Monday, March 16, 2009

कबिता













माइला दाइ

-केदार श्रेष्ठ "गगन"
माइला दाइ
के फरक छ
साथी र मित्रमा
थाहा छ तिमीलाई -
के थाहा पाउनु
तिमी सोझो गाउँले
गाउँले भएर नै तिमी माइला दाइ
भएका छौ
नत्र माइकल ब्रो हुन्थेउ होला नि
होइन र ?

सुनेको थिएँ-
साथीको साथ केही क्षणको,
मित्रको साथ युगौयुगको,
जीवनभरिको
तर
होइन रहेछ
माइला दाइ
यो झूठो रहेछ
फगत झूठो
यो कुरो थाहा थियो त तिमीलाई ?
के थाहा
तिमी सोझो गाउँले
गाउँले भएर नै तिमी माइला दाइ
भएका छौ
नत्र माइकल ब्रो हुन्थेउ होला नि
होइन र ?

सम्झन्छौ होला
आकाश एउटै,धर्ती एउटै
पानी एउटै, माटो एउटै
मैले भनेको बिश्वास लाग्दैन होला
तर
होइन रहेछ
माइला दाइ
होइन रहेछ
तिमी यो कुरामा त बिश्वास गर्र्छौ हौला नि
गाउँ र शहरको,
शहरको भब्य महल र गाउँको झुप्रो,
कुनै कविको काल्पनिक कविताजस्तै,
आकाशको तारा हेरेर
रमाउने प्रेमि-प्रेमिका वा
भित्तामा सजाइराखेको रोमान्टिक तस्वीर जस्तो
हुन्न रहेछ वास्तविक जीवन,

एकदिन
पल्लाघरे ठुल्दाइले
भनेका थिए
मायाप्रेमको कुरा गर्दा
हेर भाइ
शहरको भब्य महल र गाउँको झुप्रोमा
जस्तो फरक छ
त्यस्तै फरक छ मायामा पनि
होइन जस्तो लागेको थियो
तर
हो रहेछ
माइला दाइ
हो रहेछ ।


-भीमस्थान -५, सिन्धुली





गीत











सुन्दर शान्त नेपाल

-दिलिप योन्जन
गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध
देशै जलाई तराई पहाड कति गर्छौ बन्द ।

सबै मिली देश बनाउ छैन कसैलाई पीर
पालै पालो बम पडकाई देशकै छाती चिर
दाजु भाई दिदी बहिनी सबै भए दुश्मन
जनता मारी नेता बन्नेले गरे देशमा शासन ।

शहिदको छोरा छोरीलाई कस्ले दिने गाँस बास
लडेका छन् तछाड मछाड बनाई देशलाई बरबाद
कहिले हास्ने नेपाली नेपाली तोडी सबै जन्जाल
कहिले बन्ने मेरो देश सुन्दर शान्त नेपाल।


-अस्टिन, अमेरिका

Saturday, March 14, 2009

गजल










-नेपोलियन मरहट्टा
गास, बास र अलिकती कपास देऊ देशलाई,
अहिल्यै लाश नबनाउ, सास देऊ देशलाई ।

राजनीतिको चोलीभित्र कति बाध्छौ खुम्च्याएर ?
कहिलेकाही चोली खोली, आकाश देऊ देशलाई ।

अन्धकार भित्र धेरै ताड्पिएर बस्नु हुन्न,
बिकासको घाम तापी प्रकाश देऊ देशलाई ।

हरियाली आउन फेरि अर्को ऋतु कुर्नु पर्छ,
अहिले नै बिचार गरी, मधुमास देऊ देशलाई ।

भोलि कहिल्यै आउँदैन,भोलि-भोलि नभन है ?
तिर्खा मेटी थोरै आज, मिठास देऊ देशलाई ।

फेरि बाढी आउन सक्छ, कोशीको झैँ छताछुल्ल,
अलिकती भएपनि, निकास देऊ देशलाई ।


-चितवन

गजल












-आचार्य प्रभा
किन किन मन मेरो त्यसै नै जली रह्यो
रापिलो आगो बनी तन मेरो बली रह्यो ।

मुहारमा खुशी छैन,अधरमा हाँसो पनि
सुस्ताएर सारा शरीर कमजोर बनी ढली रह्यो ।

जोश,जाँगर खोसिएर मन त्यसै निरश भयो
किन किन सारा उत्साह भित्र भित्रै गलि रह्यो ।

बसमा छैन मन मेरो बेचैन् छ दिल पनि
सारा पीडा मनभरी आँधी बनी चलिरह्यो ।


-अमेरिका

कथा

आगो

-मन्जु काँचुली
न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका रेशाहरूका तारबाट मस्तिष्क भरि झड्क्रित हुन्छ । यसको अनुभव अङ्ग अवयवहरूमा संचालित भएको पाउँछु । म खुशीका मनमनै गुलियो मन पारेर हाँस्छु । मनको ओठहरू गंभीर खुशीका जलले हराभरा हुन्छन्, अनि म लुकाउनै नसकिने गरेर ओठहरूमा हराभरा व्यक्तिन्छु । मसँगै हिंडेको साथीले मलाई भन्छ - किन त्यसरी एक्लै मक्क परेकी - म त्यसलाई व्यक्त गर्दिनँ किनकि मेरा स्वयं उपस्थितिको अभिव्यक्तिको अगाडि शब्दका अभिव्यक्ति अधुरो हुन्छ भन्ने मलाई लाग्छ । म उसलाई उछिनेर त्यो रानेर पुग्न पाइला शीघ्र रूपमा बढाउँछु । मैले त्यतिबेला आगोको उज्यालो मात्र देखेको हुन्छु, त्यसको अवशेष कोइलाको कालो वा त्यसको नतीजा धूवाँको अँध्यारो देख्दिन, किनकि ती सबै आगोको न्यानो मात्र हुन्छ । म खरानी देख्दिन, किनकि खरानी अवशेष हो र भविष्य बताउने अवशेषलाई देख्ने प्रौढता र बुढौती ममा विकसित भएको छैन । त्यहाँ आगो बालेर अगाडि बसेको एउटा मानिस छ, जो हार्दिकता र स्नेहले मलाई टाढैबाट स्वागत गरिरहेछ, बोलाइरहेछ, औंलाले इशारा गरिरहेछ ।

म हिंड्दै गरेको ठाउँको र त्यस आगोको रापको ठाउँमा बाटोको दूरी निक्कै नै छ ! मेरा गोडा शीघ्रातिशीघ्र बढ्न थाल्छन् । त्यपछि झन् मेरा गोडाहरू यसरी हिड्दा-हिड्दा त्यस आगोसँग साक्षात्कार हुने ठाउँ वा जमीनको अंशमा आइपुग्छन्, जसमा म निसङ्कोचस्पष्ट रूप भएर समानान्तर सिंढीको रेखामा त्यहाँ उभिन पुग्छु । आगो प्रचण्ड रूपमा बलरहेको हुन्छ । एकछिन त आगोको ज्वालामा आफूलाई पनि प्रज्वलित पाउँछु । म त्यस रापमा आफूलाई हर्ेर्ने प्रयत्न गर्ने कोशिश गर्छु एक छिन त आनन्दी, आराम, स्वच्छ र न्यानो पाउँछु आफूलाई । त्यहीको त्यस साथीले मलाई भन्छ - "अलिक नजिक आएर बस, मेरो सँग नै ।" म स्वचालित यन्त्र जस्तो त्यतै लच्कन्छु । मलाई न्यानोको अनुभव प्रगाढ हुँदै जान्छ, मन पनि त्यसै साथ रमाउँदै जान्छ । न्यानोको पनि सङ्गीत हुँदोरहेछ प्रशस्त मेडोली भएको । मेलोडीको सरगमले भरिएका मेरा रक्त कोषाणु रापको न्यानोपन भएको अर्को मेलोडीमा मिस्सिन पुग्छन्-केन्द्रबिन्दु भएको उसको मानवीय भौतिक शरीरले बोकेका गोडातिर मेरो न्यानो पाउने उद्देश्य अझ अग्रसर हुन पुग्छ । मैले त्यतिबेला त्यहाँको त्यो आगोको न्यानो टिपिसकेको हुन्नँ, केवल रापले मात्र टाढाबाट नजिक हुँदै छोइएको हुन्छु ।

मलाई एउटा उखानको सम्झना हुन्छ,- "अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ ।" त्यतिबेला त्यहाँ प्रत्यक्ष नै एउटा बालक अज्ञानमा आगोतिर बामे र्सर्दै घस्रन्छ, उसका आँखाले देखेको उज्यालोलाई उसको हातले टिप्न खोज्छ, त्यहाँ पोल्ने खतराको सीमारेखा उसले आफ्नो मस्तिष्कमा कोरिसकेको हुँदैन । एक मुष्ट आवाजले परबाट उसलाई "ए हुन्न हुन्न, पोल्छ, हुन्न" भनेर प्रतिक्रिया जनाउँछन् । त्यस आवाजप्रति एकचोटी आफ्नो शीघ्र आगो भेट्ने गतिलाई ऊ एकाएक टक्क रोक्छ । पोल्ने कुरालाई उसले देक्दैन, आगोको उज्यालोलाई मात्र देख्छ । फेरि शीघ्र गतिमा आगोतर्फकुद्छ र आगोलाई भेटिछोड्छ । तुरन्त यातना र पीडाले अज्ञानमा ठूलो आवाजमा त्रासको बीचमा रोएर चिच्याउन थाल्छ । म त्यो जीवित घटना त्यही फेरि देख्छु जुन आफूले पनि भोगिसकेको हुन्छु । वैचारिक साधारणीकरणको स्तरमा पुगेर मनभित्र आफूले आफैंलाई भन्छु-हर बालक आगोले पोलेको पीडाको ज्ञान अनुभवबाटै गर्छ । मलाई त्यो देखेर आफैं बालक भए जस्तो लाग्छ, मलाई नै पोलेजस्तो लाग्छ । म सम्झन थाल्छु मेरो मन पनि यसै गरी बामे सरेको थियो कुनै बेला, कुनै न्यानो वस्तुको प्राप्तीमा । आगोतिर कलिलो मन अग्रसर हुँदा, "ए हुन्न, हुन्न, पोल्छ, नजाऊ" भन्ने आवाज परिवारबाट र समाजबाट सुनेको थिएँ । म त्यो बालकको रुवाईको आवाजमा आफ्नै बामे सरेको पूर्वमनको आवाज पाउँछु । म त्यतिबेला आगोमा पुग्न अग्रसर हुँदा समातेर विपरित दिशामा फ्याँकेर आगोदेखि बचाइदिने कोही नभएको सम्झन्छु । त्यस बालकले आगोमा पोलेको हात गोडालाई नियालेर हेर्छ पोलेर बचेको तर कुरूप भइसकेको आफैंवरको आफ्नै मनलाई देख्छु । म हिस्टेरिया वा न्यूरोसिसले ग्रस्त भए झैं तुरुन्त ठूलो आवाजले डाको छाडेर रुन थाल्छु, तत्क्षण त्यहीं नै । सायद ठूलो भइसकेर पनि आवाज आउने गरी रोएको पहिलो हिक्का यही नै हो, आफूले नियन्त्रण गर्न नसकेको तीव्र दुःखको आरोह त्यही नै हो । मलाइ बलिरहेको त्यस आगोले तत्क्षण त्यहीं नछोएर नै पोल्छ । मेरो अनियन्त्रित आँसुको झरीले त्यस मुढोमा बलेको आगोलाई निभाउन के सक्थ्यो, बरु आगोमा घ्यू थपेजस्तो हुन्छ, आगो झन् प्रज्वलित भएरबल्न थाल्छ । सँगै उभिएको उसले मलाई हेरिरहेको हुन्छ । म रँदै र दौडदै घर र्फकन्छ, मैले मेरो आँसु र हिक्कालाई लुकाउनै सक्तिनँ यो रूपाइको हिक्का ज्वालामुखी भएर फुट्छ, अनि फैलन्छ । सबै घटना बगैंचा भ्रमण गरिरहनु भएका आमा र बुबालाई भनिदिन्छु । मेरो हात पनि बालककालमा यसैगरी पोलेको थियो । म आफ्ना ती अज्ञान औंलारहीत हात उहाँहरूको सामू तेर्स्याएर आँसु मिश्रति प्रश्न ठड्याउँछु - "यो मेरो हात कसरी पोलिएको थियो - तपाईँहरू त्यो घटनाको कारण मलाई कहिले पनि किन बताउनु हुन्न -"

