पर्खाइ
-श्रृजना दाहाल
त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न सजिलो पर्छ । अनि उनीहरु पढ्ने गर्छन् । त्यही गाउँको केटा हो - घनश्याम । आफ्नो ८ कक्षा सम्मको पढाइ जसोतसो सकाएर थप पढ्नको लागि सदरमुकाम जान चाहन्छ ऊ । तर घर बा-आमा हेर्ने कोही नहुँदा ऊ त्यसै बेकार रहन्छ ।
केही समय पछि गाउँकै केटी राधासँग भेट हुन्छ । राधाले उसलाई पढेर गाउँको लागि केही गर्न हौसला दिन्छे । उसको घर, बा, आमा हेर्न राजी हुन्छे । उनीहरूको विवाह हुन्छ । विवाह पश्चात घनश्याम पढ्नको लागि सदरमुकाम जान्छ । राधा घनश्याम भन्दा उमेरमा मात्र होइन कामकाजमा पनि निकै परिपक्व छे । उसले घरको सम्पूर्ण कामकाज गर्दै बा-आमाको हेरचाहको साथसाथै मेलापात पनि धाउँछे । विवाह पश्चात लोग्ने तथा सासु-ससुरा नै देवता मान्छे ।
घर व्यवहारबाट मुक्त भएपछि घनश्यामले पनि पढाइमा निकै प्रगति गर्दछ । हरेक क्षण ऊ मिहिनेत गरिरहेकै हुन्छ । फलस्वरुप उसले एसžएलसी प्रथम श्रेणीमा पास गर्छ । यो सफलतामा घनश्याम र उसका परिवार निकै खुसी हुन्छन् । त्यस पछि अझ पढ्ने विचारले ऊ काठमाडौँ आउँछ । काठमाडौँमा बसेर सानोतिनो काम खोज्छ र पढाइ खर्च पुर्याउँछ । खाना खर्च जसोतसो गाउँबाट आइपुगिहाल्थ्यो । जसले गर्दा घनश्यामले आइएस्सी पनि सक्छ र एमबिबिएसमा प्रयास गर्छ । मिहिनेति घनश्यामले इन्ट्रान्स परिक्षा सहजै पास गर्यो । तर, पढाइ खर्च धेरै लाग्ने भयो । घर सल्लाह अनुसार खेतबारी धरौटी राखेर अनि आफूले पनि काम गरेर उसले पढाइ खर्च जुटाउने भयो ।
घनश्यामले धेरै मिहिनेत र परिश्रमका साथ पढ्यो । ऊ अब डाक्टर बन्यो । यो अवधिमा उसका बा-आमा दुवैको निधन भइसकेको थियो । राधाले जसोतसो मेलापात गरेर घर चलाइरहेकी थिई ।
आज घनश्याम सक्षम भएको छ । उसले आफ्नो लक्ष प्राप्त गरेको छ । आज ऊ समाजको प्रतिष्ठित व्यक्ति भएको छ । उसले आफ्नो छुट्टै पहिचान बनाएको छ । अब उसले राधा आफूलायक नभइको ठान्छ र सहरमा अर्कै केटीसँग विवाह गर्छ । अब राधा उसको लागि कोही भइन । हिजो जब उसलाई सहायता र आधारको खाँचो थियो त्यति बेला राधा नै सबथोक भई । आफैँले प्रस्ताव राखेर राधासँग उसले विवाह गर्यो । आज जब ऊ सक्षम भयो राधा जेठी भई, असुहाउँदी भई । जुन हौसला र प्रेरणा दिएर राधाले उसलाई पढ्न पठाई, उसको घर र बा-आमालाई आफ्नै सम्झेर स्यहार-सुसार गरी आज त्यही राधा घनश्यामको लायक भइन, गाउँले भई, अनपढ भई । त्यो राधा घनश्यामको मुटुको कुनै कुनामा छैन । राधाको त्यागको कुनै मुल्य रहेन उसको लागि । अब उसले एउटा चिठी लेख्नयो राधालाई - सहरमा मैले अर्को विवाह गरेँ अब फर्केर आउँदिन, तिमी आफ्नो बाटो लागे हुन्छ मलाई पर्खनु पर्दैन ... यस्तै यस्तै भनेर ।
चिठी राधाको हातमा पर्यो । बिचरी अनपढ राधालाई के थाहा चिठीमा के लेखेको छ भनेर । उसले त सम्झन्छे सायद घनश्यामको पढाइ सकियो होला । अब छिट्टै गाउँ आएर गाउँकै लागि केही गर्छु भनेर लेखेको होला । राधा घनश्यामको बाटो हेरिरहन्छे । खेतबारी त घनश्यामको पढाइको लागि धरौटीमा थियो । त्यो सानो घरमा नै बडो मुस्किलसँग उसले आफ्नो एकमुठी ज्यान जोगाइरहेकी छे अनि त्यो चिठी छातिमा टाँस्दै आज पनि घनश्यामको बाटो हेरिरहेकी छे ।
-बंगलामुखी, पाटन ,ललितपुर
Monday, December 15, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment