Thursday, January 29, 2009

लघुकथा

सक्रिय उद्धार

-गोरखवहादुर सिंह
काठमाडौं-मुग्लिङ सडकको मर्मत र विस्तार कार्य भर्खर्रभर्खर सकिएको थियो । सडक चिल्लो र चौडा थियो । त्यही चिल्लो सडकमा गुड्दै गरेको चिल्लो गाडी एउटा स्कुले बालकलाई बचाउन खोज्दा सडकबाट करिब दुइ सय फिट तलको नदी किनारको बगरमा उत्तानो पर्न पुग्यो । उक्त चिल्लो गाडीको पछिपछि आइरहेका बसबाट उद्धार कार्यका लागि यात्रु ओर्लिए । तर गाडी पल्टिएको बगरमा पुग्ने बाटो अप्ठेरो थियो, ठाडो भीरमा खुट्टा राख्ने ठाउँ बनाउँदै ओर्लनु पर्ने । त्यसैले उद्धारकर्मीमा युवाहरूको बाहुल्यता थियो ।

उद्धारकर्मीले घायल युवतीको कोरिएको निधारको रगत पुछे, उनको कम्मरमा अलिकति छाला खोस्रिएको रहेछ, घाउलाई कमिज फुकालेर साफ गरे, उनको छातीमा लागेको हिलोलाई रुमाल भिजाएर पुछिदिए । दुर्घटनाको कारणले होला युवती काप्दै थिइन् । केही उद्धारकर्मीले आफ्ना ज्याकेट ओडाएर न्यानो पार्ने प्रयास गरे । उनीहरू युवतीको उद्धार कार्यमा सक्रियतासाथ लागिपरेका थिए ।

हात खुट्टा भाँचिएर हलचलसम्म गर्न नसक्ने भएको युवक नजिकै एक्लै छट्पटाइरहेको थियो, उसकी श्रीमतीलाई गरिदै गरेको सक्रिय उद्धार कार्य हेर्दै ।

No comments: