Monday, December 29, 2008

कथा

अब कहिले आउँछ्यौ नानू !

-कृष्ण धाराबासी
"तिमी पनि जान लाग्यौ नानू !" बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधै बस्ने उहाँको त्यही त एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो । यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ । त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो । शरीरभरि अनौठो तरङ्ग कुद्यो ।
सधै टन्न भरिएको जस्तो लाग्ने त्यो घर र त्यहाँका चोटाकोठाहरू आज रित्तो र सुनसानजस्ता थिए । सरसामानले अस्तिजस्तै भरभिराउ घर तर रित्तो र खाली थियो । जता हेर्‍यो, उतै केही नभएजस्तो । छरछिमेकमा बोलेका आवाज सबै दौडेर आएर हाम्रै घरमा पसिरहेझैँ लाग्थ्यो, भिरालोमा बगेको पानीझैँ ।
जीवन त कति सामान्य कुरा रहेछ, कति कफल्लो ! मनका पत्रैपत्रहरूमा बाँधिएको यो तर ससाना कुराहरूले भरिए को लाग्ने । कति डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिती , अनुहार र आवाज । घरैभर, टोलैभर एउटा डरलाग्दो व्यक्तित्व थियो उहाँको । बाबाले सुन्ने गरी हामी कोही बोल्दैनथ्यौँ । आमाकै वरीपरी लुटुपुटु गथ्र्यौं सधैँ । हाम्रा हरेक मागहरू आमामार्फत पुग्थे बाबासम्म । कहिल्यै आफ्नो अगाडि उभ्याएर केही सोध्नु पनि भएन उहाँले । बाबालाई बसेका ठाउँमा चियाखाजा पुर्‍याउन पनि 'तँ जा, तँ जा' गथ्र्यौं हामी दिदीभाइ ।
एक थप्पड कुट्नुभएको थिएन, एक शब्द गाली गर्नुभएको थिएन । मागेका कुनै कुराको अभाव अनुभव गराउनु भएको थिएन तर त्यसै डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिति । बाबा घरमा भएका बेला हामीले कहिल्यै ठूलो स्वरले बोलेको थाहा छैन । हामीजत्तिकै नभए पनि डराएकै देख्थ्यौँ आमालाई पनि । हामी त साना केटाकेटी थियौँ तर आमा किन डराउनु हुन्थ्यो होला ! कहिल्यै आमाबाबाको पनि बाझाबाझ र झगडा भएको थाहा पाएनौँ तैपनि आमा त्यत्तिकै दबिएकी, डराएकी देखिनुहुन्थ्यो । हामी हुर्किंदै, बढ्दै गएपछि विस्तारै बाबाको नजिक पर्दै गयौँ । बाबाले पनि हामीलाई सोधखोज गर्न थाल्नुभयो । हाम्रो पढाइबाहेक बाबाले हामीसँग अरू कुनै कुरामा सोधखोज गर्नु भएन ।
एसएलसी उत्तीर्ण गरेपछि पालैपालो भाइ र म घरबाट टाढा भयौँ । घरबाट टाढा भए पनि आमाबाबाको सम्पर्कबाट ओझेलमा थिएनौँ । भाइ त त्यति वास्ता गर्दैनथ्यो घरको तर मलाई किन किन साह्रै याद आइरहन्थ्यो घर । सबैभन्दा धेरै माया लाग्थ्यो आमाको, डरसँग मिसिएको जस्तो माया लागिरहन्थ्यो बाबाको पनि । आफू जन्मेको-हुर्किएको ठाउँ, साथी-छरछिमेकीको सम्झना कसलाई आउँदैन ! तर, माध्यमिक शिक्षा पूरा गरेपछि सदाका लागि छोडिँदो रहेछ घर । फेरि कहिले रहरले पनि, इच्छाले पनि घरमा बस्न नपाइँदो रहेछ । घर छोडिदाखेर छोडिदा रहेछन् सबै आफ्ना प्रिय वस्तुहरू । विस्तारै अनुभव हुदै गयो, घरसँगै आमा छोडिनुभयो, बाबा छोडिनुभयो, आफ्ना रहरलाग्दा प्यारा सरसामानहरू छाडिए । डेराको बास भयो, सधै अभाव र असुविधाको जीवन सुरु भयो ।
छुट्टीमा छोटो समयका लागि घर जाँदा आमा भन्ने गर्नुहुन्थ्यो, "तिमीहरू अब ठूला भयौ, घर छोडिहाल्यौ । काखै रित्तो भएजस्तो लाग्छ । यत्रो घर छ, यत्रा सरसामान छन्, तिमीहरूकै लागि भनी भेला गरििदएका कैयौँ चीजहरू छन् । हेर ! अब यी सबै बेकामे भए । सुनसान लाग्छ घर । बिरानो हुन्छ मन । बोल्ने साथी पनि कोही हुँदैन । तिमीहरूका बाबाको कुनै ठेगान छैन, कहिले कहाँ, कहिले कहाँबाट फोन गर्नुहुन्छ । प्रायः एक्लै बस्नुपर्छ यस घरमा, अनाथजस्तो । तँ त बरू छुट्टीमा पनि आउँछेस्, तेरो भाइ त झन् के भा'को ! छुट्टीमा पनि उतै घुमेर बिताउँछ । कहिलेकाहीँ त मनमा विरक्त लागेर आउँछ । यत्रो जीवन, त्यसै बितेछ यही घर र आँगनको संसारमा ।
आमाका कुरा सुन्दा त्यसै त्यसै मन अमिलो भएर आउँथ्यो तर आमाको मायाले हामीले आफ्नो भविष्य बिगार्नु हुने थिएन, हामीलाई उहाँहरूले नै त्यसो गर्न पनि दिनुहुने थिएन ।
बाबाप्रति पनि गुनासा थिए आमाका: "तिमीहरूका बाबा साह्रै अनौठा हुनुहुन्छ । मनका कुरा कहिल्यै नखोल्ने ! जतिबेला पनि कुरैकुराले भरिएको बाकसजस्तो बोल्नै डरलाग्दो । कहिल्यै कडा स्वरले नबोलाए पनि मनमा गह्रौँ त्रास बोकिरहनुपर्ने ! स्वतन्त्रताको बोध हुनै सक्दैन । केही कुराले जतिबेला पनि थिचिरहेजस्तो । यस्तै डरले मैले कहिल्यै पनि आफ्ना रहरका कुराहरू गर्न सकिनँ । मन लागेको खान र लाउन सकिनँ । कुनै कुराको अभाव नदेखिए पनि मलाई यो सम्पन्नताको अनुभूति हुनै सकेन नानी ! तिमीहरू जन्मेपछि तिमीहरूसँगै खेले। आफ्ना सबै रहर र खुसीहरू तिमीहरूमा मिसाएँ । अब त तिमीहरू पनि छैनौ, तिम्रा बाबा मलाई कहिल्यैै पल्टाउन नसकिने ढुङ्गोजस्तो लाग्नु हुन्छ ।"
अनौठो थियो आमाको अनुभूति बाबाप्रति । हामीलाई पनि त्यस्तै हुनुहुन्थ्यो बाबा । तर, गाउँ-समाजमा उहाँको उपस्िथति विशिष्ट थियो । एक असल समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो ।
मेरो बिहे भइसकेपछि एकदिन बाबाले पहिलोपल्ट गम्भीर भएर बोल्नुभो ! "नानी ! अब तिमीमा ठूलो जिम्मेवारी आएको छ । पराइघरमा धेरै असुविधाहरू हुन्छन् । तिमी जहाँ पुगे पनि, जस्तै अप्ठ्यारो परे पनि, यो घर तिम्रो हो, यहाँ भएका सबै कुरा तिम्रै हुन्, चाहिएको जे पनि आफ्ना लागि प्रयोग गर्न सक्छ्यौ । निर्धक्क आमासँग भन्नू र लिनू !" त्यस दिन म साह्रै भावुक भएकी थिएँ । बाबाले मलाई कति माया गर्नु हुँदोरहेछ भन्ने थाहा पाएँ । आँखाभर आशु भरिए । भन्नु भो, "छोरीका कमजोरी भनेका यिनै आँसु हुन् । यिनलाई लुकाउन सिक । आँसुले सधै हेप्छ, मनलाई दरो बनाउनू । अब तिमी नयाँ संसारमा जीवनयुद्ध गर्न जाँदैछ्यौ ।"
साँच्चै नै एकाएक मन दरोजस्तो भयो । मेरा लागि बाबा र लोग्ने दुइटा दरा अभिभावक थिए । रोजेको लोग्ने पाएकी थिएँ । बाबाले असहयोग गर्नुहोला भन्ने कत्रो डर थियो मनमा तर उहाँले सहजै स्वीकारी दिनुभएको थियो । आमामार्फत बाबाका कानमा पुगेको मेरो प्रस्ताव एकाएक विवाहमा परिणत भएको थियो । म त्यसै दङ्ग परेकी थिएँ ।
तर, एकदिन आमाको कुराले म अचम्मित भएँ । उहाँले भन्नु भो, "छोरी ! बाबु भए पनि, लोग्ने भए पनि लोग्नेमान्छे भनेको लोग्नेमान्छे नै हो । उनीहरूमा हामीमा जस्तो हार्दिकता हुँदैन । संसार घुमिरहने स्वच्छन्द तिनीहरू अनेकौँ स्वभावले रङ्गिएका हुन्छन् । तिमीहरूले देख्दा कहिल्यै केही नभन्ने तिमीहरूका बाबाले पनि मलाई कति दुःख दिनु भएको छ । यो मन कहिल्यै खुसी छैन, प्रसन्न छैन । जहिले पनि जेलमा परेको जस्तो लागिरहन्छ । एउटा सानो घेरामा थुनिएर संसार हेर्दाहेर्दै बित्यो जिन्दगी ।"
आमाका आँखा भरएिका थिए । रोइहालेको जस्तो देखिएको थियो अनुहार । गला अवरुद्ध थियो उहाँको । भन्नुभो, "यो जीउ स्वस्थ रहेसम्म मात्र हुन्छन् लोग्नेहरू आफ्ना । जीउले साथ दिन छोडेपछि साह्रै गाह्रो छ नानी तिनीहरूको माया पाउन । रोगी भएकी छु भित्रभित्रै । सारा संसारको ख्याल गर्ने तिम्रा बाबा मेरो उपचारका लागि एकछिन पनि समय निकाल्नु हुन्न । महिनौँ भइसक्यो म दिनदिनै असक्त हुँदै गएको । घरबाहिरको संसारै देख्न पाइएन, न आफ्नो भन्ने अलग्गै सम्पत्ति रह्यो । सदा टाट्नामा बाँधेको बाख्रोजस्तो, हालिएको घाँस खाएर आइयो । आज शरीर भरी लुगा र गहना भरभिराउ छन् तर पोल्टामा एक पैसो छैन ।"
आमाका कुराले शरीर भरिको मासु थरथरायो । कहिल्यै कल्पना नगरिएको कुरा भन्दै हुनुहुन्थ्यो आमा । देखिएको सुखभित्र दबिएको दुःखको डरलाग्दो चित्रण थियो । बाबाको अनुहार टाटैटाटा परेको ढोँगी लोग्नेमान्छेजस्तो लाग्यो । मनमा कताकता रसिजस्तै उठेर आयो । महिलावादी दिदीहरूले भन्ने गरेका पुरुषविरोधी विचारहरू सत्यजस्ता लाग्दै गए । सम्झेँ, रमेशलाई । उसको अनुहारमा पनि बाबाकै रङ देखियो । त्यस्तो माया लाग्ने लोग्ने पनि एकछिन छाया परेको अनुहारमा फेरयिो ।
बाबाले मेरो अनुहार नहेरी सोध्नुभएको थियो । निहुरनिुभएको थियो उहाँ । पढेजस्तो गररिहेको हातको पत्रिका भुइँमा खत्रक्क खसेको थियो । भनेँ, "हो बाबा ! अब जान लागेकी । ज्वाइँको पनि अफिसबाट फोन आएको आएकै छ । नानीको पनि पढाइ धेरै छुटिसक्यो । मैले पनि अब तीन महिनाभित्र थेसिस् बुझाइसक्नुपर्छ ।"
निकैबेर केही बोल्नुभएन । लामोलामो सास फेरेजस्तो देखियो । टाउको नउठाएरै भन्नुभो, "श्यामले त दुई-चार दिन छुट्टी लिएर बसेकै भए पनि हुने । ऊ पनि हतारएिर हिजै हिँड्यो । उसको पनि नानीको पढाइ छुट्यो रे, बुहारीको जागिर बित्यो रे ! उसकै पनि थुप्रै कक्षाहरू छुटे रे ।" केही बोलिनँ म । मनभित्र अव्यवस्िथत बजार भरएिको थियो । यसो नियालेर हेरेको, तपतप झररिहेका थिए उहाँका आँखाबाट आँसु भुइँमा । त्यस्तो कडा मान्छे, आज आँखैआँखा बगिरहेको देखेँ । अवरुद्ध स्वरमा एक्लै बरबराएझैँ गर्नुभो, "तिमीहरूकी आमा साह्रै सोझी भनेको तर पापी रहिछ, त्यसले मलाई जीवनमा कहिल्यै आफ्नो ठानिन । कहिल्यै उसले आफ्नो मनको कुरा भनिनँ । जहिले पनि मेरै कुरा मात्र सुनिरही, मानिरही । आफ्ना रहर, इच्छा, आवश्यकता केही भनिन । मैले नै बुझेर जे-जे दिएँ, त्यही त्यहीमा रमाएजस्तो गरछि । म सोझो मान्छे, उसले मलाई यत्रो धोका दिएको कसरी जान्नू ! त्यत्रो बिमार लागेको रहेछ, कसरी खप्न सकेकी ? किन एकपल्ट पनि नभनेकी ? सुरुमै थाहा पाएको भए जति पैसा खर्च गरेर पनि त म निको पार्ने थिएँ । संसार घुमाउने थिएँ, उसका लागि यो सारा सम्पत्ति उडाउने थिएँ । मलाई किन चाहिएको थियो र यो सम्पत्ति ? तिमीहरू सबै आफ्नो खुट्टामा उभिएकै थियौ...। बालखैमा आमा मरिन । सौतेनी आमाको रुखो व्यवहारमा हुर्किएको म । जहिले पनि आमाको मायाको रहर लाग्थ्यो । तिम्री आमालाई कहिलेकाहीँ आमाजस्तै ठान्थेँ । कहिल्यै केही भन्दिनथेँ । उसको चित्त दुख्ला भन्ने लागिरहन्थ्यो । तर, उसले त मसँग मन खोल्नुपर्ने नि ! एकैचोटि त्यत्रो रक्तश्राव भयो, पहिल्यैदेखि हुँदोरहेछ नि, किन खपेकी त्यसले ? उपचार हुनै सकेन ।"
च्याप्प अँगालो हालेर रुन मन लाग्यो । आँसु थाम्नै सकिनँ । आमाप्रति बाबाको त्यत्रो माया कठै ! आमाले कहिल्यै थाहा पाउनुभएन । एकाएक अत्यधिक रक्तश्रावबाट आमाको निधन भएको समाचारले हामी स्तब्ध भएका थियौ। अनेक गरेर प्लेनको टिकट मिलाइदिए साथीहरूले । घाटमै मात्र भेट्यौँ आमाको शवलाई । सबै थोक त सकिएको थियो, त्यही रुन बाँकी थियो, रोयौँ दिदीभाइले एकअर्कालाई अँगालो हालेर ।
आमाको काम सकिएको पन्धौँ दिनमा भाइ आफ्नो परविारसहित हिँडेको थियो । दुई दिनपछि म हिँड्न लागेकी थिएँ । रमेश हतार गररिहेको थियो तल ।
एकदिन रमेशले कुरैकुरामा भनेको थियो, "बाबाको ब्लडप्रेसर छ, डाइबेटिज छ, केही गरी बाबा तलमाथि भइहाल्नुभो भने आमालाई चाहिँ हामी नै ल्याउनुपर्छ है शोभा !" त्यो दिन म रमेशलाई हेरेर साह्रै भावुक भएकी थिएँ ।
...तर, आज ?
मलाई हिँड्नु कि बस्नुभयो ।
विस्तारै भन्नु भो बाबाले, "जाऊ बाबु जाऊ ! तिमीले जानैपर्छ । जीवनलाई रोक्न सकिँदैन । भविष्यका विरुद्ध हिँड्नु हुँदैन ।"
म त्यत्तिकै उभिइरहेँ । थप्नुभो, "आमा थिई आइरहन्थ्यौ । अब त ऊ पनि छैन, केका लागि आउँछौ होला र ! यो सबै सिर्जना तिमीहरूकै आमाको त रहेछ, ऊ गई, सबै गयो ।"
बसेको ठाउँबाट उठेर बाथरुमतिर लाग्नुभो, म उभिएकै ठाउँमा टुक्रुक्क बसेँ ।

तल रमेश कराइरहेको थियो, "शोभा ! छिटो गर न, गाडीले हतार गरिरहेछ ।"

(साभार : नेपाल )

No comments: