Wednesday, February 11, 2009

कबिता

स्वघोषित लाचार मुर्ति…………युवा

-विद्या सापकोटा 'निर्जला'
कति शुन्य हुदैछ यो भुगोल
रुमल्लिदैछु एकान्तमा
पुरा खाली…खाली छ मन ॥

देख्दैछु अवशेषका रुपमा
केही चुरोटका ठुटाहरु
कंकिटका तिखा टुक्राहरु
भाँचिएका सानाठूला सिन्काहरु
फ्याकिएका कुल्चिएका धुलाका कणहरु
सदियौदेखी घोषित निर्जिव ॥

अँ केही पर अस्तित्वको लडाइमा
संघर्षरत केही जिवांशहरु
घिसारिइरहेको एउटा गड्यौला
एकहुल कमिलाका ताँतिहरु
मस्त निद्रामा अलमस्त
झुसिलकिराका छायाहरु ॥

फेरि
नजिकै नियाले आफैभित्र
बढ्दै गएको चकमन्नता
छोप्दै गइरहेको अँध्यारोपना
रित्तिदै गइरहेका आशाहरु
अनी सल्किदै गएका खिन्न मनहरु ॥

अचम्म !
स्पष्टित हुदैछ एकहुल आकृती
पुर्ण भएर पनि अपुर्ण
शक्ति छ साधन छैन
आशा छ सपना छैन
प्राण छ अस्तित्व छैन
शब्दहरु छन् सम्मान छैन
मजबुत काँध छन् आधार छैन
आशाविहिन एक जमात ॥

कमिलाको एकता
झुसिल्कराको पुतली रुपान्तरण
आशाका धुमिल बिम्बहरु
तर कहाँ छ हामीमा त्यतीपनी

कती निरिह बन्दैछौ/ बनाइदैछौ हामी युवा
भविष्य निर्माणका महान शिल्पकार
पालिरहेका छौ शक्तिसम्पन्न कायरता
सधै सघर्षरत छौ निश्वास कै लागि
खै त अरु आशा सपना र उदेश्य
मैलै एकान्तमै भोगे अघोषित पराजयता
हामी सवका सब अघोषित निर्जिव तनहरु
ति कंकिट, सिन्का र धुलोभन्दा फरक
स्वघोषित लाचार मुर्तिहरु ॥

-कल्याणपुर ७ नुवाकोट
हालः शंकरदेव कलेज, काठमाडौं ।

No comments: