Tuesday, June 30, 2009

स्रस्टासंग अन्तरंग कुराकानी - जुन २००९

मैले बुझेको साहित्यमा कुनै धार र बाद छैन ।
-सञ्जय राई 'छुच्चा'


♣ साहित्य सागरको मझेरीमा तपाईलाई हार्दिक स्वागत गर्दछु ।
-धन्यबाद । साहित्य सागरको मझेरीमा बिसाउन काबिल सम्झिदिनु भएकोमा ।
♣ हाल कहाँ र के गर्दै हुनुहुन्छ ?
- झण्डै आधा दशकको प्रबास बसाइ पश्चात मातृभूमि आइपुगेको छु । केही पत्रपत्रिकाहरुमा छिटफुट समसामयिक लेख रचना सम्प्रेषण गर्नुको अलावा एकाध गीतहरु रेकर्ड गरिरहेको छु ।
♣ एक समयमा डायोस्परिक साहित्य बिकासमा दिन रात मरिमेट्ने तपाईं अचेल कसरी साहित्यिक क्षेत्रमा सक्रियता जनाई रहनु भएको छ ?-नेपाली साहित्यको ईतिहास नै प्रबासबाट शुरु भएको छ । डायोस्परी स्रस्टाहरुको अथक प्रयास नै आजको बिशाल नेपाली साहित्याकाश हो । सोही कुराको मनन गर्दै मैले पनि मेची काली पर बस्दा अन्य धेरै साथीहरु (जो नेपाली भाषा साहित्यको लागि मरिमेट्छन् ) सङ्गको साहित्यिक सन्सर्ग र भावनात्मक मेल सङ्ग सङ्गै आफ्नो तर्फबाट नेपाली साहित्यको लागि के कति गर्न सकिन्छ, एउटा प्रयास मात्र गरेको हुँ । हाल प्रबासी साहित्य सङ्ग उतिकै नजिक छु जस्को उदाहरण भर्खरै अनेसास मलेसिया शाखाले मेरो कार्यकारी सम्पादनमा स्मारिका प्रकाशन गरेको छ ।
♣ अलिकती फरक प्रश्न , तपाईंले आफ्नो नामको पछाडि ' छुच्चा' फुर्को किन झुन्ड्याउनु भएको ?
-यो कसैले मायालु भावमा झर्किएर दिएको उपनाम हो, जस्को उमेर झन्डै १४ बर्ष पुगिसकेको छ र मेरो साहित्यिक यात्राको निम्ती प्रेरणा पनि हो यो शब्द ।
♣ साहित्य क्षेत्र नै किन रोज्नु भयो तपाईंले ?
- कल्पना गर्नोस् तपाईं भन्दा माथि कोही केही छ भने त्यो शुन्य आकाश मात्र हो न त तपाईं भन्दा मुनि नर्क नामको कुनै अर्को संसार नै छ । यी सोचहरु साहित्य भित्र भेटिएको ज्ञान हो त्यसैले।
♣ गीत बाहेक साहित्यको अन्य कुन्-कुन् बिधाहरुमा तपाईंको कलम दौडिरहेको छ ?
-कथाले आत्मा सन्तुष्टी मिल्छ मलाई । यद्दपी हाल आएर कबिता,गजल र मुक्तकहरु पनि लेख्ने गरेको छु। कारण मन र परिबेश बीचको सन्सर्ग भित्र एउटा सिर्जना जन्मने गर्छ जस्को न्वारन जसरी-जे गरे पनि हुन्छ ।
♣ साहित्य के हो तपाईंको बिचारमा र किन लेखिन्छ ?
-साहित्य परिभाषाहरुको महासागर हो, भोगाइ भित्रको महशुस हो। त्यो महशुस जस्को कुनै आकार छैन, प्रकार छैन, सीमा छैन, परिधि छैन, रङ रोगन छैन तैपनि जीबनको लागि हावाको जतिकै महत्व छ यसको। मलाई लाग्छ साहित्य संसार परिवर्तनको खातिर लोकले कतै केही अतिनै कमी महशुस गरिरहेको बेला यसको आवाज स्वरुप लेखिन्छ ।
♣ बर्तमान नेपालको राजनैतिक अवस्था प्रति नेपाली साहित्य कतिको सम्बेदनशील भएको पाउनु भएको छ ?
-किटेर भनी हाल्नु भन्दा पनि बजारको कुरा गरौ । साहित्यिक बिचारको कुरा गरौ । वरपर डुल्दा घुम्दा भेटिएका माहोलको कुरा गरौ । के र कस्को लागि लेख्ने भन्ने सन्दर्भमा जर्मनी साहित्यको प्रमुख हस्ती विश्व प्रसिद्द लेखिका 'एल्फ्राइड जेलिनेक'को बिचार उध्रित गर्न मन लाग्यो। उनी लेख्छिन् -'जब म लेख्छु ,सधैं कमजोरको पक्षमा रहने कोशिश गर्छु यसर्थ कि बलिया प्रतिको पक्षधरता साहित्यिक पक्षधरता होईन।' अब यहाँ के स्पष्ट हुन्छ भने नेपाली बर्तमान राजनैतिक अवस्थामा पनि केही साहित्यिक सम्बेदनशीलता देखियो तर त्यो कमजोरको पक्षधरतामा रहन सकेन । तसर्थ साहित्यिक सम्बेदनशीलता नयाँ राष्ट्र निर्माणको खातिर सुन्य हुन पुग्यो भन्दा पनि हुन्छ ।
♣ राष्ट्र निर्माणमा नेपाली साहित्यिक स्रस्टा सर्जकहरुको बर्तमान भूमिका कस्तो हुनुपर्दछ ?
-एउटा खास प्रकारको आकृति र उसको भाषा मान्छेको परिचय हुन सक्ला तर सबै ती मान्छेहरु मानब होइनन् ठीक त्यसै गरी बुझ्नु पर्दछ स्रस्टाहरुलाई पनि हामीले । देश निर्माणको बर्तमान घडीमा स्रस्टाहरुको लेखकीय भूमिका हिटलर शासन ताकाकी लेखिका 'एन्ने फ्र्यान्क' को जस्तो हुनुपर्छ ।
♣ नेपाली साहित्यमा आएका धार/बादहरु प्रति तपाईंको धारणा कस्तो रहेको छ ?
-पहिलो कुरो मैले बुझेको साहित्यमा कुनै धार बाद छैन, परिधी र सीमा बीचमा खुम्च्याउन मिल्ने साहित्य खाली एउटा निश्चित स्वार्थ बोकेको गुट मात्र हो भन्छु म। यद्दपी बर्तमान विश्व साहित्य भित्र मौलाई रहेको बिभिन्न बाद अनी धारहरु बिचार सम्बद्द छैनन् भन्न खोजिएको होईन । नकार्न नमिल्ने बाद साहित्यहरु छन् जस्तै माक्सबादी साहित्यलाई अग्रगामी साहित्य पनि भनिन्छ। यसलाई हाल आएर छिद्र देखा परिसकेको यी बाद साहित्य जस्ता अरु धेरै धार र बादहरु नेपाली साहित्यमा पनि देखिसकेको छ । जसले समाज परिवर्तनको हकमा के कती भूमिका खेलिरहेको छ भन्ने कुरा पनि स्पष्ट हामीले देखिरहेका छौ। म जस्तो साहित्यमा मौलिक बुझाई बोकेर ताते गरिरहेको बालकले भबिष्यमा एउटा धार समाते भने त्यो सबै भन्दा नौलो हुनेछ ।
♣ तपाईंको लेखनमा प्राय: जसो कस्तो बिषयबस्तु हुने गरेको छ ?
-बचेँरोलाई चारो ल्याउछु भनी बिहानै गुड छोडेकी आमा चरी बेलुकी अबेर सम्म गुड नफर्के पछि अर्थात् कहिल्यै नफर्किने गरी गए पछि बचेँरोको मन भित्र कुडुलिने पिडाको बादलहरु जस्तो बिषयबस्तु माथि आधारित रहेर लेख्न मन लाग्छ।
♣ अबको नेपाली साहित्य कसरी हिडोस् भन्ने लाग्छ तपाईंलाई ?
-अबको नेपाली साहित्यले बैज्ञानीक बाटोलाई आत्मसात गरेर अगाडि बढेको खण्डमा उपयुक्त बिचारबादी साहित्य हुने थियो जस्तो लाग्छ ।
♣ साहित्य लेखेर नेपालमा बाच्ने दिन आउँला त ?
-शक्तिपरक नभई सत्यपरक अनि कमजोरको पक्षधर भई लेख्न सकेमा छिट्टै ।
♣ साहित्य क्षेत्रमा लागेर के कस्तो पुरस्कार सम्मान पाउनु भयो अहिले सम्म ?
-छाम्न र थाम्न नमिल्ने तर हृदयबाट महशुस गर्न मिल्ने थुप्रै मान सम्मान र पुरस्कारहरु पाएको छु।
♣ अहिले सम्म पढ्नु भएको देशी बिदेशी साहित्यकारहरुको कृति मध्येमा कुन कृतिले अनावश्यक चर्चा पायो र किन ?
-गोर्कीको 'आमा' जस्को शिर्षकको अलवा बिषयबस्तुमा खासै साहित्यिक बिचार अनि साहित्यिक छन्द त्यति भेटिदैन ।
♣ कुनै साहित्यिक कृति प्रकाशित गर्नु भयो कि ?
-बोटैमा पाकेको फल जस्तो स्वादिलो होस्, समाज र लोकको निम्ती आफ्नो कृति भन्ने लाग्छ। छिटो पकाउनलाई फल भुसमा गाड्ने घ्रिष्टता हुन सकेन म बाट, तसर्थ तयार अवस्थामा रहेका केही सिर्जनाले पनि कृतिको रुप पाउन अझै केही समय प्रतिक्षा गर्नु पर्छ ।
♣ समग्र नेपाली साहित्य बिकासमा डायोस्परिक साहित्यको प्रभाब कस्तो देख्नु भएको छ ?
-बिश्व साहित्यको कुनै पनि हारमा पुग्न नसकेको हालको नेपाली साहित्यलाई सीमा कटाउन डायोस्परिक साहित्यको बिशेष भूमिका रहनु पर्छ, यसमा अनलाईन साहित्यलाई प्रमुख रुपमा लिन सकिन्छ किनकी अहिलेको नेपाली साहित्य बाँस साहित्यको प्रभाब हो भन्न सकिन्छ ।
♣ मोफसलका साहित्यलाई कसरी हेर्नु हुन्छ तपाईं ?
-हालको परिबेशमा मोफसलका बिभिन्न क्षेत्रहरु सिर्जनाका उर्बर भूमि साबित भएका छन् जस्तै पूर्वको बिराटनगर,झापा मध्येपश्चिमको चितवन र पश्चिमको पोखरालाई साहित्यको केन्द्र भन्न सकिन्छ । यहाँको बिचारी साहित्यले मोफसल जस्तै मेची काली पर रहेका डायोस्परिक साहित्यलाई पनि नेतृत्व गरिरहेको छ ।
♣ अन्त्यमा 'साहित्य सागर' मार्फत सम्पूर्ण साहित्यप्रेमी पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
- जीबन र जगत सँग मेल खाने लेखन सबै साहित्य भए पनि परिबेश सम्बद्द मेल खाने साहित्य कुन हो भनेर खुट्ट्याउने जिम्मेवारी हरेक बौद्दिक पाठकमा हुनु पर्छ तसर्थ देशको बर्तमान परिस्थितीमा कुन र कस्तो साहित्यको खाचो छ भनेर औलाई दिने काम पनि असल पाठकहरुले लिई दिनु पर्‍यो जसले गर्दा सबै लेखक साहित्यकारहरुले पनि यसको आलो अनुमान गर्न सकुन् ।

4 comments:

Dibya Adhikari said...
This comment has been removed by a blog administrator.
Anonymous said...

सञ्जयजी सुन्दर अभिब्यक्तिको लागि धन्यवाद है ।

Indra Narthunge said...

सञ्जयजी सुन्दर अभिब्यक्तिको लागि धन्यवाद है ।

Arjun Dungmen said...

हरेक कुरोमा बिचार बिश्लेशन गर्ने शैली र अवधारणा त नितान्तै फरक-फरक हुन्छ । तर साहित्य शब्दको भाब फरक हुनु हुँदैन, जस्तो लाग्छ मलाई । यस्मा, सञ्जय जि को साहित्यिक बिचारहरु पस्कनु भएकोमा ब्लग सञ्चालक ब्लगर एड्मिन र सञ्जय जि दुबै जनालाई धन्यवाद !