Monday, December 29, 2008

कबिता

बाटोमा भरिया बालक

-हेमन यात्री
दुई-चार क्षितिज नाघेर
बिसौनीमा पुग्नलाई
ढुङ्गाका खपेटाले वनेका लिस्नोहरुमा
कहिले उकालो-कहिले ओरालो गर्दै-
तोक्माको खर्त्र्र्याक - खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

भर्तिकेन्द्रको सिपाही
दोकाँधे खक्कन र बन्दुक भिरेर
लडाइँमा हिंडेजस्तो
कुहिरोले अनुहार छोपी
ढाँडमा ढाकर झुन्ड्याएर
तोक्माको खर्त्याक – खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

आँखामा हिउँ पग्लेर
भिजीदिन्छ किनारा लागेका परेली पनि
भरिएर आउछ थकाइको सुनामी
बगर जस्तो सुकेको ओंठ
चैतमा उडेको धुलो जस्तो
मुस्कान उडेर-
डुब्यौ खै ! कुन सागरमा गएर ?
फगत अरुको सपना बोकेर !
तोक्माको खर्त्याक - खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

आफू जस्तै लाग्ने बालकहरु छन् गाँउमा
उनीहरुकै रोजाइहरु छन् ढाकरमा
कस्सैगरी समयमा पुर्याउनु पर्छ- उनीहरु सम्म
हातमा केही कापी-कलम बोकाएर
नयाँ नाना लगाएर
पठाउनु पर्छ-पाठशाला
त्यसैले,
समयमा पुगिन्न कि ! भन्ने डर हृदयमा बोकेर
तोक्माको खर्त्याक - खर्त्याकमा
हिडिरहन्छ भरिया बालक ।

ए ! स्वयम्भुले चिहाएका शीतल निवास हो,
ए ! बालुवाटार हो,
केहिगरी यो बालक
बाटैमा हरायो भने के हुन्छ?

No comments: