Tuesday, June 23, 2009

कबिता












आऊ कफन बाँधेर

-राज रोबर्ट अजनबी सुब्बा
म त भन्छु सायद
प्रकृति नै मात्तिएको थियो बैशले
तब त लाली पोतेर बनै भरि
रातम्य गुराँस फुलेको त्यो समय
मेरा हर...
अधरहरुमा/नजरहरुमा
धड्कनहरुमा/स्पन्दनहरुमा
तिमी नै तिमी थियौ
खोइ...!
गुराँसे माया भनौ कि
चैते खडेरी....?
आज तिमी र म
कहिल्यै नजोडिने
दुई किनारा भएका छौ ।

अब त मलाई
कति पनि रहर छैन
मखमली फूल फुलाउन
बरु उजाडियोस् मनको बगैचा
अब त...
दोबाटोमा लासो ओछ्याएर
तम्फुङ्नालाई अन्डा भोग दिदै
बाटो छेक्छु म तिम्रो
घुङ्गृङ् ठोकेर चारै किल्ला
माङ्गेना गर्छु 'म'
आफ्नै प्रेमको
अझ...
कुखुराको भोग चढाई
तावा खोलामा
साक्मुरा बगाउनुछ
तङ्सिङ् राखेर तिमीबाट
मेरो माया फिर्ता लिनुछ
हो.., अब म साच्चै...!
बिजुवाको मोर्चा कसेर
उत्रेको छु रणभूमिमा
हिम्मत भए तिमी पनि
कफन बाँधेर आऊ लड्न
मुन्धुमको यो युद्द समरमा ।


-मामाखे, ताप्लेजुंग
हाल: इजरायल

1 comment:

Anonymous said...

robat vaneko swas bihin nirjib bastu ho jun pramarnit garera dekhaunu vo raj g. kina tapai ma sanga yesari vagnu vo ahile pani tapaiko 6imeki madesko kya ma sanga samparka maa 6 jasle garda maile tapaiko ak ak kuro patto lagauna sak6u.6uchchaa