Saturday, January 24, 2009

गजल

-मनु ब्राजाकी
आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ ।

आफूलाई बेच्न खोज्यौ भने बुझिराख
किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

मनमा पर्दा लगाएर बसेका छौं किन ?
नाङ्गोले त खोल्छ-खोल्छ पर्दाले झन् खोल्छ ।

रङ्गीन यो दुनियाँमा आँसुसित रगत
घोल्नेले त घोल्छ-घोल्छ भिज्नेले झन् घोल्छ ।

दुख्ख आए पनि दुख्ख, गए पनि दुख्ख
पीर बसे पनि पिर्छ गए झन् पिरोल्छ ।

एकान्त मन पराउने 'मनु’ घुइँचोमा,
एक्लो हुँदा आफूलाई आफैंले छिचोल्छ ।


-औरही-२, महोत्तरी

साभार: मधुपर्क

No comments: