अनुभूति
-गोपालकुमार मैनाली
कार्यालयमा काम पटक्कै नगर्ने। कसैले भनेको नटेर्ने। कार्यालयका सरसामान सुटुक्क घर पु-याउने। मुख मुखै लाग्ने। हाजिर गर्ने समयमा मात्र टुप्लुक्क आइपुग्ने। कार्यालयको फोन प्रयोग गरेर व्यक्तिगत व्यापार चलाउने। आपसमा कुरा लगाएर झगडा गराइ दिने। भ्रमण आदेश बनाएर भत्ता मात्र खाने। ओटी बस्नेहरुको लिस्टमा अन्तिममा उसको नाम हुनैपर्ने। कार्यालयको प्रमुख बाहेक अरुलाई गन्दै नगन्ने। कार्यालयको काम भने सिन्को नभांच्ने अर्थात हरेक हिसाबले गलत चरित्र भएको हरिबहादुर कार्यालयका लागि घांडो बनेको थियो। सबैका दबाबले उ राजीनामा दिन बाध्य भयो र दियो।
चरित्र खराब भएपनि पुरानो कर्मचारीको नाताले कार्यालयले विदाई समारोह राख्यो। समारोहमा वक्ताहरुको विदाई मन्तव्यको क्रम शुरु भयो।
कार्यालयको अन्तिम दिन भएर होला कसैले हरिबहादुरको नराम्रो पक्षको बारेमा चर्चै गरेनन्। मृदुभाषी, कर्तव्यनिष्ठ, अनुशासित, हसिलो, मिजासी, सबै प्रकारले योग्य, वफादार, समयको पालना गर्ने, आंखामा राख्दा नबिझाउने। कार्यालयमा ठूलो योगदान गरेका, कर्मठ, अनुभवि कर्मचारी हामीबाट विदा लिंदै हुनुहुन्छ आशयका अभिव्यक्ति आए।
आफ्ना बारेमा सबैबाट सकारात्मक र राम्रा कुराको मात्र चर्चा सुन्दा हरिबहादुर गमक्क प-यो। आफु त सांच्चै कार्यालयको चाहिने र महत्वपूर्ण व्यक्ति भएको अनुभुति उसले पहिलो पटक आजै मात्र ग-यो।
कार्यक्रमको अन्त्यमा हरिबहादुरलाई समेत मन्तव्य राख्न बोलाइयो। हरिबहादुरले उभिएर भन्यो -×यी यावत गुणहरु मसँग छन् भन्ने कुरा आजै मात्र मैले थाहा पाएं। म यति राम्रो योग्य कर्मचारी रहेछु मलाई हिजो सम्म कसैले भनेन। मलाई स्वयं पनि थाहा थिएन। तसर्थ मैले दिएको राजीनामा आजैका मिति देखि फिर्ता लिन्छु।" यो उद्घघोष सुनेर सबै कर्मचारीहरुले मुखा मुख मात्र गरे।
Monday, December 29, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment