Thursday, May 28, 2009

संस्मरण

त्यो रातलाई सम्झिदा
-राज राई 'संगम'
कथा यसरी सुरु हुन्छ । हामी ३ जवान ठिटाहरुको सुर न तालको यात्रा बाट । बिना लक्ष्यको यात्रा शुभारम्भबाट । बेलुकीको ४ बजिसकेको थियो । सूर्यनारायणको तेजिलो किरण हरु अब बिस्तारै शुन्यतामा परिणत हुँदै थियो ।काठमाडौको पट्यार लाग्दो बर्साई एक किसिमको दिन भरीको छटपटी नै हुन्छ । उसै माथि स्वस्थ खराब भएको आज २ दिन भई सकेको थियो मेरो । ज्वरो आउने , खाना नरुच्ने यस्तै थियो । आज पनि बिहान देखी खाना रुचेको थिएन। शरिरमा शक्तिको कम्ति महसुस भई रहेको थियो तर बिमारीले भने राम्ररी नै छोडेको महशुस गरेको थिएँ ।
मेरो नजिकको मित्र नारायण श्रेष्ठ , हर बेलुकी पख टहल्न निस्कन हाम्रो दैनिकी जस्तै भईसकेको छ । आज पनि यहि मनसायले मलाई भेट्न आईपुगेको थियो उ । ” जाउँ तौलुङतिर हावा खान ” यो पहिलो बोलीमानै म उनको पछि लागी सकेको थिएँ । बेफ्वाँकको काठमाडौ बर्साई , काम पनि के नै पो थियो र , जसरी तसरी दिन त काट्नै पर्‍यो । मेरो सानो भतिज ” बिबेक ” पछाडी लागेको थियो र साथमा सानो श्रेष्ठ भाई पनि । त्यति बेला सम्म ” किशोर ” पनि आई पुगि सकेको थियो , उ मेरो घनिष्ठ मित्र हो । हामी ५ जना अब बिना सोचमा आफ्नो पाईला हरुलाई आगाडी बढाउन थाल्यौं चपली गाँउको सिरान तौलुङ गाँउ तर्फ। मलाई तिथि मिति यकिन भएन त्यति बेला जनआन्दोन भाग २ एकदमै गरमा गरम रुपमा तातिएको थियो , सायद अन्तिम अबस्था तिर पुगेको थियो । बैसाख महिना हो , आजको दिन बाग्मतिको मुहान ” बागद्धर ” जहाँ ठुलो मेला लाग्ने दिन रहेछ । शिबपुरी डाँडा बाट पनि पल्लो पटि्ट , नुवाकोट नजिक । तर द्धन्दको कारणले केहि साल अगाडी बाट त्यहाँको देबिलाई यहि बुढानिलकण्ठ भन्दा उता पटि्ट तौलुङ गाँउमा ल्याएर पुजा गर्ने चलन् बनाएका रहेछन त्याहाँका तामाङग समाजले । हाम्रो यात्रा अब त्यातै निस्चित भयो ।
तौलुङ मा पुग्दा साँढे ४ भई सकेको थियो । तर हामीले सोचे जस्तो चहलपहल थिएन त्याहाँ , न त देबी नै थियो त्याहाँ न त मेला नै । सुनसान चकमन्न वातावरण । ” हिस्स बुढि हरियो दाँत ” भने झैं भयौं हामी । कुरा बुझ्दा हामी धेरै ढिलो भएछौं । देबी ल्याएर पनि फर्काईएछ , ” जानु नि भाई हरु बाग्द्धरमानै यस्तो जवान भाई हरु , एक डेढ घण्टा लाग्ला ” भटि्ट वाला तामाङगनी दिदीले हामीलाई हौस्याउनु भयो । किशोर र नारायणले ” कि जाँउ त ” भन्ने जोश देखाए पछि हामीले यता उता सोध्यौं , पुग्नलाई मात्र एक डेढ घण्टा लाग्ने बताए सबैले । हामीले हिसाब लगायौं हामीलाई जान एक घण्टा आउन एक घण्टा , जुनको रात बढिमा साँढे सात सम्ममा जसरी पनि हामी फर्कि सक्छौं , यस्तै हिसाब पास भयो हाम्रो । भतिज र सानो भाईलाई फर्कायौं त्याहि बाट । एक पल्ट उकालो तिर नियालें मैले शिबपुरी डाँडाले आकाश छोएझैं लाथ्यो । नयाँ यात्रा , अपरिचित जंगल , पहाडका बाटा हरु , समयले पुग्ला कि नपुग्ला , हामीलाई संका लागेको थियो । तर अरुको हौसलाले हाम्रो जोश थप्यो । शसंकित पाईला हरु बिस्तारै उकालो तर्फबढायौं । उकाली ओराली बन पाखा नभोगेको मेरा दर्ुइ साथिले त आँट गरेका थिए भने म त उहि भिर पाखा मेरो प्यारो ओखलढुंगाको काखमा खेलेर हुर्केको मान्छे किन पछि पथर्ें र तर बिमारीले अलिकती जोश कम्ति थियो । तै पनि साथिहरुको आँट लाई मर्न दिन उचित ठानिनँ । अनेकौं खुट्किला , घुम्ति अनि पट्यार जंगलको बाटो लाई छिचोल्दै हामी क्रमश उकालो बढि रह्यौं । अलि मास्तिर पुगे पछि ओराले झरी रहेका एक हुल मान्छे हरु सँग भेट भयो । बच्चा र आइमाइ मान्छे हरुको हुल थियो । कसैले त घाँस दाउरा पनि बोकेका थिए , मलाई गाँउ घरतिरको याद आयो । ” कहाँ पुगेर हो दिदी हरु ” मैंले सोधें ” हामी बाग्द्धर बाट हो , अनि भाई हरु पनि त्यतै हो - ” सबै भन्दा पछिल्लो दिदीले भन्नु भयो । ” हजुर हो , हामी त नयाँ मान्छे बाटो के कस्तो छ दिदी - ” कुरा सटकट मा गर्नु जरुरी थियो किन कि उहाँको साथि हरुले उहाँलाई छोडी सक्नु भएको थियो । ” भाई हरुलाइ रात त पर्छ नै तर पनि जवान मान्छे गारो हुन्न , माथि डाँडा हर्ेर्दै उकालो जानु बाटो बिर्दैन । हाम्रो सानो १ जना भाई लाई नारायणथानको दिदी हरुले बाटो चिन्दैनौं भनेर फर्काएर लानु भाछ माथि डाँडा सम्ममा त भेट्नु हुन्छनै छिटो र्फकनु भन्नु ल भाई हरु ” हुन्छ भन्दै हामी लाग्यौं उकालो । हामीलाई शाहस ठुलो मिल्यौ किन कि उकालो जाने मान्छे हरु पनि रहेछन भन्ने थाह भयो । बाटोमा आउने जाने मान्छे नभेटेर निरास भएका थियौं हामी ।
शिबपुरी जंगल , काठमाडौको नजिकैको डाँडा , तल शहर बाट जति आकर्ष र सुन्दर देखिन्छ उतिकै आकर्ष त्यास बन भित्रको यात्राले मन लोभ्याउँदो रहेछ । यस बन् भित्रको प्रकृतिक दृश्यबलोकनले साँच्चै मेरो भोक तिर्खा हराएको थियो । उसै पनि ऋतुराज बशन्तको रौनकता , रुखका काप हरुमा झपक्क फुलेका सुनाखरी , राताम्या फुलेका गुराँसको फुल हरु भर्खर पलाएका बुटा र झाङको हरियो पालुवा हरुमा त्यास माथि पश्चिम क्षितिजमा लोलाएको लालिमा को छड्के रक्तिम किरण हरु , ढिस्कोमा बसेर पर सम्म आँखा हुत्याउँदा यति शोभायमान देखिन्थ्यौ कि , लाग्थ्यौ बन भरी इन्द्रेणि छचल्किएको छ । हो , हेरेर कहिल्यै नअघाउने ति प्रकृतिका अनुपम उपहार हरुमा खेल्दै माथि डाँडाको सायद बिच भाग तिर प्रबेश गरि सकेका थियौं हामी ३ अन्जान यात्री हरु ।

अब हामीले बस्तिलाई निकै तल छोडि सकेका थियौं । हो यो भन्दा माथि पुरै पहाड र घनघोर जंगलको मात्र यात्रा थियो । खाने कुरा केहि बोकिएन भनेर हामीले निकै माथि पुगे पछि मात्र याद गर्‍यौं । जतिखेर हामीलाई भोक प्यास र थकानले लखतरान पारेको थियो ।म त झन बिरामीले भर्खर छोडेको मान्छे । त्यस माथि खाना नरुचेर रित्तो पेटको महशुस मैंले त्यतिबेला राम्रै सँग गरें । हामी ३ जनाको नै हात भरी गुराँस र सुनाखरीको फुल थियो । तिर्खाले ब्याकुल थियौं तर कतै पानी भेटिने सम्भाबना सम्म थिएन । गुराँसको फुल अनि जुरेकाफलको काँचो दाना चपाउदै पाईला पनि हतारमा चालि रहेका थियौं हामीले । नरायण र किशोर ले त रहरले चपाएका थिए सायद , तर मेर चपाइको मतलब भने अर्कै थियो , रित्तो पेटलाई अलिकती भए पनि उकास्नु र शरिरमा थोरै भए पनि ताकत जमाउनु । ” मलाई त सार्‍है भोक लाग्यो यार , के गर्ने हिड्न सकिएला जस्तो छैन । उस्तै थकाइ पनि धेरै लागेको छ । ” यति भन्दै म चुचे ढुंगा मथि गएर थचक्क बसें । अनि हात भरीको राताम्या गुराँसको फुल हरु चपाउन लागें । साथि हरु केही निरास देखिए ,” अब के गर्ने त - यतिकै पनि किन फर्किने यति टाढा आइपुगिसकियो डाँडा पनि अब त नजिकै देखिन थालियो ” शिबपुरी डाँडा तिर घाँटी तन्काएर हर्ेर्दै किशोर बोल्यो । तल खाल्डोमा देखिने काठमाडौ लाई खुब नियालेर हेरी रहेको थियो नारायण । म पनि फर्केर यतै । आहा क्या सुन्दर देखिन्थ्यौ काठमाडौ । घाम क्षितिजमा एक बित्ता मात्र बाँकी थियो । चारैतिर डाँडैडाँडाको बिचमा यति सुन्दर लाग्थ्यो काठमाडौ शहर , हो मैले काठमाडौलाई पहिलो पल्ट यो रुपमा हेर्दैछु । धरहरा , पशुपती , र्एयपोर्ट भनौं काठमाडौंको अंगप्रत्यांग नियाल्न सकिंदो रहेछ ।

हामी जति छिटो दौड्यौं सायद यो भन्दा अगाडी नै दौडियौ होला । मलाई यस्तै लाग्यो किन कि अब म सँग उभिने सम्म पनि ताकत बाँकि होला जस्तो लागेन , बाटो अझै कति बाँकी छ थाहा छैन हामीलाई , पानी को कतै मेलो पाईन्छ कि भनेर मैंले निकै पर पर सम्म आँखा पुर्‍याएँ तर सम्भाबना सुन्या थियो । फर्किने कि जाने उकालो मेरो निर्णय भर थियो अब , तल नियालें मैंले , पार गरेर आएको बाटो हरु नागबेली घुम्तिहरु जंगलले नढाकेको ठाँउमा गारेटोको रुपमा मात्र किरिङ मिरिङ देखिन्थ्यो । थाहै नपाई धेरै माथि आई सकेछौं हामी । त्यतिकै पर्कने त मन नै भएन । अब बिकल्प काफलको रुख तिर आँखा दौडाउन लागें म । अलि मास्तिर हाडे काफल झुप्प भुप्प धेरै फलेको रहेछ , ज्यानमा शक्ति नभए पनि जवानी पनको चन्चलता त्यतिकै हार खाने सवालै थिएन । हामीले काफलको रुखमा काँचो काफलका दाना हरु मुठी मुठी फाँक्न थाल्यौं । करिब १५ मिनट भित्र त मैंले पेट भरी सकेको थिएँ । म अब साँच्चै खुशी थिएँ , नया जोश भरिएको थियो म मा । साथि हरु पनि उस्तै खुशि देखिन्थे । तर हाम्रो खुशि लाई एउटा कुराले साथ दिएन , समयले नेटो काटिसकेको थियो । क्षितिजमा आधि भन्दा बढी डुबी सकेको घामले हामी भित्र सन्त्रास फैलायो । हामी अब उकालो दाडियौं । उस्तै पट्यार जंगल भित्रको गोरेटो बाटो यता र उता छुटिएको बाटो कता हो छुट्याउन गार्‍हो थियो । तै पनि शिबपुरी डाँडा को टार्गेट गरेर हामी हामी हस्याङ पस्याङ दौडी रह्यौं ।

रुखका पत्कर हरुले छोपिएको बाटो , कालिज हरु दैडिएको आवाज प्रस्ट सुनिन्थ्यौ । दुम्सि , सालक र लोखर्केले बनाएका दुलो हरु प्रशस्त भेटिन्थे । कालीज भुतभुते खेलेको माटोमा शोभायमान लाग्थ्यो । रंगि बिरंगी चराहरुको चिरबिर आवाजले बेलुकीपखको आभास दिई रहेको थियो । झार बुट्यान देखि लिएर बडेमाको रुखहरुले ढाकिएको बिशालकाय जंगल भित्र अब अँध्यारोपनाले भपक्क छोपी सकेको थियो । खल्मे , खरने ,लाङ्ठे , पलाट , खस्रु यस्तै रुखहरु प्रशस्त थिए । मलाई यति बेला अतिनै ठण्डिको महशुस भएको थियो , किन कि हामी निकै उचाईमा आई पुगेका रहेछौं । यी रुखहरुले मलाई याद दिलायो , जुन मेरो अतितको यादगर रुख हरु हून् । तारेभिर , मझुवा , गैरी डाँडा , भेडाखर्क , पौड्याल खर्क ,यतै बितेको अतित हरुमा यी रुखहरु सँग मेरो अबिस्मरणिय नाता रहेको छ । एक किशिमको अपनत्वको आभास नै भई रहेको थियो मलाई यी रुख हरुको प्रत्यक्षतामा । डाँडा निस्कनै लाग्दा झयाउ पलाएको ढूंगेधारा भेटियो , ठण्डिले तिर्खा हर्राई सके पनि अलि पिउनै मन लाग्यो अतित बितेको यादगर हावा , पानी , बोट बिरुवा , यी सफा कलकल बग्ने खोल्साको पानी देखेर । नारायण र किशोर मुखमा पानी पर्ने बित्तिकै भागे दाँत झर्ला जस्तो ठण्डि पानीले । मैंले थोरै पिएँ । डाँडामा फुत्त निस्कँदा अब फराकिलो बाटो भेटियो । मान्छेको आवत जावत कम भए पनि बाटो ठुलो र फराकिले बनाईएको थियो । डाँडाको ढुङगे चौतारीमा ३ जना आधाबैंशे दिदी हरु र एक जना सानो भाई भेटियो । हाम्रो खुशिको सिमा रहेन , दिदी हरु पनि खुशी हुनु भयो । सँगै जाने सल्लाह भए पछी हामी कुरा गर्दै अगाडी बढ्ंयौ । नयाँ हुनु हुँदो रहेछ दिदी हरु पनि सानो भाई चाँही आज बिहानै आएर र्फकने क्रममा फेरी दिदीहरुले बाटो नचिनेर यतै फर्काउनु भएको रहेछ । हामीले तल भेटेका दिदी हरुले भनेको मान्छे हरु उहाँहरुनै हुनु हुँदो रहेछ । अब हाम्रो हिंर्डाई धेरै ढिलो हुन लाग्यो किन कि दिदी हरुको मोटो ज्यान त्यास माथी हिड्ने बानी नभएको , यत्रो उकालोको हिर्डाई सामान्या थिएन । हामी तिनै जना जाडोले लगलग कामी रहेका थियौं । म त झन् एकसरो पातलो हाफ टिर्सट मा थिएँ । नारायण र किशोरको पनि गतिलो त कहाँ हुनु र नारायणको भित्र गन्जिमा हाफ र्सट र किशोरको चाँही फुल र्सटनै थियो । दिन पुरै रातमा परिणत भईसकेको थियो अब । आकाशमा गोलो चहकिलो चन्द्रमाको उपश्थिति भई सकेको थियो । आकाश छोलाझैं अजंगको रुख हरुको बिसालकाय जंगल भए पनि भित्र सम्म जुन छिर्नको लागी रोक्ने बाक्लो मसिनो रुख हरु थिएनन् । सबैको मन्मा डर र त्रासले