Wednesday, July 8, 2009

कबिता

हामी

-मौलश्री लिम्बु
जे जस्तो छौं
कर्मानुसार जो बन्दैछौ
त्यसमा चित्त नबुझाउने

दोश्रोको देखासिखिमा आफूलाई
उस्तै बनाउन असफल प्रयास गर्ने
बन्न नसकेको झोंकमा
दोश्रोलाई पनि
आफ्नै हविगतमा पुर्याउन
तरकीव सोच्ने / व्यवधान निम्त्याईदिने
स्वार्थमा हमेशा लत्पतिएर
आफ्नो पहिचान हराएको पत्तै नपाउने
स्वाभिमानलाई बन्धकी राखेर
कसैको मुलाहिजा गर्नमा
कसर नराख्ने
दिए जति फुर्किएर थाप्ने
पाए जति गुट्मुटाउने
दिनु पर्दा
बहानाको छेक थुन गरी
अल्याङ्ग-टल्याङ्ग गर्दै
आफ्नो सर्वस्व सुम्पिनु परे जस्तै गर्ने
बेतालमा पनि ताल खोज्ने
खै! कहाँ केही नमिलेको
हामी ।

जहाँ जता रहे पनि
स्वार्थ र हठको पोको बोकेर
सम्बन्ध जोडे जस्तो गर्ने
सम्बन्ध तोडे जस्तो गर्ने
कुनै पनि नौटंकीको पात्र बन्न खपिस
विडम्बना
आफै बकम्फुस भएको
ईशारामा नबुझ्ने
कसैले ठह्र्याई दिनुपर्ने
कहिले लाज पचाउने
कहिले आत्मा सम्मान गुमाउने
अकड,बुद्धुको पहिचानमा रुमलिने
रै पनि
केही नभएको जस्तो इमान्दारी
स्वाभाविक बने जस्तो आडम्बरी
दुनियाँलाई बेवकुफ बनाउनलाई
आफ्नो तारिफ आफै गर्दै
आफूलाई महान कहलाउन चाहने
चर्चा-परिचर्चामा आउन
विवादै-विवादमा मुछिएर पनि
जे गर्न नि नहिच्काउने
थोरै फाईदामा बेफिक्री
आफ्नो लीलाम आफै गर्ने
साह्रै उल्टो बुद्धिमानी
आफ्नो असफलताको दोष लाञ्छना
दोश्रोलाई थोपारेर
धमिलो पानी भन्दा शुद्ध हुन खोज्ने
झण्डै र अलिकति वहाँनामा
आफूलाई सर्वोत्तम ठान्ने
जताततै जो कोही सदैव चुकिरहने
थाहा छैन कहिलेसम्मलाई
खै! के किन नमिलेको
हामी ।


-झापा
E-mail:-maulshri_limbu@yahoo.com

No comments: