हराएको सपना
-केदार श्रेष्ठ 'गगन '
हराएका छन् सबै मेरा सपनाहरु
सियोझैँ बेपत्ता
एउटा पनि छैन आँखामा ।
उसलाई भेटे पछि
कुराले मख्ख पारिन्
मनमा पलायो आशा
आशासँगै आँखाको पाठेघरमा
बढ्दै गयो सपनाहरु ।
गर्भिणी आँखा
सुत्केरी हुन खोज्दा-खाज्दै
उसले तोडेपछि सम्बन्ध
शिशु सपना
मरेर गयो तुयात्रो लागेर
त्यसपछि आँखा भयो बेला ।
मलाई कम्प्यूटरमा
बस्न मन छैन
इन्टरनेट पनि चलाउन मनै छैन
झन् के हेर्नु-
बन्द र हड्तालको गुनगान गाइरहने टेलिभिजन ।
विहानै उठेर
आफ्नो प्राकृतिक गाडी
लाग्छु फटाफट
गौरीघाट हुँदै गौशलातिर ।
सधैँझैँ
अगाडि राखेर बसाहा
हेरिरहेछ पशुपति-
मान्छेका लाशहरु
हेरिरहेछ रमिता-
मृतकका आफन्तका रोदन अनि प्रदुषित वागमती ।
मस्त छिन्
फूल बेच्ने दिदी
खैरो कपाल नियालिरहेछ
पर-परसम्म आँखा बिछ्याएर
रुद्राक्षको माला बेच्ने बाटो माथिको पसले दाइ
निस्लाम निद्रामा छन्
जुटको बोरामा बेरिएर
बेसहारा दुई-तीन जना वालकहरु
सडकपेटीमा
अशक्त वृद्ध-वृद्धाहरु
भीख मागिरहेका छन्
बटुवाहरु संग
थुप्रै छन् जेब्राक्रसमा
रोड पार गर्न तम्सिएका मान्छेहरु
मान्छेको भिडमा
एउटाको पाकेटमारले पाकेट मारेर फरार
अलि पर चौकीको
पोस्टभित्र बसेर प्रहरी
ताकीरहेको छ राइफल
सबै आ-आफ्नै सूरमा ।
भएभरका दृष्यहरु ती
आँखाको आँगनमा
नाचिरहेछ नर्तकी
मथिङ्गलको अक्करमा
ठोक्किएर चेतना
तितर बितर भए सबै भावनाहरु
मनको घनघोर जंगलमा ।
कति देख्छन् होला है
मान्छेहरु मैले जस्तै सपना
तिनीहरूले पनि ।
राम्ररी हेर्छु फूलको थुङ्गा
लाग्छ भागेर मान्छेका सपना
सबै जम्मा भएछन् त्यही
सयपत्री फूलको वासनामा लोभिएर
त्यसै
सपनाविहिन
म
अनि सबै मान्छेहरु ।
-भीमस्थान-५, सिन्धुली
हाल: युएई
No comments:
Post a Comment