आमा रिसाएर र उदासीनता मिसिएको स्वरमा भन्नुहुन्छ "आगोले पोल्छ, तँलाई थाहा छैन -"

बुबा ऐजन स्वरमा गंभिरता थपेर बोल्नु हुन्छ - "आगोलाई ताप्न जान्नु पर्छ छोरी ! अनि आगो न्यानो हुन्छ । आगोले सबैलाई पोल्छ । तँलाई आगोले पोल्दा तँ सानी थिइस् ।"

आजकल म अक्सर त्यो आगोले खाएको कुरूप हात तेर्स्याएर कोठामा हिटरको आगोको मात्र न्यानो ताप्ने गर्छु अक्सर म हिटरको आगोको करेन्ट र राप आँखाले नाप्ने गर्छु ।

गजल

-केशब आचार्य
छाडिगयौ साथ मेरो माया पनि लिई गयौ
ब्यथाहरु जिन्दगीका धेरै धेरै दिई गयौ ।

ओकलेर फालिएको बिष जत्ती मेरै भयो
घडाबाट निकालेको अमृत सबै पिई गयौ ।

मेरो मात्र फाट्नु रैछ,जिन्दगी यो फाटेकै छ
आफ्नो लागि जिन्दगीको नयाँ चोला सिई गयौ ।

जसो तसो आफ्नो यात्रा बढेकै छ सबैको
तिमी भने सपनाको महलमा जिई गयौ ।


-अमेरिका

Friday, March 13, 2009

कबिता

अतिथि र हतार

-श्रवण मुकारुङ
थाहा छ तिमी हतारमा छौ-
तिमीलाई धेरै टाढा पुग्नु छ
तर नबिर्स !
यो धर्तीमा हिँड्न
हामीले बनाएका हौं- बाटो !

थाहा छ ब्रह्माण्डलाई-
हतारमा छ पृथ्वी
प्रार्थनारत छन् नानीहरू
भागिरहेको बेलुनबाहिर
कमिला हतारमा छ
अम्बा, निबुवा र सुन्तला वरिपरि
हतारमा छ झुसिलकीरा
संयोगले हामी जन्मियौं यस माटोमा
सँगै उभियौं युद्धका असंख्य मोर्चाहरू

प्रत्येक युद्धमा हामीलाई बँचाउने
यी हिमाल, पहाड, जङ्गल, नदी र मैदानहरू
अहिले भेट्न चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
प्रत्येक क्षण हामीलाई स्याहार्ने
यी सहर, सडक, चोक, र गल्लीहरू अहिले
छुन चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौए अतिथि !
ए यो समयका अन्तिम व्यस्त वैज्ञानिक !
हेर ! तिम्रो पृथ्वी
माइक्रोस्कोपभित्र हल्लिरहेको एउटा बिन्दु
चलिरहेको अमिबा वा अक्टोपसको एउटा कोश
त्यो हो तिम्रो देश-
त्यहाँ तिमी हतारमा छौ ।

यस्तो हतारबीच
फूल दियौं तिमीलाई
नसम्झ ! देवता मान्यौं हामीले
अबिर लगाइदियौं तिमीलाई
नसम्झ ! बिजेता ठान्यौं हामीले
हात जोड्यौं-
नसम्झ ! शासक सम्झ्यौं
शिर झुकायौं-
नसम्झ ! सपना सुम्पियौं

ए अतिथि ! ए अतिथि !!
सतीदेवीको मृत शरीर होइन हाम्रो सपना
र, होइनौ तिमी दुर्लभ महादेव
मात्रै स्वागत गर्नु छ तिमीलाई
किनकि-
तिमी हतारमा छौ-
तिमीलाई धेरै टाढा पुग्नु छ ।

तिमी गइसकेपछि...
तिम्रो तस्बिर सुम्सुम्याएर भावुक हुने छैनौं हामी
तिम्रो श्रव्य-दृष्य वा वृत्तचित्र हेरेर उत्तेजित हुने छैनौं हामी
तिम्रा आविष्कारहरू/तिम्रा महावाणिहरू
ऋचा, मन्त्र वा मुन्धुम केही हुने छैनन् हाम्रा लागि
कुनै सम्झीनुपर्ने दिन हुनेछैन तिम्रो मृत्यु
सती जाने छैन कुनै उज्यालो झन्डा तिम्रो चितामाथि
तर हामी-
फेरि भेला हुनेछौं यहीँ/यही समारोहमा
र गर्नेछौं गम्भीर बहस-
'के तिमी साँच्चै हतारमा थियौ...?
कि बिदा गर्न तिमीलाई
हामी हतारमा थियौं ??'


-काठमान्डौ
(साभार: कान्तिपुर )

गजल

-राज लम्साल " यात्री"
यो साथ तिमीलाई यो बात तिमीलाई
कहिल्यै नछुट्ने यो हात तिमीलाई

शंकाले नहेर यो अधरमा मेरो
मन भित्र बिश्वासको खात तिमीलाई

आउ मिल्न अब अङ्गालोमा तिमी
बैशले भरिएको यो मात तिमीलाई

छैन हाम्रो वरिपरि दिवार कतै
जिन्दगीको पहिलो यो रात तिमीलाई


-महारानी झोरा-३, झापा
हाल: अबुदाबी, दुबई

गजल











-नेपोलियन मरहट्टा
भाग लगाई तराजुमा जोखिदै छ देशलाई
लिलामीमा मुल्यहरु तोकिदै छ देशलाई ।

नेता स्वार्थी भए पछी झोलुंगो झै हुँदो रैछ,
हल्लाएर उत्तर-दक्षिण ठोकिदै छ देशलाई ।

आज सम्म जति आए,सबै दुष्ट नेता आए,
खानु खाए नखाएको पोखिदै छ देशलाई ।

जनताले पालेका ति ब्वासोहरु बहुलाएर,
ईन्डिया र चाइनाबाट टोकिदै छ देशलाई ।

श्वास छदैँ एकोहोरो शंखहरु बजाएर,
जबर्जस्ती आर्यघाटमा बोकिदै छ देशलाई ।


-चितवन



गजल










-डोलेन्द्र पौडेल
तिम्रो मनको बाटो हिड्न, अब देखि छोडिदिन्छु
भबिष्यको यात्रा मेरो, अन्तै तिर मोडिदिन्छु

संगै मर्ने संगै बाच्ने ,खाएको कसम संगै
दिल भित्र सजाएको तस्बीर, सबै फ़ोडिदिन्छु

भुल्यौ क्यारे मेरो न्यानो, अंगालोका रातहरु
राजी तिमी छैनौ भने, यो नाता तोडिदिन्छु

सुनेको छु अर्कै संग, सम्बन्ध गास्दै छौ रे
साचो भए अब जीबन, सुन्यतामा जोडिदिन्छु

सक्छौ भने भेट्न आऊ, सम्झनाको छहारीमा
माली बनी टाढैबाट, मनको बगैचा गोडिदिन्छु


-बाग्लुंग
हाल: IME मलेसिया


Thursday, March 12, 2009

कबिता













म निरीह देश

-आचार्य प्रभा
आरोप/प्रत्यारोप ,
विश्वाश /अबिश्वास ,
घात/प्रतिघात
न्याय /अन्यायको चक्रब्युहमा
फँसेको म निरीह देश
मेरो स्वाभिमान आज भोलि
हरेक जनताको अभिमान अनि प्रतिशोधको
ज्वाला बनेर जलिरहेछ ।
स्वाभिमानको अग्लो शीर बनेर
उभिएको मेरो सगरमाथा पग्लिएर
हर आँखामा छचल्किएको छ ।
चन्द्र,सूर्य छातीमा टाँसेर
फर्फराउने मेरो प्रतिक
केवल ---लाजको पछ्यौरीमा मात्र परिणत छ ।
बिडम्बना हो या सतिको सराप भनूँ ?
मेरो छात्ती कौरव ,पान्डवको
युद्धरूपी रणभूमि बनेको छ ।
स्वयम्भूको त्री-नेत्रले
तान्डव नृत्य हेर्न मात्र बिबश छ
अधीर बनेर मलाई सदा सर्वदा
आषिश दिने पशुपतिनाथ
यथार्थ मा नै 'पशुहरुको 'पतिमा मात्र अनुवाद छ ।
'हामी एक हौ 'भन्ने बाणी
अनेकतामा बिभाजित छ
'मेरी आमा' 'मेरो देश' भन्ने
भावना र शब्दहरु ईर्ष्या र जलन अनि घ्रिणामा
परिवर्तित् छ ,
त्यसैले म निरीह देश
मेरो ललाटमा केवल ---
'निरीह' कोरिएको छ
मेरो आफ्नो स्वाभिमान ,अस्मिता
बन्धकमा परेको छ ।


-अमेरिका

गजल








-के.आर.बिबश
तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया
बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया

मायामा के भिन्नता हुन्छ ? धनी र गरीबको भनी
मन मेरो मारेर गयौ यो त आत्माघाती भो प्रिया

बाचा गरी टुटायौ आँफै तड्पाइमै धकेली दियौ
मेरो बेचैनी देख्दा तिमीलाई त जाती भो प्रिया

न कुनै उदेश्य अब न कुनै योजना मेरो
तिमी बिनाको हरेक पल अन्धकार राती भो प्रिया

तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया
बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया


-राङ्खानी-६ बाग्लुङ
हाल : ईराकको मरुभूमिबाट
ईमेल: bibash_sharma139@yahoo.com

कबिता

के मेरो अस्तित्व छ ?

-सुषमा रेग्मी
छ रे,
मेरो पनि अस्तित्व छ रे यहाँ
किनकि म तोलमोल गरिन्छु
म नजरको गिद्दे दृष्टिबाट पलपल आरपार गरिन्छु
म रङरूपको मापदण्डमा
शरीरको अङ्ग-अङ्ग को गोलाइ अनि लम्बाइमा
म मेरो बैँशको आधारमा
मोलभाउ गरिन्छु
त्यसैले मेरो अस्तित्व छ !

च्याउसे देखि भुसतिघ्रे गिद्धाहरू
मेरो लागि घम्सा घम्सिमा उद्धत रहन्छन्
हाड मासु घोटी
लालाबालाको आँसु, भविष्य अनि जिम्मेवारीलाई लात हान्दै
आफ्नाका विश्वास, समर्पणको चिहानमाथि
लज्जाहीन मुल्यहीन खोक्रो शरीर घिसार्दै
पत्र पत्रमा च्यात्न, चुस्न अनि निचोर्न
आउछन् थुप्रै अनुहारहरु ङिच्छ गर्दै मेरा सामु
त्यसैले मेरो अस्तित्व छ !

मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी म घर सिगार्ने वस्तु हुँ
ईट पत्थरको घरमा बस्नेहरुको लागि
म सजावटको सामान हूँ
लाजको भारी छ जसको काँधमा
सबैको इज्जत धान्ने डाली हुँ
चाहेको बेला उपस्थित हुनैपर्ने
पत्नी नामक प्राणी हु
त्यसैले मेरो अस्तित्व छ !

मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी सबैले मलाईनै खोजी खोजी आरोप लगाउँदैछन्
चोक्टा चोक्टा लुछी
अपमानजनक शब्दको हार बोकी
घाउमा नुनचुक दल्दैछन्
'बोक्सी' शब्दले विभुषित गर्दैछन्
अखाद्य बस्तुबाट टन्न अघाउँदैछु म
पिल्साइसकेपछि पनि चित्त नबुझी
खोक्रो यो मंसपेशीय ढाँचालाई जलाउँदै
कहिले दाईजो, कहिले रङ्गरूप अनि कहिले बोक्सीको नाममा
टुक्राटुक्रामा मृत्यु खेपेकोलाई फेरी मार्दैछन्
किनकी मेरो अस्तित्व छ !
खै कहाँ छ मेरो अस्तित्व ?

भो, बन्द गर,
त्यो परिभाषित 'अस्तित्व' मलाई मान्य छैन
खोक्रो शब्दजालको पुजारी चाहिदैन
घृणा छ मलाई
ढुङ्गाको देवीसँग तुलना नगर
जिउदै मर्ने मेरो चाह होइन
तिमीभित्र लुकेको, तिमीभित्र बेरिएको पनि म होइन
तिमी बाहिरको अलग्गै
आकाशकी धर्तिकी एक अंश हुँ म
जहाँ प्रेम, शहिष्णुता, सद्भाव छ
हो, यो 'म' भित्र थुप्रै कुराहरू समाहित हुनसक्छन् सागरझैं
जो आँफैमा चलायमान छ
संपूर्ण छ, अनि अरुलाई सम्पूर्णता दिन सक्छ
खबरदार! होशियार!
जसले सुनामी पनि ल्याउन सक्छ
नलत्याऊ, अनि नविथोल यसलाई
बुझ, अनि अन्तर्मनमा मनन गर
मेरो प्रतिकारलाई सम्मान गर
म तिमी जस्तै 'म' हुँ '
स्त्री, 'महिला' वा 'नारी' जे भन
सृस्टी सम्हाल्ने मानुषी
जसको बेगर कुनै मानवको अस्तित्व छैन
हो, एउटा मौलिक परिचयकी प्राणी
मलाई यसरी चिन र सम्झ, अनि सम्मान गर्न सिक
किनकी मेरो छुट्टै पहिचान छ
नकार्न सक्छौ भने नकार
तर पहिला आफ्नो अस्तित्वको व्याख्या गर ।

-धापासी , काठमान्डौ

गीत

जान्छु बाबा

-तारा कुमारी राई
जान्छु बाबा आफ्नै घर बनको चरी बनमै रम्छ
माईतीघरमा बसे पनि मनले त्यतै जाउँ भन्छ

छोरी बनी जन्मी हाले पराई घर टाल्नै पर्र्यो
सबै सामु पीर बोकी हासी-हासी जिउनै पर्र्यो
गह भरी बर्षात हुन्छ मन भित्र पहिरो जान्छ
माईतीघरमा बसे पनि मनले त्यतै जाउँ भन्छ

शत्रुहरूको आखाँ अघि हिड्नु पर्ने फूल टेकी
कुरा काट्छन नाना थरी फेरि मलाई यही देखी
एकै छिन बस्दा यहाँ मेरो मुटु कट्कट खान्छ
माईतीघरमा बसे पनि मनले त्यतै जाउँ भन्छ

जान्छु आमा आफ्नै घर बनको चरी बनमै रम्छ
माईतीघरमा बसे पनि मनले त्यतै जाउँ भन्छ


- खोटांग
हाल: जयबागेस्वरी, काठमान्डौ

Tuesday, March 10, 2009

कबिता











शासक बिहिन भएको छु

-नेपोलियन मरहट्टा
जिउँदा लाशहरु बस्ने
त्यो मशानघाटको सिंहदरबारको
सुनै सुनको कुर्सिमा जो बसे पनि
यती सजिलै म तिमीलाई
आफ्नो शासक मान्दिन ।
तिमीले आँफुलाइ शासक ठाने पनि
बास्तबमा ,
म कहिल्यै तिमीबाट शासित भइन ।
देश लुट्न,भेष फेरेर आउने
तिमीजस्ता सत्ताधारी जोगीले
निधारमा एक चिम्टी
रातो खरानी दल्दैमा, म काहाँ
तिमीलाई श्री ३ मान्न सक्छु र ?
कान्तिपुरे खाल्टोमा बसी
सिंहदरबार ओहोर दोहोर गर्दैमा
म तिमीलाई काहाँ शासक मान्छु र ?
शहरको गल्ली देखी,गाउँका ति बस्तिहरुमा
कहिल्यै शासन गर्न सकेनौ तिमीले ।
न त, देशको कुनै सिमानाहरुमा नै
शासन गर्यौ ?
भोका,नाङगा र रोगीहरुले पनि
केही पाएनन् तिम्रो सत्ताबाट ।
नत ति पहाड,पर्बतले नै
श्रीँगार पाए तिमी बाट ।
कती नदी, छहरा र खोलाहरु
तिम्रो हातबाट फुत्किएर पश्चिम बगे,
तर, बिडम्बनाको कुरो
बगीजाने एक मुठी पानीमा पनि
शासन गर्न सकेनौ तिमीले ।
अनि,कसरी म तिमीलाई
जंगबहादुर भन्न सक्छु र ?
साँच्चै,यस्तो लाग्छ मलाई,
आजभोली
तिमी सत्तामा आएदेखी त
म देशभित्रै भएपनि
एउटा शासक बिहिन भएको छु ।
तिमी बिहिन भएको छु ।



-चितवन
ईमेल: nepoleon_b@yahoo.com

लेख

नेपाली उपन्यासका बहुआयामिक पक्षहरू

-डीपी अधिकारी
नेपाली साहित्य लेखन इतिहासको कुन समयमा बढी फलदायी देखिन आएको छ भनी साहित्यिक क्षेत्रका कतिपय लेखकहरु लेखाजोखा गर्नमा छन् । तर साहित्य लेखनको कुन विधाको उपलब्धिलाई अगाडि राखेर लेखाजोखा गर्ने हो त्यसको पनि यहाँ निर्धारण हुन आवश्यक छ । अङ्ग्रेजी साहित्यका बीसौं शताब्दीका प्रसिद्ध समालोचक इ.एम.फोस्टर लेख्छन् साहित्य लेखन मानवजीवनसँग सम्बन्ध राख्ने भएकाले उपन्यासले मात्र मान्छेको बहुपक्षीय चरित्रलाई अध्ययन गर्नसक्छ । उनी यो पनि भन्छन् कविताको क्षेत्रमा गुणात्मक र सङ्ख्याको दृष्टिले पनि अङ्ग्रेजी कविता विश्वमा अरु देशमा लेखिएका कविताभन्दा अगाडि छ । तर जब उपन्यास लेखनको कुरा आउँछ रुस सबैको अगाडि छ भन्ने उनको भनाई छ । सत्रौं अठारौं शताब्दीमा यूरोपमा पूँजीवादी व्यवस्थाको उदयको साथै त्यतिबेलाको मानवीय चरित्रमा हुने परिवर्तनको अध्ययनको लागि उपन्यास लेखनको पनि विकास हुँदै आयो । त्यसैले उपन्यास लेखनलाई पू्जीवादी युगको उपज भनेर मानिएको छ । नेपाली कविता लेखनले पनि धेरै ठूलो उच्चता प्राप्त गरिसकेको छ । यसमा नेपाली साहित्यले गौरव गर्न सक्छ । कवितामा धेरै जादूयिक आकर्षण रहने गरे पनि मानव उद्वेग र भावनालाई सङ्क्षिप्त शब्दहरुमा समेटेको हुन्छ ।

मानवजीवनको पूर्णाङ्क चरित्र र समवेदनालाई उपन्यासले मात्र एकमुष्टमा अध्ययन गर्न सम्भव भएकाले उपन्यासलाई आधुनिक महाकाव्य भनेर नामाकरण गरिएको छ । त्यसैले नेपाली जीवनलाई लिएर लेखिएका नेपाली उपन्यासहरुलाई बराबर अध्ययन गर्न आवश्यक छ । विकासशील देशहरुमा साहित्यिक लेखनलाई सांस्कृतिक जागरणको अभियानको रुपमा पनि हेर्ने गरिदैछ । अठारौं शताब्दीको मध्यान्तरतिरबाट यूरोपमा मान्छेको जीवनशैलीमा आउन सुरु गरेको परिवर्तनका व्यवहारलाई अध्ययन गर्ने प्रयासमा शुरु भएको उपन्यास लेखन एशियाका अरु देशहरुको सरह नेपालमा पनि ढिलै गरेर भए पनि साहित्य लेखनमा प्रभाव पर्न सुरु गर्यो । पौराणिक कथामा आधारित लेखनबाट पृथक भएर सम्बत् ९० सालदेखि घरपरिवारका एकाङ्गी सुखदुःखका कुरा अथवा लोग्नेको पाउने र नपाउने सौताहरुको आपसी कलह टिप्नमै सीमित रहेको नेपाली साहित्य लेखन अब मानव जीवनलाई सामाजिक सम्बन्ध भित्र राखेर लेख्न सुरु भएको छ । विगत चारदशकयता धेरै उपन्यासहरु नेपालमा लेखिएका छन् । यी उपन्यासहरु हाम्रो सांस्कृतिक जागरण अथवा सामाजिक चिन्तनसँग पनि सम्बन्ध राख्ने भएकाले यस क्षेत्रमा यी कतिसम्म सफल रहेका छन् भन्ने सबैको लागि चासोको कुरा बनेको छ ।नेपालमा राष्टिय चिन्तनलाई लिई उत्कृष्ट उपन्यास नलेखिएको भए पनि सामाजिक जीवनको बहुपक्षीय चरित्रलाई देखाउने गरेर उपन्यास लेख्ने प्रयास हुँदै आएको छ । ती उपन्यासहरुको धेरैपल्ट मूल्याङ्कन भैसकेको छ ।

नेपाली समाजको विकासको बाटोमा देखापर्ने बहुआयामिक चरित्र र अन्तरविरोधहरुलाई सूक्ष्मरुपले अध्ययन गरिएका उपन्यासहरु लेखिन बाँकी नै छ । भारतीय ग्रामीण जीवनको विकासको बाटोमा उत्पन्न विकृति र गतिरोधहरुलाई उद्घाटित गर्न सफल तथा भारतीय पाठकबीच लोकपि्रय रहेको फणिश्वर रेणुको उपन्यास मैला आँचल सँग यहाँ तुलना गर्न चाहेको होइन । तर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितले नेपालको तराईका ग्रामीण जीवनले भोग्दै गरेको गरिबी दरिद्रता र ठूलाबडाको उत्पीडनको एउटा जिउँदो चित्रण उपस्थित गरेको छ । यसले नेपाली पाठकबीच व्यापक प्रचार पाउन सकेको भने छैन ।

यस्तै आचलिक जीवनलाई लिइ लेखिएको अविरल बग्दैछ इन्द्रावती भन्ने रमेश विकलको उपन्यास गाउँमा रहेको गरीबी माथिको अध्ययनमा केन्द्रित रहेको छ । यी दुईमा फरक यति छ कि रमेश विकलको उपन्यास अविरल बग्दैछ इन्द्रावती गाउँमा स्थापित परम्परागत सामन्तीको उत्पीडनको विरुद्धमा त्यहाँका नवजागृत हुँदै आएका युवाकहरुको नेतृत्वमा संगठित गाउँवासीहरु विद्रोहमा हुन्छन् भने ध्रुवचन्द्रको अलिखितमा गरीवी भित्रका उत्पीडित गाउँवासीको दर्दनायक चित्रण उपस्थित छ । खगेन्द्र संग्रौलाद्वारा लिखित जूनकिरीको गीतु पनि गाउँले जीवनमा आधारित उपन्यास हो । गाउँमा छरिएर बसोबास गर्दै आएका दलित समुदायमाथि माथिल्लो जातका समुदायबाट गरिएको उत्पीडन र दलितहरुको उत्थानमा संलग्न केही व्यक्तिहरुको प्रयासलाई देखाइएको छ । तर यी व्यक्तिहरु आफैमा अतिरिजत र अस्वाभाविक देखिन आएका छन् ।

केही समय पहिले प्रकाशित माजुश्री थापाको द ट्यूटर अफ हिस्ट्री पनि ग्रामीण जीवनकै सेरोफेरोका घटनालाई बटुल्नमा केन्द्रित रहेको छ । यो उपन्यासले पनि आफ्नो अध्ययनको क्षेत्र नेपालको एउटा गाउँलाई बनाएको छ । त्यहाँ बसोबास गर्ने मान्छेहरुको दैनिक गतिविधिमै यो उपन्यास सीमित रहेको छ । तर यसले प्रस्तुत गरेका पात्रहरुमा प्रमुख मानिएको लगायत कसैका पनि चरित्र पूर्णरुपले उद्घाटित हुन सकेको छैन । पात्रहरु प्रसस्त उभ्याइएका छन् तर तिनीहरुमा कसैको पनि कार्यशैली र चरित्र समेत राम्रोसँग प्रष्टिन सकेको छैन ।

यसले गर्दा उपन्यासले नेपाली जीवनको कुन पक्षलाई ऊजागर गर्न चाहेको भन्ने देखापर्दैन । नेपालमा सम्पन्न हुने आवधिक चुनावकेा समयमा पार्टी व्यक्तिहरुबाट पहाडी क्षेत्रमा जनताबीच गरिने जनसम्पर्क र दौडवाजीकेा सानो परिदृश्यलाई उपस्थित गराइएको छ । तर नेपालका पहाडी क्षेत्रमा हुने गरेका चुनाव गतिविधिका तौरतरिका र परिणामको सम्बन्धमा पनि केन्द्रित रहन सकेको छैन । यस्तै पूर्णरुपले अध्ययनमा आउन नसकेको रनमाया भन्ने अर्को एउटा उपन्यास प्रकाशमा आएको छ ।

इन्दिरा प्रसाईद्वारा लिखित यो उपन्यास भुटानमा पुस्तौदेखि बसोबास गर्दै आएका त्यहाँको नागरिकता प्राप्त गरेका नेपाली मूलका मानिसहरुलाई एकाएक भुटानी भूमिबाट विस्थापित गराएर देशबाहिर लखेट्ने गरेको व्यवहारलाई देखाउँछ । कथाको प्रारम्भ हुन्छ भुटानको कुनै भूभागमा नेपाली मूलका एउटा परिवार तीनपुस्ता पहिलेदेिख नेपालबाट आएर त्यहाँ बसोबास गरेको वर्णन छ । तीन पुस्तासम्म पुग्दा त्यो परिवार फैलिएर सन्तान दरसन्तान बनेर त्यहाँ खेतीबारी लगायत अन्य कारोवार र पेशामा पनि संलग्न रहेको देखापर्छ । तर पुस्तकको आधाआधीसम्म पुग्दा पनि त्यो नेपाली परिवार त्यहाँका आदिवासी भुटानीहरुसँगको लामो समयसम्मको आपसी सहवासमा स्वाभाविक रुपले एउटाको अर्कोमा पर्दै आएको सांस्कृकि तथा अरु व्यवहार अथवा विरोधाभासका कार्यकलापको दृश्यहरु पनि देखाइन्नन् । पढ्दा लाग्छ नेपालीहरुकै सेरोफेरोले मात्र बनेको त्यहाँको समाज छ ।

पुस्तकको आधाआधीमा पुगेपछि एकाएक भुटानीहरु लाठी मुङ्ग्रो बोकेर नेपाली मूलका बासिन्दाहरुलाई खेद्न लागेको दृश्य देखापर्छ । यो एकदमै बनावटी रुपले तैयार गर्न खोजेको एउटा खेलजस्तो मात्र देखापर्छ । लेखकको आफ्नो प्रत्यक्ष अनुभवको अभावमा भनेसुनेका घटनाहरुको जोडजाडले एउटा जिम्दो चित्रण बन्न सक्तैनभन्ने कुराको यो एउटा उदाहरण हो ।

नेपालको राष्टिय जीवन र त्यसको बहुआयामिक चरित्रलाई अध्ययन गर्ने प्रयासका केही उपन्यासहरु प्रकाशमा आएका छन् । मदनमणि दीक्षितको त्रिदेवी ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटक र अग्निदत्त तथा डी।पी। अधिकारीको युगान्तकारी प्रमुख रुपमा छन् । यी उपन्यासहरु हाम्रो राष्टिय जीवनमा रहेको विरोधात्मक चरित्रको साथै यसमा उत्पन्न गतिशील स्वरुपलाई अध्ययन गर्नमा कतिसम्म सफल रहे अथवा असफल रहे भन्नेमा धेरै पक्षबाट धेरैपल्ट टिकाटिप्पणी भैसकेका छन् ।

केहीले अहिलेका उपन्यासहरुमा कलात्मक सौन्दर्यताको कमी रहेको पनि टिप्पणी गरेका छन् । वस्तुतः साहित्यिक सौन्दर्यता भन्नु साहित्यिक सिर्जना भन्दा छुट्टै स्वतन्त्र अस्तित्वको कुनै कुरा छैन । समाजभित्रको मानवीय व्यवहार तथा आपसी सम्बन्धको साथै उसका अन्य चत्रिरहरुलाई सूक्ष्मरुपले ऊजागर गर्ने लेखन शैलीसँगको कुरा मात्र छ यो । किनभने उपन्यास लेखन कुनै निश्चित परिभाषाबाट शुरु भएको भन्दा पनि इतिहासको विशेष अवस्थामा उत्पन्न हुदो सामाजिक सम्बन्धको जटिलतालाई ऊजागर गर्ने प्रयासमा उपन्यास लेखनको प्रारम्भ भएको छ ।

विश्वमा सर्वोत्कृष्ट मानिएको टल्सटायको उपन्यास युद्ध र शान्तिलाई लेखक आफैले पनि यो ऐतिहासिक घटनाहरुको विवरण हो भनेका छन् तर सबैले त्यसलाई उपन्यासकै नाम दिएका छन् । टल्सटायको युद्ध र शान्ति ऐतिहासिक घटनाहरुको विवरणको रुपमा रहेको भए पनि उनले यो लेखनमा त्यतिबेला यूरोपमा उत्पन्न हुँदो सामाजिक विकासका नयाँ विचार र चिन्तनलाई पनि यसरी आवद्ध गराउन सकेकोले संसारले यसलाई एउटा महान् उपन्यासको सम्मान दिने गर्दै आए । यस्तै ऐतिहासिक घटनालाई लिई लेखिएको एउटा नेपाली उपन्यासलाई यहाँ अध्ययनमा लिइएको छ । डायमन शमशेर राणा ऐतिहासिक उपन्यास लेखनमा निकै अगाडि देखा परेका छन् । उनको वसन्ती उपन्यास पाठकबीच ऐलेधेरै प्रचारमा आएको छ । वस्तुतः वर्तमान सदैव भूतबाट प्रभावित गरेर कतिपय कुरामा मार्गदर्शन पिन गराइरहेको हुन्छ ।

डायमन शमशेरको वसन्ती उपन्यास त्यतिबेलाको दरबारभित्रको राजनीति र बाहिरका शक्ति राष्टूहरुको नेपालप्रति कस्तो नीति र व्यवहार रहेको थियो भन्ने आजका पाठकलाई निश्चय पनि आकर्षित गर्ने कुरा छ । किनभने ई।सं। १८४६ मा काठमाडौंमा श्रृजित कोतहत्याका प्रमुख नायक तथा अङ्ग्रेजी साम्राज्यवादको आव्हानमा सैनिक शक्तिबाट कुल्चेर भारतीय उपमहाद्वीपमा अङ्ग्रेजी साम्राज्यवादलाई स्थापना गराउनमा प्रमुख भूमिका निभाउने जङ्गबहादुरजस्ता पात्रलाई समाहित गरी तैयार गरिएको 'बसन्ती' उपन्यासले जङ्गबहादुरको व्यवहार पनि निश्चय नै प्रतिबिम्बित हुनुपर्ने कुरा छ । किनभने भारतीय उपमहाद्वीप लगायत नेपाल समेत दक्षिण एशियाका स्वतन्त्र अस्तित्वमा रहेका राष्टूहरु त्यसपछि साम्राज्यवादी शक्ति अङ्ग्रेजको आक्रमणकारी तथा औपनिवेशिक दासत्वको प्रभावमा पुर्याइन्छ । डम्बरेकी स्वास्नी वसन्तीसँग गलत किसिमले उल्झन पुगेका सैनिक उच्च ओहोदाका गगन सिंह जङ्गबहादुर तथा कान्छी महारानी लक्ष्मीदेवी शाह समेत उपन्यासका प्रमुख पात्र बन्न पुगेपछि उनीहरुको तत्कालीन व्यवहारले राष्टिय राजनीतिमा पारेका प्रभावलाई पृथक राखेर वसन्ती र गगनिसंह बीचको प्रेममिलन र विरहका दृश्यहरुलाई मात्र बटुल्नुले वसन्ती उपन्यासले के ऐतिहासिक घटनाहरुलाई पूर्णरुपले प्रतिनिधित्व गरेको छ र तत्कालीन राजा राजेन्द्र विक्रम शाहकी कान्छी महारानीको आफ्नो छोरो रणेन्द्र शाहलाई राजगद्दीमा पुर्याउने महत्वाकाङ्क्षाबाट सैनिक ओहोदामा प्रोत्साहन पाएका जङ्गबहादुर कोतहत्या मचाएर अङ्ग्रेजी साम्राज्यवाद विरोधी भारतीय जनविद्रोहलाई पनि दवाएर अङ्ग्रेजको शरणमा पुग्छन् ।उपन्यासले जङ्गबहादुरलाई गगन सिंहको समर्थकमा देखाएको छ । तर त्यतिबेला अङ्ग्रेजको आवासीय प्रतिनिधिको रुपमा काठमाडौंमा रहेका हड्सनले भने दिल्ली सरकारलाई लेख्ने गरेको चिठीमा जङ्गबहादुरलाई महत्वाकाङ्क्षी र गगनिसंहको विरोधी भनेर उल्लेख गरेको पाइन्छ । लेखक राजेश्वर देवकोटा भने उपन्यास लेखनमा पाठकलाई अर्को नयाँ विषयवस्तुतिर आकर्षित गर्दैछन् ।

उनको नयाँ लेखिएको डबली भन्ने उपन्यास मानव जातिले परापूर्वकालदेखि आत्मसात गर्दै आएको धार्मिक विश्वासलाई बितेका दुई सहस्राब्दीभित्र मानवजाति माथि लादिएको धार्मिक दासत्व हो भन्ने कुरा दर्गैछन् । अब शुरु हुन गइरहेको तेस्रो सहस्राब्दीलाई धार्मिक दासत्वबाट मुक्त गराएर सौन्दर्यता र सत्यताप्रति मानवजातिलाई आकर्षित गर्ने आग्रहमा उपन्यासका पात्रहरु बोल्ने गरेका छन् ।

यो उपन्यास पात्रहरुको चारित्रिक व्यवहारको अध्ययनमा भन्दा धार्मिक दर्शनको विवेचनाप्रति बढी केन्द्रित रहेको छ । सत्य र सौन्दर्यता भन्ने पनि एउटा एकाकार स्वरुप होइन । मनुष्यले इश्वरीय शक्तिको अस्तित्वलाई स्वीकारे धार्मिक विश्वासलाई अनेकौं प्रकारले व्याख्या गरेसमान सत्य र सौन्दर्यलाई पनि खास एउटा स्थिर रुपमा नलिई मनुष्यको प्रकृतिसँगको निरन्तरको सङ्घर्षको सँगै बदलिदै आउने गरेको समझ र धारणा मात्र छ ।

इतिहास विभिन्न समयमा धार्मिक प्रचारमा हुने गरेका विरोधात्मक व्यवहार जनमानसबीच कतिपल्ट उत्पीडनकारी रहेका भए पनि मान्छे कुनै एउटा धार्मिक विश्वासमा बोल्ने गर्दै आएकोले यसलाई आआफ्नो प्रकारले सम्झेर व्याख्या गर्ने पनि गर्दै आएका छन् ।

गजल

-स्मीता पौडेल
बाच्दा बाच्दै जीवन पनि त्यसै टक्क अडेजस्तो
हास्दा हास्दै मुहारमा गहिरो व्यथा गडेजस्तो

कहिलेकाही अधिर भइ यादहरु बढिदिदा
सम्हालिन खोज्दा खोज्दै त्यसै त्यसै लडेजस्तो

बसन्त र बाहार आउछ वर्षैपिच्छे यसैगरी
मन भने उजाड उजाढ डडेलोले डडेजस्तो

तिम्रो साथ विना पनि पाइला त चलिराछन्
तर लाग्छ तिम्रो नाममा मेरै नाम जडेजस्तो

हरेक प्रहर सपनीमा साथ दिने तिमी हुन्छौ
तिम्रै लागि मात्र भनी जीवन अघि बढेजस्तो

Monday, March 9, 2009

गजल

-ठागु जि
ठेलै ठेला पर्‍यो मेरो,मुग्लानमा हात सानु
खान पनि मिल्दैन नि,राम्रो संग भात सानु

तिम्रै मात्र झल्को लाग्छ,सोच्छु अनेक मन
अनिदो मनै बिताउदैछु,मुग्लानको रात सानु

भगवान बुद्ध साक्षी राखि,खाथ्यौ वाचा कसम
पर्खिएर बसी राख,हुने छैन घात सानु

गरी रा'छु संघर्ष म ,हाम्रै लागि यहाँ
भत्काउन आउछन् होला,सकुनिका जात सानु ।


-लम्जुङ,हाल-मलेशिया
ईमेल : thagu_g@yahoo.com

Sunday, March 8, 2009

कबिता







आस्थालाई सलाम !

-राज रोबर्ट अजनबी सुब्बा
आस्था...!
उज्यालो बिहानीको खातिर,
त्यो कालरात्री खोरन्डाको युद्दमा
तिमीले त तिम्रो जिबनलाई
बिरङ्गना भई आहुति दियौ,
तर म,
त्यो रक्तरन्जित महासमरबाट
पिठ फर्काएर भागेथे प्रदेश,
तिमीले मलाई कायर भनेउ हौली
अध्यारोमै रमाउने....
लाटकोसेरो भनेउ हौली,
आस्था... !
मलाई जे सोचे पनि
मलाई जे भने पनि
तिम्रो सोचलाई मेरो सलाम,

आस्था...!
सन्सार हेर्नलाई त
उज्यालो चहिदो नै रहेछ
त्यो उज्यालो
शान्ति बनेर उदाउदो हो प्रभातमा,
त्यो उज्यालो
पिन्जडाको पाउवन्दीलाई टोड्दै
आउदो हो
अवतन्त्रताको रस्वादनमा
हो, यही उज्यालोकै खातिर
तिमीले आफ्नो बलि चढाएकी थियौ।

तिम्रो रगतको सुनामीले
अध्यारो कालो रात....
उठ्नै नसक्ने गरी थचार्र्यो
र,
र उदायो नया बिहानी
तर आस्था....!!
बिहानी घाम लागेर मात्र के गर्नु?
दिउसो अध्यारो छाए पछि
आजकाल त अचम्मै भो
दिनमै रात हुन थालेको छ
कहिले अघार त कहिले बाह्र
कहिले बीस त कहिले तीस घण्टे
अध्यारो छाएको छ देशमा,
तिम्रो बलिदानीले जन्माएको
त्यो नौलो बिहानी
सिङ्घदरबार/बालुवाटार
शितल निवास/निर्मल निवास
बस्! यतिमै सिमित छ।

आस्था...!
तिम्रो रगतको कसम...!
उज्यालो भएकै छैन देशमा
पहिले जस्तो थियो
अहिले नि उस्तै छ
नालापानी पनि उस्तै
कालापानी नि उस्तै छ
महेशपुर पनि उस्तै
सुस्ता नि उस्तै छ
नाङ्गा आङहरु पनि उस्तै
भोका पेटहरु नि उस्तै छ
भ्रमका खेती गर्नेहरुले
उज्यालो भयो भनेर
हामीलाई बेचि सकेका रहेछन्

आस्था...!
तिम्रो आहुति
काठमान्डुलाई तुच्छ लागे पनि
मेरो रक्तसन्चारका प्रत्येक नसा-नसाबाट
अन्तस्करणका प्रत्येक कण-कणबाट
श्वाशप्रश्वाशका प्रत्येक् अणु-अणुबाट
मस्तिष्कका प्रत्येक् अङ्श-अङ्शबाट
तिम्रो बीरतालाई मेरो सलाम
तिम्रो आदर्शलाई मेरो सलाम
तिम्रो रगतलाई मेरो सलाम
तिम्रो शहादतलाई मेरो सलाम
सलाम आस्था!
अब हुने तिम्रा प्रत्येक
जन्म-जन्महरुलाई मेरो सलाम।

-मामाखे ,ताप्लेजुंग

कबिता









प्रेमपत्र

-अनमोलमणि पौडेल
झिनो सम्झना पनि बन्न सक्दैन मेरालागि
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरू
नागबेली बाटाहरु बीच
बालुवामाथिको यात्रामा छौं हामी
धमिराको देवलजस्तो वा
बालुवाको घरजस्तो छ तिम्रो सपना
सम्झिदा वा बिर्सिँदा पनि खसिरहन्छ आँसु बनेर,
तम्तम्याइँदो गरी कतै दुखेजस्तो हुन्छ तिम्रो मन
नुनिलो आँसु सँगै मलाई सम्झेर रुन्छ्यौ तिमी
तर झिनो सम्झनापनि बन्न सक्दैन तिम्रो रुवाइ मेरा लागि
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरु
मक्किसकेको पुरानो ऐतिहासिक मन्दिरजस्तो छु
जहा अडेस लागेर बसेका छौं एक अर्काको
कमजोर कुममा
र कल्पिरहेछौं जीवनका केही अव्यक्त सपनाहरु
नभने जसरी भनिरहेछौं आफ्नो जीवन कथा ,
र सत्य देखेको भ्रममा बाँचिरहेछौँ,
तर अदृश्य पर्दाले छेकेको छ धेरै सत्यहरु
भ्रमिलो विश्वासमा हिँडेका छन् सबै सोचाईहरू
तर हामी देखेको सबै सत्य ठानेर
जमेको पानीमा
आफ्नो अस्पष्ट अनुहार हेर्ने प्रयास गरिरहेछौ
यस्तै सबै सबै बिर्सिएका सम्झना सम्झिन्छु
र म हरेक साँझ निर्ममतापूर्वक च्यात्छु प्रेमपत्रहरू

अब नसोध मसँग
किन सम्झना बन्न सक्दैन तिम्रो लागि मेरो सम्झना ?
म बषौंदेखि यही प्रश्न सोधिरहेछु
मलाई चटक्कै विर्सने मान्छेसँग ।


-छातीभन -४, मकवानपुर

गजल

-राज लम्साल "यात्री"
१)
खुलेर भन्देउन कस्तो छ तिम्रो हाल पिरतीको
टाढा देखि आए म त बुन्न प्रीति जाल पिरतीको

धेरै सोध्ने गर्छ्यौ रे तिमी मेरो बारेमा हिजोआज
साच्चै पर्‍या हो त त्यहा पनि अनिकाल पिरतीको

हो भने चाडै आउ मिल्न यो मनमा तिमी
कति बितायौ त पर्खाइमा साल पिरतीको

जे सुकै पर्ला पर्ला अब छाडौ सबै कुरा
आउन त दुबै मिलि निकालौ अब ताल पिरतीको

२)
तिमी टाढा भैदिनाले म पर्‍या छु पिरमा काली
फर्की आउ पर्खिराछु सधै खेल्ने तिरमा काली

बिर्सिएर साझ सम्म लुकामारी खेल्दा खेरि
हात थामी बचाएथ्यौ लड्न लाग्दा भिरमा काली

तिम्रै माया तिम्रै यादले सताईराछ हरेक पल
एक्लै नजाउ टाढा तिमी उनि मलाई झिरमा काली

मरेतुल्य भएकोछु यो जिबनको के अर्थ र !
तिमी बिना रहेन यो मन कहिल्यै थिरमा काली


-महारानी झोरा-३,झापा
ईमेल: anjal_raj2003@yahoo.com
हाल: अबुदाबी,यूएई
फोन्: ०९७१-५५-७०१३६२६

Saturday, March 7, 2009

कथा

निर्वाण

-चंकी श्रेष्ठ ‘अभय’
विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँ ।
मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरुपमा टाँसिएर आएको जातीय पीडा थियो । गरिवी त त्यसको अभिन्न अंग छँदै थियो । त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसँग दुश्मनी गरिरहेको थियॊ । प्रेममा विश्वासमा यात्रामा मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो ।
मेरा साथीहरु त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ । त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पाजा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो ।

मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो । त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो मानौ म आफैँसँग भनिरहेको हुन्थेँ मेरो जीवन हारेको जीवन हो । त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो तँ मेरो युद्धबन्दी होस् यस कारण म तँलाई मनलागी यातना दिन्छु ।

म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ । अन्त्यमा त्यो मेरो छातीमा एसएलआर तेस्र्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो । पछि थाहा हुन्थ्यो त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो ।

डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोप्रुेनिक वा यस्तै केही भनिदिनसक्थ्यो । हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोप्रुेनिक ! यो एउटा नामी हास्यको विषय हुनसक्थ्यो । गरिवी मलाई पुस्तेनी सम्पतिका रुपमा प्राप्त थियो र बेरोजगारी त मेरो आफ्नै जातिगत सम्पति छँदै थियो । हाम्रो देशमा लोकतन्त्र आए पनि ढोकतन्त्रप्रेमीहरुको जुन प्रशासन थियो त्यसले मलाई जीवनभरि नै बेरोजगार राख्ने खतरा सत प्रतिसत बढेर गएको थियो । त्यसमाथि देशले जातीय असमानताको नाका भत्काइदिए पनि समाजले यसलाई अक्षय पैतृक पुँजीका रुपमा सुरक्षित राखेको थियो । जातकै कारण म झण्डै एक दलित युवकको नियति भोगिरहेको थिएँ । हो जातीय पीडाकै कारण सम्भवतः म संसारकै सबैभन्दा दुःखी युवक थिएँ र त्यो दुःखी युवक डाक्टर देखाउने हैसियतमा थिएन ।

मेरी प्रेमिका हाम्रो समाजमा उँचो जातकी थिई र प्रचलित समाजशास्त्रलाई चुनौती दिँदै मसँग प्रेम गरिरहेकी थिई । राम्री र मायालु त भन्नै पर्दैन किनभने ती प्रेमीका आँखा थिए । ऊ सिनेमाकी कुनै नायिकाजस्तै सानदार र आकर्षक व्यक्तित्वयुक्त थिई र प्रेमको मामलामा केही आक्रामक पनि । स्पष्ट थियो मजस्तो सुदामा टाइपको प्रेमीबाट ढुक्क थिई र त्यहाँ खलनायकको सिनेम्याटिक कुनै रोल हुनसक्दैनथ्यो । प्रेम त त्यसलाई त्यतिकै गर्थेँ तर अगाडि बढ्न हच्कन्थेँ । जातीय पीडा जति नै भोग्नुपरे पनि त्यस्तो आधुनिक युवक जो प्रेम र अनुरागका अनेक आयामसँग साक्षात्कार गरिरहेको छ प्रेमिकाको आक्रामकतासँग किन डराउँछ म अक्सर सपना देख्थेँ प्रेमिका मसँग प्रेमको याचना गरिरहेकी हुन्थी । जवाफमा म कमजोर वाणीविहीन र निरुपाय हुन्थेँ । यही मौका छोपेर मेरो जात मविरुद्ध उचाल्दै उसलाई भनिरहेको हुन्थ्यो ुत्यस्तो मानिसलाई तिमी प्रेम गरिरहेकी छ्यौ जो प्रेमका लागि किःमार्थ योग्य पात्र होइन ।ु के मेरै जात मविरुद्ध यति ठूलो षड्यन्त्र गरिरहेको थियो प्रेमिका ऊप्रति आश्वस्त देखिन्थी र उडन्ते सिनेमाको प्लटमा जस्तै मबाट एक्कासि टाढिएर उसको नजिक हुन्थी । दुश्मन कति शक्तिशाली हुन्थ्यो भने उसका विरुद्ध मेरो एउटै प्रतिकि्रया हुन्थ्यो मौनता केवल मौनता ।
………………।
यस्तैमा त्यो दुर्घटना भएको थियो । के भएको थियो सहरको नामूद गुण्डाले प्रेमिकालाई बलात्कार गरेको खबर सहरभरि फैलियो । के मेरो सपना विपनाकै पूर्वाभास थियो ।
मलाई आफू उभिएको जमिन भासिएको अनुभूति भयो । म अर्को भीषण उत्पीडनको तलाउमा खसेको थिएँ । गरिवीको उत्पीडन अब केही थिएन । प्रतिशोधको भावनाले म कतिसम्म उम्लिएँ भने मेरो जीवनको एउटै लक्ष्य गुण्डाको हत्या गर्नु भयो । सजिलो त यो काम छँदै थिएन एक निहत्था युवकले सहरकै नामूद गुण्डाको हत्या गर्नु । शेक्स्पियरको वियोगी नायक ह्याम्लेटजस्तै आफ्नै बर्बादी निम्त्याउन अब म तयार थिएँ ।

म निकै सावधानीसाथ कम्मरमा आठ इन्चको छुरी भिरेर त्यसको हत्या गर्न हिँडे । राति त्यो एक्लै हिँड्ने गल्लीमा ढुकेर बसेँ । यो कस्तो पत्याइनसक्नु दृश्य थियो मेरी प्रेमिका हाँसीखुसी त्यसैसँग अंकमाल गरेर आइरहेकी थिई । मलाई आफ्नै आँखामाथि विश्वास भएन । के यो अर्को दुस्वप्न थियो प्रेमिकाको बलात्कार अहिलेसम्म पनि म दुस्वप्न ठान्ने गर्छु र बारम्बार त्यो दुस्वप्नमात्र होस् भन्ने कामना गर्छु । मैले आँखा मिचेर हेरेँ अहँ त्यो सपना थिएन । आफैँलाई चिमोटेँ हकारेँ त्यो कटु विपना नै थियो ।

मेरो उद्देश्य गुण्डाको हत्या गर्नु थियो । जेसुकै होस् पहिले यसलाई सिध्याउँछु त्यसपछि मात्र छिनोफानो गर्छु । म दृढ भएँ । मौका ढुकिरहेको चितुवाजस्तै त्यसमाथि आक्रमण गरेँ । प्रेमिका आँत्तिएर मृगजस्तै उछिट्टिई । गुण्डा फेला पर्यो । दृश्य यस्तो प्रतीत हुन्थ्यो गुण्डा अब सज्जन भएको छ मचाहिँ गुण्डा भएको छु । म आक्रमण गरिरहेको थिएँ र त्योचाहिँ प्रतिरक्षामात्र गरिरहेको थियो । त्यो सहरको नामूद गुण्डा थियो र मल्लयुद्धको अनेक जुक्ति जान्दथ्यो । त्यसमाथि सारा सहरबासीलाई लुटेर शारीरिकरुपले पनि निकै तन्दुरुस्त भएको थियो । एउटै कुरा त्यसले प्रतिरक्षामात्र गर्यो नत्र त्यतिन्जेल मलाई सिध्याउन पक्कै ऊ सफल हुन्थ्यो ।

यस्तो प्रेमकथा कस्तो भनूँ मिलान कुन्देराको प्लटजस्तो प्रेमिकाका लागि म ज्यान बाजी लगाइरहेको थिएँ तर त्यो मैमाथि थुकिरहेकी थिई ।

मसँग अब कुनै शब्द थिएन । मलाई लाग्यो प्रेमिकाले मलाई मेरो निम्छरो जातकै कारण धोका दिएकी थिई र त्यो बलात्कार तिनीहरुकै मिलीमतोमा प्रायोजितरुपमा भएको थियो । मेरो प्रतिशोध एकाएक गुण्डाबाट प्रेमिकातर्फ सर्यो । प्रष्ट थियो यो मेरो जातीय अस्मितामाथि अर्को जब्बर असहिष्णु प्रहार थियो । मैले तत्काल त्यसमाथि आक्रमण गरेँ । अब गुण्डाको ठाउँमा म थिएँ र मेरो ठाउँमा गुण्डा थियो । हाम्रो भूमिका अघिल्लो दृश्यबाटै फेरिएको थियो । त्यसले मेरो पाखुरा परक्क बटारेर मर्काइदियो र प्रेमिकालाई सुरक्षा दियो । त्यसपछि प्रहरी बोलाएर मलाई पक्राइदियो । हेर्नुस् त एउटा गुण्डो उसैबाट पीडित मान्छेलाई गुण्डा सावित गर्छ र प्रहरी बोलाएर पक्राइदिन्छ । म आफूलाई त्यो संघारमा पाउन थालेँ जहाँ विडम्बनाकै सिमाना सकिन्छ तर त्यसको शृंखला कहिल्यै सकिन्नँ ।

…………॥
म दुई वर्ष थुनामा परेँ । मेरो इमान्दारीको कदरस्वरुप तोकिएको समयभन्दा दुई महिनाअघि छुटेँ । तर दुनियाँलाई के थाहा मेरो जीवनको एकमात्र लक्ष्य फेरि पनि प्रेमिकाकै हत्या गर्नु थियो !

एउटा कुरा म आफ्नो जातीय पहिचानविपरीत जन्मजातै अहिंस्रक प्रवृत्तिको थिएँ । कतिसम्म भने उधुमै सताइरहेको िझंगा मार्न पनि हच्कन्थेँ । अाजानमा जब मबाट कीरा-फट्याङ्ग्रा मारिन्थे लामो समयसम्म पश्चातापले मलाई सताइरहन्थ्यो । केटाकेटीमा मैले कुखुराको एउटा चल्लो कुल्चिँदा त्यो आन्द्राभुँडी र कलेजो बाहिर निकालेर तत्काल मरेको थियो । त्यो पापबोधले पाँच दिन ज्वरोले थलिएँ । अहिलेसम्म पनि त्यसका लागि बारम्बार आफूलाई धिक्कार्छु । हेर्नुस् त यो समाज त्यही मानिसलाई हत्याराको सर्टिफिकेट दिन तम्तयार छ !

प्रेमिका कहाँ थिई के गर्थी मलाई केही थाहा थिएन । कसैले सूचना पनि दिँदैनथ्यो दुनियाँलाई थाहा थियो त्यसमाथि आक्रमणकै कारण म थुनामा परेको थिएँ । म उसलाई खोज्दैखोज्दै निकै भौतारिएँ ।

दुर्भाग्य मेरो जीवनमा शरीरकै अभिन्न अंगजस्तो थियो । आमाले मलाई जन्म दिइन् मानौ कत्र्तव्य पूरा भयो र बितिन् । बाबु दीर्घ रोगी जो मेरो पूर्वकिशोर उमेरमै बितॆ । म दिदीको ममतामा हुर्किएँ । तिनले धेरै दुःख गरेर मलाई पढाइन् । म होनाहार भएर धेरैका लागि प्रेरणाको स्रोत बनिरहेको थिएँ । दुर्भाग्य हेर्नुस् एक दिन चोर डाँका गुण्डा वा हत्याराजस्तै थुनामा परेँ । दिदी असाध्यै दुःखी भइन् । भाइलाई ठूलो मान्छे बनाउने सपना थियो । त्यो यो अन्यायमूलक राज्यको पांग्रामुनि धूलिसात भएको थियो । अब के विकल्प बाँकी थियो दिदीको जीवनमा एक दिन सुने । यो अन्यायमूलक राज्यलाई धूलिसात पार्ने प्रणसहित दिदी जंगल छिरिन् ।

दुर्घटना मेरो जीवनमा एकपछि अर्को क्याराभान बनेर आइरहेको थियो । चाँडै नै एक दिन अर्को दुःखद् खबर आयो शत्रुको गोली लागेर अनकण्टार घोप्टेभीरमा दिदीले वीरगति प्राप्त गरिन् । कठै दिदीको अवशेष कतै प्राप्त भएन रे ! के मेरो जीवन दुर्घटनाहरुको विश्वसंग्रहालय थियो म पौने छ अरब मानिसको संसारमा नितान्त एक्लो भएर बाँचिरहेको थिएँ । तपाईँलाई थाहा छ यति एक्लो र अभागी त निर्जीव ढुंगा पनि हुँदैन ।

मेरो जीवनमा अब के बाँकी थियो त अब त प्रेमिका भेटिन्छे भन्ने कुरामै लगभग निराश थिएँ । के गरुँ
?
……………।
र एक दिन……… त्यो दिन आयो । मैले उसलाई बीच बजारमा भेटेँ । त्यो सर्लक्क दुब्लाएकी थिई । आँखामा अभिन्न उदासी थियो । तर उत्तिकै व्यक्तित्वयुक्त राम्री र चमकदार ।

त्यसको सौन्दर्यमा मुग्ध हुनु र पूर्व सम्बन्ध सम्झेर भावुक हुनु घाटा थियो । म सधैँ कम्मरमा आठ इन्चको छुरी बोकेर हिँड्थेँ । जब भेट्छु आफ्नो लक्ष्य पूरा गर्छु । म सजग भएँ जति ढिलो गर्यो त्यति घाटा थियो । तर असनको भीडमा थिई । म त्यसलाई पछ्याउँदै हिँडिरहेको थिएँ । कहिले त्यो झुलुक्क देखिन्थी कहिले टाउकोमात्र देखिन्थ्यो । उसले नदेखोस् भनेर मानिसहरुको छेको लाग्दै हिँडिरहेको थिएँ । एकपल्ट उसलाई हातैले भेट्ने दूरीमा पुगेँ र कम्मरमा घुसारेको चक्कु स्पर्श गरेँ । झस्किएँ । यत्रा मानिसको भीडमा आक्रमण गर्ने साहस भएन । केही क्षण चुपचाप उभिइरहेँ । ऊ पर पुगिसकेकी थिई । जिन्दगीभरि म हरेक पाइलामा यसैगरी चुकिरहेको थिएँ । तत्काल हत्या गर्ने मौका गुम्दै गएकोमा मैले आफैँलाई हकारेँ ।

अब ऊ निकै कम चहलपहल भएको बाटोमा पुगी । गोविन्द गोठालेकॊ पात्रजस्तै म उसको पछिपछि त थिएँ तर किन हो दिनको प्रकाशमै हत्या गर्ने साहस भएन । मेरो हृदय र दिमागबीच बारम्बार द्वन्द्व चलिरहेको थियो । दिमाग भन्थ्यो द्विविधा नै तेरो जिन्दगीको असफलताको जरा हो अतः लक्ष्य प्राप्त गर्नु छ भने तुरुन्त आक्रमण गर । हृदय भने आनाकानी गरिरहेको थियो । मेरो चेतनशील दिमाग सधैँ भावुक हृदयसँग पराजित हुन्थ्यो । होस् म यसको हत्या एकान्तमै गर्छु हत्याको ग्ल्यामर वास्तवमा एकान्तमै प्राप्त गर्न सकिन्छ ।

ऊ गाडी चढी । ढोकानजिकै खाली सिटमा बसी । उसलाई के थाहा उसैलाई छुरी रोप्ने मौका खोज्दै एउटा युवक जो उसकै पूर्व प्रमी हो निरन्तर पछ्याइरहेको छ ! म पनि गाडी चढेँ र पछाडि गएर उभिएँ । एकै छिनमा गाडी प्याक भयो । दुवै हातमा गह्रौँ झोला बोकेकी डालिली शरीरकी एउटी युवती मेरो पिठ्यूमा आफ्ना भारी स्तन दबाएर उभिई । यस्तो स्थितिमा कुनै युवक कति रोमान्चित र उत्तेजित हुन्छ भन्ने थाहा छ । सबै थाहा छ तर म त शितांग थिएँ । ममा त्यसको कुनै प्रभाव परेन । यति थाहा छ कोटेश्वर पुगेपछि त्यो ओर्ली ।

म पछाडिको खाली सिटमा बसेँ । कुलेश्वरतिरबाट आएको टेम्पोबाट हतारहतार झरेर प्लस टु पढ्ने दुई नवयुवती खाली सिटमा मसँग टाँस्सिएर बसे । तिनका प्रुक घुँडाभन्दा कति माथि थिए भने सेता पुष्ट तिघ्रा झलझलाकार देखिन्थे । अग्लो सिटमा त्यसरी बस्दा तिनको हालत कस्तो हुन्छ तपाईँ प्रष्ट अनुमान गर्न सक्नुहुन्छ । वरिपरिका युवक सायद मप्रति इष्र्या गरिरहेका थिए । के म यो सिट तिनका लागि छाडिदिऊँ तिनीहरुका लोभी आँखा बारम्बार नवयुवतीका शरीरका त्यही भागमा पर्थे । अन्ततः झोलाले छेकेर तिनीहरु आफ्नो सुरक्षाको असफल प्रयास गर्न थाले । यो दृश्यले पनि मलाई कुनै उत्तेजना दिएन । के म ढुंगा भइसकेको थिएँ सायद प्रेमिकाको हत्या गर्ने उद्देश्यबाहेक मेरा सबै उत्तेजना मृत भइसकेको थिए ।

प्रेमिका बसेकी सिटको छेउ खाली भयो । एउटा भुँडे अद्भैँसे ऊसँग टाँसिएर बस्यो । प्रेमिका अलि भित्तातिर कोच्चिई । त्यो उसलाई निकै अभद्र तरिकाले लोभिएर हेर्न थाल्यो । त्यो पक्कै उसको रहरलाग्दो शरीर कागतीजस्तै निचोर्न चाहन्थ्यो जुन यो भीडमा सम्भव भएन । यस कारण उठ्दा हातमा स्तनको दबाब पर्नेगरी उसको अगाडि डण्डीमा हात तेस्र्यायो । अद्भैँसेको चर्तिकलाले पनि मलाई कुनै प्रभाव पारेन ।

झण्डै बाह्र किलोमिटरको यात्रापछि ऊ उठी र निकै संयमित तरिकाले अद्भैँसेको तेसर्िएको हातबाट आफ्ना स्तन जोगाई । दुवै हातमा गहाँै्र झोला झुण्ड्याएर ऊ दक्षिणतिर लागी । के म उसलाई सघाइदिउष अहो मलाई यो के भएको के ऊ अझै मेरी मायालु प्रेमिका हो र ऊ त मेरो जीवनकै सबैभन्दा ठूलो र एकमात्र शत्रु भइसकेकी थिई ! यस्तो चालाले जीवनमा अर्को एक पल्ट फेरि म आफ्नो लक्ष्यमा असफल हुनसक्छु । मैले फेरि एक पल्ट आफैँलाई हकारेँ । ऊ गाउँतिर जाने गाडी चढी । सिटमा बसेर ऊ रातो कपाल भएकी किशोरीसँग गफ गर्न थाली । किशोरी प्लस टु पढ्ने रैथाने छात्रा भएकी अनुमान उसको युनिफर्म र कुराकानीबाट सजिलै गर्न सकिन्थ्यो । त्यो बातैपिच्छे पूरै यात्रुको ध्यानाकर्षण हुनेगरी झर्ना छङछङाएझैँ हाँस्थी । दुवै जना अन्तिम विसौनीमा ओर्लिए । केही क्षणपछि छात्रासँग छुट्टिएर ऊ पश्चिमतिर लागी । म लगातार उसको पिछा गरिरहेको थिएँ ।

प्रेमिका कोठेबारी र सानो बगैँचा भएको चिटिक्कको घरभित्र छिरी । अहा बगैँचामा गुलाब सेतो कमल गोदावरी र ड्याफोडिल ढकमक्क फुलेका थिए । पहिला ऊ फूल चुँड्नमात्र रुचाउँथी अब फूल सजाउन पनि जानिछ । के साँच्चै अब ऊ परिपक्व भएकी थिई ऊ भुइँतलाको दक्षिणपट्टि कोठाको झ्याल खुलै राखेर कपडा फेर्न थाली । उसले मलाई देखी । मेरो सास टक्क रोकिएलाझैँ भयो । के उसले मलाई चिनी सायद चिनिनँ । पक्कै उसले मलाई एउटी युवतीले कपडा फेरेको हेरेर आनन्द लिने गुण्डो आवारा सम्झेकी हुनुपर्छ । त्यसैले झ्यालको खापा अलि घर्काई । म पाइलैपिच्छे मौका गुमाइरहेको थिएँ । अब के गर्ने म निकै बेर अलमलिएँ । दिउँसो मेरो योजना असफल पनि हुनसक्थ्यो । आक्रमणअघि नै उसले मलाई देखी भने पक्कै चिच्चाउनेछे । त्यसपछि गाउँलेहरुले मलाई बाँकी राख्लान् म फेरि थुनिनेछु अनि लक्ष्य पूरा गर्न नसकेको मानसिक तनावले चाँडै नै मर्नेछु ।

सोचेँ मध्यराति ढुक्कले यसको हत्या गर्छु । नजिकै चौतारोमा चुनावी आमसभा भइरहेको थियो । संसारमा गरिबको राज्य छैन भन्छन् तर पनि यो देशमा ल्याउने हाम्लाई मन छ जीवन शर्माको गीत माइकमा बजिरहेको थियो र स्वरमा स्वर मिलाउँदै नेता-कार्यकर्ता नाचिरहेका थिए । यो देशमा सर्वहाराको राज्य स्थापना कसरी हुनसक्छ गीत र नाच सकिएपछि हँसिया-हथौडा अंकित रातो क्याप लगाएको नेता व्याख्या गर्नथाल्यो । त्यहाँ सबैलाई गाँस बास कपासको व्यवस्था हुन्छ । कोही ठूला हुने छैनन् कोही साना हुने छैनन् सब बराबर । उसको बातैपिच्छे हँसिया-हथौडा अंकित झण्डा बोकेका कार्यकर्ताहरु ताली पिट्थे । ताली बजुन्जेल नेता चुप लाग्थ्यो र फेरि आँैला ठड्याई-ठड्याई उर्लिएको खहरेजस्तै स्वरमा भाषण दिन थाल्थ्यो ।

म त्यहाँ धेरै बेर टिक्न सकिनँ । मेरो मन कतै पनि स्थिर रहन सक्दैनथ्यो । म दिनभरि नजिकैकै जंगल र खोलाकिनारमा भौतारिएँ । गोठाला केटाकेटी मलाई देखेर अचम्म मानिरहेका थिए । घाँस र पत्करको भारी बोकेर घर फर्कन लागेका युवतीहरु मलाई देखेर झसंग हुन्थे । के मेरो रुपरङ त्यति डरलाग्दो भइसकेको थियो के मेरो बेहाल रुपकै कारण प्रेमिकाले मलाई नचिनेकी हो वास्तवमा मैले ऐना नहेरेकै जुग भइसकेको थियो । माथि सल्ला सुसाएको र तल रुखका हाँगा भाँचिएलाझैँ गरी हुरी चलेको वातावरणबीच म निकै अबेरसम्म जंगलमा भौतारिइरहेँ ।

राति ११ बजे गाउँ सुनसान थियो । म उसको घरपरिसरको पर्खाल नाघेर भित्र छिरेँ । दक्षिणतिरको झ्याल अझै खुला थियो । कोठामा मधुरो बत्ती बलिरहेको थियो । झ्यालसँगै जोडिएको खाटमा सफा तन्ना ओछ्याइएको र सिरक गोलो पारेर सिरानमाथि राखिएको थियो । भित्र बच्चा रोइरहेको सुनिन्थ्यो । म एकछिन उदास भएर भित्रतिर हेर्न थालेँ । प्रेमिका वा गुण्डा कतै देखिएनन् । हातमा टर्च थियो जसको आवश्यकता अहिले थिएन । कम्मरमा भिरेको छुरी निकालेँ ।

प्रेमिका देखापरी । मेरो सास फेरि टक्क अडिएझैँ भयो । त्यसको पिठ्युमा एउटा बालक रोइरहेको थियो सायद ज्वरोग्रस्त थियो र काखमा सानो बच्चा दूध चुसिरहेको थियो । ऊ ती दुवैलाई झुलाएर फकाइरहेकी थिई । कति मायालाग्दा बालकहरु थिए ! म त टोलाएर एकोहोरो हेरेको हेर्यै भएँ । हरे एकाएक यो मलाई के भयो मेरा आँखाबाट बरर्र आँसु झरे । भक्कानै फुट्लाजस्तो भयो । मलाई आफ्नै बाल्यकाल प्रत्यक्ष भएझैँ लाग्यो । दिदी मलाई हरदम यसैगरी बोकेर हिँड्थिन् । मेरै लागि तिनले कतिकति दुःख झेलिन् । खासमा ती मेरी आमाभन्दा कैयन् गुणा बढी आमा थिइन् । मायाकी प्रतिमूर्ति ती दिदीलाई कहाँ भेट्नु मैले अब धक्का मुटुमै यसरी पर्यो म त थरहरी हुनथालेँ कतै मेरो इहलीला यहीँ नसकियोस् ।

………।
मेरो हातबाट छुरी खस्यो र छिनमै म शितांग भएँ । त्यो दृश्यमा हरेक नारीलाई म त ममताकी प्रतिमूर्ति देख्न थालेँ । त्यसैका लागि दानवीर शत्रुले जस्तै मैले त्यसलाई ज्यान माफी दिएँ ।

प्रेम सेवा बलिदान पुण्य निरर्थक कृतज्ञता सायद मेरो निम्छरो जातित्वमै थियो । सायद त्यसैले मैले आफ्नो चिर योजना विगतका असफल सपनासँगै छाडिदिएँ । म भन्न सक्दिनँ तर प्रतिदानरहित प्रेम सायद मेरो रगतमै थियो…॥र सायद म अझै त्यसलाई एक अदृश्य प्रेमीले जस्तै प्रेम गर्थेँ ।

म त्यहाँबाट बाढीजस्तै निस्किएँ र अँध्यारो चिर्दै्र हिँडेँ । मभित्र अब कुनै आक्रोश थिएन । आक्रोश रित्तिएपछि मान्छे प्रतिकूल वातावरणबाट पीडित हुन्छ । म दुई दिनदेखि भोको थिएँ । त्यसमाथि तिर्खा थकाइ र जाडोले घेरा हालेर आक्रमण गरिरहेका थिए । पन्ध्र प्रतिशत ढल्न बाँकी रुखजस्तै ढल्ने समय टारेर म छिटोछिटो हिँडिरहेको थिएँ । चिसो बतास र खोलाको सुसेली अनि टाढाबाट आइरहेको कुकुरको एकोहोरो भुकाइले वातावरण टिठलाग्दो थियो ।

दाहिने खुट्टा कतै जोडले ठेसियो र मेरो मुख एउटा ढुंगामा जोडले ठोक्कियो । निधारबाट नाकको डाँडी हुँदै मनतातो रगत छातीतिर ओर्लियो । …………… ……………………। ……………………॥ प्रेमिकासामु किन हो म कृतज्ञ भएर उभिएको थिएँ । प्रेमिका उदास नजरले मलाई हेरिरहेकी थिई । पश्चातापले उसको हृदय उत्तीसको गिण्डोजस्तै चिरिएर दुई फ्याक भएको थियो । त्यसलाई मैले जतनसाथ फर्काएँ । मभित्र अब जीवनको सुन्दर संगीत झंकृत भइरहेको थियो । पूर्वतिरको क्षितिज हल्का रातो हुँदै गएको थियो । मधुरो रंगीन उज्यालोबाट प्रकट भएर दार्शनिक सुकरात मसँग हात मिलाउन यतै आइरहेका थिए । अहो प्यारा सुकरात यो दर्शनको अपेक्षा मैले सपनामा पनि गर्न पाएको थिइनँ । उनलाई स्वागत गर्न मुस्कुराउँदै मैले दुवै हात फैलाएँ ।

गजल










-केदार श्रेष्ठ "गगन"
मलाई छाडी के भो र ! अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झुटो कसम खायौ होला

झुटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुदै हास्दै उसलाई पनि साउनु सम्म सायौ होला

संगत तिम्रो धेरै गरेँ बुझ्न गाह्रो रै'बानी
त्यही बानीले मलाई झै कति बसाइ सार्र्यौ होला

हल्ला थियो गाउघरमा तिम्रो मेरो माया बस्या
झुटो हल्ला गरया भनी दोष मलाई लायौ होला

बाहिर रूप फूल जस्तो भित्र भित्रै खोक्रो रै'छ
'गगन' लाई जालमा पार्न बादल बनी आयौ होला


-भीमस्थान -५, सिन्धुली

Friday, March 6, 2009

गजल










- नेपोलियन मरहट्टा
१)
लुकेर त माया लाउन सक्दिन म तिमी सँग,
झुकेर त माया लाउन सक्दिन म तिमी सँग ।

चर्किएको मान्छेलाई फुटाउनै खोज्छौ तिमी,
फुटेर त माया लाउन सक्दिन म तिमी सँग ।

यदि सुक्नु पर्छ भने हिउँदको खहरे झैँ,
सुकेर त माया लाउन सक्दिन म तिमी सँग ।

जात धर्म रंग भेद सम्पत्तिको नाउँमा सधैं,
दुखेर त माया लाउन सक्दिन म तिमी सँग ।

तिम्रो जुठो माया पाउन ढोका कुर्नु पर्छ भने,
ढुकेर त माया लाउन सक्दिन म तिमी सँग ।

२)
दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल,
जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल ।

आजभोली किन तिम्रो प्रेम बोट ओइलाउदै छ ?
जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।

दुइटै हात तन्काएर तिम्ले अँगालोमा बेरे पनि,
किन किन मलाई तिम्रो हात छोटो लाग्छ अचेल ।

मेटिदैन प्यास मेरो थोपा थोपा पिलाएर,
बाह्रै महिना रुझे पनि बर्षात छोटो लाग्छ अचेल ।

लम्बाइ,चौडाइ,गहिराई जति सुकै बढाउ तिम्ले,
तर मलाई तिम्रो मन्को आयात छोटो लाग्छ अचेल ।



-चितवन
ईमेल: nepoleon_b@yahoo.com

कबिता

आमालाई सञ्चो छैन

-चन्द्रकला नेवार
हिजोआज आमालाई सञ्चो छैन
हन्हन् ज्वरो आएको छ !
ती कुटिल आँखाहरु स्थिर छन्
'ढोका उघारी राख्नु' भन्छन् ।
अनायासै-
अनियन्त्रित् हुरी
हन्हनाउँदै छिर्छ
सिरेटो हान्छ
आमालाई सिकिस्त पार्छ!
चेतनाको अन्तिम रेखाको
अतिक्रमण हुन्छ... !
मानौँ उसको उद्बन्ध इच्छाले
बाटो पाएको छ ।
आमाको मन न हो
माया नै छरिरहेछ
आमालाई के थाहा ?
द्रौपदीलाई जुवाको खालमा थापेझैँ
दाउपेचको खालमा थापिसकेको छ ।
विश्वासको
अन्तिम संस्कार भइसकेको छ,
ओभाउन लागेको घाउ
फेरि,
चर्‍याउन थालेको छ!
हिजोआज आमालाई सञ्चो छैन
हन्हन् ज्वरो आएको छ !!


साभार: मधुपर्क

गीत

तिमी मेरो

-नम्रता गुरागाईं
तिमी मेरो सुन्दरता हो तिमी मेरो साथी
टिका भए सजाउथे निधारमा राखी।

अघाए झैं लाग्छ किन भोकै बसेपनि
भोकै थिए भण्डारमा बासै बसेपनि
ओठमाथि सजाएको तिमी मेरो बोली
शब्द भई सजिरहे तिम्रै ओठ खोली।

अघिपछि देख्छु सधैं एक्लै भएपनि
एक्लै थिए शहरमा धेरै भएपनि
गलाभित्र लुकाएको तिमी मेरो धुन
गीत भई गुन्जीरहु धेरै धेरै हुन।

हासूँ -हासूँ लाग्छ किन एक्लै बसेपनि
सकिनथें हास्न संगै धेरै हांसेपनि
आंखामाथि सजाएको तिमी मेरो ज्योती
टाढा-टाढा पुगिरहुं बोकी आफ्नै मोती।

तिमी मेरो सुन्दरता हो तिमी मेरो साथी
टिका भए सजाउथे निधारमा राखी।


-मोरंग
हाल: यु. एस. ए.

कबिता

जिन्दगी

-मौलश्री लिम्बु
अलिक पर्तिर
बारी छेउमा मिल्काएको
घुरानलाई
अनि
रद्धिको टोकारीबाट रद्धि
पुन: विना हिच्किचाहट
झिकेर जतन गर्नु पर्दाको आत्मा ग्लानिलाई
जवर जस्त समाहित गर्नु पर्ने
ति निकम्मा वस्तुलाई झै
धेरै पटक आफैबाट
धेरै परिस्थितीमा फ्याँक्न चाहेर पनि
जसो तसो वाध्यता वश
सँगाल्नु पर्ने
साँचिकै गजव छ
जिन्दगी
फेरी

उफ्!सोचे भन्दा पृथक हुने
जे जस्तै भोग्नु पर्ने
बेरङ्ग नभएको
फेरी रङ्ग भएर पनि
रङ्गरोगन नमिले झै लाग्ने
कहिले काही
आफैलाई उल्फत लागेता पनि
मलाई नि:सन्देह प्यारो छ
जिन्दगी

यहाँ

जिन्दगी खुलेर जीउनु पर्छ
जे जति ज-जस्को भागमा छ
बाँचेर फुलाउनु पर्छ
आधा दु:खमा आधा हर्षमा
अलिकति आशामा अलिकति निराशामा
भोगेर बुझिने
बुझेर पत्तो नपाईने
कहिले काही व्यर्थ लाग्दा
एकछिन थाँती राखेर
कतै थन्काउन नमिल्ने
जुनै अवस्था र परिस्थितीमा
संगै डोर्‍याएर लैजानु पर्ने
ममा संलग्न भईरहने
मलाई नि:सन्देह प्यारो छ
जिन्दगी ।


-झापा
ईमेल: maulshri_limbu@yahoo.com

गजल








- के.आर.'बिबश'
छैन क्या हो ? रहर तिम्लाई खाली सिउंदो भर्न प्यारी
साची राखी अग्निदेवलाई बाचा कसम गर्न प्यारी

पञ्चे बाजा बजाउदै सात फेरो लाई अग्निदेवलाई
छैनौ की त राजी तिमी ? संगै जिउन मर्न प्यारी

कती बस्छौ अझै पनि ? बोझ बनी माइती घरमा
छैन की त मन तिम्रो ? कर्म घरमा सर्न प्यारी

पर्खिने छु सदा तिम्लाई सास मेरो रहुन्जेल ??
जिबनका सब उतारचढाब संगै-संगै तर्न प्यारी

छैन क्या हो ? रहर तिम्लाई खाली सिउंदो भर्न प्यारी
साची राखी अग्निदेवलाई बाचा कसम गर्न प्यारी


-हाल: सद्दाम हुसेनको देशबाट