Friday, June 5, 2009

कबिता












दुखाइको फरक पिण्ड

-निराजन बतास
तिमी सम्झनामा रोयौ
म समागममा रोएँ ।

ए कवि ! कति लेख्छौ
विरहका कुरा
कति गाउँछौ बेदनाको गीत
कति बजाउछौ
मुरली बिछोडमा
नबुझेर माया ।
बुझेर देशभक्ति ।

माटोलाई मुटुसँगै गाँस्यौ
हावालाई प्राणसँग मिलायौ
आफ्नो देशको आकाशलाई
खोजिरह्यौ शीरमा
र भनिरह्यौ-
देशको माया देश छोडेपछि थाहा भयो ।

ए परदेशी !
कति पियौ आँशु सम्झनामा ।
कतिफेर फुटे हृदय
कति तड्पियो दिल
र रोइरह्यौ आखिरी साँझसम्म ।

मैले पनि लेखें विरह
र गाएँ बेदना
अनि बजाएँ बाँसुरी वेखुशीमा
तिम्ले सम्झेर लेख्यौ
मैले देखेर लेखें

सिगौरी चलेकै छ
मक्किएका सिङहरुको
बेग बढेको छ
भीरमाथि पिङहरुको ।

थानकोटमै जाम छ गन्तब्य
घण्टाघर अगाडि दन्किरहेछ
चेतनाको मुस्लो ।
बागबजार र टेकु सडकमा
थुपि्रएको छ सभ्यता
र बाग्मतीमा बगिरहेछ युग
सुकिरहेछ कोशी ब्यारेजमा भाग्य ।

घाम ओर्लिरहेछ
सडकको नाङ्गो ढाड सेक्न
हुरी बढिरहेछ सुकुम्बासी बस्तीतिर
जय पराजयको राष्ट्रोत्सव चलिरहेछ-
नयाँ बानेश्वरमा ।
र धार्नी तिघ्रा र बिसौली पिडौलाको
मोल चलिरहेछ सिंहदरवारमा ।
तिमी देश सम्झेर भक्कानियौ
म देश टेकेर भक्कानिएँ ।

ए प्रवासी !
कत्रो छ हाम्रो दुखाइको फरक पिण्ड ?


-कीर्तिपुर, टीयु

No comments: