Thursday, April 9, 2009

कबिता












अनुरोध

-घायलश्री
संसद ज्यू ,
तपाईं सामु सानो निबेदन पेश गरेको छु
प्रतिनिधि सभामा लगी पेश गरिदिनु हुन्छकी ?
मेरो बिनम्र अनुरोध ।
संसद ज्यू ,
हिजै मात्रै हो
हाम्रा गाउको हर्केले
कालीसंग आई लभ यु को प्रस्ताब राख्दा
र
कालीले स्विकार नगर्दा
आज हर्केको मृत्‍यु भएको छ ।
हाम्रै गाउकी च्यान्टीले पनि
कालेसग आई लभ यु को भिक माग्दा माग्दै
आज च्यान्टी पागलको रुपमा
सडक र गल्लिहरुमा डुलिरहेकी छ ।
यही आई लभ यु को लालसमा पर्दा
हाम्रै गाउकी गोरी
बम्बैमा बन्दी जीवन बिताइरहेकी छ ।
हुनत हाम्रो बेरोजगारी देशमा
रोजगार मिलेको छ
यही आई लभ यु ले गर्दा
तर यो ज्यादै ब्यापक बनेको कारण
यसमा बिकृतिहरु आएका छन,
धेरै हागा बिगाहरु लछारिएका छन
त कती कोपिलाहरु निर्लज्ज लुटिएका छन ।
हुनत हाम्रो हजुरबाले
रोधिको रमाइलो साझमा
यही आई लभ यु सगै
आफ्नो बाराउनी गरेका रहेछन
यो त पुरानो कुरा भयो ।
त्यसैले संसद ज्यू ,
कहिले बगर त कहिले सागर हुने
यो आई लभ यु को नियन्त्रण गर्ने
कुनै कानुन छ कि?
नभए बनाउनु पर्र्यो
यसको छिट्टै कार्यन्वयन गरी
यस् बर्षको सम्पूर्ण बजेट
लगानी गर्नु पर्र्यो
संसद ज्यू ,
यो मेरो बिनम्र अनुरोध ।


-पर्वत

Wednesday, April 8, 2009

गजल










-राज लम्साल 'यात्री'
आफ्नो भनी सम्झेका टाढा हुदा रै'छन
अन्जानका मान्छे बरु गाढा हुदा रै'छन

सम्बन्ध र बन्धनलाई लत्याएर अघि
बढी जाने निर्मोही छ्या !छाडा हुदा रै'छन

पबित्र बिश्वासमा कुठाराघात गरी
सम्झौताको कुरा गर्दा सादा हुदा रै'छन

कति फरक नारी बीच हेर्दा उस्तै लाग्ने
कोही फूल गुलाफ कोही काडा हुदा रै'छन



-महारानी झोरा-३,झापा
ईमेल:
anjal_raj2003@yahoo.com
हाल: अबुदाबी,यूएई
फोन्: ०९७१-५५-७०१३६२६






कबिता

हिउँ र तिमी

-दिनेश अधिकारी
न्यानो लाग्नेगरी
चिसो हिउँ परिरहेको छ
र, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झी रहेँछु
त्यसबेला
तिमी असाध्यै नरम र न्यानी थियौ ।
कपासजस्ता हिउँका कोमल फूलहरू
समय बित्दै जाँदा
कठोर चट्टानमा परिणत भएछन्
अहिले म
त्यही हिउँ-चट्टानमा उभिन आइपुगेको छु
जुत्ताको तलुवा छेडेर
खुट्टाको बाटो हुँदै
चिसो शरीरभरि फिँजिएको छ
प्रत्येकपल्ट पाइला टेक्ता चिप्लिने डरले
मस्तिष्क एक किसिमले काँपिरहेको छ
हाम्रो वर्तमानमा
एक पटक फेरि
म तिमीलाई सम्भिmरहेको छु
अहिले तिमी
हिउँ-चट्टानभन्दा पनि कठोर लागिरहेकी छ्यौ ।
हामी खेल्ने ठाउँको मौसमी हिउँ न हो यो
हिउँको कठोरता पनि
कहाँ धेरै दिन टिक्दोरहेछ र ?
अलि पर
तलतिर
विस्तारै विस्तारै
पग्लँदै
पानी भएर हिउँ बग्दै गरेको देखिरहेँछु
र, मनमनै कामना गरिरहेँछु-
हिउँको यो स्वभाव
चाँडै तिमीमा पनि सल्कियोस्
विश्वास छ,
हाम्रो आगामी भेट अगावै
हिउँ-चट्टानबाट
तिमी कलकलमा परिणत भइसकेकी हुनेछ्यौ ।
न्यानो लाग्नेगरी
चिसो हिउँ परिरहेछ
र, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झी रहेँछु
त्यसबेला

तिमी असाध्यै नरम र न्यानी थियौ ।

-पो.ब.नं. ९४४३, काठमाडौँ
(साभार: मधुपर्क )

कबिता










फूल, लहरा र नारी

-लक्ष्मी राई
उनीहरू मलाई-
फूल भन्छन्
लहरा भन्छन्
यो फूल, आँगनको दायराभित्र
यो लहरा, पर्खालको भरथेगमा मात्रै
फुल्नुपर्छ , झाङ्गिनुपर्छ रे !
कुन कालखण्डबाट सुरु भए होलान्
यो फूल अनि लहराप्रति
अभिमत उनीहरूको ?

औसत मान्छेहरूको हुलबाट
एक्लिएर सोचिरहेकी छु………
आजपर्यन्त,
उनीहरूले मलाई
बुझ्न सकिरहेका छैनन् या,
मैले उनीहरूको-
फूलको परिभाषा
लहराको विशेषता
जहाँ उम्रिए पनि
जहाँ फैलिए पनि
निश्चित जमिन र,
दायरा छ रे- यो फूल, यो लहराको
यो घरको आँगन हुँदै अलिकति,
पर पर्खालसम्म ।

खैर !
यो फूल,
यो लहरा इत्यादि जे भने पनि,
शाश्वत एउटा सत्य
यो सजीव प्राणी
जस्तै मौसममा पनि फुल्न सक्छे
जस्तै अनकन्टारसम्म फैलन सक्छे
समयसँगै.....
यो फूल
यो लहरा ।

बरु,
निर्धक्क स्वीकार्न चाहँदैनन् उनीहरु
आफ्नै अधुरो अस्तित्वलाई
व्यक्त गर्न सक्दैनन् आफ्नो कमजोरीलाई
हे फूल ! तिमीबिनाको आँगन
हे लहरा ! तिमीबिनाको पर्खाल
इ, हेर ! कति शून्य ! कति महत्वहीन छ
त्यसैले,
तिम्रो उपस्थितिमा रमाएर
बुझपचाइरहेका छौ हामी
अनादिकालदेखिको तिम्रो अस्तित्वलाई ।


-हङकङ

Tuesday, April 7, 2009

कबिता





होसियार बुद्धिको मान्छेसँग !

-उदय निरौला
रूखका पातलाई
सडक पेटीलाई
गुमनाम मान्छेलाई
स्पर्श गरिरहेछ
लगातार गुमनाम प्राणलाई
थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह
थाहा भयो फगत हिंसा
क्रोध, घृणा र दुर्गन्ध ।

यहाँ यस्तै हुन्छ
आकाशमा बादल लाग्छ
बर्षात हुन्छ, गाली गर्छ मान्छे
आकाशमा घाम उदाउँछ,
गर्मी बढ्छ
गाली दिन्छ मान्छे
पृथ्वी त्राण दिन्छ तर दुत्कार्छ त्यो प्रेम
यहाँको मान्छे ।

निःशुल्क हावा फेर्छ मान्छे
तर, हावा कैद गर्छ-
राजनीतिक मान्छे
र पैसा तिराउन खोज्छ अबोध मान्छेलाई
निःशुल्क झरना
खोलाको पानी पिउँछ मान्छे
तर, बाँध बाँध्छ
राजनीतिक मान्छे
र, शुल्क असुल गर्छ
हुँदा-हँदा निःशुल्क टेक्न पाइने पृथ्वीलाई
कैद गर्छ राजनीतिक मान्छे
र, कर असुल्छ राजनीतिक मान्छे ।


अबोध चरी हावामा स्वतन्त्र छे
आकाशमा स्वतन्त्र छे
उसको स्वतन्त्रताको आनन्द
चोर्न खोज्छ मान्छे
खासगरी राजनीतिक मान्छे
खासगरी विचारको मान्छे
सबैभन्दा खतरा कोही छ भने
त्यो विचारको धुसा
बाक्लै ओडेको मान्छे-मान्छेलाई खतरा छ ।
वातावरणलाई
जीवनलाई
र, फूललाई खतरा छ !
होसियार विचारको मान्छेसित
होसियार बुद्धिको मान्छेसित !


(साभार: नेपाल )

गजल








-नेपोलियन मरहट्टा
म कत्तिपनि रिसा'को छैन भने त हुन्थ्यो नी,
आँसुले आँखा चिसा'को छैन भने त हुन्थ्यो नि ।

दुईटा नदी भेट भई मिले पनि दोभानमा,
माया त कतै मिसा'को छैन भने त हुन्थ्यो नि ।

मनको बोझ बोक्दा बोक्दै चौतारोमा पुगेपनि,
अझै त्यो भारी बिसा'को छैन भने त हुन्थ्यो नि ।

मैले पत्थर फालेपनि,अन्जानमा तिमी तिर,
मन त मेरो शिशाको छैन भने त हुन्थ्यो नि ।


-चितवन

गजल

-कृण्ण दर्शन
जसरी नि माया लाउँछु भन्छिन उनी
श्रीमती छिन मेरी तर आउँछु भन्छिन उनी

जे गरे नि मलाई पाउनु नै पर्ने
जसरी नि आफ्नो बनाउँछु भन्छिन उनी

म भन्दा पर रंगीन छ दुनियाँ
मेरै लागि जिवन सजाउँछु भन्छिन उनी

अब देखि मेरो हुनु भयो हजुर
जहाँ भेटे पनि लजाउँछु भन्छिन उनी।


- काठ्माडौ

Monday, April 6, 2009

गजल









-आचार्य प्रभा
खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?

रोकिएका पाइलाहरु अघि सार्न खोज्दै
मेरो हात समाई अघि बढ्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?

शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिई डढ्न खोज्यौ कि ?


-अमेरिका

गीत

मैले भुल गरे

-मौलश्री लिम्बु
मैले भुल गरे शायद्,तिम्लाई माया गर्छु भनि
गथासोलाई खोली दिएँ,तिम्रो मनमा सर्छु भनि

पाएँ मैले जवाफमा,शिकायतका लहरहरु

कसरी भो मेरो खुशी,तिम्रो निम्ती जहरहरु
भनुँ कस्लाई अपशोचका,श्रावण भेल तर्छु भनि
गथासोलाई खोली दिएँ,तिम्रो मनमा सर्छु भनि

भरोसा लुटिएर,उल्फत म खजाना भएँ

व्यथाहरु छुपाएर,तिमीबाटै रमाना भएँ
वहाना के नूर झल्काउँ,चेहेरामा छर्छु भनि
गथासोलाई खोली दिएँ,तिम्रो मनमा सर्छु भनि


-झापा
ईमेल: maulshri_limbu@yahoo.com

Friday, April 3, 2009

गजल

-नेपोलियन मरहट्टा
बनको काँढा जस्तै बनाई कलम तिखार्छु मैले,
न त तिम्लाई जित्न दिन्छु,न त बाजी हार्छु मैले ।

घमन्डले अटेरी भै, नियमहरु मिच्यौ भने,
चढेपनि शिखरमा, खुट्टा तानी झार्छु मैले ।

लक्ष्मण रेखाहरु पार गर्न खोज्यौ भने,
तिमी भन्दा ठूलो पर्खाल् बनाएर बार्छु मैले ।

कि त हामी दुबै वारी,कि त दुबै पारी हुन्छौं,
न त आँफु तर्छु खोला,न त तिम्लाई तार्छु मैले ।

टक्कर लिन खोज्नेलाई, ठक्कर् लगाई दिन्छु म त,
झुक्क्याएर जालमा पारी सर्बनास पार्छु मैले ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

Thursday, April 2, 2009

कबिता

हाम्रो देश ..??


-दिलीप योन्जन
धेरै भयो , नलेखेको, देश सम्झी किन ?
के लेख्नु ,मन रुन्छ , नेता देखी किन ?


बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पहाड़ , नरहने भो राष्ट्र भेष।


हुटिटयाउ भई, देश थाम्ने, गिरिजा- देशको नेता
गिद्द र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा।


कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गणतन्त्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।


जनता मरे, देशको नाममा, नेताको भो चैन
बाडी चुडी , खाए देशको बजेट, बनाई आफै ऐन ।


नांगो जनता, गरीब देश, राजा देशको धनी

बिष्णुको अबतार, घर न घाटको, गरे सि मनपरी ।


कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउँ, लागेन कहिले, बादरे नीतिको नेतालाई।


महँगी बड्याछ , आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागि , कुकुर झै लड्छ, नेता भो पागल।


बुद्दको देश, हिन्दु राष्ट्र, सबै भो चकनाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।


सन्धि-सम्झौता, थाहा नहुने, नेपालको बरिष्ठ नेता
कहिले टिस्टा, कहिले टनकपुर,सार्र्या छ देशको सिमाना।


नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोईला जाला।


भाषन गर्छ, नक्कली नाटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाउ घर ,जनतालाई फकाउन।


झोला चपलमा, भेटिने नेताको, काठ्माडौमा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बने दलाल।


देशको लागि , शहीद भयो, भोक-भोकै बाल बच्चा
नपाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।


झुकाई जनता , लुटेर देशलाई, मनायौ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।


भनाभन ,हानथाप मै, अल्झियो देशको राजनीति
पदकै भोका, बदनामी नेताहरुले, के गर्लान देशको प्रगती।



दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।


नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली


कहिले तराई, कहिले भ्याली, बन्द गर टायर बाली
देश जलाई, आगो ताप्ने, हाम्रो नेता कति ज्ञानी


डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिदी
मेरो गोरुको, बाह्रै टक्का , छोडेन भडुवाले लिडे ढिपी ।


प्राडो पजेरो , माडेको घरमा, नेता बिक्यो पैसाको लागि
लाज शरम , सबै चपाए, नेतालाई लाग्यो भोक मारी।


बनाऔ नेपाल, सुन्दर शान्त , बिश्वमा नेपाली चिनाउन
भयो भो युद, एक भै जुट, बनाऔ हामीले नेपाल।


सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाऔ हाम्रो नेपाल।





-अस्टिन , अमेरिका

Wednesday, April 1, 2009

गजल

-सुरेश ज्योतिपुञ्ज
शिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

पराइकै भरमा खाने ठुलै दाउ छ हजुरको,
ल्याउनु भो कति पोल्टामा दाना भरिभरि।

सोचेर हुन्छ कहा फुर्सद अझै उनीहरुलाई,
बुन्न षडयन्त्रको नयाँ ताना-बाना भरिभरि।

झिल्काझिल्का मिली बन्छ राँको आखिरीमा,
आकाशमा हेर जुन- तारा साना भरिभरी।

कसले सुन्ने आवाज सोझो 'ज्योतिपुण्ज' को
बेईमानीकै हुन्छ रे भाउ जमाना छ पाना भरिभरी।


-नुवाकोट
हाल: तामिलनाडु, भारत

Tuesday, March 31, 2009

गजल










-राज लम्साल 'यात्री'
मनलाई तरलतामा ढाल्न नसकिदो रै'छ
पत्थर बनि सके पछि गाल्न नसकिदो रै'छ

हेर्न खोज्छु छैनन् फाट्या तर भित्र छिया-छिया
सङ्गालेर फेरि उस्तै टाल्न नसकिदो रै'छ

चोट त्यति आलो हैन बल्झि रहन्छ पल-पल
दुखेको घाउ मनै मनमा पाल्न नसकिदो रै'छ

अन्धकारले छ्याप्पै छोप्यो मनका चारै कुनाकानी
निभि गाको दियो फेरि बाल्न नसकिदो रै'छ

हिउचुली झै उचालिए पीर ब्यथाका खाटाहरु
जति भारी भए पनि फाल्न नसकिदो रै'छ



-महारानी झोरा-३,झापा
हाल: अबुदाबी,यूएई
फोन्: ०९७१-५५-७०१३६२६

Monday, March 30, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -मार्च २००९


म स्वतन्त्र लेखन नै मन पराउछु । -केदार श्रेष्ठ "गगन"


♣ यहाँलाई साहित्यसागरमा हार्दिक स्वागत छ।
-धन्यबाद छ निश्छल जी।

♣ कहाँ के गर्दै हुनुहुन्छ?
-आफ्नो जिवन बिताउन चाहिने आधारभूत आवस्यकता जुटाउनको लागि यूएईको एउटा प्राइभेट कम्पनीमा काम गर्छु र बाकी रहेको समय अध्यायन र लेखनमा खर्चेको छु।

♣ तपाईको साहित्यिक यात्रा कता तिर जादैछ? अचेल साहित्य क्षेत्रमा तपाईले कसरी सक्रीयता देखाइरहनु भएको छ?
-भने नि निश्छल जी। हामी बिदेशमा छौ । जहा गए पनि मान्छेलाई खानु लाउनु पर्छ । त्यस्को लागि काम गर्नै पर्दछ । त्यसबाट बचेको समय साहित्य तिर खर्चिने गरेको छु । हाल म अन्तराष्ट्रीय नेपाली साहित्य समाज यूएई केन्द्रको केन्द्रीय सदस्य छु । यस अनेसासले आगामी भनौ जयन्तीको अवसरमा गीत,गजल र कबिता सङ्ग्रह निकाल्दैछ । त्यसको लागि गीत, गजल र कबिता सङ्कलन गर्ने काम हुदैछ।

♣ शुरुमा यो साहित्य क्षेत्रमा आउन कसरी प्रेरित हुनु भयो?
-रहरले नै भनु न ।

♣ नेपाली साहित्यको धेरै बिधाहरु मध्ये कुन् बिधामा बढी तपाईले कलम चलाउनु हुन्छ?
-पहिले कबिता बाट शुरु गरे । पछि कबिता सङ्ग सङ्गै गीत,गजल र कथामा पनि मैले आफ्नो कलम चलाउने गरेको छु।

♣ मोफसलको साहित्यलाई राजधानीमा बसेर लेख्नेहरुले खिल्ली उडाउछन् रे। यो सत्य हो?
- हा..हा.. हा.. गजबको प्रश्न सोध्नु भयो निश्छल जी तपाईले त! यसो भनौ-राजधानीमा बसेर लेख्नेहरुले हैन,राजधानीमा बसेर छाप्नेहरुले चाहि पक्कै खिल्ली उडाउछन्।

♣ तपाईलाई साहित्य सिर्जना गर्दा के कस्ता पात्र र बिषयबस्तुले प्रभाब पार्छ?
-लेख्न त काल्पनिक पात्र र बिषयबस्तुमा लेख्ने गरिन्छ तर देखे भोगेकै यथार्थजन्य पात्र र बिषयबस्तुहरुले नै बेसी प्रभाब पार्छन्।

♣ राष्ट्रले स्रस्टाहरुलाई अन्याय गरे जस्तो लाग्छ तपाईलाई?
-त्यसो नभनौ निश्छल जी । बेवास्ता चाहि पक्कै गरेको हो ।

♣ बिश्व साहित्यमा नेपाली साहित्यको स्थान कहा नेर छ?
-उनीहरु दौडन सक्छन् तर नेपाली साहित्य बामे सर्दैछ ।

♣ परिबर्तित नेपालको यो अवस्थामा नेपाली साहित्य कस्तो हुनु पर्छ जस्तो लाग्छ तपाईलाई?
-प्रतिपक्ष हुनु पर्छ किनकी नेताहरुले बाटो बिराउलान् कि भनेर खबरदारी गर्न सक्ने किसिमको हुनु पर्छ।

♣ अहिलेको नेपाली साहित्यमा देशको राजनीति अटेको छ?
-अटेको छ धेर थोर। तर राजनीति पूर्ण रुपमा अटाउनको लागि राजनीति स्थिर हुनु पर्छ।

♣ तपाईको लेखनीलाई कुन् साहित्यको धार वा बादले डोर्‍याउछ?
-सिर्जना गर्नको लागि स्वतन्त्र हुनुपर्छ। जति स्वतन्त्र हुदा सिर्जित सिर्जना खुलेको हुन्छ, त्यति नियम र बन्धनमा बधिएर लेखिएको सिर्जना खुलेको हुदैन जस्तो लाग्छ मलाई । त्यसैले म स्वतन्त्र लेखन नै मन पराउछु ।

♣ अहिले सम्म तपाईले पढ्नु भएको कृतिहरु मध्ये कुनै कृति छ जसले तपाईको मन छुन सफल भयो र किन?
- अ... थुप्रै छन्। रुपमति,मुनामदन,बसाइ,राष्ट्र निर्मता, मुटुको ब्यथा जस्ता कृतिहरुले मेरो मन छोएका छन्। यसको बिषयबस्तु र पात्र छनोट उत्कृष्ट छ ।

♣ एउटा सर्जकले एउटै रचना बिभिन्न वेबसाइटहरु र पत्रपत्रीकाहरुमा छपाउनुलाई साझा पाठकहरुले कसरी हेर्छन् जस्तो लाग्छ तपाईलाई?
- सामान्य रुपमा हेरिनु पर्छ । पाठकको लागि सर्जकले लेख्छ । एउटा सर्जकको धेय हुन्छ आफ्नो रचना धेरै भन्दा धेरै पाठकहरुले पढ्न पाऊन्।

♣ तपाईको प्रकाशित कृतिहरु नि?
'जिन्दगीका अनुभूतिहरु','सपनाको सन्सारबाट नियाल्दा','क्षितिज पर' मेरो प्रकाशित भैसकेका कृतिहरु हुन्।

♣ साहित्य के हो तपाईको बिचारमा?
- एकै शब्दमा भन्नु पर्दा ज्ञानबर्द्दक खुराक।

♣ समग्र नेपाली साहित्यमा डायोस्परिक साहित्यले कस्तो भूमिका खेलेको छ भन्ने लाग्छ तपाईलाई?
-एकदमै ठूलो भूमिका खेलेको छ ।डायोस्परामा बस्ने स्रस्टाहरुले लेखेका पुस्तकहरु पनि नेपाली भाषा साहित्यलाई केही दिन सक्ने खालका छन् ।

♣ तपाईको भाबी लक्ष्य र योजना के छ?
-'मेरो अनलाईन साथी प्रीतिका' (कथा सङ्ग्रह) र 'आफ्नै भूमिलाई सम्झिएर' (कबिता सङ्ग्रह) प्रकाशन गर्ने सुरमा छु। अरु खासै त्यस्तो केही छैन ।

♣ अन्तमा तपाई पाठकहरुलाई के भन्न चाहानु हुन्छ?
-नेपाली साहित्यलाई माया गरौ। नेपाली लेखकले लेखेका पुस्तकहरु किनेर पढिदिनुस् र आफ्नो प्रतिकृया दिई साहित्यकार र साहित्यलाई मलजल गरिदिनु हुन आग्रह गर्दछु।

Sunday, March 29, 2009

गजल










-कुसुम ज्ञवाली
भोकभोकै बस्नुपर्छ, एक्लै सबै खान्छु भन्दा
उल्टै लाग्छ आफैंलाई, अरुलाई हान्छु भन्दा

निर्दोशलाई बाँध्न खोज्दा , आफ्नै खुट्टो नेलमा पर्छ
आफ्नै जमिन धस्किने छ , सबको खुट्टो तान्छु भन्दा

पराजय निश्चित छ, वैर गर्र्यौ सबै सित
भासिने छौ तिमी आफैं, एक्लै पहाड थाम्छु भन्दा

अति गरे खति हुन्छ, भन्थे बुढापाकाहरु
समयले खोस्छ सधै, एक्लै सबै लान्छु भन्दा

बन्दुकले जित्ने हैन, मन जित्ने ठूलो मान्छे
आफ्नो सीमा तोक आजै, जनताले मान्छु भन्दा


-काठमान्डौ

Saturday, March 28, 2009

गीत










ननिभ्ने दिप

-दिलिप योन्जन
ननिभ्ने दिप हो, हाम्रो माया प्रिती
हासी-हासी जिबन बिताउ, मरे हुन्छै मिटी।

दु:ख सुख जिन्दगीको, जिउने मिठो आधार
जन्म-जन्म रहन्छ माया, इतिहास भै अमर
नसुक्ने खोला हो, हाम्रो प्रेम कहानी
हासी- हासी जिबन बिताउ, मरे हुन्छै खरानी।

माया ठूलो संसारमा, हिरा मोती भन्दा
मरेर नि बाचेका छन् , मायामा ज्यान दिदा
नरोकिने यात्रा हो, युगै युग भरी
हासी-हासी जिबन बिताउ, लानु के छ मरी।


-अस्टिन , अमेरिका

Thursday, March 26, 2009

गजल









-नेपोलियन मरहट्टा
१)
बहकिने मनको पनि बह फरक भएपछी ,
बराबर हुन्न आँसु गह फरक भएपछी ।

देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ,
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछी ।

रस खाई मौरी पनि भुल्दो रैछ फूललाई,
हरेक फूलै पिच्छे उस्को मह फरक भएपछी ।

मेरो मन्ले तिमी भित्र सकेन है पौडी खेल्न,
तिम्रो मन्को दह भित्र रह फरक भएपछी ।

ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
नजोडीदो रैछ मन तह फरक भएपछी ।

२)
कार्यालय भित्र फाइल रोक लागेपछी,
पास गर्छ हाकिमले भोक लागेपछी ।

काम हुन्छ तपाईंको,खल्ती छाम्नु भयो भने,
अड्किदैन त्यस्को हातको तोक लागेपछी ।

सुन खान पायो भने नून बिर्सिदिन्छ उस्ले,
होटेलमा व्हिस्की,बियर,कोक लागेपछी ।

सजिलो छ, हामीलाई पनि आज भोली,
कानूनको ठेली उस्लाई जोक लागेपछी ।

जात,धर्म,ईमान,जमान,पैसा जम्मा भई
के हुन्न र ? एकै ठाउँमा सबैथोक् लागेपछी ।



-चितवन
ईमेल: nepoleon_b@yahoo.com

कबिता













नयाँ वर्ष

-केदार श्रेष्ठ 'गगन '
पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न
एक खुडि्कलो उक्लियो जीवन

वेहुली अन्मिएको घर मन
प्रत्येक आफ्नो बुढ्याईसँगै
सृजना गरिरहेछ नयाँ–नयाँ संस्मरणात्मक कृतिहरु
र अभाव अनुभूति गरिरहेछन् आँखाहरु

प्रत्येक वसन्तसँगै उपस्थित हुने नयाँ वर्षलाई
देखेजस्तै मान्छेले
खै! कहिले देख्लान्
पूरा भएको यी आँखाहरुले
उसले बनाउदै गरेको अमूर्त चित्र

पशुपति र रत्नपार्कको छेउछाउमा
हात पसारेर बस्ने
मान्छेहरुको पेटभरि अन्न,
आँखाभरि सपना पाल्दै
भारी बोकेर जीवनभरि
पिठ्यू रित्तै देखाएर हिड्ने
भरिया दाइको आङ्गभरि लुगा
र परदेशिएका मायालुहरुको खोजीमा गाइने
असिमित गीतहरुको अन्तिम अन्तरा ।


-भीमस्थान- ५, सिन्धुली
हाल: युएई


संस्मरण

घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म

-डा.रामराज पन्थी
फागुनको तेस्रो हप्ता हाम्रो टोली ऐसेलुखर्क स्वास्थ्य शिविरमा जाने निधो भयो । खोटाङ्गको बसाई बल्ल १ वर्ष व्यतित भएको थियो । मनमनै त्यस ठाउँमा पुग्ने कल्पना त गरेको थिए तर बिना कार्यक्रम निस्कन ज्यादै गाह्रो । संयोग गर्दा जान पाइयो । हाम्रो ८ जनाको टोली दिक्तेलबाट अगाडि बढ्यो । यो भौगोलिक रमणिय खोटाङ्ग मनमोहक डाँडा पाखा पहिलो उकालो काट्नु साँच्र्चै चानचुने होइन । मेरो मानसपटलमा घनघस्याको उकालो नाचिरह्यो ।

मलाई साथीको सल्लाह ठिकै लाग्यो । मुढेको जाडोको राम्रो बन्दोबस्त नगरेको भए चिसोले मुटुनै हल्लाउला जस्तो भएको थियो । मैले बाक्ला लुगा, झोलामा कोचेको थिए । यो ठाउँ साच्चै दिक्तेलको उचाईमा रहेको रमणीय बौद्ध धर्मावलम्बीको ध्वजा पटाकाले स्वागत गरेको जस्तो भान पर्दथ्यो । पाखा पखेरा राम्रो देखिए पनि मुढेको उब्जाउ मुख्य आलु रहेछ । यहाँक्ो लेकाली आलुको वर्णन सुनेको थिए । हामीहरू यहाँ थोरै विश्रामपछि चिया पिएर अगाडी बढछौ । माक्पाको वास करिब करिब निधो भए तापनि हामीसँग रहेको मित्रले जालपा हुादै जाँदा निकै राम्ररी हिँड्नु पर्ने सुझाव दिइसकेका थिए । रुपाकोट डाँडो झट्ट हेर्दा चिया बगान जसतो देखिने तल नागबेली सकडमा गाडी ओहोर दोहोरले गर्दा दार्जीलिङ्गको सम्झना हुने । यहाँबाट चाँदी जस्तो टल्कने चित्राकर्षक हिमालहरू झन सामिप्य भए जस्तो लाग्थ्यो । यी सेताम्य अटल हिमाल सायद खोटाङ्ग जिल्लामा पर्दैनन् क्यार अर्का सहभागी साथीले अथ्र्याए । यसरी हामीहरू जाल्पाको बाटो ओरालो लाग्यो । जाल्पा पुग्दा झण्डै साँझ बिजुलीको पिलपिले उज्यालोले मेरो मन हषिर्त बनायो । स्थानीय व्यक्तिहरूको सामूहिक प्रयासले गर्दा यो श्वेत कोइलाको मिमिर्रे प्राय स्थानियका घरमा देखिन्थ्यो । बाटो अप्ठ्यारो भएपनि स्कुल, चौतारी, धारो, पानी सबैले गर्दा मलाई कास्ीको ह्यान्जाको संझना आयो । जहाँ म २०४७ सालतिर भाईलाई भेटन गएको थ्उि । तावाखोलाको झोलुङ्गपुल तरेर गणेशजीको घरमा त्यस दिनको रात बित्यो ।

यहाँबाट बिहानै हिँड्ने योजना बनाएअनुसार चिया पिएर सबै जना माक्पाको उकालो लाग्यौं । स्थानीय व्यक्तिहरू यस ठाउँबाट एैसेलुखर्क २ घण्टामै पुग्न सक्ने रहेछन तर हामीलाई भने २ घण्टामा पार गर्न निकै हम्मे पर्ने भयो । केही समयपछि नै तिर्खाले सतायो धारोमा प्यासको धित मायौ र त्यसपछि माक्पाको आधी उकालोमा पुग्ने पहिलो प्रयत्न गर्यौ । हामी सिस्टरहरूसँग भएकोले पनि हिडाई सहज भयो । त्यस विहान मेनुका राई कहाँ पुग्नु थियो बल्ल बल्ल पुग्यो । हाम्रै स्टाफ भएकोले परिवारमा घुलमिल हुन बेर लागेन । हल्का विश्रामपछि बिहानीको खाना त्यहाँ खाएर हामी माक्पाको बाक्लो बस्तीमा पुग्यौं । त्यहाँ उच्च मा। वि., हुलाक, हेल्पो पोटार मन्दिर आदिले हामीलाई कता कता बजारको अनुभव गरायो । त्यस ठाउँमा समाजसेवी दानविर क्या. मानबहादुर राईलाई पनि भेटयौ । उहाँ मेरा पिता तुल्य व्यक्ति साह्रै मिजासिला र दृढ ईच्छाशक्ति भएको पायौं ।


हामीहरू ठाडै उकालो लाग्दै चौतारीमा बस्दै पानी खादै क्यामेरामा अनुहार कैद गर्दै साच्चै ऐसेलुखर्क आई पुग्यौं । यो ठाउँ २०।२२ साल तिर सोलुखुम्बु जिल्लाको सदरमुकाम रहेछ । हेर्दा दोहोरो मिलेका ढुङ्गे छानो र कमेरो र रातो माटोले पटुका कसेका घरहरू देख्दा मलाई मेरै गुल्मी जिल्लाका घरहरूको झझको आयो ।

हामीहरू २ दिन लगाएर आएको यो स्थानको वर्णन गर्न गाह्रो छ । हामीले दिक्तेलबाटै देखिने केही हिम चुचुराहरू जे जस्तो अवस्थामा देखिन्थे यहाँबाट पनि सोही अवस्थामा अर्थात सम दुरि जस्तो लाग्दा अचम्म लाग्यो र मेरा मनको भ्रम हिमालको काखैमा छु भन्ने हटेर गयो । करिब २०७० मि। को उचाईमा रहेको यो रमणिय ठाउँ जाडो भने ज्यादै बढि महसुस भयो । हाम्रो प्रतिक्षामा रहनु भएका विशेष गरि लोक नेपालका अध्यक्ष धनकुमार राई लगायत स्थानीय संघ सस्थाका व्यक्तित्वसँग भेट हुँदा न्यानो अनुभव भयो । चार दिनका आँखा एवं स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरको प्रारम्भ भोलीदेखि हुने कुरा प्रचार प्रसारको माध्यमबाट थाहा नै थियो । शिविरको तैयारी पूरा भएको हामीले पुग्दा खेरि नै थाहा पायौं । श्री त्रिभुवन उच्च मा. वि. को प्रागणमा सञ्चालन भएको पाइयो । हाम्रो टोलीसँग आँखा अस्पतालको टोलीको भेटपश्चात निकै खुसि लाग्यो । टोलीका साथीहरू आˆनो आˆनो धुनमा रहेको देखे पनि मलाई भने प्राकृतिक सौन्दर्यले आकषिर्त गराई रहृयो । हिमाली भाग वनपाखा जीवनशैली साह्रै लोभलाग्दो थियो । विधिवत कार्यक्रम सुरू भएपछि चार दिनमा हामीले करिब १५०० जनाको स्वास्थ्य परीक्षण गर्‍यौँ ।

हाम्रो स्वास्थ्य शिविर पनि महिला प्रजनन सम्बन्धी बढी केन्दि्रत हुने निधो भएको थियो । त्यसै कारणले होला हामीले महिलालाई जे जस्तो समस्य भइ पनि पाठेघरसम्बन्धी समस्यालाई कहिलै सोध्न छोडेनौँ । यो ग्रामीण भेगका अधिकांश महिलाहरूमा पाठेघरको समस्या रहेको देखियो । लजालु स्वभावका यहाँ महिलाहरू अधिकांश साँझ र घरायसी कामको बोझले गर्दा आˆनो स्वास्थ्यसम्बन्धी हेरचाह गरेको देखिएन पाठेघर आङ्ग खस्ने मुख्य कारणहरू-धेरै सन्तान जन्माउनु, जन्मान्तर थोरै समय हुनु, प्रसूति कालमा आराम तथा राम्रो आहार नहुनु, सुत्केरी स्वास्थ्य संस्थामा नगराई परम्परागत किसिमले घरैमा गराउनु, धेरै बोझिलो -गह्रौ) भारी बोक्नु, घरका परिवारजनबाट काममा सहयोग नपाउनु, शारीरिक रोज जस्तै दम, खोकी लाग्नु र सूर्तिजन्य पदार्थको सेवन गर्नु आदि कारणले गर्दा आङ्ग खस्ने समस्यालाई स्थानीयस्तरमा हामीले ठयाक्कै मेल खाने कुरा पायौ । ज्यादै दयनिक स्वास्थ्य अवस्था हुँदा मात्र बल्ल तल्ल दिक्तेलअस्पतालसम्म पुगेको पाईयो । हामीले अस्थायी आङ्ग खस्ने समस्याको समाधान रिङ्ग राखेर र स्वास्थ्य शिक्षा दिएर कर्तव्य पूरा गरेको महसुस गर्‍यौँ तर यहाँ काम गर्न धेरै बाँकी रहेको छ ।

छोटो अवधिमा लोभै लाग्दो वातावरणमा हामीले वडो सहज किसिमले शिविर सम्पन्न गर्‍यौँ । यसको व्यवस्थापन मूलतः लोक नेपाल, स्थानीय हेल्पिङ्ग हेण्डस, उद्योग वाणिज्य सङ्घ र राजनैतिक कर्मीहरूले लिएका रहेछन् ।

यही क्रममा स्थानीय आमाबुवासँग पनि चिनापर्चि गर्ने मौका मिल्यो । यो रमणीय ऐसेलुखर्क साँच्चै सगरमाथाको काखमा दुध कोशीले सिमांकन गरी लमतन्न परेको छ । यहाँका अधिकांश व्यक्तिहरूको चाहाना मोटर बाटो र बिजुलीको भरपर्दो व्यवस्था रहेछ । साँच्चै यो ठाउँ विगतमा सोलु, सल्ले, फाप्लुसँग व्यापारिक नाका रहेछ । यो चहलपहल अहिले ज्यादै न्यून रहेको स्थानीयबासिन्दा बताउँछन् ।

विगत १०-१२ वर्ष जन युद्धको चपेटमा यो ठाउँ पनि अछुतो रहेनछ । सायद ६०-६१ साल तिरको दोहोरो भिडन्तको त्रासदि ऐलेसम्म पनि बिर्सन सकेका छैनन ऐसेलुखर्कबासीहरूले । त्यो भीडन्तमा कैयौँले ज्यानै गुमाए तर कसैको पनि हारजित भने भएन भन्छन् बृद्ध बुवा आमाहरू । किन भने जसको ज्यान गयो जताको भए पनि नेपाली नै थियो/हाम्रै दाजुभाई थियो । त्यसैले सम्झन्दै आँखा रसाए एक महिलाका ।

हाम्रो बिदाई हुने कार्यक्रम पहिले नै तय भएको थियो । हाम्रो यात्रा भरी राताम्य लालीगुराँसका फूलले गला सजिएका र अविरले राता अनुहार रङ्गिएको अवस्थामा हामीले गला अवरुद्द पार्दै बिदा लिने भयौँ । शिविर कार्यको जनसमुदायले मुक्तकण्ठले प्रशंसा गरे । फेरि पनि यस्तै कार्यक्रम लिएर तपाईहरू माझ रहने बाचा पनि गर्‍यौँ । हाम्रो गन्तव्य एकमन सोलुतर्फ लाग्ने कि भन्ने दोधारमा पनि थियो तर ज्यादै चिसो र असिनासहितको वषर्ाले गर्दा बिना पूर्व तयारी हाम्रै टोली अगाडी बढन सकेन र अन्ततोगत्वा पुरानै पदचापलाई पच्छयाउदै हामी दिक्तेल तर्फ नै हानीयौ ।

अब हामीलाई जाल्पाको उकालो ठूलो चुनौती बनेर पर्खेको थियो । हामीले बिहानीको सुर्योदयसँग पुरै उकालो सकी हाल्यौँ । यसरी आठौँ दिनमा दिक्तेलमा आइ पुग्यौँ ।

यस जिल्लामा पर्यटन व्यवसायको सम्भाव्यता प्रचुर छ । पूर्वको पशुपतिनाथले चिनिने प्रसिद्ध हलेसी महादेवस्थानको परिचय आफँै प्रयाप्त छ । त्यस्तै अति अग्लो पहाड त्याम्के । वराहा पोखरी व्यवस्थित गर्न सकेमा आन्तरिक एवं वाहृय पर्यटनको विकास हुने थियो । यहाँका हस्तकला एवं अन्य साना तिना घरेलु उद्योगले समेत आर्थिक टेवा पुग्न सक्ने थियो ।

खोटाङ्ग जिल्लाको जुनसुकै भागमा गए पनि प्राकृतिक रमणिय छ तर सबै ठाउँमा यातायातको व्यवस्था छैन । यदि यातायातको समुचित व्यवस्था भई दिएको भए नेपालको राम्रो आकर्षक जिल्ला बन्ने कुरामा दुईमत छैन । यहाँबाट दक्षिणतर्फ बग्ने अनेकन खोला नालाबाट बिजुली निकाल्न सकिने हो भने साच्चै सबैको घर झुपडीको मुहार फेरिने थियो । बिजुलीबाट उद्योग कलकारखानाहरू खुल्ने थिए र यहाँका जीवनस्तर माथि उठ्ने थियो । यद्यपि यहाँका युवाहरू वैदेशिक रोजगारीतर्फ आकषिर्त छन् तर स्वदेशमै काम पाउँदा कसलाई पो जान मन लाग्थ्यो र ?

(साभार: गोरखापत्र )

कथा

वसुधा

-विद्या सापकोटा
सेता भित्ता सेता पर्दा र सेता वेडहरु । सेतै कपडा पहिरेका डाक्टर नर्सहरुको आहोरदोहोर । यो सेताम्मे संसार अर्थात अस्पताल कहिलेकाही आफै भुत बनेर तर्साउँछ । पाकेका, दुखेका, पोलेका,छटपटीका , वेचैनीका अनेक भित्रि बाहिरी रोगहरुले दर्दनाक बनाएको हुन्छ वातावरणलाइ । यसैविच बसुधा पल्टिएकी छ । एउटा बेड भरेर अर्थात अस्पताललाइ पुर्णता दिलाएर । यहाँको बसाइ कसैको लागि पनि सुखद हुदैन तथापी रोग निवारणको लागि सुन्दर भविष्यको प्रतिक्षामा राम्रै मान्नुपर्छ । हुन त वसुधाको यो अस्पताल बसाइ पहिलो पटक होइन । उसले जीवन भोगाइको एक चौथाइ समय अस्पतालभित्रै विताएकी हो तर किन हो यसपटक उसको छटपटी बढेको छ तर किन कसैले अन्दाज लगाउनै सकेको छैन बोलक्कड बसुधा यसपटक चुपचाप निराश र मायालु देखिएकी छ । डाक्टरहरुको अनुसार उनको पेटमा खरावी देखिएको छ र चाडै निको हुन्छ पनि । उसको अनुहार आशाले कहिलेकाही उज्यालिन्छ र ऊ अस्पतालका सिलिङ्गहरु गन्न थाल्छे ।

"तिमी उता जाऊ यो महिलाहरुको वार्ड हो ।" वार्डमा हल्लाखल्ला मच्चिएको छ । झुस्स दारी, बिग्रिएको फोहर कपाल, दुब्लो शरिर सेतो पट्टी बाधिएको टाउको एउटा विचित्रको शरिर उताउता दैडिरहेकोछ । केही हराए झै कुनै खोजिकर्ता झै । सुने अनुसार उसको दिमागी हालत ठिक छैन त्यसैले यो विचित्रको मानव शरिर लापरवाह ढंगले कसैलाइ नटेरी दौडिरहेकोछ । वार्डका सम्पुर्ण शक्ति नस्र कुचिकार विरामी कुरुवा लगाएर उसलाइ बाहिर निकालिदैछ । सबै विरामी उसैलाइ हेरेर डराइरहेका छन् । अस्पतालको भित्ता थर्कने गरी 'बाहिर जा' भन्दै झम्टिरहेका छन् । बसुधा एकनाससँग हेरीरहेकी छ कुनै प्रतिक्रिया विना ।

बसुधाको अप्रेसन भनिएको छ । आफन्त र चिनजानकाहरुको आउनेजाने क्रम बाक्लिएकोछ । वसुधा हरेक कुरामा फिस्स हाँसेर सकेसम्म नबोल्ने यत्नमा लागेकी छ । सायद उ कुनै कुरा वा केहीको प्रतिक्षामा छे । उसलाई जान्नेहरु अचम्ममा परेका छन् उनको परिवर्तित व्यवहारले । डाक्टर नर्सहरुको ओहोरदोहोर बढिरहेकोछ । एकदम चुपचाप छे ऊ ।

बसुधा सर्घषशील नारी हो । जीवनका अनेक रंग भोगेकी छ देखेकी छ उसले । त्यसैले त ऊ सधै हौसला साहस र प्रेरणा बन्थी सबैको । सबैसँग रमाइलो गर्ने बानी थियो उसको तर आजकल ठिक विपरित देखिदै गएकी छ ऊ । उसले यसै अस्पतालको बेडहरुका जीवनका उर्वर समयहरु कटाएकी थिई । अहिले त उसको पेटमा सानो समस्या मात्र देखिएको हो पहिले गरिएका अपं्रेसनका अगाडी । तर किन हो उ आत्तिएकी छ निन्याउरिएकी छ, कायल बनेकी छ । डाक्टरहरुले उसलाइ अप्रेसन थिएटरमा ल्याउन भनिसकेका छन् उ पटक्क मानिरहेकी छैन । सबै चिन्तित देखिएका छन् । बल्लतल्ल हजार प्रश्नहरुको उत्तर फ्याकी उसले "शलिल आउछ अनि ।"

शलिल उसको भदा । उसका दाइ भाउजु भदा भदैनी सबै आइपुगिसके शलिल बाहेक । शलिललाई होस्टल राखिएकोछ राम्रो पढाइको लागि । ऊ आएन, एउटा बच्चा आएन भनेर अप्रेशनै रोक्नु के काइदा हो सवैजना सम्झाइरहेका छन् । ऊ चुपचाप टारीरहेकी छ । उसकी भाउजु पनि अजिवकी छ । दुइ ओटी छोरी र अर्को लाठे छोरालाइ आफुसँगै राखेर कान्छो छोरोलाइ कसरी होस्टलमा राख्न सकेकी हो ? फेरी त्यति वास्ता पनि गर्दिन । त्यहाँ यदाकदा कुरा निस्किरहेको छ आफ्नै आमालाइ त चासो छैन यो फुपु भनाउदीले किन मरिमेटेकी हो ? फेरी अप्रेशनै नगर्ने यो कत्रो प्रतिक्षा हो ? तर बसुधालाइ यस्ता टिप्पणीप्रति कुनै चासो नै छैन । उ यन्त्रवत सुनिरहेकी छ मात्र सुनिरहेकी छ ।

बसुधा गाँउको स्कुलमा पढ्थी । बाबु सानैमा वितेकाले आमा र दाजु सँगै दुखसुख गर्दै उ हुर्किइ । पछि दाजुहरु शहर पसे, उतै घरजम गरे, गाउँबाट हराए उ आमासँगै थिइ । गाउँगाउँमा क्रान्तिको लहर उठ्दै थियो । मुक्तिका पाठ भट्ट्याइन थालेको थियो । यहि लहरमा होमिएर ऊ छापामार बनि । कठिन कठिन घडिसँग लड्नको लागि छापामार हुनु कुनै खेल होइन तर उ तयार भइ र भुमीगत भइ । केही समयपछि उसले ''जनतान्त्रिक विवाह' गरि भन्ने हल्ला चलेको थियो । जनयुद्धका कथाहरु लम्बिदै गए । मुत्यु, हत्या, अपहरणका लामहरु तन्किदै थिए । एकाएक बसुधा पार्टि नै छाडेर काठमाडौं पसि । अनेक श्रृखलित विश्रृखलित मार र पिडामा पेलिएर आमाको पनि मृत्यु भयो । त्यसपछि त बसुधाको कुनै अत्तोपत्तो गर्नेपनि कोही बाकि रहेन । उसले विहे गरेकी हो कि होइन भन्नेसम्म पनि कसैसँग किटानी थिएन । उ दाजुभाउजुसंगै बस्छे रे भन्ने सम्म मात्र सुनियो ।

