ताराहरुको संसार
-निराजन बतास
यिनीहरुको सुमधुर मिलन र सम्बन्ध नै
रात्री आकाशको गर्व बन्दछ ।
उनीहरु उतै हिडिरहन्छन्
मिर्मिरेको खोजीमा ।
तर न हिँड्न सक्छ आकाश
तारा भएर
न उदाउन न अस्ताउन नै सक्छ
चालहरुमा ।
जीवन एउटा आकाश रहेन
र रह्यो अरबौं ताराहरुको ।
अँध्यारोको जीवन
ताराहरुको अधिकार हो
अँधेरोको टिलपिल अस्तित्व
स्वतन्त्रता हो ताराहरुको ।
अर्को सन्ध्याको प्राप्तिमा
हरेक बिहान बलिदानी दिन्छ ताराले
संघर्ष ताराको जीवन बन्छ-
र त ताराहरुको संसार
बिलाउन सकेन चन्द्रमाको वरिपरि
अस्तित्व नमेटिने भविष्य लेखियो
सूर्यको अगाडि ।
आफूलाई अरुबाट गुमाउन नचाहने
एउटा साक्षी-
बाँच्नुको कखरा ।
उज्यालोको लागि अस्ताउनेहरु
अस्ताउनका लागि उदाउनेहरु
यो धर्तीमा-
कोही मिर्मिरेमा चढिरहेछन्
कोही गोधुलीनेर हाम फालिरहेछन्
र कोही समयको काँध चढेर
पाउजुको चैन मागिरहेछन् ।
र बजिरहेछ लाउडस्पीकरमा
अधिकारको गीत
टुँडिखेलमा… ।
कुरा सिँधै माथि आकाशको हो
कुरा सिँधै मुनि धर्तीको हो ।
-त्रिभुवन बिश्वबिद्यालय , कीर्तिपुर
1 comment:
निराजन जी;
तपाईंको लेखाई सिर्जनशिल लाग्छ मलाई । आज फेरी यो तपाईंको रचना पढन पुगे । साधारण बोलीचालीको भाषामा कोरीएको भएतापनी धेरै बिश्लेशणात्मक रहेको झै लाग्यो । यसै गरी कलम चलाई रहनुहोला ।
Post a Comment