Wednesday, July 8, 2009

कबिता













तिमीलाई बधाई छ

-राज रोबर्ट अजनबी सुब्बा
फूलमाया !
सन्तान प्राप्तीको कोटी कोटी
बधाई छ तिमीलाई,
हकहरु कैदी हुदा
मान्छे भित्रको मानबता खोज्न
कफन बाधेर मोर्चाहरुमा
तिमीले जसरी जल्लादहरुलाई पछारेर
नौलो बिहानी ल्यायौ
त्यसरी नै तिम्रो कोखबाट
अर्को सूर्य उदाएको छ ।

फूलमाया !
तिम्रो काखको त्यो सूर्य
मदन भण्डारी बनेर चम्कोस् भोलि
त्यो सूर्य
बिपि बनी उज्यालियोस् मनहरुमा
अझ !
तिम्रो काखको त्यो सूर्य
नेल्सन मन्डेला बनी छाओस् ब्रम्हाण्डमा ।

तर फूलमाया !
तिमी र म
जिसस सङ्ग प्रार्थना गरौ
तिम्रो काखको त्यो सूर्य
हुन नपरोस्
बेथितिको साढे नार्ने प्रचन्ड जस्तो
हुन नपरोस्
परिबर्तनको बाटो छेक्ने माधब जस्तो
अनि
हुन नपरोस्
यथास्थितिको पाउ चाट्ने गिरिजा जस्तो ।

बरु फूलमाया !
तिम्रो काखको त्यो सूर्य
अक्करमा ढाकर बिसाएर
टोक्माको टेको लगाउदै
पसिनाको तृष्णा मेट्ने
पौरखी भरिया बनोस्
मानो रोपेर मुरी फलाउने
श्रमजिबी किसान बनोस्
फूलमाया!
साच्चै नै तिमी र म
जिसस सङ्ग प्रार्थना गरौ
तिम्रो काखको त्यो सूर्य
माधब र प्रचण्ड हुन नपरोस्
अनि
हुन नपरोस् गिरिजा प्रसाद पनि

फूलमाया !
फेरि पनि तिमीलाई
सन्तान सुखको कोटी कोटी बधाई छ ।


-मामाखे, ताप्लेजुंग

No comments: