Tuesday, May 19, 2009

कथा








ऊ फर्केर आएन

-गीता थापा
शान्ता आज पनि चिट्ठी बोकेर के नकुलको आगनमा पुगेकी थिई,नकुल ढोकाबाट बाहिर निक्लिदै थियो । तर शान्तालाई आफूले पढ्न नपाएकोमा साह्रै दु:ख लागेको थियो। नकुललाई भने कति पनि झन्झट लागेको थिएन किनकी उसलाई अरुलाई सहयोग गर्न पाउदा आनन्द लाग्थ्यो । शान्ता नकुलकी गाउले भाउजू थिई ।शान्ता साच्ची नै सुशिल र स्वाभिमानी थिई । शान्तालाई देखेर नकुल भन्छ 'ए, शान्ता भाउजू दाइको चिट्ठी आएछ ।खै, दिनुस् त तपाईंलाई सुन्न हतार मलाई पढन हतार !'

शान्ता मनभरी पिडालाई लुकाएर आफ्नो हात अघि बढाउछे । अनि नकुल अशिमको चिट्ठी पढ्छ -पूज्यनीय मेरी आमालाई
पाउपरी ढोग
र साथै मेरी प्यारी जिवन संगीलाई ,
अति न्यानो मुटु भरिको चोखो माया अनि सबै मेरा मान्यजनहरुलाई धेरै धेरै सम्झना यो प्रदेशिको तर्फबाट। अनि मेरो गाउले भाइ नकुललाई पनि गर्वले भरिएको मिठो माया !
आहा ! कति मिठा शब्द ! शब्दका भोकालाई त साच्चै भोक नै मेटाउने ! तर शब्दले यहाँ भोकाको भोक र नाङ्गो अंग ढाकिदैन थियो। घरबारी साहुको नाउमा बन्दकी राखेको थियो। घरमा मृत्यु कोरेर बसेकी बुढी आमा सधैं आँशुमा डुबेकी थिन् । तर आज पनि पैसा पठाउनेको कुरा चाहि लेख्न भुसुक्कै भुलेको थियो अशिमले ।अनि शान्ता मनभरी उही पिडा र बेथा बोकेर नकुलको हातबाट चिट्ठी लिएर घरमा आउछे । सासु बोलाउछे -' शान्ता !ए शान्ता!!'
'हजुर। ' शान्ता पिडालाई लुकाएर बोल्छे ।
'के लेखेछ हँ अशिमले चिट्ठीमा, शान्ता ? सबै राम्रो नै छरे अनि पैसा कहिले पठाउछ रे त?'
शान्ता आफ्नो पतिको आडलिदै बोल्छिन् -'आमा धेरै चिन्ता नगर्नु , एकै चोटि सबै ऋण चुक्ता हुनेगरी पठाउनु हुन्छ रे। '

सासुको त मन केही पललाई भए पनि शान्त बनाउछे शान्ता तर आफ्नो भने रातभरी आँशुको भल बग्छ। कहिले रितिदैनन् उसका यी आँशु । हरे! छोरीको कर्म हारेको जन्म भनेर उखान त त्यतिकै बनाएको होइन रहेछ बुढापाकाले ! आज पनि यिनै नाना थरी कुरामा रातको सबै प्रहर फाटेको थियो शान्ताको। बिहानको चिसो हावाले आँखा जोड्न के खोज्छे त्यसै बेला सासुको खोकीले बिउझाउछ उसलाई । अनि जुरुक्क बिछौनाबाट उठेर भान्सातिर लाग्छे । चुलो जोडेर तातो पानी बसाउछे। केहीबेरमा नुन चिया बनाएर सासुछेउमा जान्छे र दुबै सासु बुहारी खान्छन् । तर मनभरिको पिडा त बाडेर रितिदैन । अरुलाई केही छिन लाई ढाटे पनि आफ्नो मन आँफैसँग ढाट्न नमिल्ने के गर्नु ? चियाl खाई सके पछी शान्ता पत्कर टिप्न डोको बोकेर हिड्छे । सासुको खोकी गाउको निकै परसम्म एक तमासको छ।गाउको हेल्पोस्टबाट त कती औषधी बोकेर खुवाको हो शान्ताले तर निको भएको भने होइन। टाढा लैजाउ पैसाको अनिकाल ! कसलाई सुनाउनु?हात पसारेर माग्ने ठाउँ पनि बाँकी थिएन। घरको दु:ख मुटुभरी बोकेर पैसा कमाउन प्रदेश लागेको पतिको पत्तो खबर थिएन।कति कहाली लाग्दो जिन्दगी ! कस्तो बिडम्बना !! यो मनलाई बुझाउने ठाउँ नै छैन। उही पतिको चिट्ठी कुरेको आज छमहिना भयो तर कुनै खबर छैन। के ऊ साचै कठोर मनको धनी पुरुष हो त ! साच्चै मेरी आमाले भनेकी थिन् -' छोरा मान्छेको आँखाले देखी माया मात्रा हुन्छ रे। के यो साच्चै हो त? ' शान्ता मनभरी कुरा खेलाउदै पत्करको भारी पुराउछे। हुन पनि हो बिहा अघि त शान्ताले न अशिमलाई देखेकी थिई न चिनेकी। बिहा गरेको २महिना पनि राम्रो बित्न नपाई अशिम प्रदेश लागेको आज एक बर्ष हुनलाई १५ दिन बाँकी रहेछ । अब साहुको नाउमा राखेको घरबारी पनि उसैले खाने पर्‍यो। शान्ता आँखाका बगेका आशुका भेललाई पछेउराको फेरले पुछेर डोको बोकेर घरमा पुग्छे । उ पुग्दा उसको घरमा नकुल पनि थियो । शान्ता आतिदै नकुललाई सोध्छे -'बाबु तपाईं यहाँ ?'
नकुल बोल्छ -'हो, भाउजु आमालाई ज्वरोले हन-हन भएछ । मसँग औषधी थियो पुराउन आएको । ल ,भाउजु म अहिले लाग्छु।आमको राम्रो ख्याल गर्नु होला।'

गाउमा हुन पनि शान्ताको परिवारको लागि नकुल त थियो एउटा दु:खमा साथ दिने ।शान्ताका न देवर न जेठाजु न नन्द न त आमाजु कोही पनि थिएनन् । त्यसैले शान्ताका आमाबुवाले छोरीले सुख पाउछे, धेरैको बुहार्तन खप्नु पर्दैन भनेर अशिमसित बिहा गरी दिएको रे। आमा बुवालाई आफ्नो काखबाट छोरीलाई पन्साउन पाए साह्रै आनन्द । हुन पनि बढेको छोरी घरमा राख्दा पनि गाउलेको कुराको है /है हुन्छ ।कस्तो सस्कार हो यो? छोरीको त अस्तित्वहीन जिन्दगी । उस्को त आफ्नो जिन्दगीनै छैन अरुको नाउसित नजोडी । सासु बोल्छे -'शान्ता! ए शान्ता!!'
'हजुर!'
'यहाँ मेरो नजिक आ त ।'
'किन आमा?'
साह्रै असल थिई शान्ताकी सासु ।शान्ता छेउमा पुग्छे सासूले भनिन् -'त्यो अशिमलाई एउटा चिट्ठी नकुललाई भनेर लेख्न लगाएर पठान बा। म त डाडा पारीकी घाम भैसके । म मरेपछी तेरो बिजोक हुने पर्‍यो । '
शान्ता आफनो हातले सासुको मुख छोपिदिदै बोली -'किन त्यस्त्यो अशुभ बोल्नु भएको नि?'
' के गर्छेस् बाबै ? यो नै सत्य हो कि सबैले यो संसार छोड्नै पर्छ एक दिन । तेरो मायाले म सधैं त सँगनै कहाँ बस्न पाउछु र बा ।'

त्यसपछी शान्ता नकुलको घरतिर लाग्छे । नकुलको घरमा चालचुल थिएन। ढोकामा ताल्चा ठोकेको थियो। तैपनि शान्ता केहीबेर पिढीमा कुरेर बस्छे। केहीबेर पछी नकुल आइपुग्छ भन्छ-' ए !शान्ता भाउजू कति खेर आउनु भएको नि?'
शान्ता भन्छे-' एकै छिन अगाडि हो बाबु ।'
'अनि आमालाई अली सोन्चो भयो?'
'छैन। उस्तै छ। छोराको धेरै चिन्ता लिनु हुन्छ। त्यसैले होला ।बाबु,म त तपाईंलाई फेरि दु:ख दिन आएकी ।'
'केको दु:ख भाउजु? यो जिवन त अरुको सेवा कै लागि जन्मेको हो नि!भन्नुस् न मैले के गर्नु पर्‍यो ?' 'तपाईंको दाइलाई एउटा चिट्ठी लेखिदिनुस् न बाबु । आमा साह्रै बिरामी हुनुहुन्छ। चाडै घरमा आउनु रे भनेर। कतै आमा बिरामीको खबरले घरको याद आउछ कि ।'
नकुल बोल्छ-' हुन्छ, भाउजु तपाईं धेरै चिन्ता नलिनुस् । अर्काको देशमा कहाँ आफूले भनेर सोचेको जस्तो हुन्छ र भाउजु। केही सारो गाह्रोमा अड्किनु भयो होलानी। नत्र गाउमा छदा त त्यस्तो खराब मान्छे त होइन। अब उहालाई शहरको वातावरणले नै खराब बनाएछ भने के जानौ भाउजू ।'
नकुल चिट्ठी लेखन तयार हुन्छ ।

दाइ अशिम,
म गाउले भाइ नकुलको तर्फबाट दुबै हात जोडेर नमस्कारका साथै धेरै सम्झना !
दाइ ,तपाईंले गाउ घर छोडेदेखी यी पाटी पौवा देउराली त सुन्ने भएकैनै छन् । त्यो भन्दा पनि तपाईंको घरको हालत धेरै कम्जोर छ। तपाईं गए देखी आमा सधैंको बिरामी हुनुहुन्छ। घरबारी पनि साहुले भाका पुग्यो छोड्नु भनेको भनेकै छ रे। हामी गाउले सबै छक्क परेका छौ कि एउटा असल र सिधा गाउलेको छोरोको मनलाई प्रदेशले कसरी धमिलो बनाइदियो। आफ्नी जन्मदिने आमालाई र जन्मभूमिलाई नै चट्टकै भुल्ने गरी दाइ ? ल दाइ आमाको स्वास्थ धेरै कम्जोरी हुँदैछ। भाउजुको पनि उही हालत छ। यो चिट्ठी पाउने बितिक्कै घरमा आउनु होला। तपाईंको चिट्ठीको आशमा शान्ता भाउजुका धेरै दिन र रात बिते तर तपाईंको चिट्ठी आएन। त्यसैले यो चिट्ठी लेखेको हो।
ल त उही गाउले भाइ,
नकुल

नकुलले चिट्ठी लेखेर शान्तालाई सुनाउछ।अनि सोध्छ - 'भाउजु ठीक छ?'
शान्ताले ठीक छ भन्छे र सारीको फेरमा गाठो पारेर राखेको चिट्ठी पठाउने पैसा नकुललाई बोल्छे -'बाबु, तपाईंले यो हामी प्रति लगाएको गुण के गरी तिर्ने होलानी ?'
नकुल भन्छ -' भाउजु त्यसो नभन्नुस् किनकी एउटा मान्छेलाई दु:ख पर्दा अर्को मान्छे काममा आएन भने के गाउ समाज भएर बस्नु त?

त्यसपछि शान्ता घर आउछे। सासु उही सधैंको जस्तो लामु-लामु सास र खोकीमा रुमलिएर मुर्छा परेकी परेकै नै छिन्। तातो पानी बेसार राखेर तताएर शान्ता सासुको छेउमा जान्छे। हातको अडेश् लगाएर उठाएर शिरानीको सपोर्ट लगाएर राखिदिन्छे। सासु आँखाबाट आशु झार्दै शान्तालाई हेर्दै भन्छिन्- 'तेरो साह्रै पाप लाग्छ होला मलाई शान्ता ।' तिनै शब्दमा रुम्मलिएर केही-बेर सासु बुहारी अघाउजी रुनछन् तर कति रुने दु:ख त जहाको त्यहिनै छ। बिधिको बिधान र लेखेको लेखान्त त नभोगी कसैलाई सुख छैन।

सधैंको थला परेर ओछ्यानमा परेकी सासुले पनि आज यो पापी संसार बाट मुक्ती पाइन तर अशिमको कुनै खबर आएन। उसलाई न यो धर्तिले खायो न आकाशले निलो कुनै थाहा भएन। सासुको दाग्बती पनि शान्ताले नै दिई। गाउलेको हरेक मुटु छेड्ने बचन लाई पनि सहेर जिन्दगीको लडाईं लडी शान्ता। तर भनिन्छ नि -' नारी धर्ती हो। हो नारी साचै धर्ती हो तर उस्को पिडालाई चाहि सधैं मुल्यहिन बनाइन्छ ।सुन्दरताको खानी हो नारी। मायाकी प्रतिमूर्ति हो नारी। तर असल कामको भागीदार हुनलाई चाहि धेरै अभागीकी खानी हो नारी। धेरै दु:खको भाग उसैलाई नै लगाइन्छ , कलङ्कित पनि उसैलाई नै पारीन्छ। आज शान्ता अशिमको एक तेंद्रो पोते र एक चिम्टी सिन्दुरमा बाधिएर बसेकी छे तर अशिम आएन... आएन... । ऊ फर्केर आएन । कहिल्यै पनि आएन........... ।


-इजरायल

2 comments:

डिआर निश्छल said...

Gita g, tapaiko kathaako laagi dherai dhanyabaad! saarai man chhune kathaa rahechha , maile editing gardaa pani mero man chas-chas dukhi rahyo.rachana nirantarataako laagi yaha sanga hardik anurodh garchhu..

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक