Saturday, May 2, 2009

कबिता













जागिर

-निराजन बतास
घोचो र लाठो भए
भर्‍याङ र पुल्ठो भए
फेदमा माऊ डढाउने
आगोको लप्का भए
जाँगर र आँट भए
अरिंगल झोस्न सकिन्छ
र छ्याङसँग मुखमा
ताऊ लगाउन सकिन्छ
निम्छरोले त त्यै अरिंगलको गोलोलाई
आकाशमा हेरेर
जमिनमा भाग्नु पर्छ ।

गाउँमा तारेभीरको टुप्पो टेकेर
बच्छयूँ काढ्ने म
मसंग छैनन् यतिखेर
घोचा, लाठी
भर्‍याङ,चुल्ठा र लप्का
र म भएको छु निम्छरो ।

लाठीहरु पार्टी भित्र छन्
घोचाहरु संसदतिर छन्
भर्‍याङ मन्त्रालयमा
र पुल्ठासुल्ठा
सिंगदरवार तिरै छन्
र म छु रत्नपार्कमा
पिरो+अमिलो +नुनिलो चट्पटे खादै ।

गाउँमा खाडीको दौराको पुल्ठो
र कान्लाको झिंगनीको घोचोले
तह लगाएथेँ अरिंगल तीन ताक ।

'अरिंगलले खान्छ-
एउटै सरजाम पुगेन भने ।'

तर मसंग एउटै सरजाम छ
नाङ्गुते ज्यान
जाँगर धन्न नसकिएको
आँट भत्कि नसकेको
फगत एउटा सरजाम
अरिंगलको फेदमा ।



-त्रिभुवन बिश्वबिद्यालय, काठमान्डौ

1 comment:

friendlyniraj said...

निम्छरोको कविता यो निम्छरोलाइ मन पर्‍यो है ।