Saturday, July 4, 2009

गजल










-टंक चन्द
मर्नु पर्छ नै भने खुट्टा तान्नु किन?
छताछुल्ल फुकेर हुन्छ भने बान्नु किन?

ज्यानै दिदा पनि खुट्टा तान्दै हिड्छ भने
पाप लाग्छ त्यसलाई आफ्नो मान्नु किन?

नैतिकतालाई धरौटीमा राख्नेहरुले नि
ज्युदो लाशको भारीतारी धान्नु किन?

जति गोली हाने पनि मुसो नमार्नेले
जथाभावी गोली बारुद हान्नु किन ?


-तुलसीपुर -९ बेलुवा, दाङ
अनेसास, मलेसिया शाखा

कबिता












ताजमहल र मेरो प्रेम

- सुमन पोखरेल
सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ।

फक्र्याएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो।
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भैरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङले कोरूँ भैरहेकै हो।

उभिएर आज
यो ताजमहल अगाडि
सूर्यकिरणले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू

आफ्नै मनभित्र छचल्किरहेका
रङ्गीन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म, आफूलाई बिर्सिरहेको छु।

यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
वा सम्झिरहेछु आफैँलाई,
भ्रमित छु।
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर।

शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो।

कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ।



गजल












-अर्जुन दुङमेन् राई
छुट्नु थियो छुट्यो अजम्बरी साथ अब
टुट्नु थियो टुट्यो पिरतीका बात अब

घाइते भई चर्क्यो छाती दुख्यो मुटु
बल्झिन्छन् चोट पल्टी घाउका खात अब

डढेलो गयो यो जीवन जंगलमा
ओइलिएर झर्न थाले पात अब

सोझो जीवन जगतमा जन्म लिंदा
भोग्नै पर्‍यो हार प्रहारका लात अब

सयौपत्र परी बसेका त्यान्द्रो-त्यान्द्रो
केलाउनै गाह्रो प्रेमका जात अब



-बगदाद, ईराक

गीत












हावा बनी ...

-दिलिप योन्जन
हावा बनी छोउँ की तिम्लाई
झरी बनी भिजाउँ
तिमी बस्यौ मुटु माँझ
मन कसरी बुझाउँ ।


लुकुँ-लुकुँ जस्तो लाग्छ
फर्फराउने केशमा
चुमुँ-चुमुँ जस्तो भा'छ
गुलाबी त्यो ओठमा ।
घाम बनी छोउँ की तिम्लाई
जुन बनी लुकाउँ
तिमी बस्यौ मुटु माँझ
मन कसरी बुझाउँ ।


गाजालु ती आँखा भित्र
बास बस्नु पाए हुन्थ्यो
सुख शान्ति सधै दिन्थें
जन्म२ साथ दिए पुग्थ्यो ।
फूल बनी सजाउँ की तिम्लाई
बास्ना सम्झी सुघौँ
तिमी बस्यौ मुटु माँझ
मन कसरी बुझाउँ ।


-अस्टिन, अमेरिका

गजल












- अर्जुन दुङमेन् राई
नबोलेनी हुन्छ तिमी तर्किएर गए पछि
नसम्झेनी हुन्छ अर्कैलाई माया दिए पछि

झुट माधुर्यतामा ब्यर्थै मलाई रोगी बनायौ
मेरै बलेशीबाट चाल गर्दै हिडी गए पछि

सुनपानीले पखाले'नि अब के गर्नु र सानु ?
निश्चल तिम्रो माया अरुसंगै जुठो परे पछि

बहुमूल्य धातु मान्थ्यौ मायाको नाटक रै'छ
ऊ त पापी भन्छ्यौ तिम्रो अभिनय सकिए पछि


-बगदाद, ईराक

गजल











-घायलश्री
पूर्णिमाको जुन पनि तिमीसंग हार्छ
अकबरी सुन पनि तिमीसंग हार्छ ।

लठ्याउने जादुरुपी मोहनी त्यो बोलीमा
सारंगीको धुन पनि तिमीसग हार्छ ।

तिम्रो अंग अंगहरुमा कबिता,गीत,गजल भेट्दा
देबकोटाको गुन पनि तिमीसग हार्छ ।

तिम्रो यादले कुटु-कुटु खादा मेरो कोमल मुटु
भकारीको घुन पनि तिमीसग हार्छ ।

त्यो ब्यन्जन के ब्यन्जन तिम्रो अनुपस्थितिमा
तरकारीको नून पनि तिमीसग हार्छ ।


-पर्वत

गजल










-अनुभब
नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश

पालैपालो उत्तर दक्षिण, सुरुवालको यात्रा
देशभक्ती ईजारमा र तुनामा मेरो देश

कुर्ची चढ्न लुछाचुडी, राष्ट्रियता दाउमा
बिदेशीको कालोजादु, टुनामा मेरो देश

महाकाली, टनकपुर अनि सुस्ता सङ्गै
प्रशाद जस्तै बांडिएको, दुनामा मेरो देश

शहीद सङ्गै सती गो रे, भन्छन् देशभक्ती
हजुरसँग छ र ! मनको कुनामा मेरो देश


-लेखनाथ-४ पोखरा, कास्की
ईमेल: anubhav.ur@gmail.com

गीत













आधा उमेर

-दिलिप योन्जन
आधा उमेर घर खेतैमा हजुर आधा परदेशैमा
बिरानो लाग्छ आफ्नै गाँउ घर देख्दा सपनीमा ।

मखमली सयपत्री ढकमक फुल्थ्यो आगनीमा
हाँसो खुसी बाँड्थ्यौ हामी बाधी अंगालोमा
निलो आकास हरियो पाहाड छङ्-छङ् बग्ने खोला
मेरी आमा पिल-पिल रुदै पर्खिर'की होला ।

गुराँस फुल्दा डाँडा पाँखा कोईली गाउथी गीत
मादल बजाई नाच्थ्यौ गाउथ्यौ साटी चोखो प्रीत
देबी देउता बर पिपल छैन चाड पर्ब
स्वर्ग जस्तै मेरो देश नेपालकै लाग्छ गर्ब ।


-अस्टिन, अमेरिका

मुक्तक

-मौलश्री लिम्बु
नचाहेर के भो तिम्ले, सदा चाएँ मैले
बेखबर हुदाँ पनि, तिम्लाई पाएँ मैले
बिर्सु भन्छु भुलेर नि, याद आउँछ तिम्रै
मेरो माया दिलासा दिन, कसम खाएँ मैले।

-झापा

गजल










-टंक चन्द
जति हेर्यो हेरूँ लाग्ने तिम्रो गाला कस्तो-कस्तो
चक्षु लोभ्याउने त्यो नाभीको छाला कस्तो-कस्तो

साचेर उमंग ओठ भरी लाली झनै
सुकोल नाडीका बाला कस्तो-कस्तो

चंचले कटीमा त्यो मुखै रसाउने
हिडाइ त्यो पाउजुमा चाला कस्तो-कस्तो

नयाँ हो की पुरानो हो तिम्रो पैन्ट
जता हेर्यो उतै तिर टाला कस्तो- कस्तो


-तुलसीपुर -९ बेलुवा, दाङ
अनेसास, मलेसिया शाखा


गजल










- नेपोलियन मरहट्टा
घुम्टो खोली देखायो की ? चाँदनीले रातभरी,
हेर्‍यो होला टोलाएर आँगनीले रातभरी ।

म त कोठा भित्र थिएँ, बाहिर जून टहटह,
बोलायो की ? झ्यालबाट रोशनीले रातभरी ।

तर मैले केही सुनिन, सुने पनि को उठ्थ्यो र ?
आफूलाई त गाँजेकोथ्यो सपनीले रातभरी ।

कतिखेर आयो जून ? अत्तो पत्तो छैन मलाई,
मेरो आँखा खोल्दिएन मोहनीले रातभरी ।

अबेला पो ब्युँझिएछु, अनि हेरेँ झ्यालबाट,
पर्खिएको रैछ मलाई बिहानीले रातभरी ।


-चितवन

कबिता













भाँचिएको बोट, भक्कानिदो मन
(ख्याति श्रेष्ठका परिवारहरु प्रति समर्पित)

-देव राज आचार्य
अनायास हिंड्दै गर्दा एउटा माली ले सोध्यो
थाहा छ तंलाई बटुवा मेरो हातमा छ के यो ?
यसो हेरें नियालेर नजिकमा, देखें गुलाफको सानो बोट
राम्रो लाग्यो अनि पैसा तिर्छु भनी छामेँ कमीज र कोट ।

रहेछ माली दयावान अनि कृपालु, सित्तैमा दियो त्यो उपहार
'एक मूल्य हो यसको' भन्दै गयो माली 'नगर्नु कहिल्यै तिरस्कार'
समीपमा राख्नु , हेरचाह गर्नु संभार यसको गर्नु
नफुलुन्जेल नफक्रिउन्जेल नछोड़नु कहिल्यै, अरुको भर नपर्नु ।

घाम र असिनाको अंजुली भर्दै, छहारी यसलाई ओढाईरहें
जोगाइराखें छेकीनै राखेँ ,चैतको आँधी बर्षाको भेल आँफैले सहें
एक्कासी मेरा आँखामा धुलो छ्यापी एक दिन, उर्लेर आयो आँधी
लौन के भो ! भन्दै थिए, सकिन बोटलाइ राखना अंगालोमा बाँधी ।

आँखा मिची बल्ल तल्ल फर्की हेर्छु, खोज्छु मेरो मायाको टुक्रालाई
उखेलिएका ज़रा अनि भांचिएका ढाड़ मात्रै रहेछ, पात लगेछ सबै उडाई
कहिल्यै नजोगिने अनि नब्युतिने गरी आज मालीको उपहार सकियो
के भनौ मालीलाई के भनौ आफुलाई, सम्झेर आज यो मन भक्कियो ।


-एबरडीन, बेलायत

Tuesday, June 30, 2009

स्रस्टासंग अन्तरंग कुराकानी - जुन २००९

मैले बुझेको साहित्यमा कुनै धार र बाद छैन ।
-सञ्जय राई 'छुच्चा'


♣ साहित्य सागरको मझेरीमा तपाईलाई हार्दिक स्वागत गर्दछु ।
-धन्यबाद । साहित्य सागरको मझेरीमा बिसाउन काबिल सम्झिदिनु भएकोमा ।
♣ हाल कहाँ र के गर्दै हुनुहुन्छ ?
- झण्डै आधा दशकको प्रबास बसाइ पश्चात मातृभूमि आइपुगेको छु । केही पत्रपत्रिकाहरुमा छिटफुट समसामयिक लेख रचना सम्प्रेषण गर्नुको अलावा एकाध गीतहरु रेकर्ड गरिरहेको छु ।
♣ एक समयमा डायोस्परिक साहित्य बिकासमा दिन रात मरिमेट्ने तपाईं अचेल कसरी साहित्यिक क्षेत्रमा सक्रियता जनाई रहनु भएको छ ?-नेपाली साहित्यको ईतिहास नै प्रबासबाट शुरु भएको छ । डायोस्परी स्रस्टाहरुको अथक प्रयास नै आजको बिशाल नेपाली साहित्याकाश हो । सोही कुराको मनन गर्दै मैले पनि मेची काली पर बस्दा अन्य धेरै साथीहरु (जो नेपाली भाषा साहित्यको लागि मरिमेट्छन् ) सङ्गको साहित्यिक सन्सर्ग र भावनात्मक मेल सङ्ग सङ्गै आफ्नो तर्फबाट नेपाली साहित्यको लागि के कति गर्न सकिन्छ, एउटा प्रयास मात्र गरेको हुँ । हाल प्रबासी साहित्य सङ्ग उतिकै नजिक छु जस्को उदाहरण भर्खरै अनेसास मलेसिया शाखाले मेरो कार्यकारी सम्पादनमा स्मारिका प्रकाशन गरेको छ ।
♣ अलिकती फरक प्रश्न , तपाईंले आफ्नो नामको पछाडि ' छुच्चा' फुर्को किन झुन्ड्याउनु भएको ?
-यो कसैले मायालु भावमा झर्किएर दिएको उपनाम हो, जस्को उमेर झन्डै १४ बर्ष पुगिसकेको छ र मेरो साहित्यिक यात्राको निम्ती प्रेरणा पनि हो यो शब्द ।
♣ साहित्य क्षेत्र नै किन रोज्नु भयो तपाईंले ?
- कल्पना गर्नोस् तपाईं भन्दा माथि कोही केही छ भने त्यो शुन्य आकाश मात्र हो न त तपाईं भन्दा मुनि नर्क नामको कुनै अर्को संसार नै छ । यी सोचहरु साहित्य भित्र भेटिएको ज्ञान हो त्यसैले।
♣ गीत बाहेक साहित्यको अन्य कुन्-कुन् बिधाहरुमा तपाईंको कलम दौडिरहेको छ ?
-कथाले आत्मा सन्तुष्टी मिल्छ मलाई । यद्दपी हाल आएर कबिता,गजल र मुक्तकहरु पनि लेख्ने गरेको छु। कारण मन र परिबेश बीचको सन्सर्ग भित्र एउटा सिर्जना जन्मने गर्छ जस्को न्वारन जसरी-जे गरे पनि हुन्छ ।
♣ साहित्य के हो तपाईंको बिचारमा र किन लेखिन्छ ?
-साहित्य परिभाषाहरुको महासागर हो, भोगाइ भित्रको महशुस हो। त्यो महशुस जस्को कुनै आकार छैन, प्रकार छैन, सीमा छैन, परिधि छैन, रङ रोगन छैन तैपनि जीबनको लागि हावाको जतिकै महत्व छ यसको। मलाई लाग्छ साहित्य संसार परिवर्तनको खातिर लोकले कतै केही अतिनै कमी महशुस गरिरहेको बेला यसको आवाज स्वरुप लेखिन्छ ।
♣ बर्तमान नेपालको राजनैतिक अवस्था प्रति नेपाली साहित्य कतिको सम्बेदनशील भएको पाउनु भएको छ ?
-किटेर भनी हाल्नु भन्दा पनि बजारको कुरा गरौ । साहित्यिक बिचारको कुरा गरौ । वरपर डुल्दा घुम्दा भेटिएका माहोलको कुरा गरौ । के र कस्को लागि लेख्ने भन्ने सन्दर्भमा जर्मनी साहित्यको प्रमुख हस्ती विश्व प्रसिद्द लेखिका 'एल्फ्राइड जेलिनेक'को बिचार उध्रित गर्न मन लाग्यो। उनी लेख्छिन् -'जब म लेख्छु ,सधैं कमजोरको पक्षमा रहने कोशिश गर्छु यसर्थ कि बलिया प्रतिको पक्षधरता साहित्यिक पक्षधरता होईन।' अब यहाँ के स्पष्ट हुन्छ भने नेपाली बर्तमान राजनैतिक अवस्थामा पनि केही साहित्यिक सम्बेदनशीलता देखियो तर त्यो कमजोरको पक्षधरतामा रहन सकेन । तसर्थ साहित्यिक सम्बेदनशीलता नयाँ राष्ट्र निर्माणको खातिर सुन्य हुन पुग्यो भन्दा पनि हुन्छ ।
♣ राष्ट्र निर्माणमा नेपाली साहित्यिक स्रस्टा सर्जकहरुको बर्तमान भूमिका कस्तो हुनुपर्दछ ?
-एउटा खास प्रकारको आकृति र उसको भाषा मान्छेको परिचय हुन सक्ला तर सबै ती मान्छेहरु मानब होइनन् ठीक त्यसै गरी बुझ्नु पर्दछ स्रस्टाहरुलाई पनि हामीले । देश निर्माणको बर्तमान घडीमा स्रस्टाहरुको लेखकीय भूमिका हिटलर शासन ताकाकी लेखिका 'एन्ने फ्र्यान्क' को जस्तो हुनुपर्छ ।
♣ नेपाली साहित्यमा आएका धार/बादहरु प्रति तपाईंको धारणा कस्तो रहेको छ ?
-पहिलो कुरो मैले बुझेको साहित्यमा कुनै धार बाद छैन, परिधी र सीमा बीचमा खुम्च्याउन मिल्ने साहित्य खाली एउटा निश्चित स्वार्थ बोकेको गुट मात्र हो भन्छु म। यद्दपी बर्तमान विश्व साहित्य भित्र मौलाई रहेको बिभिन्न बाद अनी धारहरु बिचार सम्बद्द छैनन् भन्न खोजिएको होईन । नकार्न नमिल्ने बाद साहित्यहरु छन् जस्तै माक्सबादी साहित्यलाई अग्रगामी साहित्य पनि भनिन्छ। यसलाई हाल आएर छिद्र देखा परिसकेको यी बाद साहित्य जस्ता अरु धेरै धार र बादहरु नेपाली साहित्यमा पनि देखिसकेको छ । जसले समाज परिवर्तनको हकमा के कती भूमिका खेलिरहेको छ भन्ने कुरा पनि स्पष्ट हामीले देखिरहेका छौ। म जस्तो साहित्यमा मौलिक बुझाई बोकेर ताते गरिरहेको बालकले भबिष्यमा एउटा धार समाते भने त्यो सबै भन्दा नौलो हुनेछ ।
♣ तपाईंको लेखनमा प्राय: जसो कस्तो बिषयबस्तु हुने गरेको छ ?
-बचेँरोलाई चारो ल्याउछु भनी बिहानै गुड छोडेकी आमा चरी बेलुकी अबेर सम्म गुड नफर्के पछि अर्थात् कहिल्यै नफर्किने गरी गए पछि बचेँरोको मन भित्र कुडुलिने पिडाको बादलहरु जस्तो बिषयबस्तु माथि आधारित रहेर लेख्न मन लाग्छ।
♣ अबको नेपाली साहित्य कसरी हिडोस् भन्ने लाग्छ तपाईंलाई ?
-अबको नेपाली साहित्यले बैज्ञानीक बाटोलाई आत्मसात गरेर अगाडि बढेको खण्डमा उपयुक्त बिचारबादी साहित्य हुने थियो जस्तो लाग्छ ।
♣ साहित्य लेखेर नेपालमा बाच्ने दिन आउँला त ?
-शक्तिपरक नभई सत्यपरक अनि कमजोरको पक्षधर भई लेख्न सकेमा छिट्टै ।
♣ साहित्य क्षेत्रमा लागेर के कस्तो पुरस्कार सम्मान पाउनु भयो अहिले सम्म ?
-छाम्न र थाम्न नमिल्ने तर हृदयबाट महशुस गर्न मिल्ने थुप्रै मान सम्मान र पुरस्कारहरु पाएको छु।
♣ अहिले सम्म पढ्नु भएको देशी बिदेशी साहित्यकारहरुको कृति मध्येमा कुन कृतिले अनावश्यक चर्चा पायो र किन ?
-गोर्कीको 'आमा' जस्को शिर्षकको अलवा बिषयबस्तुमा खासै साहित्यिक बिचार अनि साहित्यिक छन्द त्यति भेटिदैन ।
♣ कुनै साहित्यिक कृति प्रकाशित गर्नु भयो कि ?
-बोटैमा पाकेको फल जस्तो स्वादिलो होस्, समाज र लोकको निम्ती आफ्नो कृति भन्ने लाग्छ। छिटो पकाउनलाई फल भुसमा गाड्ने घ्रिष्टता हुन सकेन म बाट, तसर्थ तयार अवस्थामा रहेका केही सिर्जनाले पनि कृतिको रुप पाउन अझै केही समय प्रतिक्षा गर्नु पर्छ ।
♣ समग्र नेपाली साहित्य बिकासमा डायोस्परिक साहित्यको प्रभाब कस्तो देख्नु भएको छ ?
-बिश्व साहित्यको कुनै पनि हारमा पुग्न नसकेको हालको नेपाली साहित्यलाई सीमा कटाउन डायोस्परिक साहित्यको बिशेष भूमिका रहनु पर्छ, यसमा अनलाईन साहित्यलाई प्रमुख रुपमा लिन सकिन्छ किनकी अहिलेको नेपाली साहित्य बाँस साहित्यको प्रभाब हो भन्न सकिन्छ ।
♣ मोफसलका साहित्यलाई कसरी हेर्नु हुन्छ तपाईं ?
-हालको परिबेशमा मोफसलका बिभिन्न क्षेत्रहरु सिर्जनाका उर्बर भूमि साबित भएका छन् जस्तै पूर्वको बिराटनगर,झापा मध्येपश्चिमको चितवन र पश्चिमको पोखरालाई साहित्यको केन्द्र भन्न सकिन्छ । यहाँको बिचारी साहित्यले मोफसल जस्तै मेची काली पर रहेका डायोस्परिक साहित्यलाई पनि नेतृत्व गरिरहेको छ ।
♣ अन्त्यमा 'साहित्य सागर' मार्फत सम्पूर्ण साहित्यप्रेमी पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
- जीबन र जगत सँग मेल खाने लेखन सबै साहित्य भए पनि परिबेश सम्बद्द मेल खाने साहित्य कुन हो भनेर खुट्ट्याउने जिम्मेवारी हरेक बौद्दिक पाठकमा हुनु पर्छ तसर्थ देशको बर्तमान परिस्थितीमा कुन र कस्तो साहित्यको खाचो छ भनेर औलाई दिने काम पनि असल पाठकहरुले लिई दिनु पर्‍यो जसले गर्दा सबै लेखक साहित्यकारहरुले पनि यसको आलो अनुमान गर्न सकुन् ।

Tuesday, June 23, 2009

कबिता












आऊ कफन बाँधेर

-राज रोबर्ट अजनबी सुब्बा
म त भन्छु सायद
प्रकृति नै मात्तिएको थियो बैशले
तब त लाली पोतेर बनै भरि
रातम्य गुराँस फुलेको त्यो समय
मेरा हर...
अधरहरुमा/नजरहरुमा
धड्कनहरुमा/स्पन्दनहरुमा
तिमी नै तिमी थियौ
खोइ...!
गुराँसे माया भनौ कि
चैते खडेरी....?
आज तिमी र म
कहिल्यै नजोडिने
दुई किनारा भएका छौ ।

अब त मलाई
कति पनि रहर छैन
मखमली फूल फुलाउन
बरु उजाडियोस् मनको बगैचा
अब त...
दोबाटोमा लासो ओछ्याएर
तम्फुङ्नालाई अन्डा भोग दिदै
बाटो छेक्छु म तिम्रो
घुङ्गृङ् ठोकेर चारै किल्ला
माङ्गेना गर्छु 'म'
आफ्नै प्रेमको
अझ...
कुखुराको भोग चढाई
तावा खोलामा
साक्मुरा बगाउनुछ
तङ्सिङ् राखेर तिमीबाट
मेरो माया फिर्ता लिनुछ
हो.., अब म साच्चै...!
बिजुवाको मोर्चा कसेर
उत्रेको छु रणभूमिमा
हिम्मत भए तिमी पनि
कफन बाँधेर आऊ लड्न
मुन्धुमको यो युद्द समरमा ।


-मामाखे, ताप्लेजुंग
हाल: इजरायल

गीत










मरेर बाँच्ने कुरा

-नाकिमा
सुन है सुस्तामा छिमेकी नाच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

सिक्किम, टिस्टा हाम्रै हो तर 'थियो' भयो
कालापानी उसैलाई दियो, लियो, गयो
सोच है नेपाली सिमाना जाँच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

तिनीसँग बन्दुक छन् हामीसँग मुठी
सहिदका रगतहरु थोपा-थोपा जुटी
आँट है मुठीले बन्दुक भाँच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा


-खोटांग
हाल: काठमान्डौ

Monday, June 22, 2009

गजल










-अर्जुन दुङमेन् राई
लेकतिर जाडो बढे पछि बेशीतिर झर्नु पर्‍यो
आफ्नो घर भत्किए पछि, छिमेकतिर सर्नु पर्‍यो


वर्षातको समय राती बाढी आउन पनि सक्छ
राँको बाली आजै साँझ, पारी गाउँ सम्म तर्नु पर्‍यो ।

गरीवकै घरमा ईश्वरले नि बास गर्नुपर्छ
पारी गाउँकै खेतालो गई, आफ्नो पेट भर्नु पर्‍यो ।

न्यायको आँखा नपुग्ने ठाउँमै दैबको आँखा पुग्छ
निशाफको कुरो नबुझ्ने, प्रत्येक पाइला हर्नु पर्‍यो ।

प्रभातको खोजीमा कति अन्धकारमा भौतारिनु
निधारमा हात राखी, कर्मै यति रै'छ भन्नु पर्‍यो ।

- बगदाद, ईराक

गजल










-नेपोलियन मरहट्टा
एउटा जाबो बैंश पनि भारै भयो मलाई त,
दिन त काँटे तर रात गाह्रै भयो मलाई त ।

नत मिलन नत बिछोड ब्यर्थै माया लगाएछु,
तिम्रो माया करौँतीको धारै भयो मलाई त ।

ओरालीको मृगलाई जस्ले पनि खेद्दो रैछ,
दैबबाट पनि अत्याचारै भयो मलाई त ।

एक्लै एक्लै तड्पिएर खरानी छु भित्र भित्रै,
जवानी त साँच्चै उल्का तारै भयो मलाई त ।

पहिले जस्तो कहाँ छु र ? सिकिस्त छु आजभोली,
हिजो बेलुका त झन साह्रै भयो मलाई त ।


-चितवन

गजल










-डिआर निश्छल
तिम्रो मेरो चोखो प्रीति, ढकमक्क फूल्यो ठूली
अधेँरी मन उज्यालो छर्दै एकाएक खुल्यो ठूली

मेरो नयन भित्र तिमी, म तिम्रो मुटु भित्र छिरे पछि
सगरमाथा छुनलाई हाम्रो प्रेम त चुल्यो ठूली

रोमियो-जूलियट लैला-मजनू , केबल कथा मात्र रहेछ
हाम्रो प्रेम त नमूना भो मुनामदन भूल्यो ठूली

रात दिन एउटै लाग्ने, निरस निरस जिन्दगीमा
तिमी आयौ रंग भर्दै खुशी मात्र डुल्यो ठूली

बिश्वास आशा पलाएर, झ्यागिदै'गो मनको फाँट्भरि
मायै माया जताततै शंका ईर्ष्या सब धुल्यो ठूली

-महेश्वरी -२, खोटांग

Sunday, June 21, 2009

समय-सन्दर्भ








खडेरी लागेको मन र असार

-गणेश खड्का " प्रतिक्षा "
"हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।"
प्रिय सखा डल्ली,
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई ।
संपर्क बिनाका थुप्रै वशन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन , न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे सँगै तिम्रो पनि अस्पस्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।

प्रिय डल्ली, छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ?
"पानी पर्‍यो सालघारी करायो
वर्खा लाग्यो भेटघाटै हरायो ।
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।"
मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?

मेरी प्रिय सखा, हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।
"खोला पारी म मायाँ लाउँदिन
वर्खा लाग्यो आइरहन पाउँदिन ।
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल
मिठैमा खाउँला राम्रैमा लाउँला हजुरको जीउ छउन्जेल ।"
कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा कृषि प्रधान देशको लागि कती जर्जर होल कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।

प्रिय डल्ली, असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।

प्रिय बालसखा , प्रकृतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो गृहस्ती , चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटकहरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् ।
तिम्रो बाल सखा
जीवन संघर्षको मैदानबाट ।

"रिमिमाझिमी पानी है पर्‍यो असारे मासैमा
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू । "


-तिवारी भञ्ज्याङग - ४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Friday, June 19, 2009

गजल







-इन्द्र नारथुङ्गे
सुन्दर धर्तीको निम्ति भार भएँकी म
कोमल मनहरु रेट्ने धार भएँकी म ।

युगले मान्छे होईन मान्छेले युग बोक्छ
परिबर्तन रोक्ने छेकबार भएँकी म ।

धर्ती सजाउने फूल फूलै हो जिन्दगानी
फूल लुकाउने पापी झार भएँकी म ।

गुलियो-मीठो भन्छन् बचन र आनीबानी
घाँटी अठ्याउने तितो छार भएँकी म ।

जन्मेर आएको थिएँ कर्तब्य पूरा गर्न
पाखुरी हुँदाहुँदै निस्सार भएँकी म ।

सिर्जना कला गला आफ्नै हुनुपर्छ
अर्काकै खोसेर लिने जार भएँकी म ।

सत्यको मार्ग खोजी सत्यमै हिडुँ भन्थेँ
दुनियाँ देख्दा आफै लाचार भएँकी म ।

आमाको बचन नाघ्ने कोखै अगति भन्छन्
श्रृष्टीको निम्ति कतै हार भएँकी म ।


-ईन्द्राणीपोखरी, खोटांग