Friday, June 19, 2009

गजल







-इन्द्र नारथुङ्गे
सुन्दर धर्तीको निम्ति भार भएँकी म
कोमल मनहरु रेट्ने धार भएँकी म ।

युगले मान्छे होईन मान्छेले युग बोक्छ
परिबर्तन रोक्ने छेकबार भएँकी म ।

धर्ती सजाउने फूल फूलै हो जिन्दगानी
फूल लुकाउने पापी झार भएँकी म ।

गुलियो-मीठो भन्छन् बचन र आनीबानी
घाँटी अठ्याउने तितो छार भएँकी म ।

जन्मेर आएको थिएँ कर्तब्य पूरा गर्न
पाखुरी हुँदाहुँदै निस्सार भएँकी म ।

सिर्जना कला गला आफ्नै हुनुपर्छ
अर्काकै खोसेर लिने जार भएँकी म ।

सत्यको मार्ग खोजी सत्यमै हिडुँ भन्थेँ
दुनियाँ देख्दा आफै लाचार भएँकी म ।

आमाको बचन नाघ्ने कोखै अगति भन्छन्
श्रृष्टीको निम्ति कतै हार भएँकी म ।


-ईन्द्राणीपोखरी, खोटांग

1 comment:

HAWA said...

ईन्द्र जी, मर्मस्पर्सी त छदैछ तपाईंको गजल आँफैलाई सम्बोधन गरिएकोले सन्देशप्रद हुँदा हुँदै पनि रुखोपना बाट जोगिएर लेख्नुभएको छ..गजल को भाव चाँही कता कता जीवन प्रती नीरसभाव जस्तो देखिन्छ.. निरासा त आउछन तर पनि अघी बढनै पर्छ यो एकबार को जुनी मा