Saturday, July 4, 2009

कबिता












ताजमहल र मेरो प्रेम

- सुमन पोखरेल
सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ।

फक्र्याएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो।
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भैरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङले कोरूँ भैरहेकै हो।

उभिएर आज
यो ताजमहल अगाडि
सूर्यकिरणले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू

आफ्नै मनभित्र छचल्किरहेका
रङ्गीन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म, आफूलाई बिर्सिरहेको छु।

यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
वा सम्झिरहेछु आफैँलाई,
भ्रमित छु।
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर।

शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो।

कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ।



No comments: