Wednesday, June 10, 2009

कबिता








नेता बन्नुको के अर्थ ?

-गीता थापा
कुम्लो र कुटुरो बोकेर
जब अघि बढ्छु
आफै हाँस्छु आफैलाई देखेर
अनि धिकार्दै आफ्नै भाग्यलाई
रुन्छु पुर्पुरो ठोकेर ।

हार गुहार माग्न जाउँ बोल्दैन सरकार
बसेको छ मुखमा ताल्चा ठोकेर
आफ्नै जन्मभूमिमा छैन -
मलाई टेक्ने मेरो नाउँमा माटो
आज मेरो तमासा हेर्दैछ -
सधैं आफू हिंडेको बाटो ।

चुपचाप कसरी सहुँ ?
लालाबाला रुन्छँन भोको पेट मिचेर
हे दैब ! कस्तो मन हुन्छ त्यो कुर्सीमा बस्नेको
कहिल्यै दुख्दैन किन उसको त्यो मन ?
हाम्रो दुर्दशा देखेर ।
कहाँ गएर मागूँ नियाँ ?
आफ्नैले अन्याय गरेपछि
सतिले सरापेको देश मेरो
रावणको राज भए पछि ।

धिक्कार छ तिमीलाई नेपाली भै
नेपालीकै दुर्दशा हेर्छौं
चुपचाप छौ आफनै आँगनमा
अरुले नाङ्गो नाच नाँच्दापनि ?
कसरी भन्छौ 'नेपाली' भनी
बोल्दैनौ किन ?
आफ्नै चेली माथि गिद्दहरु
आँखै अगाडि झुमिदा पनि ।
आफ्नो पेट्को मात्र
चिन्ता तिमीलाई हो भने
तिमी नेता बन्नुको के अर्थ ?
त्यो सुख र सुबिधालाई मात्र हेर्छौ भने ।
के नै अर्थ भयो र मान्छे भैं जन्म लिनुमा
जन्मनुको कुनै औचित्य हुन्न
अरुलाई रुवाएर खानुमा ।

-इजरायल

No comments: