Sunday, June 7, 2009

कबिता









म भूल हुँ

-आचार्य प्रभा
म भूल हुँ सुधार्न सक्छौ
पुरानो गलबन्दीको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ ।
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ..... ।
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ ।
कहाँ मैले सोचेकी छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........,
इच्छा, आशा, हार्दिकता यही हो
म भूल हुँ,
सुधार्न सक्छौ ।
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ ।


-अमेरिका

No comments: