Friday, February 13, 2009

कबिता








भ्यालेन्टाइन डे

-नेपोलियन मरहट्टा
३६४ दिन सम्म
आफ्नो प्रेममा तड्पिएर बसेका
ती ,जोडीहरुले बर्षको एक दिन
१४ फेब्रुअरी धुमधाम सँग मनाउने गर्छन् ।
के, जोडी हुनेहरुको लागि मात्रै हो र यो दिन ?
अँह म मान्दै मान्दिन ।
जोडी नहुनेहरुले पनि
मनाउन पाउनु पर्छ यो दिन ।
के, जोडी नहुनेहरुको लागी
बर्षमा ३६४ दिन मात्रै हुन्छ र ?
तिमी क्यालेन्डर हेर्न सक्छौ ।
जोडी नहुनेहरुको लागी पनि
त्यहाँ ३६५ दिन नै लेखिएको छ ।
म मेरो जिन्दगीले दिएको
एक दिन पनि छोड्ने छैन ।
ए.........
प्रेम गर्ने प्रेमजोडीहरु हो,
तिम्रो जोडी छ, तिमी मनाउ ।
तर,मेरो जोडी नभएपनि
तिमी हेरी राख
म मनाएरै छोड्छु यो बर्षको
भ्यालेन्टाइन डे ।
तिम्रो जस्तो अँगालो हाल्ने,
हात समाउने र चुम्बन गर्ने
मेरो कोही नभए पनि
शहर बजारको भिडहरुमा,
ति,हाट बजारको मेलाहरुमा,
सक्रान्तिको र एकादशीको जात्राहरुमा
सुपरमार्केटको घुँइचोहरुमा
म, धेरै सुन्दरीहरु सँग ठोक्किएको छु ।
हो, तिनीहरूकै यादमा मनाउदैछु
यो १४ फेब्रुअरी ।
चक्रपथमा चल्ने नगर् बसहरुमा
उक्लिदा र ओर्लिदा, धेरै युबतीहरुले
मेरो हात समाते होलान् ।
धेरैले झुक्किएर
मेरो मोबाईलमा मिसकल गरे होलान् ।
हो, तिनीहरुकै यादमा
मनाउदै छु म यो बर्षको
भ्यालेन्टाइन डे ।


-चितवन




गजल












-सुमन कुमार शर्मा
पर्खाइमा युग बित्यो तिमीलाई पाउने आश भयो
पर्तिक्षामा बसिरहे भरोसाको बास भयो

भोक हड्ताल अति गरे तिमीलाई नै पाउ भनी
मनको लड्डु खादाखादै गन्हाउने सास भयो

कपाल फुली सक्दा पनि कुरिबसे तिमीलाई नै
तेसै नै मेरो जीवन मेरो पर्खाइको दास भयो

खेलाडी होउ भने तिमी खेल्नु मायाको खेल
तिम्रो लागी मेरो जीवन जुवाडेको तास भयो

लत्याएर मेरो प्रेम मृत सरि ठान्छेउ भने
तिम्रै आसमा मेरो जीवन गन्हाउने लास भयो


-बाग्लुंग

कबिता














हिजो,आज र म

-अनिता वाग्ले
नदीको किनारहरुमा,बगरका चिस्यानहरुले
छ्यास्छ्यास्ती उम्रिएको "म"
चैत्रको खडेरीहरुमा
ह्वात्तै मौलाएको थिए
अनि बैसाखको बर्षातहरुमा रहरलाग्दो गरी
कल्कलाएको थिए
निर्दयी नदी थोरै बर्षाको उन्मादहरुमा ह्वात्तै बढ्यो
अनि मेरो मनभरि गड्यो
उसको भेलहरु सङ्गै डराएको "म"
किनारामा फैलिएर् कराएको "म"
पूर्बको घामले आखा लाएछ
मेरा बैसभरि हरियाली छाएछ
सुटुक्क म सङ्ग माया साट्यो
सपना झै म सङ्ग सुटुक्क सम्बन्ध राख्यो

जब जबानीले पूर्णता पायो
मलाई रातारात शहर ल्यायो
ऐसेलु र काफलको कथा सुनाउदै
म हुर्केको आगनीबाट टाढा भगायो
शहरका रङ्गिन मान्छेहरु सङ्गै मेरो फरक स्वाद चखायो
अनि नया छदा रमाएरै खायो,अघाएसी छोडेर गयो
आजकाल बन्दी कोठामा अलपत्र भए
न स्वीकार्छ,न छोडपत्र पाए
कति दिन सम्म हुन्छु
रसिलो पाकेको आत लिएर् के हुनु हसिली?
अब त जबानी कुहिन्छ कि!
छाती फुटेरै चुहुन्छ कि!
सक्दिन आफैले आफैलाई थाम्न
न सक्छ फाटेको यो मन टाल्न
प्रचण्ड गर्मीमा त्यो छाती जलाई
शितलता पाउछौ बरु खाऊ मलाई
कुहिन नदेऊ, नपार धुजा
तिम्रै निम्ति जन्मेको
म हु तर्बुजा।


-सिंगापुर

गजल

-गरिमा सुब्बा
बाध्यताले टाढा पार्यो आशु नझार है प्रदिप
दिदी फर्कि आउन्नन् भनि माया नमार है प्रदिप।

श्रवणकुमार बनी तिमीले सेवा गर्नु बाउआमाको
बुढेसकालमा उनी हरुलाई एक्लो नपार है प्रदिप

घर ब्यबहार एक्लै गर्दा दु:ख त हुन्छ तिमीलाई
जिबन नै सङ्घर्ष हो हिम्मत नहार है प्रदिप

हुर्किएकी चेली म त अर्कैकी भैसके
तिमीले पनि बुहारी ल्याऊ अझै नटार है प्रदिप

-यूके
ईमेल: garima_subba17@yahoo.com

गजल










-नेपोलियन मरहट्टा
ईतिहास पढे पो त, अर्थ बुझ्छौ काहानीको,
तिर्खाए पो साहित्यमा प्यास बुझ्छौ पानीको ।

स्थाई छ बाग यहाँ,माली मात्रै आउँछन् जान्छन्,
माली हजार हुन सक्छन् मुहार फेर्न बाग्बानीको ।

पहिला भन्थ्यौ,जुन्सुकै मौसममा'नी फूल फुल्छ,
दोधारे मन भए पछी भर हुन्न जवानीको ।

धैर्य भन्दा अघि पछी जे-जे गर्छौ गर तिमी,
ब्युझिन्छौ खाल्टोभित्र धुलो उडे पछी खरानीको ।

जरा मात्रै फक्रिए त, बिनाशको संकेत हो,
काँढा धेरै फुल्यो भने, बोटै मर्छ राजधानीको ।

-चितवन

Wednesday, February 11, 2009

गजल










-सुमन कुमार शर्मा
धेरै टाढा पुगेकी छैनौ अन्तै बसाइ सरे पनि
तिमीलाई माया गरिरहन्छु मलाई घृणा गरे पनि

प्रार्थना गर्छ्यौ होला अतिनै भगवानलाई
म बाट टाढा हुन्नौ सती बिउ छरे पनि

दिन दिनै फोन गर्छु तिमीले वस्ता नगरे नि
निद्रामा होउली शायद मिस कल गर्छु भरे पनि

दबाब दिन खोजौली मलाई टाढा बनाउन
तिमीबाट टाढा हुन सक्दिन म मरे पनि

अलि-अलि मन्को कुरा मैले पनि बुझेको छु
मेसेज सबै पढिसके इन्बक्स डिलिट गरे पनि



Kellogg Brown &Root (KBR)
F-2 IT-Communication Department
APO AE 09342
Hello:-001-713-970-2508
E-mail:-
suman.sharma@kbr.com
sharmadsp@hotmail.com

गजल












-केदार श्रेष्ठ "गगन"
तिमी पूणिर्माकै जून हौ गगनको
गलामा सुहाउने सुन हौ गगनको ।

तिमी बिना अलिनो लाग्छ यो जीवन
जीवन मीठो पार्ने नुन हौ गगनको ।

संगितको सूर तिमी कोइली झैं बोली
विरहको साथी धून हौ गगनको ।

अरुले जेसुकै भनोस् संसार जले जलोस्
आखिर तिमी मेरो खुन हौ गगनको ।

-भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यूएई.च्याप्टर



कबिता

स्वघोषित लाचार मुर्ति…………युवा

-विद्या सापकोटा 'निर्जला'
कति शुन्य हुदैछ यो भुगोल
रुमल्लिदैछु एकान्तमा
पुरा खाली…खाली छ मन ॥

देख्दैछु अवशेषका रुपमा
केही चुरोटका ठुटाहरु
कंकिटका तिखा टुक्राहरु
भाँचिएका सानाठूला सिन्काहरु
फ्याकिएका कुल्चिएका धुलाका कणहरु
सदियौदेखी घोषित निर्जिव ॥

अँ केही पर अस्तित्वको लडाइमा
संघर्षरत केही जिवांशहरु
घिसारिइरहेको एउटा गड्यौला
एकहुल कमिलाका ताँतिहरु
मस्त निद्रामा अलमस्त
झुसिलकिराका छायाहरु ॥

फेरि
नजिकै नियाले आफैभित्र
बढ्दै गएको चकमन्नता
छोप्दै गइरहेको अँध्यारोपना
रित्तिदै गइरहेका आशाहरु
अनी सल्किदै गएका खिन्न मनहरु ॥

अचम्म !
स्पष्टित हुदैछ एकहुल आकृती
पुर्ण भएर पनि अपुर्ण
शक्ति छ साधन छैन
आशा छ सपना छैन
प्राण छ अस्तित्व छैन
शब्दहरु छन् सम्मान छैन
मजबुत काँध छन् आधार छैन
आशाविहिन एक जमात ॥

कमिलाको एकता
झुसिल्कराको पुतली रुपान्तरण
आशाका धुमिल बिम्बहरु
तर कहाँ छ हामीमा त्यतीपनी

कती निरिह बन्दैछौ/ बनाइदैछौ हामी युवा
भविष्य निर्माणका महान शिल्पकार
पालिरहेका छौ शक्तिसम्पन्न कायरता
सधै सघर्षरत छौ निश्वास कै लागि
खै त अरु आशा सपना र उदेश्य
मैलै एकान्तमै भोगे अघोषित पराजयता
हामी सवका सब अघोषित निर्जिव तनहरु
ति कंकिट, सिन्का र धुलोभन्दा फरक
स्वघोषित लाचार मुर्तिहरु ॥

-कल्याणपुर ७ नुवाकोट
हालः शंकरदेव कलेज, काठमाडौं ।

गजल

-कृष्ण दर्शन
भएको कुरा,काहानी हुदैन
साहित्यमा भाव बग्छ, पानी हुदैन

फुल टिप्न माला उन्न बाग हुनु पर्छ
जो पनि माली भए, वाग्वनी हुदैन

बेला भए पछि मात्र फूल फुल्छ जता पनि
मन लागेर आउने, जवानी हुदैन

धैर्य भन्दा अघि पनि धेरै कुरा हुन्छ
जीवन अमर भए, खरानी हुदैन

जरा जरा फक्रेका छन अरु भन्दा अग्लिएर
कांडा पनि नफुली, राजधानी हुदैन ।

-काठमान्डौ

Tuesday, February 10, 2009

कबिता













एउटा रात सकिएर

-निराजन बतास
एउटा रात सकिएर
अर्को रात उदाएको बेला
अँध्यारोलाई छाम्दै छाम्दै
बस्न सक्दैनन् पयरहरु
र फट्कारिन थाल्छन
ढुंगा चोके सिस्नो र
सर्पको आकाश भएर
किनिकि यी भूईहरुसँग अपरिचित होइनन्
पाइतालाहरु'
र रातले बिर्सेको नहुनुपर्ने हो
आफ्नो अवसान अघि कतिपटक तिघ्राहरु
उचालिए भन्ने कुरो ।
कुरो उज्यालोको होइन
कुरा अँध्यारोको पनि होइन
जो यससँग रमाउछन
तिनीहरुको हो
रात जागेको बेला
दिन मूर्दा बन्न विवश छ
किनकि मूर्दा बनाइएको छ
मूर्दाको मासु खाएर रात मोटाएको छ
जिउँदो मूर्दालाई चल्नैसम्म नदिएर
एकैचोटि उप्रुने पारेको छ रातले
मान्छेजस्तो बन्न नदिएर
बुख्याँचा बन्न सघाएको छ
करङ्ग सोझिऊन्जेल कुज्याएर
तर्साउने बन्न सिकाएको छ
र रातले आफैं तर्सिने मोड समातेपछि
भाग्ने बाटो अठ्याइरहेछ यतिबेला
एउटा दिन सकिएर
अर्को रात अस्ताएको बेला ।

-त्रिभुवन बिश्वबिद्यालय (कीर्तिपुर )

Sunday, February 8, 2009

गजल











-नेपोलियन मरहट्टा
स्वस्थानीकै भए पनि काहानी त हो नि आखिर,
जिबन बग्छ साहित्यमा,त्यै पानी त हो नि आखिर ।

यादराख,बेमौसमी फूलको माला लाउँदिन म,
माली जस्तो भए पनि,बाग्बानी त हो नि आखिर ।

हाम्रो तिर फूल फुल्न एकदिन ढिलो होला,
भोलि आए पनि उही जवानी त हो नि आखिर ।

शास्त्र-अस्त्र सबै आउँछन्,केबल धैर्य गर तिमी,
हतारिन्छौ किन ? पाउने खरानी त हो नि आखिर ।

खाल्टो भित्र बसी तिम्ले, जति डाली फुलाए'नि,
फूल चुँडी काँढा रोप्ने, राजधानी त हो नि आखिर ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

गजल













-अनिता वाग्ले
खुल्ला किताब भए पनि लिपि बुझ्न गाह्रो तिमीलाई
हेर्दा हेर्दै वाल्ल पर्यौ मेरै रुपले मार्यो तिमीलाई

गास्ने मेलो थाहा थिएन निभाउने त परै जाओस्
एक तर्फी माया गर्यौ बुझ्नै पनि सारो तिमीलाई

बैश पनि थाहा भएछ तिमीलाई आज भोलि
कहाबाट चढ्न थाल्यो मदहोसीको पारो तिमीलाई

साहासले मात्र साथी चढिदैन सगरमाथा
ताप्लेजुङका पाखाबाट अन्नपुर्ण टारो तिमीलाई

किन होला अहिले सम्म कोही केटीले नटेरेका
कि ! सगरमाथा चढ्न जादा बेसी तिर झार्यो तिमीलाई

-सिंगापुर

कबिता












मेरो मुटु

-केदार श्रेष्ठ "गगन"
फूल उनी,
जून उनी,
खुन मेरो उनी
देखिन आज मैले
भेट्न किन आइनन् ?
किन मेरो आँखाबाट ओझेल परिन् ?
प्रिय
कुनै परिबन्धमा त परेनौं ?
कतै समय पापीले त बाधेन ?
कति आतुर थिए मेरा ओठ
तिम्रो नाममा लेखेको मनको वह,
तिम्रै यादमा कल्पेका कल्पनाहरु
तिमीलाई सुनाउन
तर
अहिले ब्याकुल भा’को छु म
तिमीलाई नदेख्दा ,
तिमीलाई नाभेत्दा ,
रोइरहेछन् आँखा,
विरह र वेदनाको आँधी चलिरहेछ मनमा ।

ज्वारभाटाहरु उर्लिरहैछ,
सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा
कतै हिजो भेटेको क्षण नै
अन्तिम त होइन ?
हिजो बोलेको आइ.लभ.यू.
र त्रि्रो त्यो कोमल हातले मुसारेर
गालामा च्वाप्प खाएको म्वाई
अन्तिम हुने त होइन ?
कतै दैबले अन्तर्घात गर्ने हौइन ?
त्यसैले म भगवानसँग विन्ति गर्छु

हे ! भगवान
कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गर्राई देऊ न
फूलपाती चढाउँला
त्यतिले नपुगे
के माग्छौ घुस भन
म दिन तयार छु
रागो, बोका, कुखुरा,परेवा……..जे माग्छौ,
म चाहान्छु-
उसको मायामा
मेरो यो शरीर समाधिस्थ गराउन,
उसको मायाको रापमा
यो ज्यान खाग बनाउन ।

उनी टाढा छिन्
मेरो कुपोषणयुक्त
इच्छा,आकांक्षा र सपनाहरु
मनसँगै बतासिएर
कहिले बतासमा,
कहिले बर्षातमा ,
समाहित हुँदै उसको प्यारमा
उसको माया
आँखाको डिलबाट
बग्न थाल्छ अवीरल,
म सम्झिन्छु उसले भनेको कुरा
तपाईले भनेको हैन ?
तिमी मेरो मुटु हौ भनेर
हो म तपाईँकौ मुटु भए
तपाईँ मेरो शरीर
शरीर र मुटु कहिले अलग हुन सक्छ ?
त्यसैले अब हामी एउटै भएनौ त !


-भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू ए ई

Saturday, February 7, 2009

गजल










-नेपोलियन मरहट्टा
हराएको मेरो मान्छे देख्नु भयो भने कतै,
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।

खोज्नु होला शहरको भिडहरु छिचोलेर,
नेपालबन्द गरी बाटो छेक्नु भयो भने कतै ।

साहित्यको अनुरागी, शायद उनी आउन सक्छिन,
सारँगीको तारहरु रेट्नु भयो भने कतै ।

जसरी'नि उन्को घरमा यो खबर दिनुहोला,
काठमाडौं भन्ने ठाउँमा पाइला टेक्नु भयो भने कतै ।

शहरिया स्वाभावकी, 'घमन्डी' हो भन्नु होला,
रेडियोमा बिज्ञापन लेख्नु भयो भने कतै ।

मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
हराएको मेरो मान्छे देख्नु भयो भने कतै ।


-चितवन

लघुकथा












नारी आकर्षण
-कुसुम ज्ञवाली
"होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्" होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए "छ कक्षा पास भाछैन के सारो बैश आको हँ यो टिपुरे केटालाइ" ।
आइन्दा "यस्तो हरकत" कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।

दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको "निकै मनोरञ्जक समाचार" बन्यो, बजारको यस समाचारलाइ "शालीन (?)" गृहिणीहरूले टिप्पणी गरे "अचेलका बच्चा उम्रिदै तिनपात !"। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ "अस्लील चलचित्रले बिगारेको" निस्कर्षमा पुगे । "केटी भने पछि केटाहरूको जातै यस्तो" क्याम्पस पढ्ने युवतिहरूले आफ्नो थेसीस अगाडी सारे । "पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको" ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने "क्रान्तिकारी" नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि "शिशिरकी दिबङ्गत आमाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको" निस्कर्ष निकाल्यो ।


-काठमान्डौ





गजल










-नेपोलियन मरहट्टा
परमात्माले बोकी हिंड्ने झोला भित्र जिन्दगी छ,
त्यसैले त मनुस्यको चोला भित्र जिन्दगी छ ।

एकदिन प्रभुले नै माछा देखाइ भन्नु भयो,
ए मनुस्य यहाँ हेर खोला भित्र जिन्दगी छ ।

नेपाल भन्ने देश देखाइ उहाँ अझै सोध्नु हुन्थ्यो,
मैले भने बारुद र गोला भित्र जिन्दगी छ ।

महँगी छ देश भरी हावाको'नी पैसा लाग्छ,
मैले भने प्रभु यहाँ, तोला भित्र जिन्दगी छ ।

अमृतको घडा देखाइ पिए हुन्छ भन्नु भयो,
मैले भने व्हिस्की,रम,कोकाकोला भित्र जिन्दगी


-चितवन

लघुकथा

प्रक्रिया

-धर्मेन्द्र भट्टराई
हैन, तपाईले मेरो मुखमा के हेरिरहनु भएको, जानुस् प्रक्रिया मिलाएर ल्याउनुहोस् अनि मात्र मैले तपाईंको काम गर्नेछु, प्रक्रिया नमिली म तपाईँको काम गर्दैगर्दिन ।" फाँटवालाले गाउँबाट आएको बूढो रामप्रसादलाई आदेश दिँदै भन्यो ।
बूढो त्यहाँबाट अर्को फाँटमा गयो र भन्नथाल्यो, "हजुर मेरो काम...। त्यहाँ बसेको फाँटवाला कर्मचारीले झर्किंदै -"यहाँ होइन, ऊ त्यहाँ जानोस्" भनेर पहिलेकै फाँटमा देखायो ।
रामप्रसाद कार्यालयमा धाउन थालेको पाँच दिन भइसकेको थियो । ऊभन्दा पछि आएकाहरू काम सकेर गइसकेका थिए । सबै कागतपत्र मिलाएर ल्याउँदा पनि उसको काम किन भएन भनेर उसले बुझ्न सकेन । जहिले पनि प्रक्रिया मिलेन भन्छन् ।
ऊ त्यहाँबाट निस्केर चौरमा गयो । उसले परबाट आइरहेको कार्यालयको पियनलाई रोक्दै भन्यो, "हैन ए भाइ यो प्रक्रिया मिलाउने भनेको के रहेछ - मेरो त प्रक्रिया नमिलेर काम रोकिएको भन्छन्, आफू त गाउँले मान्छे, केही बुझ्न सकिन ।"

"ओहो बाजे त्यति पनि कुरा नबुझेको, फाँटवालाको हातमा दक्षिणा भेटी नचढाउञ्जेल प्रक्रिया मिल्दैन भन्ने तपाईँलाई थाहा रहेनछ । प्रक्रिया मिलेपछि तपाईँको काम एक छिन पनि रोकिन्न ।" त्यसपछि बूढो रामप्रसाद प्रक्रिया मिलाउन पिउनको पछि लाग्यो ।

गजल










-नेपोलियन मरहट्टा
घर् लाई खण्डहर भनी फेरि गल्ती नगर है
मशानघाटलाई शहर भनी फेरि गल्ती नगर है

आफ्ना सबै प्यासहरु सधैं लुकाएर राख,
मायालाई रहर भनी फेरि गल्ती नगर है

हाम्रो लागी जिन्दगीको पल पल महँगो छ,
पुरै रातलाई प्रहर भनी फेरि गल्ती नगर है

अर्थहिन बोल्नु भन्दा, बरु लाटो हुनु बेश,
बोकालाई बहर भनी फेरि गल्ती नगर है

गिलासको पानीलाई आफ्नै हातले हल्लाएर,
समुन्द्रको लहर भनी फेरि गल्ती नगर है


-चितवन

गजल

-कृष्ण दर्शन
एकादेशमा होईन गजल, काहानी बन्नलाई
नरम छैन साहित्य, पानी बन्नलाई

जुनसुकै मौसममा फुल्न सक्छ फूल
सक्षम हुनुपर्छ माली, वागवानी बन्नलाई

हिजैदेखि हिड्यो यहाँ त्यतातिर भोलि?
आजै रोपौं विजहरु, जवानी बन्नलाई

सकिन्छ भने शस्त्र हानौ आगैआगो फाल्नेगरी
कमजोर छैन कलम, खरानी बन्नलाई

खेती होईन काठ्माडौंमा डाली डाली फुलेकोछ
कांडाहरु फक्रेका छन्, राजधानी बन्नलाई

-काठमान्डौ

गीत












आखाँ भरि पानी ...

-केदार श्रेष्ठ "गगन"
तिमी रुदा ब्यथा मलाई आखा भरि पानी
रूप सुन्दर मिठो बोली बानी झनै ज्ञानी

तिमी हासी कुरा गर्दा सारा संसार खुशी देख्छु
रुदा तिमी संसार यो पुरै अध्यारो देख्छु
भन मात्र तिम्रो लागि यो ज्यान पनि दिन सक्छु
तिम्रै लागि दु:ख कष्ट सबै खप्न सक्छु

हासी खुशी तिमी रहे मन खुशी हुन्छ
तिमी रोए मन मेरो कल्पिएर रुन्छ
हासी देउ न तिमी सधैं मलाई हेरी-हेरी
जीबनभरि राख्छु तिमीलाई अङ्गालोमा बेरी-बेरी

तिमी रुदा ब्यथा मलाई आखा भरि पानी
रूप सुन्दर मिठो बोली बानी झनै ज्ञानी

-भीमस्थान-५, सिन्धुली
हाल: अनेसास यूएई


कबिता










हे! नेताहरु हो


-डोलेन्द्र पौडेल
हे ! नेताहरु हो
तिमीहरुको खोक्रो आडम्बर
कहिले सम्म भुक्छौ हे,
नयाँ नेपाल बनाउछु भन्दै
नयाँ सम्बिधान लेख्छौ भन्दै ?
हाती आयो हाती आयो
फुस्स भने जस्तै
जनताको आखामा छारो हाल्यौ
तिमीहरु कुर्सी को खेलमानै
ब्यस्त भयौ
जनतालाई शान्ति दिलाउने नाउमा
सत्तामा जान सफल भए पनि
सानै देखि लागेको बानी
तिमीहरुका भरौटे कार्यकर्ता
धम्की दिन छाडेका छैनन्
चोरी गर्न छाडेका छैनन् ...
तिमीहरुलाई बिदेश भ्रमण
बाहेक अरु सोच्ने
फुर्सद नै छैन
अब आफै भन,
कहाँ भयो शान्ति ?
कहाँ भयो नयाँ नेपाल ??
के यही हो तिमीहरुको नयाँ नेपाल ???
त्यो टुहुरो बालक,
ती सिन्दुर पुछिएका नारीहरु,
अनि......
अनि ती छोराछोरी गुमाएका
बाबु आमाहरुलाई
कहिले भयो त शान्ति?
नेता हो याद गर
अब,
फेरि जनहरु
सडकमा उत्रिनु नपरोस्
ढुङ्गा मुढा गर्नु नपरोस्
बेलैमा बिचार गर
हे ! नेताहरु हो ।

-बाग्लुंग

Thursday, February 5, 2009

गजल










-गणेश खड्का " प्रतिक्षा "
जहिले पनि झुक्नु पर्ने नेपालीको शिर'ता होइन
उर्वर भूमि मेची-काली बन्कर खेल्ने भिर'ता होइन

खेल चलाउँछौ मर्ने-मार्ने आफु चाहीं लुकी-लुकी
तिमी आफैं मरे पनि अब कुनै पिर'ता होइन

अधिकार हो शान्तिपूर्वक बाँच्न पाउने सबै जनको
लड्यौं,लियौं,राख्छौं आफैं अब फेरी फिर्ता होइन

नेपाल आमा, आफ्नी आमा,दुबै आमा बराबरी
यी आमाको इज्जत कुनै द्रौपदीको चिर'ता होइन

रणभूमि किन पार्छौ शान्तिभूमि नेपाललाई
देश हामी सबैको हो तिम्रा बाउको बिर्ता होइन ।

- तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

गजल










-नेपोलियन मरहट्टा
ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म ।

जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने,
मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।

भोलि देखि शहर-बजार मान्छे भई हिड्छ गजल,
प्राण भरी त्यसमा अझै जवानी बनाइदिन्छु म ।

मोफसल मै बसी बसी तीर् हान्छु उपत्यका,
गजलबाटै युद्ध छेडी खरानी बनाइदिन्छु म ।

कस्ले भन्छ काठमाडौंमा, मात्रै गजल खेती हुन्छ ?
चितवनलाई त गजलकै राजधानी बनाइदिन्छु म ।

-चितवन

कबिता

कवि र जिम्मेवारी

-कृसू क्षेत्री
कवि
जङ्गलमा
कविता लेख्न एक्लै टोलाइरहेको छ
कविकै छेउमा
उफ्रँदै खेलिरहेको छ
भर्खरै जन्मेको मृगको बच्चा ... ।
जङ्गलमा
सिंह छ
बाघ छ
चितुवा छ
ब्वाँसो छ
भालु छ
सबै भोकाएका छन्
यस्तोबेला
आमाको दूध खाँदै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ... ।
छेउको समुद्रमा
गोही छ
र्सार्क छ
हृवेल छ
अक्टोपस छ
हिपोपोटामस छ
यस्तोबेला
तिर्खाएर पानी खान
किनारमा उभिएको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ... ।
घाँसे मैदानमा
अजिंगार छ
किङकोब्रा छ
गोमन छ
करेत छ
एनाकोण्डा छ
यस्तो बेला
घाँस चर्दै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ।
नीलो आकाशमा
बाज छ
चिल छ
गिद्द छ
काग छ
चमेरो छ
यस्तोबेला
घाम तापेर निदाइराखेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ।
छेउको सहरमा
भगवान छ
राजा छ
नेता छ
सेना छ
व्रि्रोही छ
र, सबैको नङ्ग्रा पलाएको छ
दाह्रा उम्रिएको छ
बन्दुक बोकेर
शिकार खेल्न
जङ्गलतर्फदौडदै गरेको दृश्य छ
यस्तोबेला
खेल्दै उफ्रँदै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ।
चारैतिर
असुरक्षाको घेरामा
मृत्युको मुखमा परेको
त्यो मृगको बच्चाको
सुरक्षित भविष्य सोचेर
अहँ ! कविले लेख्न सकेन
कुनै नयाँ कविता ।

Wednesday, February 4, 2009

गीत












माया भनिदेऊ

-केदार श्रेष्ठ "गगन"
प्यार गर्दै नजिक आउछु माया भनिदेऊ
आकाश भै फैलिदिन्छु तारा बनी आऊ

छाती भित्रै पसू लाग्यो अलि वर सर
फूल झै फुलिदिन्छु शीत बनी झर
माया गर्छु अजम्बरी निष्ठुरी भै नजाऊ
आकाश भै फैलिदिन्छु तारा बनी आऊ

हिउभन्दा चोखो माया लाइदेऊ भन मनमा जे छ
बस्ती बसाऔ मायाको मरी लानु के छ
छ /छैन माया मेरो अलीकती भनिदेऊ
आकाश भै फैलिदिन्छु तारा बनी आऊ

-भीमस्थान -५, सिन्धुली
हाल: अनेसास यु ए ई

गजल








-नेपोलियन मरहट्टा
तिमी रिसाउनुको कारण सोच्दै बित्यो रात पनि,
फूलले पनि बताएन, मौन भयो पात पनि ।

सारा संसार भरी खोजे, क्षितिज पारी पनि पुगे,
तर जवाफ भेटिएन, रित्तै फर्किए हात पनि ।

कतै यौबन भित्र छ कि ? तिम्रा रीसहरू भनी,
पल्टाइ हेरेँ दुनियाँको यौबनको खात पनि ।

अस्ती-अस्ती रिसाइनौ, हिजै किन रिसायौ त ?
पोख्न पनि नपाउने ? भावनाको मात पनि ।

ईश्वर तेरो रचनामा पनि शँका गर्छु मैले,
बुझ्नै गार्हो हुँदो रैछ, स्त्री भन्ने जात पनि ।

-चितवन

कथा

गौरी

-शिब प्रकाश
प्रगाढ मित्रताको आयतनमा फैलँदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरू यदाकदा छछल्किन खोज्थे । सागर आफैँ तिर्खाएजस्तो तिर्खाएका उनीहरूमा एकअर्काभित्र डुबुल्की मार्ने चाहना उर्ले पनि सीमित थिए एक आपसमा र सीमित रहे वर्षौँसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो ।

आशुतोष एकाएक विदेशिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो । तर कुनै साथीबाट गौरीलाई थाहा भयो आशुतोष भोलि नै उड्दै छ भनेर !

भोलिको उडान आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो। फोनको घण्टी बज्यो । आशुतोषले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु" गौरीको आवाज सुनेर आश्चर्य र मौनता दुबै छायो आशुतोषमा । "तर… तर ...तर… गौरी अहिले त धेरै अबेला भइसक्यो ।"

"भयो होला तिम्रा लागि तर मेरालागि भएको छैन" प्रतिउत्तरमा गौरीले भनी ।

गौरीको अस्वाभाविक र अप्रत्याशित चाहना ! ऊ नचाहेर पनि गौरीबाट टाढिनु त छँदै छ त्यसमाथि हृदयको खोपीमा बसेकी गौरीबाट बिछोडिने घाउ ऊभित्रभित्रै पिलिइरहेको थियो । त्यो पीडा उसले गौरीसामु व्यक्त गर्न सकेको थिएन ।
तर...गौरी किन यति अबेला, आखिर त्यस्तो के ? आशुतोष बोलिनसक्दै गौरीले भनी - "त्यो पनि मैले
भन्नु पर्छ तिमी पुरुष ……।"

रात निक्कै छिप्पिसकेको हुनाले उसले भोलि भेट्ने बाचा गर्दै गौरीलाई मनाउने प्रयत्न गर्‍यो । गौरीले आशुतोषप्रति आवेश पोख्दै भनी - "तिमी पुरुषहरू मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।" पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरू पनि त यसरी बेला न कुबेला ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरूको अत्तो थाप्छौ र दोष चाहिँ पुरुषहरूलाई दिन्छौ ।"

"ल, उसोभए बिहान आठबजे होटल ग्रीनल्यान्डको ११ नम्बर कोठामा भेट ।" गौरीले फोन बिसाई ।

"म पुरुषको भोको होइन । कर्णध्वजबाहेक लाखौँ पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामु…? म मात्र प्रेमको भोको हुँ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याय पनि आशु नै हो, अरू कोही हुन सक्दैन । मभित्र एउटा साम्राज्य बनाएको छ उसले । त्यो साम्राज्यमा आफैँभित्र अधिनस्त शासित छु म । बचाऊँ भने कसरी बचाऊँ अनि भत्काऊँ भने कसरी भत्काऊँ त्यो साम्राज्य…!" यस्तै तर्क र तिर्सनाहरू तेर्स्याउँदै गौरीले त्यस रातसँग रातभरी बहसगरेर रात बिताई ।

आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोषसामु आफूलाई रित्याउन चाहन्छे ।
आशुतोष होटलको कोठामा छिर्नेबित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोष किंकर्तव्यविमूढ हेरिरहन्छ एकहोरो गौरीलाई । निःशब्द उभिएको छ एउटा सग्लो पुरुष ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको छ मानौँ कुनै मूर्तिजस्तो !

आशुतोष निमग्न छ गौरी निःशब्द छे । हेरिरहेछन् एक अर्कालाई । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी !

एकाएक सम्पूर्ण सीमा र बन्धनहरूलाई नाघ्दै गौरी आशुतोषमाथि यसरी विसर्जित हुन्छे मानौँ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ ।

स्तब्धता छाउँछ कोठामा । जिउँदा मान्छेहरूको समाधीस्थल जस्तो बन्छ कोठा केहीबेर …… ! केही क्षणको निःशब्दता र उकुसमुकुसपछि "गौरी मलाई ढिलो भयो म॥ म जान्छु।"

गौरी चुपचाप स्वीकृतिको शिर हल्लाउँदै आशुतोषलाई आफूबाट मुक्त गर्छे र हेरिमात्र रहन्छे । निःशब्द गौरी झ्यालका पर्दा उघार्दै आशुतोषलाई हेरिरहन्छे… हेरिरहन्छे । आशुतोष पछाडि नफर्की एकहोरो अगाडि बढिरहन्छ … बढिरहन्छ…… बढिरहन्छ । लामो समयपछि बिदेशबाट फर्किएको आशुतोषले आउनेबित्तिकै गौरीलाई फोन गर्‍यो जसरी गौरीले जानेबेलामा उसलाई गरेकी थिई । र जानेबेलामा आफू गौरीबाट जुन ठाउँमा छुट्टिएको त्यही ठाउँमा गौरीसँग पहिलो भेट गर्न चाहना राख्दै भन्यो "गौरी सक्छ्यौ र याद छ भने उही ग्रीनल्यान्ड होटलको ११ नं कोठामा आऊ, आज बेलुका आठ बजे । म त्यहीँ हुन्छु ।"

यो बीचमा खोलामा धेरै पानी बगिसकेको छ। समयले धेरै बसन्तहरू गुजारिसकेको छ अनि जीवनले धेरै आरोहअवरोह ब्यतित गरिसेकेको भएता पनि आशुतोषसँग भेट्ने असीमित लालसाहरू जीवितै थिए गौरीमा पनि । तर पनि आशुतोषप्रति आश्वस्त हुन नसकेर गौरीले होटलमा हैन अन्तै जाने मुड बनाएर भनी "आशु, आज कुनै रेस्टुरेन्टमा भेटौँ, बसौँ, केही खाऔँ र गफ गरौँ ।" लामो समयपछिको भेटमा आफ्ना निस्पृह चाहनाहरूलाई एकाएक उजागर गर्नु भन्दा तिनीहरूलाई स्वतन्त्र ओइलाउन दिनु नै बेस हुनेछ भन्ने लाग्यो गौरीलाई ।

धेरै समयपछिको भेट ! रेस्टुरेन्टमा केहीबेर दुबै चुपचाप एकअर्कालाई हेरिमात्र रहे । गौरी आफैँभित्र छछल्किएका भावनामा बगिरहेकी थिई । आशुतोष एकोहोरो गौरीलाई हेरिरहेको थियो । ऊभित्रकी गौरी अहिले ऊभित्र छ कि छैन ऊ आफैँभित्र खोजिरहेको थियो, आफैंभित्र छामिरहेको थियो ।

मौनतालाई च्यात्दै "आशुतोष, याद छ, तिमीले त्यो दिन त्यो कोठामा के गर्‍यौ ? त्यसैले तिमीप्रति विश्वस्त हुन नसकेर आज मैले त्यो होटलमा नभएर यहाँ भेटेकी हुँ।" गौरी भन्दै थिई ।

"गौरी, सबै याद छ । दिनभरी हरियो धाँसमा चरेर अघाएको पशु साँझमा उग्राउँदै निदाएजस्तो मैले पनि तिमीसँगका मधुर स्मरणहरू उग्राउँदै यतिका वर्ष बिताएँ । न मैले तिमीलाई बिर्सेको छु न तिमीसँगका खुशीका क्षणहरू नै बिर्सेको छु । अनि गौरी, मैले गर्नु पर्ने जे थियो सायद त्यही गरेँ हुँला, अन्यथा माफ पाऊँ ।" अस्वाभाविकतामाथि स्वाभाविकताको लेपन लाउँदै सरल र सहज जवाफ दियो आशुतोषले ।

आफूभित्र अझै कताकता बलिरहेको भुङ्ग्राको रापजस्तो आवेग ओकल्दै "तिमी त्यसलाई पनि रमाइलो क्षण मान्छौ आशु, त्यो त…! मैले... मैले.... ! त्यो क्षण दुखद नभएता पनि सुखद अनुभव गरिनँ मैले ! गौरी अलि अस्वाभाविक प्रस्तुत भई । केहीबेर दुवै चुपचाप रहे पनि आँखा-आँखा बोलिरहेका थिए ।

"गौरी, तिमी अझै केही भन्न खोजिरहिछौ भन ।"

हो, आशुतोष ! म त्यतिबेला मनमनै भनिरहेकी थिएँ "आशु, आज मेरा चाहनाहरू तिम्रा इच्छाहरूसँग युद्ध गर्न पङ्‌तिबद्ध मोर्चा कसेर बसेका छन् मभित्र । आऊ एउटा युद्ध लड ! जुन युद्धमा म हारेर तिमीलाई जिताउन चाहन्छु । प्रणययुद्ध ! आशुतोष, प्रणययुद्धमा पुरुषको कर्तब्य आक्रमण हो भने नारीको दायित्व समर्पण हो । तर आजसम्म न तिमीले मेरा चाहनामाथि आक्रमण गरेर ममाथि अन्तिम विजय प्राप्त गर्ने साहस नै गर्‍यौ अनि नारीसुलभ स्वभावभित्र पराधीन मेरा चाहनाहरूले मेरो उत्कण्ठ उदाङ्गो रुप तिम्रासामु उभ्याउन नै सके । आशु, कताकता एउटा अप्रत्यक्ष्य चाहनाभित्र बनेको अपेक्षाको चौतारीमा प्रतीक्षारत छु म ! मभित्र कोपिलाझैं पत्रैपत्र गाँजिएका मेरा चाहनाहरू तिम्रासामु आज सबै फक्रिएका छन् । चुँडाल तिनलाई, निमोठ तिनलाई र वासनाको बरसातमा भिजाऊ मलाई । निथ्रुक्क बनाऊ। म भिज्न चाहन्छु मलाई ओत चाहिएको छैन । सामाजिक परिवेशको चुहिएको छानोमुनि आफूलाई ओभानो देखाउनु छैन । आशुतोष, म निथ्रुक्क भिज्न चाहन्छु । म डुब्न चाहन्छु । डुबुल्की मार्न चाहन्छु । दिशाविहीन नौकाजस्तो बहन चाहन्छु । म हराउन चाहन्छु, केही क्षणका लागि भए पनि म आफूलाई विर्सन चाहन्छु । आशुतोष तिमीले कहिल्यै ममाथि धावा बोलेनौ । एउटा प्रेमपूर्ण प्रणययुद्धका लागि ललकार‌‌‌‌‌... !
तर आज म तिमीमाथि आक्रमण गरिरहेछु। तिमी मलाई समर्पण गर र केही क्षणका लागि भए पनि पूर्णरुपमा॥ गर । तर पनि म तिमीसँग हार्न चाहन्छु तिमी मलाई जित ।"

"हो आशुतोष तिमीले त्यो दिन मेरा इच्छाहरूको अनादर गर्‍यौ र मप्रति अन्याय गर्‍यौ ।"

गौरीका गोरा कोमल र सलक्क परेका लोभलाग्दा हात सुम्सुम्याउँदै आशुतोषले भन्यो "गौरी अनादर भयो होला तिम्रा ती भ्रूण इच्छाहरूको जसलाई मैले उन्नत बनाउन सकिनँ र अन्याय भयो होला गौरी तिमीप्रति पनि ! तर तिमीमाथिको कसैको एकाधिकारको मैले आदर र सम्मान गरेजस्तो लाग्छ । तिमीप्रति अन्याय गरेपनि एउटा लोग्ने मान्छेप्रति न्याय गरे जस्तो लाग्छ ।"

प्रलयपछिको शान्त सागरजस्तै गौरी निःशब्द सुनिरहेकी छे र मनमनै भनिरहेकी छे "आशु, म अब तिम्रो शरीर हैन हृदयसँग प्रेम गर्छु । मेरो शरीरको हाडमासुलाई तिम्रो शरीरको हाडमासुको भोकको साथी हैन तिम्रो हृदयको भावनाको साथी बनाउँछु । मैले जे सोचेँ जे गर्न खोजेँ मलाई माफ गर" मनमनै बोलिरहेकी गौरीले एकाएक मुख खोली "आशुतोष म अरु कसैको जीवन साथी भए पनि अब म तिम्रो जीवनभरको साथी हुनेछु ।"

आशुतोषले प्रेमपूर्ण सुम्सुम्याइरहेका हातहरू बिस्तारै तान्दै विनय र स्नेहले भरिएको मलीन स्वरमा "ल त आशु आज म जान्छु।" गौरीले भनिनसक्दै पछाडिबाट कसैले भन्यो " गौरी जाने बेला भएको हो !"

कर्णध्वजको आवाज सुनेर गौरी छाँगाबाट खसेजस्ती भई । गौरीको अनुहारमा एकाएक ग्लानि र हतासा दुबै छायो । हुरीबतासको भुमरीभित्र हराएकी विचलित चरीजस्तै गौरीतिर हेर्दे "संसारमा सबै मान्छेले जानेर गल्ती गर्दैनन्, गौरी । कोही नजानेर गल्ती गर्छन् , गर्न खोज्छन् कोही जानेर गल्ती गर्न चाँहदैनन् । धन्यवाद आशुतोष !" कर्णध्वजले भन्यो ।

ऊ अहिलेसम्म गौरीको श्रीमान् कर्णध्वजसँग अपरिचित थियो । गौरी र कर्णध्वज आफ्नो बाटो लाग्छन् । सहरको बत्तीको मधुरो उज्यालोमा गौरीको आकृति देखुन्जेल आशुतोष हेरिरहन्छ ।



नियात्रा

पेरिसकी पोक्ची

-ताना शर्मा
पेरिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै ललामा यन्त्रचालित नाउहरु ममुनिबाट ओहोर-दोहोर गरिरहेका थिए। अल्छी पाराले म असंख्य मोटरहरु दगुरेको कुरालाई ध्यानै नदिएर पेटीपेटी उत्तर फर्किंदै गएँ। अकस्मात् मेरो देब्रेपट्टिका घरको कुनामा 'के दु लुभ्र' (Quai du Louver) लेखेको हेर्न मेरा आँकाहरु पुगेछन्। 'लुभ्र' भन्ने शब्द कता कता परिचित-परिचित जस्तो, प्रख्यात-प्रख्यात जस्तो, चिनेको-चिनेको जस्तो लाग्यो। मेरा खुट्टाहरु त्यतै बाङ्गिए।

म हिंड्दै गएँ, पेटीपेटी हिंड्दै गएँ। मोटरहरु मुटु थर्काउँदै दुगुरिरहे, दुगुरिरहे। निकै हिंडेपछि मेरो दाहिने हाततिर एमानको पुरानो घर देखा पर्यो जसका भित्तामा रिङगै तेर्सा र ठाडा फलामका घोचाहरु मरम्मत गर्ने मचानको रुपमा (Scaffolding) बाँधिएका थिए। पेटी ठाउँ-ठाउँमा भत्केको थियो र एक्कासि दुइटी अमेरिकाली केटीहरु उभिएर मच्ची-मच्ची बात मारिरहेका भेटिए।
अग्ली चाहिंले भनि, 'लुभ्र दरबार यही त हो नि!'
अर्कीले थपी, 'यतैबाट भित्र पसे पनि हुन्छ।'
सस्यानो फाटकबाट अनि म त्यस विशाल पाले दु लुभ्र (Palais du Louver) भित्र पसें।
भित्र विस्तृत चोक रहेछ र घुइँचो घुइँचो मान्छेहरु सलबलाइरहेका रहेछन्। एक फ्र्याङ्क तिरेर भित्र पसें। निर्देशनपत्र किन्ने सुद्दी नै रहेन। धेरै वर्ष फ्रान्स बस्ने हाम्रा प्रसिद्ध चित्रकार-साहित्यकार लैनसिंह बांगदेलको एउटा लेखको सम्झना गर्दै बौलाहा जस्तो खुड्किलाहरु चढ्दै जाँदा लुभ्रको एउटो कारिन्दो उभिइरहेको भेटें र हातले सोधें, 'मोनालिजा?'
फ्रान्सेलीमा कुन्नि के जवाफ दिंदै उसले माथिल्लो तलातिर देखाएकाले त्यतै लागें।
भित्ताभरिभरिका फ्रेम लागेका रंगीन चित्रहरु अहिले नै बोलिहाल्लान् कि जस्तो लागेर मलाई हेरिरहेका थिए। नाङ्गा आइमाईहरु मन लोभ्याइरहेका थिए र भर्खरका फ्रान्सेली, स्पेनियाँ र अमेरिकाली ठिटीहरु सगरमाथा र मकालु तेर्स्याएर मलाई सशरीर ठेल्दै आफूतिर तानिरहेका थिए। तिनीहरुको न्यानो घोचाइमा चेप्टिए पनि धेरै धेरै बेरसम्म मेरा आँखा ती रनेसँस् कालका फोटो जस्तै चित्रहरुमा टाँसिइ नै रहे। तर कसो कसो म चेप्टिंदै गएछु र थाहै नपाई कोठाहरु छिचोलिंदै गएछन्।

हठात् मेरो अगाडि कोठाको सामुन्ने भित्ताको बीचमा हरियो अगाडि बढेको भित्तो खडा गरेर अति नै महत्व दिइएको एउटा सस्यानो पोक्ची आइमाईको चित्र केन्द्रभागमा मलाई नै पर्खेर बसिरहेकी आइपर्यो। त्यसका ओरिपरि मान्छेहरुको थुप्रो थुप्रो घुइँचो थियो।
एउटा पहेंलो सारी लाउने पच्चीस वर्षे तरुनी कम्मर नांगै पारेर कामुक कामुक बीच बेन्चमा बसेर त्यस पोक्चीतिर टोह्लाइरहेकी थिई। छातीमा सुन्तला लुकाएका फुचीहरु नांगै तिघ्रा पारेर त्यस पोक्चीको फोटो खिचिरहेका थिए।

एउटी पातली आइपुगी मलाई भुतुक्कै पार्दै। दूबो रङ्को खाँडीको कुर्ता र पातलो खयर रङको सुर्वाल र पछ्यौरा लगाएकी, कालो केश कैलिन लागेकोलाई पछाडि चपक्क छोडेर सिल्पटमा खुट्टा र आधा पाखुराहरुमा सेतसेतो मलाई मन पर्ने रङ देकाउँदै आँखाले भनी, 'म पनि तिमीलाई मन पराउँछु।" तैंले मलाई अगुल्टे नै ठानिस् र मन पराइस् तर आज मलाई के भयो कुन्नि म तँलाई अगुल्टेनी जान्दा जान्दै पनि मन पराइरहेछु। ऊ एक्लै भएकी भए सके म बोल्थें हुँला तर ऊ एउटी अक्कासे कुर्ता र सेतो सुर्वाल लगाउने गरुडको जस्तो नाक र ज्यादै लामो मुखको दुलो भएकी केटी र एउटा केटासित थिई। उनीहरु पश्चिमे हिन्दीमा कुरा गरिरहेका थिए तर मेरी केटी भने मलाई मात्रै घरी घरी पुलुक पुलुक हेरिरहन्थी र कुरा कम बोल्थी।

गरुड भन्दै गई 'दश लाख फ्र्याङ्कमा बिमा गरेको थियो यसलाई अम्रिका पठाउँदा!'
मेरी केटी मैतिर हेर्दै थिई। म मुस्काएँ। ऊ लाजले भुतुक्क भइ र पछ्यौरी छेउ टोक्न थाली।
पोक्ची रिसले चूर भई, काली न काली भई। त्यसपछाडिको खोलो धमिंलिंदै गयो, दुईतिरका जङ्गलका थुप्राहरु कालाम्मे भए।

केटीको जिउँदो मासु-रङ, आइमाई गह्नाउने पसीनाले पूर्ण काखी, लचक्क मर्किने बारुले कम्मर, दारिम दाँत र पानी-आँखा मलाई बित्याँस पारिरहेका थिए अनि पोक्चीको कालो पछ्यौरा र पोटिला एक-अर्कामाथि राखिएका हातहरु त्यसै त्यसै विवश विवश भएझैं प्रतीत भए। पहेंलो सारीले खुट्टा चलमलाई। पोक्ची केही मुस्काउन लागेको हो कि जस्तो कोमल र उदास आँखा लिएर देखा परी। उसका पोक्चे गालाहरु कुन्नि केले गर्दा हो रातिंदै आएको मैले अनुभव गरें।

यत्तिकैमा फ्रान्सेली फुचीहरुले मलाई सुन्तलै सुन्तलाले चेप्ट्याए। 'कस्तो लाजसरम पचेका यी कुइरिनीहरु!' ईर्ष्याको पल्लो टुंगोमा पुगेर युवकको हात किच्न पुगी गरुडनीले अनि घाँसरङे कुर्ता चाहिं हाँस जस्तै नितम्ब नचाएर मेरो आँखालाई घरी घरी आह्वानको काणले हिर्काउँदै आप्नो त्रिदलीय संस्थासितै नचाहँदा नचाहँदै पनि मबाट चोइटिएर गई।

बल्ल पोक्चीका आँखा प्रेमले रसाएर आए। जति हेर्दै गएँ उति नै धमिलो र घुर्मैलो रङ्की पोक्ची उघ्रिंदै र उज्यालिंदै आई। बीच-टाउकामा सिउँदो काढेकी, देब्रे पाटोतिर केही ढल्केकी, दाहिने हात देब्रे हातमाथि राखेकी पोक्ची सबै सन्तुलन ठ्याक्क मिलेकी घाँसरङ्गे कुर्ता जस्ती कृत्रिम तरुनी होइन। ऊ ता प्राकृतिक पो रहिछे, कुनै पनि आइमाई, साधारण आइमाई त्यस पोक्ची झैं हुन सक्छे। तर त्यो उदास उदास, मुस्काउन आँटे आँटेझैं, प्रेम देखाउन खोजे-खोजेझैं, केही हराएको-हराएको वा पाएको-पाएको झैं भावनाहरु मिश्रित पोक्ची झैं कुनै पनि आइमाईलाई सधैं नै पाउनु असम्भव कुरो हो। तर पोक्ची भने सधैं त्यस्तै छे छे। एउटो कुरो मलाई लाग्यो। सो के भने हरेक लोग्नेमान्छेले त्यस पोक्चीको भावप्रकाशनमा आफ्नै प्रेमिकाको चित्र देख्छ, सधैं उत्सुक-उत्सुक, खिन्न-खिन्न, असहाय-असहाय, अगाध-अगाध, मायाँलु-मायाँलु, ईर्ष्यालु-ईर्ष्यालु, खिसीपूर्ण-खिसीपूर्ण, रिसालु-रिसालु, दयालु-दयालु!

पोक्चीको जन्म सोह्रौं शताब्दीमा भएको थियो। उसका पिता लोओनार्दो दा भिन्ची इटालीका थिए तर फ्रान्समा उनको मृत्यु भएको थियो। उनको मृत्यु वास्तवमा पोक्चीले हुनै दिएकी छैन र हुन दिन्न पनि।

पोक्चीभन्दा धेरै नै झिलिमिली लुगा र गहना लाउने अनि सेतो छाला भएका चम्किला तरुनीहरु भित्ताभरि र भुइँभरि छरिइरहेका थिए। पहेंला सारी पनि अझैं टोह्लाइ नै रहेकी थिई तर म भने हजारौं माइल तय गर्न हिंडेको यात्री थिएँ र त्यसैले हृदयमा भक्कानु सह्मालेर प्यारी पोक्चीसित बिदा माग्दै थिएँ।
'तिम्रो फोटो त हेर्न पाइहाल्छु नि जाँ गए पनि।' नेपाली शब्दहरु मेरा कामिरहेका ओठबाट फ्यास्स फुस्किए।
आश्चर्यको कुरो के थियो भने मेरो वाक्य भुइँमा खसि नसक्तै ऊ एक्कासि कालाम्मिंदै आई, धुम्मिंदै आई। मेरी पोक्ची रोई। मनै भरंग भएर आयो।
म कला जान्दिनँ, चिन्दिनँ। चित्रकलाबारे मरी जाउँ केही थाहा छैन तर यो मोना लिजा जो उति राम्री आइमाई हुँदै होइन किन मन परी मलाई।
जबर्जस्ती पोक्चीको दृष्यबाट आफूलाई च्यातें र फटाफट बाहिरतिर हिंडे- पहेंलो सारीले मैलाई पो हेरिरहेकी रहिछे। अरु वेला भए त्यससित म चिनाजानी गर्ने थिएँ, तर अहिले त पोक्ची देवीबाट छुट्टिंदै थिएँ, छाती चसचस बिझिरहेको थियो।

पोक्ची देवी! सारा शरीर काम्यो। फर्केर हेरें - ऊ मैतिर टाढा हेरिरहेकी रहिछे। ऊ मतिर त्यति सारो एकोहोरिरहेकी थिई तर कोठाभरिका मान्छेहरु भने उसैतिर हेररहेका थिए। पोक्चीले पक्षपात गरेको पनि उनीहरु सहिरहेका थिए।

अरु कोठाहरुमा इजिप्ट जम्मै रित्त्याएर भेला पारेका चित्र र मूर्तिहरु, चिहानका ढुङ्गाहरु, मरेका ममी राख्ने मनुष्याकार काठ र ढुङ्गाहरु, भाँडाबर्तन, गरगहना हेर्दै जाँदा वाक्क भएँ। एक ठाउँ मणिरत्नजडित तर्वार र दामी गहना ऐनाभित्र राखेको थिएँ। त्यहीं लुई पन्ध्रौंको र अर्को राजाका रत्नहरु-जडित श्रीपेचहरु र टुप्पोमा चौकाठ (cross) भएको नेपोलिअनले लगाएको मामूली श्रीपेच रहेछन्। नेपोलिअनका हरियो रत्न भएको र अरु औंठीहरु हेरें र थाकेर हैरान भए पछि फर्कने सुरले हिंडें।

एक ठाउँमा दुई बन्दूकहरु रहेछन्। त्यहाँ साँच्चै नै ती बन्दूक राखेझैं लाग्यो र छेउमा गएर छुन खोज्या त तस्बीर पो रहेछ, चित्रकला पो रहेछ।
अनि हिंडें, हिंड्दै गएँ। कुनामा काफे रहेछ। एक पेप्सीकोला किनेर कुर्सीमा बसें। बसिमात्र सकेको थिएँ घाँस-रङ् दुईलाई तान्दै लजाएर आइपुगी। पछ्याउँदै रहिछे मलाई। मेरै छेउमा बसी ऊ। उनीहरुले कफी खाए क्यारे। ऊ थाकेजस्तो भई, बोल्दै बोलिन् गरुडनाके चाहिं अक्कास-पत्ताल जोडिरहेकी थिई। उनीहरुले अंग्रेजी बोलेर मागेको र कर्मचारीले फ्रान्सेली बोलेर जवाफ दिएको अति रमाइलो लाग्यो।

छेउमा ऊ पसीनै पसीना भई। केश फुकाली र चिम्टीले सँगाल्ने उपक्रममा छड्के हेर्न पाएर मतिर काण हिर्काउन थाली।
पोक्चीलाई बिहे गर्नु असम्भव र अक्कासे भएझैं यस नाउँ नभएकी सुन्दरीलाई पाउनू पनि उत्तिकै असम्भव लागेर आयो। हात हेरें मोरीका कलकलाउँदा थिएँ। खुट्टा हेरें, लाम्चा थिए। गाला रातिंदै थिए, आँखा पानी थिए काला धूपीका रूखहरुद्वारा घेरिएर। कम्मर कसिंदो मर्किंदो थियो, बटारिंदो थियो। यस्ती आइमाई पाए म जीवन धन्या मान्ने थिएँ। तर झल्याँस्स सम्झें - मेरा मुलुकमा पनि त युवतीहरु यसभन्दा कम छैनन्। आ मर् है तारा, जाँसुकै मर्।

जुरुक्क उठें र सरासर पोक्चीतिर गएँ। पहेंलो सारी अझै थिई र मतिर उत्सुक उत्सुक हेर्दै मुस्काई। म त्यसलाई हेर्न आएको थिइनँ।
एउटी आइमाई फ्रान्सेली उच्चारणको अंग्रेजीमा पोक्चीलाई धुरीमा उचाल्दै थिई। थुप्रो थुप्रो उसको दलका मान्छेहरु ध्यानमग्न भएर सुनिरहेका थिए। बयान सुनिसकेपछि मैले पोक्चीलाई निकै बेर हेरें लाटाले पापा हेरेझैं। हाँसिरही। जान्छु भनें, मुस्काइरही, ट्वाल्ट्वालती हेरिरही। बोलिन।
ऊ मैतिर नै हेरिरहेकी थिई। ती मायाँलु आँखालाई कसरी बिर्सनु मैले? ती उदास आँखालाई कसरी मनबाट हटाउनु मैले? ती रुन्चे मुस्कानले टुलटुल हेरिरहने बल्ययाङ्ग्रे आँखालाई हृदयबाट कसरी हुत्त्याउनु मैले?

म गएपछि पनि मैतिर हेरिरहली ऊ, बाटो मेरै हेरिरहली ऊ। म मरें भने पनि उसले मेरो बाटो हेर्न छोड्नेछैन। कस्ती विश्वासपात्र? कति उत्सुक? कति मायाँलु? के कुनी युवती यस्ती विश्वासपात्र, उत्सुक र मायाँलु हुन सक्ली? आफ्नै हिजो सम्झें। छाती चिरिएर आयो।

हतार हतार हिजोलाई बलैले विस्मृतिको हाब्रोलाई निलिदिएँ अनि आँखाभरि-भरि हेरिरहें प्यारी पोक्चीलाई। सुन्तलेहरुले ठेलेर पोक्चीको बित्तो बारेको डोरी छोए। रक्षकहरुले फ्रान्सेलीमा केके भन्दै तिनलाई पछि हटाए। त्यस्तो ध्यान भङ्ग पार्दा पनि पोक्चीले डोरीतिर हेरिन, पटक्कै हेरिन, मैतिर एकोहोरो हेरिरही, हेरिरही।

प्रेम यस्तै अटल हुनुपर्छ, मायाँ यस्तै एकोहोरे र अमर हुनुपर्छ।
आँखा हामी दुवैका रसाएर आए! जेसुकै जोसुकैले भनोस्। मलाई कसले चिन्छ र याँ? रोएँ, तरर्र आँसु चुहियो।

अनि धमिला आँखाले मायाँलु पोक्चीलाई नमस्कार गरें र हुँडलिएको ह्याकुलोभित्र उखर्माउलोसित उफ्रिरहेको मुटुलाई मिच्तै अन्धाधुन्ध सेनतर्फ लागें।

('बेलाइततिर बरालिंदा'बाट साभार )

गजल

-कृष्ण दर्शन
तिमी आफ्नै घरलाई किन खण्डहर भनिराछ्यौ
आफ्नै गांउ आफ्नै बस्ती मसानको सहर भनिराछ्यौ

प्यास किन्ने होईन तिम्रो मेट्न माया पिलाउथें
जानी -जानी पियौ माया तर रहर भनिराछ्यौ

जवानीको प्यासी सफर पार नगर्दै साथ छाड्यौ
एकै रातलाई युग भन्थ्यौ तर प्रहर भनिराछ्यौ

बेला जस्तै ढल्की -ढल्की , ढल्किदै गयौ पर तिमी
आफनै मनको गाईलाई किन बहर भनिराछ्यौ

किन साट्ने कति साट्ने रातहरु रातै संग
अन्धकारको भुमरीलाई किन लहर भनिराछ्यौ

-काठमान्डौ

Tuesday, February 3, 2009

गीत












अघाउदिन खै !

-केदार श्रेष्ठ "गगन"
अघाउदिन खै किन उसलाई जति हेरे पनि
नसकिने रै'छ माया जसलाई जति गरे पनि ।

यौबनमा फुल्दो रै'छ बैश फूल फुले जस्तै गरी
बसे पछि माया आउदो रै'छ झ-झल्कोमा घरी-घरी
समुन्द्रको पानी माया न सकिने जती गाग्री भरे पनि
नसकिने रै'छ माया जसलाई जति गरे पनि ।

टाढा हुन मन छैन लाग्छ सधैं मन नजिक हुन
जाउ झै लाग्छ सङ्ग सङ्गै आकाशको जुन छुन
अब हामी सङ्गै बाच्छौ-मरछौ संसार सारा जले पनि
नसकिने रै'छ माया जसलाई जति गरे पनि ।

भीमस्थान-५, सिन्धुली
हाल: अनेसास (यूएई च्याप्टर्)


गजल

-नेपोलियन मरहट्टा
पिरतीको चिहानमा एउटा फूल सार्छु मैले,
यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले ।

कहिल्यै धोका दिने छैन यदि विश्वाश गर्छौ भने,
आफु बगी गए पनि तिमीलाई खोला तार्छु मैले ।

जुवा रैछ जिन्दगी यो मात्र मलाई एक चोटि,
तिम्ले मौका दिन्छौ भने सधैं चौका पार्छु मैले ।

हिजो सम्म जितेकै हो जिन्दगीको खेलहरु,
आज घात् गर्यौ भने एउटा बाजी हार्छु मैले ।

तर आज छोड्यौ भने यती कठोर् बन्छु कि म,
न त रुन्छु कराउछु न त आसुँ झार्छु मैले ।

-चितवन
ईमेल: surya_marahatta@yahoo.com

Monday, February 2, 2009

गजल








-राज रोबर्ट अजनबी सुब्बा
खुल्ला किताब थियौ तिमी पढ्नलाई थिएन गाह्रो
पढे पछि सम्बन्ध त्यो बढ्नलाई थिएन गाह्रो

सम्बन्ध जो बढे पछि निभाउनै पर्ने रिति
तिम्रो माया मेरो मनमा गढ्नलाइ थिएन गाह्रो

बैशको त्यो मदहोसीमा हामी दुई मै ताप थियो
त्यही तापमा हाम्रो यौबन डढ्नलाई थिएन गाह्रो

सगरमाथा चढ्ने साहास बोकेको यो 'अजनबी' लाई
तिमी थियौ अन्नपुर्ण चढ्नलाई थिएन गाह्रो।

-मामाखे, ताप्लेजुंग