त्यससछि बसुधा बसुधा कै रुपमा स्थापित भई अर्थात सानेतिनो काम गरेर जीवन घिसार्दै गई । न उसले कहिल्यै आफ्ना यौवनका कुराहरु कसैसँग बाँडी न त जनयुद्धका क्षणहरु सघर्ष र कठिनाइहरु कसैलाइ सुनाइ तर रमाइलो गर्थि भिन्न तरिकाले । ऊ बेलाबखत बिरामी परिरहन्थि । एकपटक उ आफैले बोकेको राइफल पड्केर आन्द्रै सम्म प्वाल पारेको थियो । बुच्ने आशै थिएन तर उ बाँची भगवानले बचाए भन्नुपर्छ । आफ्नो कोही नभएर पनि उ सधैं परिश्रम गर्थी ।

किन यसरी घोटिएकी भन्ने सवालमा "मेरो भविष्यको लागि । मेरो आफ्नै भविष्यको लागि ।" उसको रेडिमेड उत्तर आउथ्यो ।
'लालसलाम ! कमरेड ।"
"अँ के छ हाम्रो क्षेत्रतिर अनि हाम्रो रोडम्यापको खबर नी " वार्डभरी फेरी हल्लाखल्ला मच्चिएकोछ ।
"तँ उ ता जा भनेको । "
"कस्तालाइ अस्पतालभित्र पस्न धौ होला त्यो पालेको टाउको फुटाउनु पर्ने । "
"के भर यस्तो भा' होला ?"
"यसलाइ त मैले सडकतिर कराउदै हिडको पो देखेको थे । "
"अस्पतालमा बस्नै डर लाग्यो । " अस्पतालका हरेक बेडहरु एकाएक पोखिइरहेका थिए ।
ताली ताली । अव हामी अर्का कमरेडको प्रतिक्षा गरौं । "
वीर हस्पिटलको फिमेल सर्जिकल वार्ड फेरि डगमगायो । कारण अघि कै अजिव विरामी लालसलाम गर्दै हालखबर सोध्दै बेडबेड चहारीरहेको थियो । बसुधाले पनि एकपटक त्यस अनौठो विरामीलाइ हेरी अनि आखा चिम्लदै कुना पट्टि फर्किइ । बसुधाको अप्रेशन स-यो ।

भोलिपल्ट बसुधा झन् निन्याउरीएकी थिई । डाक्टरहरुले टाउको छामे । थर्मोमिटरले ज्वरो नापे, स्टेथेस्कोपले ढुकढुकी सुने । विल्कुल सामान्य थिइ ऊ पेटको थोरै दर्द बाहेक । अनायासै "मलाइ पेट होइन छाति दुखेको छ" भन्न थाली ऊ । डाक्टर अचम्म परिरहेका थिए । उ भयभित हुदै "त्यो मान्छे कता गयो?" सोधिरहन्थि । कुनापट्टी फर्केर आशु पुछिरहेको पनि देखियो ।

"शलिल मेरो बाबु ।" ऊ बर्बराउन थालेकी थिई । अव भने आफन्तहरु पनि बसुधाको छातीमै खरावी छ की भनेर डराउन थालेका थिए । भुतभुताउदै आत्तिदै उसकी भाउजु शलिललाइ लिन होस्टलतिर दगुरी । उपस्थितहरुकावीच मौनता छायो । डाक्टरहरु पनि भिन्न परिस्थिती सृजना हुन पुगेकोले जिल्ल परेका थिए । ऊ झन्झन् बर्बराउन लागि ।
"त्यो मान्छे खै त्यसले केही खायो शलिल आएन अनि तपाईहरु किन एकोरिहिनुभएको नी म ठिक छु । मेरो छाती पोल्न कम हुदै गएको छ ।" ऊ यस्तै-यस्तै बर्बराइरहेकी थिइ ।

त्यो कमजोर अलौकिक मान्छे आफ्नो जीर्ण शरिर र बेमतलवी चालचलन लिएर बेलाबखत अस्पतालको खास गरेर त्यो सर्जिकल वार्ड भित्र पसेर बखेडा मच्चाइरहन्छ । यसपटक त उसलाइ निकाल्न झनै गाह्रो परिरहेको छ कसैको कुरा सुनिरहेको छैन ।

"मेरो मुक्ति यही हुनुपर्छ । मेरो जीवनको सार्थकता यहि भित्र हराएको छ पत्ता नलगाइ म जान्न । " उ अडिग । केही नलागेर प्रहरी गुहारिएकोछ उसलाइ बाहि-याउन । विरामी कुरुवा अझ भनौ अस्पताल पुरै अनौठो सन्त्रास विच गुजि्ररहेको छ । सवै अत्तालिएका छन् । हडवडाएका छन् । उता बसुधा छाति थिचेर कराउन थालेकी छ । राधाले शलिललाइ लिएर आइपुगिसकिछन् । शलिललाइ देखेर बसुधाका आखा धपक्क बले । अनायसै खुम्चिए पनि त्यस मान्छेको मनोदशामा । जे होस विस्तारै ऊ आफन्तहरुसँग कुरा गर्न थालेकी थिइ ।

पर्सिपल्ट बसुधा आनन्दित मुद्रामा निदाइरहेकी थिइन् । बच्चो शलिल एउटा टुक्रो कागज लिएर दौडिरहेको थियो । जहाँ लेखिएको थियो - "मेरो भविष्य ! छाति यति पोलिरहेको छ की लाग्दैछ अव म बाँच्दिन । जीवनको सत्यता लुकाएर जाँदा मेरो आत्मा पनि छट्पटाउने छ । हुनत अहिले तिमी केही बुझ्दैनौ बुझ्ने बेलामा सायद म तिमीसंग रहन्न । त्यसैले जादाजादै तिमिलाइ त्यो सत्यता नबताइरहन सकिन । तिमी मेरो छोरा हौं मेरो आफ्नो रगत………। अनि अर्को भयानक सत्यता तिम्रो बाबु त्यो व्यक्ति हो जो मुक्ति खोज्दै होस गुमाएर घुमिरहेको छ । मलाइ माफ गर मेरो बाबु ! म जादैछु सदासदाको लागि तिमी र तिम्रो अभागि बाबुभन्दा धेरै टाढा ।

-तिम्ले एकपल्ट पनि नपुकारेकी "तिम्री अभागी आमा"


-कल्याणपुर ७, नुवाकोट
हाल: शंकरदेव कलेज काठमाडौं