Wednesday, January 21, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -जनवरी २००९

साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।
-युबा साहित्यकार देबेन्द्र सुर्केली खापुङ





♣ तपाईलाई चिन्न बाँकी रहेकाहरुमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?
सर्बप्रथम त मलाई चिन्न सक्ने कुनै पहिचान नै बनाएको छैन मैले । कुनैबेला राजनीति गरेँ त्योबेलाका साथीहरुले मलाई त्यही रुपमा चिन्छन् । पत्रकारिता पनि गरेँ र साहित्य पनि कोरेँ । अहिले मलेसियामा रहेर पनि विभिन्न संघसंस्थामा आवद्ध छु । मलेसियामा पत्रकारिताको साथ बढि चाही ग्राफिक डिजाइनर पेशा अपनाएको छु । अनि यसै वर्षदेखि मलेसियाको एक निजी कम्पनी डिजी मोवाइलमा नेपाली समाचार सम्पादन तथा वाचनसमेत गरिरहेको छु । जुन मोवाइल लाइन १ लाख भन्दा बढि नेपालीहरुले प्रयोग गर्छन् । मलेसियाबाट अपडेट हुने www.malayanepal.com मा दैनिक समाचार अपडेट गर्ने गर्छु । तसर्थ मेरो कुनै स्पष्ट चिनाउने खालको पहिचान छैन ।

♣ तपाईको सिर्जनात्मक हिडाई कतातिर जाँदैछ यतिबेला ?
मेरो सिर्जनात्मक हिडाइ पनि पहिचानजस्तै अस्पष्ट नै छ । साच्ची मलेसिया भित्रिएपछि सिर्जनातर्फ धेरै कम हिडाई भएको छ मेरो ।

♣ मिलन देवान स्मृति अनेसाम पुरस्कार तपाईको कृतिले पाएको कि तपाईको सिर्जनात्मक खुबीले ?
मिलन देवान स्मृति अनेसाम पुरस्कार मैले कृति खुबी भन्दा पनि सक्रियाताले पाएको हो कि जस्तो मलाई लागेको छ । किनभने कृतिको हिसाबमा मेरा भन्दा राम्रा राम्रा कृतिकार दामली साथीहरु छन् । सिर्जनात्मक खुबी त मलेसियामा रहेका अन्य सर्जकहरुलाई मैले सम्मान गर्नुपर्ने हुन्छ । तर मलेसियामा रहेका सर्जकहरुको सिर्जनालाई प्रचारप्रसारमा मैले दिलोज्यान दिएको छु । सर्जकहरु कहिल्यै नमरुन् भनेर सर्जकको अभिव्यक्तिलाई प्रकाशनमा ल्याउने काम गरेको छु ।

♣ साहित्य के हो ?
साहित्यको माध्यमबाट मनको गुम्फन बाहिर ल्याउने विचार दिने उपयुक्त बाटोको रुपमा लिएको छु ।

♣ तपाई के का लागि साहित्य सिर्जना गर्नुहुन्छ ?
माथि नै भने नि मैले -मुखले अभिव्यक्त गर्न नसकेको कुरा साहित्यको माध्यमले सरल र सहज उत्तर दिनसक्छु । देश काल परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण पेश गर्न सक्छु । यतिको लागि मात्रै ।

♣ मलेसियामा डायस्पापोरिक नेपाली साहित्यको अवस्था कस्तो छ र यो आन्दोलनमा तपाई भूमिका कस्तो रहँदैछ ?
ओह ! मलेसियामा डायस्पोरिक नेपाली साहित्य त यति अगाडि बढिरहेको छ कि प्रत्येक महिनामा दुई जति कृति प्रकाशित भइरहेको छन् । प्रत्येक स्टेटमा नेपाली सर्जकहरुद्धारा साहित्यिक संस्था स्थापना गरेका छन् । कम्पनीभित्र बन्दि अवस्थामा काम गर्नुपर्ने भएपनि कुनै एक ठाउँलाई केन्द्र बनाएर पुस्ताकलायको निर्माण गरेका छन् । मलेसियाबाट प्रकाशित हुने ५ वटा भन्दा पत्रपत्रिकामा सिर्जना नै बढि प्रकाशित हुने गर्छ । मैले यस आन्दोलनमा एक यात्रीको भूमिका गरेर हिडिरहेको छु । अनेसास मलेसियाको पुस्तकालयलाई संरक्षण गरिदिदै आएको छु र सर्जकहरुको कृतिहरुलाई प्रकाशनको निमित्त सम्पूर्ण गृहकार्य र प्रचार प्रसारको भूमिका निर्वाह गरिरहेको छु ।

♣ अहिले नेपाली साहित्यमा विभिन्न धार र वादका कुरा चर्किरहेका छन् यो अवस्थामा तपाईले समातेको धार कुन हो ?
खासमा साहित्यमा एउटै मात्र धार हुन्छ -त्यो हो साहित्यको विकास । साहित्यको विकास गर्ने क्रममा विभिन्न उपधार र वादहरु जन्मिछन् । त्यो चर्काचर्की होइन त्यसले साहित्यलाई पूर्ण रुप दिन्छ । मैले जहिले पनि साहित्यको विकास होस् भन्ने ठानेको छु ।

♣ साहित्यको कुन विधामा आफूलाई अब्बल ठान्नुहुन्छ तपाई ?
मैले कुनै पनि विधामा आफूलाई अब्बल ठानेको छैन । सिक्दैमात्र छु ।

♣ तपाइको ठम्याइमा जीवन र साहित्यबीचको सम्बन्ध के हो ?
साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।

♣ मलेसियामा बसेर नेपाली साहित्य साधना गर्दै हुनुहुन्छ मुलधारबाट अलग रहेजस्तो लाग्दैन आफैलाई ?
पटक्कै लागेको छैन । सबैभन्दा ठूलो सक्रियता हो । म कुनैबेला काठमाडौमा ४ वर्ष रहँदा पनि मोफसलमा रहेजस्तै थिएँ । तर राजधानीमा रहने साहित्यकारले मोफसलमा रहनेलाई मान्यतामा तलमाथि गर्न भने हुँदैन ।

♣ साहित्य र राजीनितिबिचको छनौटमा तपाई कुन रोज्नुहुन्छ ?
दुवै एकअर्कामा परिपुरक हुन् ।

♣ अलिकति प्रसँग बदलौ देश नफर्किने ?
म देशको लागि पिरोलिएको छु । फर्किन्छु नै अवश्य । तर विदेशलाई हेरेर नेपालमा भईरहेको खिचातानी नाजुक विचारको उपज देखिरहेको छु ।

♣ जिन्दगीमा सबभन्दा गहिरो प्रेम कोसँग भयो तपाईको ?
जति पनि मेरा साथीहरु छन् सबैसँग नै गहिरो प्रेम छ मेरो ।

♣ तपाईको जीवनको एउटा अविश्मरणीय क्षण भन्नुस् न ?
म समयसमयमा भएको क्षणहरुलाई विशेष महत्व राख्छु । त्यसैकारण मेरा अविश्वमरणीय क्षणहरु धेरै छन् । मैले आमूल परिवर्तनको बाटो नामक पुस्तकमा पनि केही समावेश गरेको छु । र आउँदा दिनहरुमा पनि गर्नेछु ।

♣ तपाईलाई साहित्यकै बाटोमा हिड्न चाही कसले सिकायो ?
समय र परिस्थितिले भनौ ।

♣ दिनमा कतिपटक देशलाई सम्झनुहुन्छ नढाटी भन्न मिल्छ ?
पुरै समय नै देशलाई छ । परदेशमा भएपनि नेपाली भाषाको सेवा गरिरहेको छु । नेपाली बोलिरहेको छु । नेपाली साथीहरुको लागि काम गरिदिदै आएको छु ।

♣ तपाईले आत्मादेखि नै मन पराएको नेपाली साहित्यकार र कृतिको नाम लिनपर्दा, र किन ?

कुमार लिङ्देन र उनको कविताकृति "आधा चन्द्रमा" । बास्तविक नेपाली साहित्य र कोरिनपर्ने विषयहरु त्यसमा समेटिएका छन् ।

♣ कस्तो पुस्तक लेख्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
जीवनको परिवेशमा भईरहेको क्षणहरुलाई जस्ताको तस्तै उतारेर लेख्न मन लाग्छ । जुन थोरै मात्र लेखिएका छन् ।

♣ यहाँ मैले सोध्न बिर्सेको र तपाईलाई भन्न मन लागेको कुरा धक फुकाएर भन्न चाहनुहुन्छ ?
मात्र धेरै धेरै धन्यवाद ।



प्रस्तुती : गणेश खड्का "प्रतिक्षा"

No comments: