Monday, March 30, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -मार्च २००९


म स्वतन्त्र लेखन नै मन पराउछु । -केदार श्रेष्ठ "गगन"


यहाँलाई साहित्यसागरमा हार्दिक स्वागत छ।
-धन्यबाद छ निश्छल जी।

♣ कहाँ के गर्दै हुनुहुन्छ?
-आफ्नो जिवन बिताउन चाहिने आधारभूत आवस्यकता जुटाउनको लागि यूएईको एउटा प्राइभेट कम्पनीमा काम गर्छु र बाकी रहेको समय अध्यायन र लेखनमा खर्चेको छु।

♣ तपाईको साहित्यिक यात्रा कता तिर जादैछ? अचेल साहित्य क्षेत्रमा तपाईले कसरी सक्रीयता देखाइरहनु भएको छ?
-भने नि निश्छल जी। हामी बिदेशमा छौ । जहा गए पनि मान्छेलाई खानु लाउनु पर्छ । त्यस्को लागि काम गर्नै पर्दछ । त्यसबाट बचेको समय साहित्य तिर खर्चिने गरेको छु । हाल म अन्तराष्ट्रीय नेपाली साहित्य समाज यूएई केन्द्रको केन्द्रीय सदस्य छु । यस अनेसासले आगामी भनौ जयन्तीको अवसरमा गीत,गजल र कबिता सङ्ग्रह निकाल्दैछ । त्यसको लागि गीत, गजल र कबिता सङ्कलन गर्ने काम हुदैछ।

♣ शुरुमा यो साहित्य क्षेत्रमा आउन कसरी प्रेरित हुनु भयो?
-रहरले नै भनु न ।

♣ नेपाली साहित्यको धेरै बिधाहरु मध्ये कुन् बिधामा बढी तपाईले कलम चलाउनु हुन्छ?
-पहिले कबिता बाट शुरु गरे । पछि कबिता सङ्ग सङ्गै गीत,गजल र कथामा पनि मैले आफ्नो कलम चलाउने गरेको छु।

♣ मोफसलको साहित्यलाई राजधानीमा बसेर लेख्नेहरुले खिल्ली उडाउछन् रे। यो सत्य हो?
- हा..हा.. हा.. गजबको प्रश्न सोध्नु भयो निश्छल जी तपाईले त! यसो भनौ-राजधानीमा बसेर लेख्नेहरुले हैन,राजधानीमा बसेर छाप्नेहरुले चाहि पक्कै खिल्ली उडाउछन्।

♣ तपाईलाई साहित्य सिर्जना गर्दा के कस्ता पात्र र बिषयबस्तुले प्रभाब पार्छ?
-लेख्न त काल्पनिक पात्र र बिषयबस्तुमा लेख्ने गरिन्छ तर देखे भोगेकै यथार्थजन्य पात्र र बिषयबस्तुहरुले नै बेसी प्रभाब पार्छन्।

♣ राष्ट्रले स्रस्टाहरुलाई अन्याय गरे जस्तो लाग्छ तपाईलाई?
-त्यसो नभनौ निश्छल जी । बेवास्ता चाहि पक्कै गरेको हो ।

♣ बिश्व साहित्यमा नेपाली साहित्यको स्थान कहा नेर छ?
-उनीहरु दौडन सक्छन् तर नेपाली साहित्य बामे सर्दैछ ।

♣ परिबर्तित नेपालको यो अवस्थामा नेपाली साहित्य कस्तो हुनु पर्छ जस्तो लाग्छ तपाईलाई?
-प्रतिपक्ष हुनु पर्छ किनकी नेताहरुले बाटो बिराउलान् कि भनेर खबरदारी गर्न सक्ने किसिमको हुनु पर्छ।

♣ अहिलेको नेपाली साहित्यमा देशको राजनीति अटेको छ?
-अटेको छ धेर थोर। तर राजनीति पूर्ण रुपमा अटाउनको लागि राजनीति स्थिर हुनु पर्छ।

♣ तपाईको लेखनीलाई कुन् साहित्यको धार वा बादले डोर्‍याउछ?
-सिर्जना गर्नको लागि स्वतन्त्र हुनुपर्छ। जति स्वतन्त्र हुदा सिर्जित सिर्जना खुलेको हुन्छ, त्यति नियम र बन्धनमा बधिएर लेखिएको सिर्जना खुलेको हुदैन जस्तो लाग्छ मलाई । त्यसैले म स्वतन्त्र लेखन नै मन पराउछु ।

♣ अहिले सम्म तपाईले पढ्नु भएको कृतिहरु मध्ये कुनै कृति छ जसले तपाईको मन छुन सफल भयो र किन?
- अ... थुप्रै छन्। रुपमति,मुनामदन,बसाइ,राष्ट्र निर्मता, मुटुको ब्यथा जस्ता कृतिहरुले मेरो मन छोएका छन्। यसको बिषयबस्तु र पात्र छनोट उत्कृष्ट छ ।

♣ एउटा सर्जकले एउटै रचना बिभिन्न वेबसाइटहरु र पत्रपत्रीकाहरुमा छपाउनुलाई साझा पाठकहरुले कसरी हेर्छन् जस्तो लाग्छ तपाईलाई?
- सामान्य रुपमा हेरिनु पर्छ । पाठकको लागि सर्जकले लेख्छ । एउटा सर्जकको धेय हुन्छ आफ्नो रचना धेरै भन्दा धेरै पाठकहरुले पढ्न पाऊन्।

♣ तपाईको प्रकाशित कृतिहरु नि?
'जिन्दगीका अनुभूतिहरु','सपनाको सन्सारबाट नियाल्दा','क्षितिज पर' मेरो प्रकाशित भैसकेका कृतिहरु हुन्।

♣ साहित्य के हो तपाईको बिचारमा?
- एकै शब्दमा भन्नु पर्दा ज्ञानबर्द्दक खुराक।

♣ समग्र नेपाली साहित्यमा डायोस्परिक साहित्यले कस्तो भूमिका खेलेको छ भन्ने लाग्छ तपाईलाई?
-एकदमै ठूलो भूमिका खेलेको छ ।डायोस्परामा बस्ने स्रस्टाहरुले लेखेका पुस्तकहरु पनि नेपाली भाषा साहित्यलाई केही दिन सक्ने खालका छन् ।

♣ तपाईको भाबी लक्ष्य र योजना के छ?
-'मेरो अनलाईन साथी प्रीतिका' (कथा सङ्ग्रह) र 'आफ्नै भूमिलाई सम्झिएर' (कबिता सङ्ग्रह) प्रकाशन गर्ने सुरमा छु। अरु खासै त्यस्तो केही छैन ।

♣ अन्तमा तपाई पाठकहरुलाई के भन्न चाहानु हुन्छ?
-नेपाली साहित्यलाई माया गरौ। नेपाली लेखकले लेखेका पुस्तकहरु किनेर पढिदिनुस् र आफ्नो प्रतिकृया दिई साहित्यकार र साहित्यलाई मलजल गरिदिनु हुन आग्रह गर्दछु।

No comments: