यमा आएका बग्रेल्ती धार र बादहरुको आन्दोलन प्रति तपाईंको धारणा नि ?तपाईको लेखनमा कुन धार बादमा प्रभावित छ ?
-साहित्य आखिर समाजको चेतना हो। यो जुनसुकै धारमा बहे पनि यसको उदेश्य समाजका बिकृतिहरुलाई उजागर गर्नु हो । बाद् र धारमा परिभाषित भएर यसले आफूलाई कमजोर बनाउनु भन्दा साहित्य कंचन नदी हो भनेर परिभाषित गर्नु नै श्रेयस्कर होला जस्तो लाग्छ । मेरा रचनाहरु धार र बाद मा भन्दा सही चेतना दिलाउनमा अभिप्रेरित छन् जस्तो लाग्छ । म धार र बाद सम्म आफूलाई पुगेको जस्तो लाग्दैन। म त बामे सर्दैछु नि त !
♣ कतिपय नेपाली साहित्यकारहरुले नेपाली साहित्य स्तरिय भएन,भएन भनेर बिभिन्न साहित्यिक गोष्ठी, सभा र जमघटमा भन्ने गरेका छन् । के नेपाली साहित्य साच्चै स्तरहिन नै छ र ?
-हेर्नुहोस् मान्छेका हेर्ने आँखाहरु आ- आफ्नै प्रकारका हुन्छन् । तपाईंलाई दुर्गालाल श्रेष्ठको 'फूलको आँखामा फूलै संसार, काढाको आँखामा काढै संसार' भन्ने गीत त याद होला नि । हो यस्तै हो एउटालाई मन परेको अर्कोलाई मन नपर्न सक्छ अनि अर्कोलाई मन परेको अर्कालाई मन नपर्न सक्छ । जुन आँखाले हेरयो त्यही हुन सक्छ । त्यसैले मलाई लाग्छ हेर्ने आँखामा जुनै पनि कुरा भर पर्छ ।कस्को स्तरिय ? कस्को कमसल ? भन्ने छुट्याउने हैसियत अहिले ममा छैन । मलाई नेपाली साहित्य आफ्नो अवस्था र देशको स्थिति अनुसार स्तरिय नै लाग्छ किनकी हाम्रो देशले भोगिरहेको पीडा अनुसार नेपाली साहित्यलाई स्तरहिन भन्न मिल्दैन । जब जन्म दिने धर्ती नै अन्योलमा छिन् भने जन्मेको बच्चाको के हालत हुन्छ ? त्यसैले म यही भन्छु नेपाली साहित्यलाई स्तरहिन भन्नु भन्दा पहिला यसको पृष्ठभूमिलाई हेर्नु पर्दछ ।
♣ प्रबासी नेपालीहरुबाट बिभिन्न साहित्यिक कार्यक्रम, पुस्तक ,पत्रपत्रिका प्रकाशन, साहित्यिक वेबसाइट सन्चालन आदि भएका छन् । यसले सिङ्गो नेपाली साहित्यमा कस्तो प्रभाव पुर्याएको छ ?
-ओहो !यो प्रश्नले मलाई ज्यादै भाबुक बनाउछ किनकी परदेशमा रहेर जिजीबिषाको लडाईं पनि लड्नु पर्ने । केही महत्वकाङ्क्षा पनि पुरा गर्नु पर्ने। सन्तानको सपना पनि साकार पार्नु पर्ने । केही अर्थ पनि आर्जन गरेर समाजलाई देखाउनु पर्ने बाध्यतामा पनि प्रबासी नेपालीहरुले साहित्यलाई यति माया दिएर आफ्ना समय खर्चेका छन् । यसको स्याबासीको कुनै लेखा जोखा छैन । आफ्नो देशमा यदि थियौ भने हामी सारा राजनीतिकै मैदानमा कुस्ती खेल्दा नै ठिक्क हुनेथियौ । तर प्रबासमा रहेर यसरी साहित्यलाई माया र आदर गेरर प्रबासी नेपालीहरुले पुस्तक, पत्रपत्रिका, वेब साइट संचालन गरेका छन्। यिनीहरुले सिङ्गो नेपाली साहित्यमा धेरै योगदान पुर्याएका छन् र हामी जस्ता प्रबासी लेखकहरुको मर्म बुझेर हामीलाई बिसाउने चौतारी बनि दिएको छ । धन्यवाद सबै संचालकहरुमा ।
♣ अलिकति फरक प्रश्न , राष्ट्रको बाङमयको बिकासमा सरकारले के यथेष्ट भूमिका खेलेको छ जस्तो लाग्छ तपाईंलाई ?
खै ! देश, सरकार आफ्नै युद्धको योद्धा बन्दा नै ठिक्क छ। कहाँ फुर्सद र बाङमयको बिकासको लागि सोंच्ने समय ?
♣ अन्त्यमा मैले सोध्न छुट्याएको तर तपाईंलाई भने भनूँ-भनूँ लागेको केही छ भने भनि दिनुहोस् न ।
-निश्छल भाइ, प्रथमत: म भाइको गहक र परिमार्जित प्रश्नहरुकै नै कदर गर्न चाह्न्छु। जसमा मेरा भावनाहरु पोख्ने सारा स्थान प्रयाप्त मात्रमा मैले पाएँ । मैले आफ्ना सारा भावनाहरुलाई छताछुल्ल बनाएर पोखी दिएँ । यसरी बिदेशको पीडालाई पनि आत्मासात गरेर साहित्यलाई माया दिएर हामी जस्ता लेखकहरुको भावनालाई कदर गरिदिनु भएकोमा म हृदयभित्रबाट नै हार्दिकता प्रकट गर्दछु । तपाईको प्रयास र परदेशको यस्तो समर्पण सधै सफल रहोस् ।अस्तु ।