मुटु धडि्क रहेको अबस्था थियो नै , दिदी हरुको मोर्टाई अली धेरैनै थियो उकाली ओरालीको बाटोमा सकस पर्नु स्वभाबिक हो , तर मलाई अचम्म लागी रहेको थियो कसरी यतिका उकालो पार गरेर यहाँ सम्म आई पुग्नु भयो । ” के गरौं भाई हो र्फकनु पनि कसरी र्फकने त्यसतो जंगलको बाटो छ ,अँध्यारो उस्तै, गोरेटो बाटो यता र उता ,हिर्डाई पनि यस्तो छ ” सबै भन्दा मोटी दिदीको गुनासो थियो यो । सँगै जाने सल्लाह त थियो तर यतिका ढिलो हिंर्डाईमा हाम्रो त्रासदी र चन्चलता उस्तै उत्सुकता , मनैले मानेन हामी अगाडी बड्न कसियौं ,दिदी हरुले पनि रोक्न चाहनु भएन ।
अब हाम्रो पाईला हरु धेरै छिटो चल्न थालेको थियो । कतै खोल्सा कतै डाँडा यस्तै बाटो हरुलाई पार गर्दै हामी चकमन्न साँझ भित्र हतार दौडिरहेका थियौं । मानब अष्तित्वको कतै नाम निसाना सम्म आभास हुँदैनथ्यौ । नजिक्को बस्ति भन्नु सायद उहिँ २ अर्ढाई घण्टा तलको बुढानिलकण्ठ , तौलुङ नै होला । केबल जंगलै जंगलको राज , धेरैनै बितिसकेको साँझ , हो हामीमा यति छटपटि थियो कि हामीले केहि निर्णय गर्न सकि रहेको थिएनौ । गन्तब्यामा पुग्न पागलझैं दौडिरहेका छौं । अझै बाटो कती छ , केहि थाहा छैन हामीलाई । हामी निकै पर खोल्सामा पुग्न लागेको थियौं , यतिकैमा केही मान्छेको गुनगुनाहट सुनियो , मनमा खुशिको तरंगहरु छचल्कियो , कान चनाखो पारेर हामी अगाडी दौडी रहेको थियौं , यतिकैमा अचानक त्याहाँ देखिएको दृस्याले हामी झन्नै बेहोश भयौं , बाटोलाई बिचमा पारेर तल र माथि ८-१० जना युबा हरु छरपस्ट बसेका थिए , बाटोको बिच भागमा एक जना करिब ३०-३५ को लाग्ने युबा लाई लामो काठको घोचामा छालाको पेटीले ३-४ ठाँउ बाँधेर बोक्न लाई सजिलो बनाएर लम्पसार तेर्स्याईएको थियो । जंगल भित्रै भए पनि त्याहाँ सम्म छिरेको जुनको टह टह उज्यालोमा हामीले राम्रो सँग नियाल्न सक्यौं । मनलाई काबुमा राख्दै हामी उनिहरुको बिच हुँदै अगाडी बढ्यौं । साँघुरो बाटो भएकोले बाँधिएको मान्छेलाई जोगाउँदा जोगाउँदै पनि खुट्टालै छुने अबस्था थियो । डराउदै भए पनि त्यास मान्छे लाई नियाल्न भ्याँए मैंले । खुट्टामा एउटा मात्र हातिछाप चपल थियो त्यास युबाको कपडा पुरानो र मैंलो लाग्थ्यौ । कपडा हरु पनि च्यातिएको थियो । जिबित थियो या मृत थियो हामी कसैले भेउ पाएनौं , ति युबा हरु रक्सिको नसामा थिए , टाढै बाट रक्सिको गन्ध थाहा भयो । यत्र तत्र रक्सिको बोतल र ड्रम हरु फालिएका थिए । त्यास ठाँउलाई पार गरेर अगाडी बढ्यौं त्यास बाँधिएको मान्छेलाई घिसार्दै ल्याईएको पनि प्रस्ट देखिन्थ्यौ । निकै पर एउटा हाती छाप चपल देखियो । जुन उहि युबाको खुट्टामा रहेको चपलको जोडी थियो । त्यो एउटा कुराले आज पनि मलाई उत्सुकता जगाई रहेछ , जुन त्यास युबालाई बाँध्नुको रहस्या के थियो - त्यास युबा मृत थियो या ज्युँदो - त्यास घटना उद्धार थियो या अपराध - यदि उद्धार थियो त किन त्यातीको लापार्बाही - अपराध थियो त किन त्यतीको खुलेआम - जब कि मेलाको समय बाटोमा जो पनि हिड्न सक्छ । त्यास एकान्त जंगल भित्रको सुन्याता लाई के आफ्नो शक्ति ठानेका थिए तिनिहरुले ।
घटनाले हामी धेरै डराएका थियौं हाम्रो पाईला अझ छिटो चल्न थाल्यौ । अब त पुगियो होला ,पुगियो होला भन्दा भन्दै कहिल्यै पुगिएन गन्तब्यामा पनि । हामी हताश थियौं । यतिकैमा फेरि हामी खोल्सा भित्र छिरेका थियौं , रुख र ढिस्को ले जुनको किरण लाई छेकिएको थियो , अँधेरो थियो खोल्सा , फेरी मानब आवाज हरु गुञ्जिएको सुनियो , नजिक जम्काभेट हँुदा मात्र हामीले एक अर्कालाई देख्यौं । पहिलेको घटना सम्झेर हामी फेरी झस्कियौं । ३ जवान रहेछन् तिनिहरु पनि सायद सुरष्क्षाको हिसाबले नै हुनसक्छ आफु भन्दा लामो लामो लौरो टेकेको टक् टक् आवाज टाढा बाट नै सुनिन्थ्यौ । भेट हुँदा रक्सिको गन्ध हृवस्स आयो , पाईलाको पनि ठेगान थिएन । ” दाई हरु बागद्धर कति टाढा होला - ” अली अगाडी आए पछि मैलें सोधें ” हामी सँग नबोल्दा नै राम्रो होला ” पछिल्लो लम्बु बोल्यो । चुप चाप बाटो लाग्नु नै ठिक थियो । अचम्म लाग्यो हामीलाई , र साथमा हामी धेरै डराएको पनि थियौं , मुर्ख देखि दैब डराउनु नै पर्छ । हामी अब एउटा अग्लो ढिस्कोमा पुग्यौं , जहाँ बाट टाढा सम्म नियाल्न सकिन्थ्यौ । हमिले बागद्धरलाई निसाना बनाएर हेर्‍यौं , ओहो दिमाग खराब त अब भयो हाम्रो जता ततै जंगल मात्र क्षितिजमा झैं लाग्थ्यो टिल पिल बत्ति बलेको देखिन्थ्यै आगो बालिएको देखिन्थ्यौ , हो बागद्धर यहि थियो किन कि त्यो भन्दा यता नजिक त बिशाल जंगल मात्र थियो । तल तल नुवाकोट को गाँउ हरुमा टिलपिल बलेको बत्ति हरु मधुरो देखिन्थे । हाम्रो आँट आएन भर्खर सम्म हतारिएका हाम्रो मनस्थिति अब पुरै सेलाई सकेको थियो । ” ल फर्कौं ” रुन्चे स्वरमा झैं बोलेको थियो नारायण । हामी दुबैले साथ दियौं उसको स्वरमा । बाध्याता पनि यहि थियो ।
ज्यान गलेको यतिखेर मात्र थाह भयो हामीलाई । मन त उसै गलेको थियो । जोश र जाँगर एकै चोटी गुम भयो । कसरी र्फकने त अब - तल तल जंगल भित्रको अँधेरो रात । दिउँसो नै त गोरेटो बाटो हराउथ्यो , निरास निरास बन्दै हामी ओरालो झर्‍यों । अब पहिले भेटेका मान्छे हरुबाट कसरी बच्ने , नसा लागेको मान्छे हरु त्यतिकै पनि लफडा हुन सक्थ्यौ । त्यासै पनि राम्रो नियतको मान्छे जस्तो लाग्दैनथ्यौ । ति दिदी हरु के गरे होलान् - फर्किए कि - यस्तै कुरा गर्दै हामी सुष्त सुष्त पाईला ओरालो बढाउन लाग्यों ।

निकै यता आए पछि केहि खैला बैला सुनियो , हामी होशियारी साथ अगाडी बढ्यौं , नारी आवाज प्रस्ट भयो । उहिँ दिदी हरु हुनुहुन्थ्यौ । हाम्रो फेरी एकपटक खुशिको सिमा रहेन , होसहवास गुम भई सकेको रहेछ दिदी हरुको पनि । हामीले सोध्ँयौं , मान्छे घिसार्ने हरु कहाँ भेट्नु भयो भनेर , डर्राई रहेको आवाजमा तल भेटेको , त्यो मान्छे मरेको या जीउँदो त्यो थाहा नभएको कुरा बताउनु भयो । बागद्धर तिरको कुरा सुनाए पछि दिदी हरुको पनि आँट आउने कुरै भएन । रातीको एक दुई बजे पनि हामीलाई नछोडनु सँगै जानु पर्छ भन्दै हामी सँग फर्किनु भयौ उहाँ हरु पनि ।अब हामी सात जनाको टोली भयौं । केहि ढुक्क पनि थियौं । अलि यता आए पछि फेरी मान्छेको खैला बैला सुनियो , हामी फेरी होशियार भयौं , केहि क्षण उभिएर सुन्यौ आवाज हामी बाट नजिक थियो । मान्छे हरु धेरै थिए । गु्रप भित्र भुढापाका को पनि आवाज सुनिए पछि केहि ढुक्क भएर अगाडी बढ्यौं । त्याँहाँ पुगेर थाहा भयौ उनिहरु को पनि हाल करिब हाम्रो जस्तो नै रहेछ । सात जनाको गु्रप थियो उनि हरुको । अब हामी सबैको सल्लाह नमिल्ने कुरै थिएन , किन कि हाम्रो समस्या एउटै थियो । हामी १४ जनाको गु्रप बन्यौं , उनिहरुको हुल पनि सबै नयाँ रहेछन् । एउटा बुढो बा चाँहि पहिलो साल एकपटक आउनुभएको थियो रे । उनिहरुको साथमा खाने कुरा हरु प्रसस्ति थियो , चाउचाउ , बिस्कुट , गुल्कोज , पानी । हामी तिर पनि शेयर गरे , त्यति बेला पो अनुभब भयो मलाई काफलको दानाले राम्ररी नै छोडी सकेको रहेछ । मान्छे घिसार्ने हरुको बारेमा सोध्दा अली तल मात्र भेटेको बताए । हामी फर्कि सकेका थियौं उकालो । सुष्त हिडाइँमा साथि हरुले ल्याएका खानेकुरा चपाँउदै । बागद्धर पुग्ने बेला अली यतै बाट ठण्डि महिना आगो ताप्नु पर्छ भन्दै साथी हरुले सुकेको दाउरा हरु आफुले सकेको बोक्न लागे । लेकाली ठाँउ , बिशाल जंगल भित्र प्रशष्त सुकेको दाउरा हरु पाईन्थ्यौ । हामी सबैले बोक्यौं । केहि समय अगाडीको त्याती धेरै नमिठो पल अहिले साँच्चै रमाईलो वाताबरण छाएको थियो हामी बिच ।हामी बागद्धर पुग्यौं । मुलथान भन्दा अली मास्तिर मेला लागी रहेको थियो । करिब १०० जस्तो को हाराहारीमा मान्छे हरु थिए । त्याँहाँ पुग्दा रातीको करिब ९ साँढे यस्तै भएको थियो । नुवाकोटे तामाङहरुको सानो तिनो छाप्रा हरुको होटल थियो , केहि खानेकुरा हरु चाउचाउ , थुक्पा , अण्डा , केही भुटेको मासुका साथमा लोकल रक्सि हरु थिए । ठण्डि मौसम लोकल रक्सि र मासु अली धेर बिकि रहेको थियो । हामीले आफुले लगेको दाउरा बालेर आगो ताप्दै नयाँ साथी हरुले ल्याएको खानेकुरा हरु खायौं । अरु ठाँउमा पनि यस्तै आगो बली रहेको थियो । हाम्रो त केही थिएन बेबारिसे हिडार्ँइ त थियो । हामीमा अब एउटा चिन्ता थियो कसरी रात बिताउने । यस्को पनि उपाए निस्कि हाल्यो । छेउमै शिबपुरी बाबाको कुटी रहेछ । बाजेले चार जना दिदी हरु र हामी तिन जना लाई त्याँहाँ लानु भयो । अचम्म र गजब पनि लाग्यौ मलाई । सानो सानो दर्ुइ तले घर थियो , त्यास भित्र दाल भात खाई रहेका थिए मान्छे हरुले । हामी छिर्ने बित्तिकै खाना खानको लागी हात धुन भनियो हामी ३ जनाले खाएनौ । दिदी हरुले खानुभयो । खाना सुत्नको पैसा नलाग्ने रहेछ । दिदी हरु माथिल्लो तलामा सुत्नुभयो । हामी तल्लो तलामा । त्याती धेरै मान्छेको बिच हामीले एउटा कम्बल पाएका थियौं । अर्को पातलो कम्बल ओछ्याउनको लागी थियो । भुइँको चिसो र जाडोले निन्द्रा नलागे पछि हामी बाहिर निस्कियौं आगो ताप्न तिर । आगो ताप्दै गाँजा ,चुरोट तान्नेहरु पनि उस्तै थिए । हामीलाई पनि कर गर्थे। कहिले तान्ने बानी नभएकोले हामीले तानेनौं ।

दाउरा सकियो , आगो निभ्यो , ठण्डि बढ्यो , ओछ्यानमा जाँउ गतिलो ओढ्ने छैन । बिकल्प पनि राम्रो थिएन । रक्सिवाली दिदीले जिस्केर बोलाउदै थियो ” भाई हरु तान्ने होईन ” हामी पनि किराँत र नेवारको छोरा थियौं रक्सि नचल्ने त कुरै थिएन । तर पनि हामी रक्सि पिउने मान्छे भने होईन । यसो भन्दा म जाँड रक्सिलाई घृणा गर्ने मान्छे पनि होईन । किन कि हाम्रो सँस्कारमा जाँड रक्सिलाई प्रसाद ठानिन्छ । यसलाई कसरी प्रयोग गर्नु पर्छ यो कुरामा भने हाम्रो बिबेक हुनै पर्छ । किशोरले मानेन नारायण र मैंले अली अली लगायौं जाडो भगाउने ओसधी । ५-६ महिना पछि पहिलो पल्ट पिएको थिएँ मैंले त्यासैले थोरैले नै ज्यान तातो भयोहामी गएर सुत्यौं । म बिचमा , ओढ्ने सानो थियो यता तान्दा उता नपुग्ने उता तान्दा यता नपुग्ने , बिचमा मलाई चाँही पुग्थ्यौ । सिरानी केही थिएन , जुता अरुतिर राख्दा हराउने पनि डर त्यासैले जुतालाईनै सिरानी बनायौं । जुताको नमिठो गन्ध थियो । तर पनि बिबश थियौं । बिहान पख म निदाएछु साथि हरु त निन्द्रानै लागेन भन्थे । बिउझिदा उज्यालो अली अली भईसकेको थियो । हामी हतार उठ्यौं । नयाँ साथि हरु यत्र तत्र लागी सकेछन् । बागद्धरमा हात मुख धोएर दर्शन गर्‍यौं । अनि सिधै झर्‍यौं नाराणथान तिर झर्‍यों । जंगल भरी पंछीको चिरबिर आवाज थियो । धेरै प्रकारको पंछी र जनावरहरु यस जंगलको शोभा रहेछ ।

यसरी हामीले अनापेक्षित यात्रालाई पुरा गरेर करिब दिउँसोको १ बजे तिर आफ्नो बासस्थान आई पुग्यौं । आफन्त लाई उस्तै चिन्ताले सताएको थियो । हामी आएर आफ्नो त्यो रातको कथा सुनाउदा सबै छक्क परे ।

ओहो !!! आज पनि झल्झलि आई रहन्छ । त्यास रातको पल पलको यादहरु । आँखा साम्ने नाचे झैं लाग्छ ति क्षणहरु । त्यास घटनालाई म चन्चल्ताको पराकाष्ठ भन्न रुचाउछु । तर आज सम्झिदा रमाईलो लाग्छ । कहिल्यै बिर्सन्न ति रातलाई । अनि ति अनन्या मित्र नारायण श्रेष्ठ र किशोर श्रेष्ठ काठमाडौलाई ।

-बिगुटार -४ सुर्के ओखलढुंगा,
हाल शार्जाह युएइ

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक