Saturday, March 21, 2009

कथा









मारिया

-बबिता बस्नेत
अहिले म सोंचिरहेकी छु- साँच्ची, मारिया अहिले के गरिरहेकी होली ? सुतिरहेकी होली, काम गरिरहेकी होली, एक्लै होली या निर्कोससँग होली ? केही दिनदेखि म उसको बारेमा धेरै नै सोंच्न थालेकी छु, भनौँ, म एकप्रकारले विचलित छु । हिजो सपनामा पनि मैले उसलाई देखें, ऊ सुतिरहेकी थिई, मैले उसलाई नब्युँझाईकन फर्कन लाग्दा म आफैं ब्युँझिएँ । तीन महिना भयो- मैले उसको इमेल पनि पाएकी छैन, ऊ बेखबर छे र शून्य-शून्य, म उसलाई खोजिरहेकी छु ।

मारिया जोसँग मैले ६ महिनासम्म अमेरिकामा बिताएँ, शुरु-शुरुमा हामी एक-अर्कामा प्रतिस्पर्धीजस्तै थियौं । ऊ राम्री थिई, अत्यन्तै मेहनती, म ऊजति राम्री नभए पनि मेहनती भने थिएँ । एउटा प्रशिक्षणको सिलसिलामा हामी सँगै थियौं । सधैं समयमा गृहकार्य बुझाउने र समयमा कक्षामा आउने-जाने गर्ने हामी नै थियौं । शिक्षकहरूले कहिलेकाहीँ मेरो प्रशंसा गर्दा ऊ ईर्ष्या गरेझैं गर्थी तर उसको प्रशंसा गर्दा म मजाले सही थापिदिन्थें । एक महिनासम्म साधारण हाई-हेल्लोको बोलीचालीमै हामीले बिताएका थियौं । एक रात जब ऊ र म एउटै कोठामा पर्‍यौं, शुरुमा त उसले असजिलो अनुभव गरी । उसले व्यक्त नगरे पनि म कुरा बुझिरहेकी थिएँ । तर, कुराकानीकै क्रममा हामी नजिकियौं । ऊ मेक्सिकोबाट आएकी थिई ।

मेक्सिको अमेरिकाको सिमानामै पर्ने भएकोले मेक्सिकनहरू प्रत्येक दिन ठूलो सङ्ख्यामा कानूनी र गैरकानूनी रूपले अमेरिका छिर्ने गर्छन् । अधिकांश मजदुरहरू मेक्सिकन नै छन् अमेरिकामा । घर बनाउने, बाटो र पुल बनाउने, भनौं धेरै गाह्रो कामहरू उनीहरूबाटै चलेको छ र उनीहरूलाई कानूनी मान्यता दिने कि नदिने भन्ने बहस पनि वर्षौंदेखि चलिरहेको छ । कोही बसबाट, कोही प्लेनबाट, कोही पानीमा पौडेर, कोही सुरुङ खनेर अनेक गरेर अमेरिकामा छिरेका छन् मेक्सिकनहरू पैसा कमाउन । तर, मारिया कुनै त्यस्तो कामको निम्ति आएकी थिईन । ऊ एउटा प्रशिक्षणको सिलसिलामा आएकी थिई र अमेरिकामा मेक्सिकनहरूको जिन्दगी देखेर हैरान थिई । ऊ भावुक थिई, त्यसैले यस्ता कुराहरूले पिरोलिने गर्थी । भावुकता मानिसको जीवनमा कति पीडादायी हुन्छ त्यो मैले राम्ररी बुझेकी थिएँ, त्यसैले सायद हामी नजिक भएका थियौं ।

समय कसरी गयो पत्तै भएन । एक साँझ फोनमा आधा घन्टासम्म कुरा गरिसकेपछि ऊ शिथिल-शिथिल भएर ओछ्यानमा थचक्क बसी र धेरैबेरसम्म एकोहोरो टोलाइरही । जब मैले उसको परिस्थितिलाई बुझने कोशिस गरें, उसले भावुक भएर सुस्केरा हाल्दै यति मात्र भनी-“म कसैलाई मन पराउँछु, म उसलाई माया गर्छु र धेरै नै चाहान्छु ।”

त्यसपछि मैले उसको बारेमा धेरै कुरा थाहा पाएँ । ऊ निर्कोस भन्ने केटालाई मन पराउँथी र बेहद चाहन्थे उनीहरू एक-अर्कालाई, तर सँगै बस्न भने सकिरहेका थिएनन् । निर्कोस एउटा राजनीतिक व्यक्ति थियो । उसकी श्रीमतीसँग अदालतमा मुद्दा चलिरहेको थियो । मारिया एक्लै थिई तर बाबु-आमा, भाइ-बहिनी सबैलाई हेर्नुपर्ने अवस्था थियो । परिवारको एक मात्र सहारा नै ऊ थिई । बाबु खुट्टामा गोली लागेर अपाङ्ग भएको थियो, आमा र भाइबहिनीहरू करिब-करिब बेसहारा अवस्थामा थिए । उसको पनि विवाह भएको थियो तर एक वर्षपछि लोग्नेले छोडेर अर्कै केटीसँग बसेको थियो । उसको लोग्ने मार्कोसले एक वर्षसम्म दिएको दुःख सम्झिएर कहिलेकाहीँ ऊ रुने गर्थी । धेरै बेरसम्म रोइसकेपछि एक दिन उसले भनी- “हिजोआज सम्झिरहेकी छु, म कसरी बसें होला एक वर्षसम्म ? शारीरिक सम्बन्धको विषयलाई लिएर जब हाम्रो झगडा हुन्थ्यो, म पिटिन्थें प्रत्येक रात । जब पिटाइको पीडाले म आँशुमा डुब्थें अनि ऊ सुत्थ्यो मस्तसँग । त्यो एक वर्षको बीचमा मैले लोग्नेमान्छेहरूलाई साँच्चैकै घृणा गर्न थालिसकेकी थिएँ । मैले सोचेकी पनि थिइनँ कि मेरो जिन्दगीमा फेरि कुनै लोग्नेमान्छे आउनेछ र म उसको मायाको पीडामा यतिसम्म गहिरिनेछु ।”

अनायासै ऊ रोई र धेरै बेरसम्म रोइरही । मैले चुपचाप उसलाई हेरिरहें र भनें-“भयो, सुतौं अब । कुनै दिन तिमी निर्कोससँग हुनेछ्यौ र रमाइलोसँग तिमीहरूको जिन्दगी बित्नेछ ।”
उसले नपत्याएझैं गरी मलाई हेरी र भनी-“खै… ? … ?”
‘तिमीलाई आफ्नो मायामा विश्वास छैन, तिमी दोधारमा छ्यौ मारिया…, यसरी जिन्दगी बाँच्न गाह्रो हुन्छ ।’ -मैले भनें ।निर्कोसको फोन आएपिच्छे ऊ भन्ने गर्थी-“म तिमीलाई छुन चाहन्छु, तिम्रो छातीमा टाउको राखेर निदाउन चाहन्छु ।”उसको फोन सुनिसकेपछि म उसलाई भन्ने गर्थें-“मलाई लाग्छ, तिमी उसलाई शारीरिक रूपले बढी मन पराउँछ्यौ, नत्र किन तिमी पटकैपिच्छे भन्ने गर्छ्यौ कि म तिमीलाई छुन चाहन्छु, उसले के भनेर सोच्छ होला तिमीलाई… ?”
यो विषयलाई लिएर उसले मसँग लामो बहस गरी, सकेसम्म मैले पनि तर्कहरू गरें ।

“जब तिमी कसैलाई माया गर्दिनौ भने तिमी कसरी उसलाई छुन सक्छ्यौ ? मेरो मतलब ऊसँग अङ्कमाल गरेर बस्न सक्छ्यौ ? र, तिमी कसैलाई बेहद माया गर्छ्यौ भने कसरी उसलाई नछोई बस्न सक्छ्यौ ?”-उसले भनी ।
“यी सब मानसिक सोचका कुराहरू हुन् ।”-मैले भनें ।
“हो…यी मानसिक सोचकै कुराहरू हुन् ।” उसले सही थापी र भनी -“जब म कहीँ जान्थें म उसलाई पाइतलामा चुम्बन गर्थें, खै, किन हो, उसका खुट्टादेखि टाउकोसम्म सबै अङ्गहरू मेरा लागि उत्तिकै प्रिय छन्, म उसलाई माया गर्छु ।” ‘ऊ भन्दै गई -“तिमीलाई थाहा छ, पहिलोपल्ट जब मैले पाइतलामा चुम्बन गरें, उसले भन्यो- ‘त्यसो नगर, मलाई लाग्नेछ कि तिम्रो मायालाई म लत्याइरहेको हुनेछु ।’ त्यसपछि मैले भनें- ‘होइन, तिमी मेरो मायाको संसारमा उभिरहेको हुनेछौ । त्यसपछि कति चाँडो सहमत भएर उसले मेरो पाइतलामा चुम्बन गरेको थियो ।’”

ऊ रोमान्टिक भई र भनी-“शारीरिक सम्बन्ध भन्ने कुरा राखुँ भनेर हुने कुरा होइन, तिमी कसैलाई साँच्चीकै माया गर्छ्यौ भने तिमीलाई थाहै हुँदैन, तिमीहरूले कतिबेला के-के गर्‍यौ ? कति मान्छेहरू शारीरिक सम्बन्ध राख्नकै लागि वेश्यालय जान्छन् र कतिचाहिँ केटी या केटा फेरी-फेरी होटल या यस्तै ठाउँहरूमा जान्छन्, म त्यस्ता मान्छेहरूलाई घृणा गर्छु ।”त्यसपछि धेरैबेरसम्म हामीले केटीहरूको शोषण र देहव्यापारका कुराहरू गर्‍यौं ।
“साँच्ची, पैसा खर्च गरेर आनन्द लिन जानेहरू त पशु नै हुन्, कुनै भावना नभएका… प्रेमबिनाको सम्बन्ध राख्न सक्ने पशुहरू॥!” -ऊ एक्लै फतफताई ।
“त्यसो भए केटीहरूलाई तिमी के भन्छ्यौ जो त्यस्तो पेसा गरेर बसिरहेका छन् ?” -मैले सोधें ।
उनीहरूको बाध्यता र विवशताको लामो भाषण छाँटी उसले । बहस छोट्याउने कोशिस गर्दै मैले भनें -“हो, त्यस्ता केटीहरू पनि आफूले मन पराएको मान्छेसँग बस्न चाहन्छन्, उनीहरूलाई भेट्न चाहन्छन् ।”

धेरै सिनेमाका कहानीहरू बटुल्दै मैले उसको कुराहरूमा सहमति जनाएँ । त्यसपछि हामीले प्रेम र रोमान्सको विषयमा लामो कुराकानी गर्‍यौं । यसअघि यस्ता विषयमा कसैसँग कहिल्यै पनि मैले यति लामो समयसम्म कुराकानी गरेकी थिइनँ ।“…मार्कोसले जब मलाई पिट्थ्यो र सम्बन्ध राख्ने कोशिस गर्थ्यो, त्यतिबेला मैले जहिले पनि आफू बलात्कृत भएको अनुभव गरें तर कहिल्यै उसले ग्लानि अनुभव गरेको पाइनँ ।” -उसले अगाडि भनी-“मलाई त्यतिबेला लाग्थ्यो सबै लोग्नेमान्छेहरू त्यस्तै हुन् । उनीहरूलाई सम्बन्ध राख्न भावना, सोचाइ अथवा चाहनाजस्ता कुराहरूले केही फरक पार्दैन ।”

“तिमी कसरी भन्न सक्छ्यौ निर्कोस त्यस्तो छैन ? यति धेरै भावनामा नबग मारिया… तिमी भ्रममा हुन सक्छ्यौ र जब वास्तविकतामा आउनेछ्यौ त्यतिबेला तिमीमाथि र तिम्रा सोचाइहरूमाथि ठूलो धोका भइसकेको हुनेछ, तिमी छाँगाबाट खसेजस्तै हुनेछ्यौ । उही पीडा, उही एक्लोपन… त्यही वास्तविकता तिम्रो जीवनमा दोहोरिनेछ, त्यतिबेला म त तिम्रो साथमा हुनेछैन तर तिमी पुनः दुःखी भएको म सुन्न चाहन्न मारिया !” -मैले भनें ।
उसले एक ग्लास वाइन थपी र भनी- “त्यसो त मान्छेहरूले प्रश्न गर्न सक्ने थुप्रै ठाउँहरू हामीले छोडिदिएका छौं । हामीले जतिसुकै राम्रो गरौं उनीहरूले कहिल्यै पनि राम्रो भन्ने छैनन् । मानिसहरूले भन्नेछन्- यदि यिनीहरू राम्रा मान्छे भइदिएको भए उसकी स्वास्नीले निर्कोसलाई किन मुद्दा हाली र मलाई मार्कोसले किन छोड्यो ? यो प्रश्न हाम्रो जीवनमा वर्षौंसम्म दोहोरिइरहनेछ । अँ, अघि तिमीले भन्यौ कि निर्कोस पनि त त्यस्तै हुन सक्छ…। तर खै, किन हो, मलाई ऊ धेरै नै फरक लाग्छ । मेरा लागि त ऊ यो विश्वमै एउटा मान्छे हो जो आममान्छेहरूभन्दा फरक छ ।”

मलाई मनमा लाग्यो- मारियाले त्यसो भन्नुभन्दा निर्कोसले भनिदिएको भए हुन्थ्यो । त्यसपछि उसले मेरो हात समाती र भनी-“आऊ ! म तिमीलाई निर्कोसको एउटा इमेल देखाउँछु ।”

म चुपचाप केटाकेटीझैं उसको पछि लागें र कम्प्युटरको छेउमा गएर बसें । उसले आफ्नो इमेल खोली र मलाई पढ्न भनी । लेखिएको थियोः-‘मारिया ! हिजो तिम्रो फोन आउँदा म एउटा जरुरी मिटिङमा थिएँ । माफ गर मैले तिमीसँग राम्ररी बोल्न पाइनँ । अँ सुन, एउटा कुरा ती मेरा साथीहरू छन् नि इकाल, फ्रोक र नेकहरू तिनीहरू सदाझैं केटीहरूसँग गएका थिए, मेरा लागि पनि भनेर उनीहरूले एउटी नयाँ केटी खोजिदिएका थिए, जसको नाम नेकिला थियो । धेरै राम्री थिई त्यो केटी, कम उमेरकी तर मैले ऊसँग हाई-हेल्लोभन्दा अरू केही गर्न सकिनँ । जब ऊ मसँग टाँसिएर बसी, मेरो जीउ नै चिसो भएर आयो, मैले तिमीलाई सम्झिएँ, म एकदम नर्भस भएँ र उसलाई माफ गर म एक कप चिया खान चाहन्छु भनेर बाहिर निस्किएँ । ऊ अँध्यारी भई र मलाई थाहा थियो ऊ आफ्नो बेइज्जत भएको अनुभव गरिरहेकी थिई । पछि मलाई धेरै ग्लानि अनुभव भयो कि म किन त्यहाँ गएँ ? मलाई साँच्चीकै माफ गर, म साथीहरूको करले गएको थिएँ । र, अब म कहिल्यै जाने छैन । तिमी आएपछि भन्नुपर्ने धेरै कुराहरू छन्…।’खै, किन हो, उसको इमेल पढेपछि म धेरै खुशी भएँ र भनें-“माफ गर, मैले निर्कोसको बारेमा गलत सोचें, ऊ धेरै राम्रो मान्छे रहेछ र इमानदार पनि ।”
“इमानदार कसरी ?” -उसले प्रश्न गरी ।
मैले भने-“ऊ जहाँ गयो र जे-जे भयो उसले ती सबै कुराहरू तिमीलाई सुनाइरहन जरुरी थिएन, तर उसले सुनायो त्यसैले पनि ऊ तिमीप्रति इमानदार छ ।”

कालो कपाल भएकी, अलिअलि मोटी र अग्ली मारिया झट्ट हेर्दा नेपाली केटीजस्तै देखिन्थी । म ऊसँग आफू नेपाली भएको जति गर्व गर्थें त्यति नै ऊ आफ्नो देशप्रति गर्व गर्थी । उसका कुराहरू सुन्दा लाग्थ्यो मानिसको जीवनस्तर र सोचाइको स्तर पनि झन्डै उस्तै थियो । कहिलेकाहीँ ऊ वाइन खान्थी र वाइन खाएपछि झन् बढी भावुक हुन्थी । म काठमाडौंमा पत्रिका चलाउँथें, ऊ मेक्सिकोमा गैरसरकारी संस्थाले निकाल्ने न्युजलेटर चलाउँथी । महिला आन्दोलनमा हामी दुवैको उत्तिकै रुचि थियो । हामीहरू आ-आफ्नो मुलुकमा भइरहेका गतिविधिहरूबारे प्रत्येक दिन जस्तै चर्चा गर्थ्यौं । त्यतिबेलै मेक्सिकोका राष्ट्रपति भिसेन्ट फक्सले ५२ वर्षको उमेरमा ४७ वर्षीया आफ्नै प्रवक्तासँग विवाह गरेको चर्चा पत्रपत्रिकाहरूले छापेका थिए, यो सन् २००१ अगस्टको कुरा थियो । ‘यो उमेरमा किन विवाह गर्नुभयो ?’ भन्ने पत्रकारहरूको प्रश्नमा राष्ट्रपतिको जवाफ थियो, ‘मेरो अनुहारमा हेर्नुस् सबै कुरा देख्नुहुनेछ ।’ त्यो जवाफमा पत्रकारहरूको टिप्पणी थियो, ‘उनको अनुहार खुशीले भरिएको थियो ।’

हामी महिला आन्दोलनको प्रसङ्गमा जब घरायसी हिंसामा प्रवेश गर्थ्यौं, विश्वमा जताततै स्वास्नीमान्छेको समस्या एउटै हो जस्तो लाग्थ्यो । यौनशोषण, बलात्कार, कुटपिटजस्ता घटनाहरू त्यहाँ पनि प्रत्येक दिन पत्रपत्रिकामा छापिन्थे । अचम्म लाग्थ्यो, जहाँ पनि उस्तै-उस्तै घटनाहरू । एक दिन मैले भनें-“मारिया ! हेर न, कुनै केटामान्छे हिंसाको सिकार भयो भने बढीमा उसले कुटाइ खान्छ या मारिन्छ, तर केटीमान्छेले भने कुटपिट या मृत्युसँगै यौनशोषणको सिकारसमेत हुनुपर्छ । मलाई यस्ता कुराहरूले अत्यन्तै पीडा हुन्छ ।”
त्यसपछि हामीले सार्वजनिक जीवनमा भएका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोणको बारेमा कुरा गर्‍यौं । मैले भनें-“जतिसुकै चरित्रहीन लोग्नेमान्छे होस् उसलाई बदनाम गर्न बढीमा भ्रष्टाचारको आरोप लगाइन्छ तर जतिसुकै असल महिला होस् उसलाई बदनाम गर्नका लागि उसको चरित्रलाई अगाडि सारिन्छ र चरित्रहीन भनिदिए मात्रै पुग्छ, प्रमाणित गरिरहनुपर्दैन ।”भेदभावको पीडा कहिलेकाहीँ आक्रोश बनेर पोखिँदा हामी निकै उत्तेजित हुन्थ्यौं र हाम्रो छलफलको निष्कर्ष जहिले पनि समानतामा गएर टुङ्गिन्थ्यो ।

एक साँझ मारिया र म कोठामा बसेर यस्तै कुराकानी गरिरहेका थियौँ, उसको नजिकको नाता पर्ने एक व्यक्ति कोठामा आयो र बस्न नपाउँदै रुन थाल्यो । उनीहरू आफ्नो भाषामा कुरा गरिरहेका थिए, मारिया उसलाई सान्त्वना दिइरहेकी थिई । म चुपचाप उनीहरूलाई हेरिरहेकी थिएँ । केहीबेर रोएपछि उसको त्यो नातेदार पेद्रोले लामो श्वास फेर्‍यो र टोलाएर बसिरह्यो ।
“के भयो ?” -मैले सोधें ।
“आज उसकी आमाको मृत्यु भयो आफ्नै देशमा, तर ऊ जान सक्दैन किनभने ऊ त्यहाँ गयो भने फेरि फर्किएर आउन सक्दैन । र, त्यहाँ बसेर के गर्नु उसले कुनै काम नै पाउँदैन, यहाँ त कमसेकम दुःख गरेअनुसार पैसा कमाइरहेको छ । यहाँको एक डलरको मेक्सिकोमा दस पेसो हुन्छ । बेलाबेलामा पैसा पठायो, स्वास्नी, छोराछोरीसँग भेट नभए पनि उनीहरूको समस्या टरेको छ ।” -मारियाले भनी ।

मैले नेपालबाट पैसाकै लागि भारत, कतार, साउदी र अन्य मुलुकहरूतिर भासिने नेपालीहरू सम्झिएँ । आखिर समस्या त हाम्रो पनि त्यही न हो । पैसाका लागि विदेशिएका नेपालीको कतिको घरमा पैसा पुग्छ, कतिको अपाङ्ग शरीर र कतिको त लास नै पुग्ने गरेको छ । मनमा लाग्यो, गरीब हुनु पनि केही होइन । यदि गरिबीले नछोएको भए कति मान्छेले आफ्नो परिवारको साथ छोड्नुपर्ने थिएन । मन त्यसै पीडाले भरियो । पेद्रोलाई ढाडस दिँदै भनें-“नरोऊ पेद्रो ! यस्तै हो, एक दिन त हामी सबै मर्नैपर्छ, जिन्दगीमा जति दुःख गरे पनि आखिर जाने बाटो त सबैको एउटै हो । आज हामी यहाँ छौं, यहाँबाट छु ट्टिएपछि हाम्रो भेट कहिल्यै नहुन पनि सक्छ र भोलि नै हामीमध्ये कसैलाई केही हुन पनि सक्छ, कसलाई थाहा छ र ?’“
पेद्रोले टाउको हल्लाउँदै सहमति जनाएझैं गर्‍यो तर उसका आँखाबाट आँशुहरू रोकिएका थिएनन् ।
अहिले पानी परिरहेको छ र म मारियाको बारेमा सोचिरहेकी छु । ऊ भन्ने गर्थी-“म एउटा बच्चा पाउन चाहन्छु, साँच्ची निर्कोस र मेरो बच्चा भयो भने कस्तो हुन्छ होला ? ठूलो पेट लिएर डाक्टरकहाँ दुवैजना जचाउन गएको, हस्पिटलमा भर्ना भएको, बच्चा पाएको, दूध चुसाएको, निर्कोस र म सँगै बसेर फोटो खिचाएको यी सबै कुराहरू सम्झिएर मन त्यसैत्यसै उत्तेजित हुने गर्छ कहिलेकाहीँ र डर पनि लाग्छ- कतै मेरा यी रहर चाहनामै सीमित त हुने होइनन् ?’“
कति भावुक भएकी थिई मारिया । समय र परिवर्तनको कुरा गर्न उसलाई खुब मन लाग्थ्यो । परिवर्तनकै प्रसङ्गमा एक दिन उसलाई मैले भनें-“तिमीले बच्चा पाउने रहरको कुरा गर्दा मैले सम्झिएँ, मेरी आमा भन्नुहुन्थ्यो- आफ्ना उमेरमा मेरो बुबा र आमाले उज्यालोमा कहिल्यै एक-अर्काको मुख हेर्नुभएन, आँखा जुधाउनुभएन । मेरा फुपूहरू र हजुरआमाका अगाडि मेरो बुबा कहिल्यै आमासँग बोल्नुभएन । र, म अहिले तिमीले गरेको कल्पना अथवा मैले गर्ने कल्पनाजस्तो कुनै योजनाबद्ध तरिकाले जन्मिएकी थिईनँ । प्राकृतिक आवश्यकता पूरा गर्ने क्रममा म अनायासै आमाको पेटमा आएकी थिएँ र पक्कै छोरा जन्मिन्छ भन्ने आशा लिएर भगवान्सँग प्रार्थना गर्दै मेरी आमाले नौ महिनासम्म मलाई पेटमा राख्नुभएको थियो । जब म जन्मिएँ, उहाँ निकै दुःखी हुनुभयो र घरमा परिवारका सदस्यहरूले केही भन्लान् कि भनेर धेरै बेरसम्म रुनुभयो । तर, उहाँले यसो गर्नुमा उहाँको कुनै दोष थिएन, हाम्रो समाजको छोरीलाई हेर्ने दृष्टिकोण र गरिने भेदभाव नै यसको प्रमुख कारण थियो । कुनै दिन म आफ्नो खुट्टामा उभिने छु र मेरो पनि आफ्नो संसार हुनेछ भन्ने लागेको भए मेरी आमा पक्कै रुनुहुने थिएन । यद्यपि, मैले बाल्यावस्थामा परिवारको अति नै माया पाएँ, लाडप्यारमा हुर्किएँ । अहिले मेरी आमा र मेरोबीचमै कति ठूलो परिवर्तन आएको छ । मेरी आमा उज्यालोमा आफ्नो लोग्नेलाई हेर्न सक्नुहुन्नथ्यो, म आफ्नो प्रेमीसँग खुल्ला सडकमा हात समातेर हिँड्न सक्छु । म अहिले सम्झिरहेकी छु बिना कुनै वार्तालाप, बिनाप्रेम, बिना एक-अर्काको स्वीकृति र सहमतिमा उहाँहरूबीच कसरी शारीरिक सम्बन्ध भयो होला ? कतै त्यो सम्बन्ध मेरी आमाका लागि पीडादायी त थिएन ?”

मैले यसो भन्दा कति गम्भीर भएकी थिई मारिया । उसको संवेदनशील हृदयमा कुनै चोट नलागोस् भनेर म सधैं प्रार्थना गर्छु । ऊ एक किसिमको सार्वजनिक जीवनमा छे, निर्कोस त झन् पहिल्यैदेखि छ नै । मानिसहरू भन्ठान्छन्- सार्वजनिक जीवनमा भएका व्यक्तिहरूको कुनै व्यक्तिगत जीवन हुँदैन, तर मलाई लाग्छ- यो सब गलत हो । आफ्नो व्यक्तिगत चाहना र खुशी हरेक व्यक्तिको जीवनमा अत्यन्तै महत्वपूर्ण हुन्छ । कसैले म सार्वजनिक जीवनमा छु त्यसैले मेरो व्यक्तिगत जीवन छैन भन्छ भने कि त त्यो ढोंगी हो कि त उसले सोचेजस्तो जीवन बाँच्नै पाएको छैन ।
अहिले बेखबर भएकी मारियालाई इमेलमा मैले लेखें :-
यदि तिमीले मलाई बिर्सिएकी छैनौ भने परदेशमा बिताएका क्षणहरू सम्झ, सम्बन्धको दुनियाँमा पनि सम्झनु ± सम्झनु = बिर्सनु हुँदैन रहेछ, त्यसैले मैले तिमीलाई बारम्बार सम्झिरहेकी छु, आशा छ तिम्रो सम्बन्धको सूत्रभित्र अबदेखि बिर्सनु ± बिर्सनु = सम्झनु हुनेछ ।
लेख्न मन लागेको थियो- हामी उभिएको धरातल र हामीले चाहेको संसारबीचको दूरी निकै लामो छ मारिया ! यो पीडादायी दूरी घटाउने क्रममै एक दिन तिमी र म यो संसारबाट टाढा जानेछौं आदि-आदि तर लेखिनँ । अन्त्यमा लेखें :-
मलाई विश्वास छ तिमी अहिले दुःखी छैनौ, जिन्दगी आज खुशी बाँच्नुपर्छ मारिया ! भोलिको दिन कसले देखेको छ र ?


(हालै प्रकाशित कथा संग्रह ‘सम्बन्धहीन सम्बन्धहरु’बाट)

No comments: