Thursday, March 12, 2009

कबिता

के मेरो अस्तित्व छ ?

-सुषमा रेग्मी
छ रे,
मेरो पनि अस्तित्व छ रे यहाँ
किनकि म तोलमोल गरिन्छु
म नजरको गिद्दे दृष्टिबाट पलपल आरपार गरिन्छु
म रङरूपको मापदण्डमा
शरीरको अङ्ग-अङ्ग को गोलाइ अनि लम्बाइमा
म मेरो बैँशको आधारमा
मोलभाउ गरिन्छु
त्यसैले मेरो अस्तित्व छ !

च्याउसे देखि भुसतिघ्रे गिद्धाहरू
मेरो लागि घम्सा घम्सिमा उद्धत रहन्छन्
हाड मासु घोटी
लालाबालाको आँसु, भविष्य अनि जिम्मेवारीलाई लात हान्दै
आफ्नाका विश्वास, समर्पणको चिहानमाथि
लज्जाहीन मुल्यहीन खोक्रो शरीर घिसार्दै
पत्र पत्रमा च्यात्न, चुस्न अनि निचोर्न
आउछन् थुप्रै अनुहारहरु ङिच्छ गर्दै मेरा सामु
त्यसैले मेरो अस्तित्व छ !

मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी म घर सिगार्ने वस्तु हुँ
ईट पत्थरको घरमा बस्नेहरुको लागि
म सजावटको सामान हूँ
लाजको भारी छ जसको काँधमा
सबैको इज्जत धान्ने डाली हुँ
चाहेको बेला उपस्थित हुनैपर्ने
पत्नी नामक प्राणी हु
त्यसैले मेरो अस्तित्व छ !

मेरो पनि अस्तित्व छ रे यहाँ
किनकी सबैले मलाईनै खोजी खोजी आरोप लगाउँदैछन्
चोक्टा चोक्टा लुछी
अपमानजनक शब्दको हार बोकी
घाउमा नुनचुक दल्दैछन्
'बोक्सी' शब्दले विभुषित गर्दैछन्
अखाद्य बस्तुबाट टन्न अघाउँदैछु म
पिल्साइसकेपछि पनि चित्त नबुझी
खोक्रो यो मंसपेशीय ढाँचालाई जलाउँदै
कहिले दाईजो, कहिले रङ्गरूप अनि कहिले बोक्सीको नाममा
टुक्राटुक्रामा मृत्यु खेपेकोलाई फेरी मार्दैछन्
किनकी मेरो अस्तित्व छ !
खै कहाँ छ मेरो अस्तित्व ?

भो, बन्द गर,
त्यो परिभाषित 'अस्तित्व' मलाई मान्य छैन
खोक्रो शब्दजालको पुजारी चाहिदैन
घृणा छ मलाई
ढुङ्गाको देवीसँग तुलना नगर
जिउदै मर्ने मेरो चाह होइन
तिमीभित्र लुकेको, तिमीभित्र बेरिएको पनि म होइन
तिमी बाहिरको अलग्गै
आकाशकी धर्तिकी एक अंश हुँ म
जहाँ प्रेम, शहिष्णुता, सद्भाव छ
हो, यो 'म' भित्र थुप्रै कुराहरू समाहित हुनसक्छन् सागरझैं
जो आँफैमा चलायमान छ
संपूर्ण छ, अनि अरुलाई सम्पूर्णता दिन सक्छ
खबरदार! होशियार!
जसले सुनामी पनि ल्याउन सक्छ
नलत्याऊ, अनि नविथोल यसलाई
बुझ, अनि अन्तर्मनमा मनन गर
मेरो प्रतिकारलाई सम्मान गर
म तिमी जस्तै 'म' हुँ '
स्त्री, 'महिला' वा 'नारी' जे भन
सृस्टी सम्हाल्ने मानुषी
जसको बेगर कुनै मानवको अस्तित्व छैन
हो, एउटा मौलिक परिचयकी प्राणी
मलाई यसरी चिन र सम्झ, अनि सम्मान गर्न सिक
किनकी मेरो छुट्टै पहिचान छ
नकार्न सक्छौ भने नकार
तर पहिला आफ्नो अस्तित्वको व्याख्या गर ।

-धापासी , काठमान्डौ

No comments: