Monday, December 15, 2008

लघुकथा

सङ्गत

-प्रतिभा राई
जेठो भने पनि कान्छो भने पनि बुढेसकालको एक्लो सन्तान कृष्णे बिग्रिएला कि भन्ने डरले ड्राईभरको छोरासँग खेल्न गयो भने कृष्णेको बुबा सँधै भन्ने गर्नुहुन्थ्यो, "ठूलाबडाको सङ्गत गर्नू । ज्ञानगुण पाइन्छ, इज्जत कमाइन्छ । यो गाउँको जान्ने-बुझ्ने भनेका र गाउँलेले ठूलाबडा मानेका मध्ये एक सुवेदार साहेब पनि हुन् बुबाकै अर्ति-उपदेश अनुरूप हिजोआज कृष्णे तिनै सुवेदारका छोरासँग बढी हेलमेल गर्न थालेको छ । छोराले सुबेदारको छोरासँग सङ्गत गरेकोमा कृष्णेको बुबा पनि निकै खुशी छन् । सुवेदारको छोराले जे गर्‍यो त्यही गर्न, जे लगायो त्यही लाउन कृष्णेलाई अनिवार्य जस्तै भैसकेको छ । सीमित आयबाट छोराका यस्ता माग पूरा गर्न कृष्णेको बुबालाई निकै गाह्रो परेझैँ देखिन्छ । हुँदा हुँदै हिजो त कृष्णे "घरको सामान नै बेचेर लागू औषधी सेवन गर्दै थियो रे" यो कुरा थाहा पाएर कृष्णेको बुबा छोरालाई भन्दै हुनुहुन्थ्यो, "तैले यस्तो सङ्गत अब चाँडै छाडिनस् भने तँ एक दिन बर्बाद हुन्छस्, तेरो जिन्दगी बेकार हुन्छ ।"

No comments: