Saturday, February 28, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -फेब्रुअरी २००९


साहित्यमा भावना मात्र होईन बिचार पनि हुन्छ ।
-युबा साहित्यकार ईन्द्र नारथुंगे




♣ यहाँलाई साहित्यसागर ब्लगमा हार्दिक स्वागत छ ।
-म जस्तो सामान्य मान्छेलाई यति ठूलो अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यबाद छ ।

♣तपाईलाई नचिन्ने नेपाली साहित्यका पाठकहरु बीच तपाईं कसरी चिनिनु चाहनुहुन्छ ?

-किनारामा टुक्रुक्क बसी सागरमा औलो डुबाएर तैरने कल्पना गरिरहेको एउटा सामान्य मान्छे । किनकी साहित्य सागर जस्तै अनन्त छ ।

♣अहिले समय कसरी बिताईरहनु भएको छ ?

-प्रबासमा छु रोजीरोटीको लागि छुट्ट्याएको निश्चित अवधि बाहेक अध्यायन र नयाँ सिर्जनाहरु गर्ने काममै समय बितिरहेको छ । बिगतको जस्तो संघ संस्था तिर सक्रीयता नभएकोले चिन्तन गर्ने तिर पनि समयलाई छुट्याउन भ्याएको छु भनौ ।

♣ तपाईं त मलेसियाको डायस्पोरिक साहित्य आन्दोलनको एक सङ्घर्षशील हस्ती ,अचेल साहित्यिक गतिबिधि कसरी चलिरहेको छ ?

-हस्ती त नभनौ निश्छल जी,साहित्यको लागि मलेसियामा केही समय सक्रीय मात्र भैइएको हो । धेरै सक्रीय साथीहरु मेरो साथमा हुनुहुन्थ्यो ।हाम्रो संयुक्त प्रयासमा यहाँ केही साहित्यिक माहौल अवस्य बनेको थियो ।हामीले प्रबासी नेपाली साहित्यिक मन्च हुँदै अनेसासको मलेसिया शाखा स्थापना गए पछि साहित्यको लागि सङ्गठित हुने लहरको सिर्जना भएको कुरोलाई मैले नका र्न मिल्दैन ।प्रबासको ठाउमा तीन चार वटा साहित्यिक संस्थाहरु स्थापना हुनु,साहित्यिक कार्यक्रमहरु निरन्तर आयोजना गरिनु र साहित्य बिशेष पुस्तकहरु प्रकाशन हुनु भनेको पनि निक्कै ठूलो कुरा हो ।यो सबै साथीहरुको संयुक्त प्रयासको देन हो ।तर स्तरियतामा हामीले ध्यान दिएनौ कि भन्ने अहिले मलाई लागेको छ ।आज पनि मलेसियामा साहित्यको लागि भनेर मरिमेट्नेधेरै साथीहरु उसै गरी लागि रहनु भएको छ । लेख्न मन पराउने साथीहरुले लेखिरहनु भएकै छ । तर स्तरिय रचनाको खाचो भने टरेको छैन ।केबल लेख्नकै लागि मात्र लेखिएको जस्तै भईरहेको छ । यती मात्र होईन बिगतको जस्तो जमघट र जागर पनि अलिक पातलियो कि जस्तो लाग्दैछ ।

♣ए, साच्ची! अनेसास मलेसिया शाखाको दोश्रो अधिबेसनले तपाईं अध्यक्ष पदमा निर्बाचित हुनुभएको कुरा त्यहा स्थित स्थानीय नेपाली पत्रपत्रीका देखी लिएर इन्टरनेट पत्रीकाहरु बाट थाहा भयो तर फेरी केही समय लगत्तै सुनियो- तपाईंले अध्यक्ष पद बाट राजिनामा दिनु भयो । हैन के कस्तो अवस्था आयो जब कि राजिनामा नै दिनु भयो ?

-खै निश्छल जी, तपाईंलाई कसरी जवाफ दिउ, प्रश्न सोधिहाल्नु भयो ।यसो भनौ, साहित्य होहल्लाले लेखिने चिज होईन रहेछ भन्ने जब मैले महशुस गरे तब गुपचुप रहन उचित ठान्यो मनले ।यसो भन्दा साहित्यिक संघ संस्थाहरुको आवस्यकता नै छैन भन्न खोजेको अर्थ नलागोस् ।मेरो अनुभब के रह्यो भने अति ब्यस्तताले सिर्जनालाई कुण्ठित गर्दो रहेछ ।जब गहन अध्ययन र चिन्तन गर्ने समय रहदैन तब लेख्न ज्यादै गाह्रो हुने रहेछ ।लेख्न चाहनेहरुको लागि सबै भन्दा प्रिय भनेकै एकान्त हो ।त्यही ऐकान्टिकाताको मोहमा मैले पद मात्र होईन धेरै साथीहरुलाई गुमाउन राजी भए ।तर म नहुँदा पनि अनेसास मलेसिया त्यही रफ्तार मा चल्छ भन्ने मेरो पूर्व अनुमान गलत भयो ।त्यसैले आफ्नो अभिष्ट प्रति आँफै असन्तुष्ट पनि छु ।

♣बिशेष गरी तपाईंले साहित्यको कुन -कुन बिधामा कलम चलाऊनु हुन्छ ?

-साहित्यकार बन्नको लागि मैले धेरै घुम्तीहरु पार गर्नै बाकी छ ।तर पनि जानी-नजानी साहित्यको केही बिधामा हात चलाईरहेको छु ।लेखनको शुरुवात कबिताबाट भए पनि हाल कबिता सङ्गै कथा,गजल,गीत,सस्मरण र समसामयिक लेख रचनाहरु लेख्ने गरेको छु । प्रबासको ठाउमा रहेको हुनाले लेख्ने, चिन्तन गर्ने पर्याप्त समय छैन,त्यसैले लामा-लामा आख्यानहरु भन्दा कबिता ,गीत ,गजल लेख्नमै अलिक लहसिएको छु भन्दा हुन्छ ।तर मलाई मन पर्ने बिधा भनेको आख्यान नै हो ।


♣साहित्य सिर्जनामा लाग्न तपाईंलाई कसरी प्रेरणा मिल्यो ?

-साहित्य पढेर नै लेख्ने प्रेरणा मिलेको अनूभुत गर्दै छु अचेल ।जतिबेला म स्कूलको बिद्यार्थी थिए,त्यस बेला सबै भन्दा मेरो प्रिय पुस्तक भनेको नेपाली हुन्थ्यो ।नेपाली किताबमा भएका कथा कबिताहरु मलाई कण्ठ आउथ्यो ।कतिपय कबिताहरु त अझै पनि कण्ठै छ जस्तो लाग्छ ।यतिसम्म कि माथिल्लो कक्षाको नेपाली किताब पनि म पढ्न भ्याउथे ।म जहाँ जन्मे,जहाँ पढे त्यो ठाउ अति बिकट ठाउँ थियो ।तर सौभाग्यबस एकजना अमेरिकन नागरिक हाम्रो स्कूल मा दुई बर्ष को लागि पढाउन आउनु भयो ।उहाले जानेबेलामा पुस्तकालय खोलिदिनु भएको थियो ।त्यहाँ उपलब्ध भएका धेरै साहित्यिक पुस्तकहरु पढ्ने मौका पाए ।ती पुस्तकहरुको अध्ययन सङ्गै लेख्ने अभ्यास पनि शुरु भयो मेरो ।यसर्थ साहित्य अध्ययन र लेखनमा प्रेरणा दिने कोही छ भने तिनै पुस्तकहरु हुन भन्ने लाग्छ ।


♣ तपाईंको विचारमा साहित्य भनेको के हो र कस्तो हुनुपर्छ ?

-साह्रै अफ्ठ्यारो प्रश्न गर्नु भयो निश्छल जी । साहित्य सागर जस्तै अनन्त छ ।एक ठाउँमा बसेर सागरको समग्र बर्णन गर्न नसकिए झै साहित्यको समग्र परिभाषा गर्न सम्भब छैन भन्ने लाग्छ ।मेरो बिचार मा बिगत र बर्तमानमा घटेका वा घटिरहेका कुनै पनि घ ट्नाहरुले अन्तर्मन लाई छोई सके पछि उत्पन्न हुने प्रतिकृयालाई अभिब्यक्ती गर्ने एउटा माध्यम साहित्य हो ।उत्पन्न प्रतिकृयालाई अभिब्यक्त गर्दा लेखक द्वारा अपनाईने दृश्टिकोणले साहित्यको स्थान निर्धारण गर्दछ ।म त्यसैलाई असल साहित्य भन्छु जसलाई हिड्दा-हिड्दै पाईला पछाडि फर्काउने वा यथास्थानमा रोक्ने सल्लाह नदेओस् र अगाडी लम्कदै जादा भीरमा पनि नपुर्याओस् ।


♣ कस्तो अवस्थामा लेख्न रुचाउनुहुन्छ ?

-कुनै पनि घट्नाहरुले मनको सतह छोएको बेला प्राप्त हुने ऐकान्तिकतामा शब्दहरु पोख्न मन पराउछु ।

♣ सिर्जनाको बिषय सामग्री के के हुन-तपाईको?

-समाजमा घट्ने सबै बिषयहरुलाई सिर्जनाको सामग्री बनाउने प्रयत्न गर्दै आएको छु ।यसमा पनि बिगतको अनुभूतिलाई बर्तमानको तराजुमा तौलिन्दा साह्रै आनन्द आउछ ।


♣ कुनै कृतिहरु प्रकाशनको सुरसारमा हुनुहुन्छ कि ?

-तयारी त गर्दै थिए निश्छल जी । तर मैले प्रकाशन गर्न लागेको कृतिले समाजलाई के दिन्छ भनेर घोत्लिदा गतिलो जवाफ पाईन ।त्यसैले उचालेको खुट्टालाई थच्याएको छु ।जब सम्म जवाफ सन्तोषजनक आउँदैन तब सम्म प्रकाशन तर्फ ध्यान नदिउकी भन्दै छु ।


♣ अहिले आएर नेपाली साहित्यमा असङ्ख्य धार र बाद देखिन्छन ,ती मध्ये कोही सफल छन त कुनै असफल। तपाईं चाँही कुन धार पछ्याईरहनु भएको छ ?

-तपाईंले भने जस्तै साहित्यमा धारहरु,बादहरु,गुटहरु धेरै छन ।यसो हुनु नराम्रो होईन,यी सबैले साहित्यलाई आ-आफ्नै किसिमले टेवा पुर्याईरहेका छन भन्ने मेरो ठम्याई छ ।तर धार ,बाद र गुटको कुरा केबल शैलीमा मात्र हुँदै आएको छ,सिद्दान्तमा हुन सकेको छैन । लेखनमा जसरी नबिन शैली आईरहेको छ,त्यसै गरी नबिन बिचार आएको छैन ।भनौ न हालका अस्वीकृत्, रङ्गबाद्,अराजकबाद्,लीला लेखन,बिलयन आदी सबै शैलीका कुरा भए तर दर्शनका भएनन् ।साहित्यमा बिचारको लागि, दर्शनको लागि,सिद्दान्तको लागि धारको आवस्यकता छ भन्ने मैले महशुस गरेको छु । अब शैलीको साथै बिचारको लागि पनि धारहरुको निर्माण गर्नु पर्‍यो । समाज यती धेरै अगाडि बढीसक्दा पनि नेपाली साहित्य पुरानै मान्यतामा अडेको छ । समाजको लागि पथ प्रदर्शकको भूमिका खेल्नु पर्ने साहित्यनै पछाडि परे पछि समाज परिवर्तनको यो रफ्तार अराजकता तिर बढीरहेको छ ।उदाहरण को लागि राजनीतिक नारा कै साहारा लिऔ कि -समाबेशी,सङ्घियता र आत्मनिर्णयको अधिकारको कुरो सम्बद्द पक्षलाई बासी लाग्न थाली सकेको छ ।अब स्वतन्त्र राष्ट्रको नाराले राजनीतिलाई गाज्दै छ तर साहित्यले समाबेशीको "स" सम्म पनि उच्चारण गरेको छैन ।साहित्यमा भावना मात्र होईन बिचार पनि हुन्छ ।साहित्यमा बिचार राज नीतिक नारा जस्तो लहडबाजीमा आएको हुँदैन ।त्यही बिचारको खडेरीले गर्दा राज नीतिमा मात्र होईन हरेक ठाउमा अराजकताले जरो गाड्दै लगेको छ ।त्यसैले धारको कुरो बादको कुरो अब बिचारको लागि पनि गर्नु पर्‍यो ।यो अवस्थामा मैले कुनै धारको पक्ष लिने त कुरै भएन नी, होईन र?


♣ तपाईंको बिचारमा नेपालमा साहित्य लेखेर बाँच्न सक्ने समय आउँला ? यस्को लागि तपाईंहरु जस्ता युबा साहित्यकार हरुको भूमिका कस्तो हुनुपर्छ ?

-पक्कै आउछ ।नेपाली साहित्यले नबिन बिचार पक्रेर राष्ट्रीय सीमा लाई नाघ्न सक्यो भने यस्तो दिन अवस्य आउनेछ ।तर यसको लागि अध्ययन र चिन्तनको साथै अन्तरष्ट्रीय भाषाहरुमा दक्षता बढाउनु पर्‍यो ।मुनामदन जस्तो मौलिक कृतिको रचना गरेर एकै पटक नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्ने हो भने कसो नाऔँला त्यो दिन ।युबा साहित्यकारहरुको अबको भूमिका भनेकै गहन अध्ययन , नबिन चिन्तन र बहुभाषिक ज्ञान हो ।


♣ अहिले सम्म पढिसक्नु भएका कृतिहरु मध्ये कुन चाँही कृतिले तपाईंको मन जितेको छ र किन ?

-साहित्यिक पुस्तकहरु त धेरै पढियो तर कृष्ण धाराबासीको 'शरणार्थी' र नारायण वाग्लेको 'पल्पसा क्याफे' उपन्यासले मनमा बनाएको छाप अमिट छ ।एउटा ज्यूदो सर्जक र उसको कृतिमा भएको काल्पनिक पात्रलाई सङ्गै शरणार्थी उपन्यासमा पात्र बनाएर धाराबासीले जसरी नबिन शैलीको प्रयोग गरेका छन नारायण वाग्लेले उसै गरी पत्रकारिताको भाषा र शैलीले पल्पसा क्याफेलाई नबिनता दिएका छन ।यी दुबै कृतिको मन परेको पक्ष भनेको लेखन शैली हो ।


♣ प्रसँग बदलौ है , स्वदेश कहिले फिर्दै हुनुहुन्छ ?

-१ बर्ष भित्र साईत जुर्ला कि भन्ने सोचेको छु ।


♣ स्वदेश फर्के पछी राष्ट्र निर्माणमा तपाईंको भूमिका कस्तो हुनेछ ?

-एक सचेत नागरिकको रुपमा जे जती गर्न सकिन्छ त्यही नै हो ।


♣ तपाईंको भाबी योजना र जिबन लक्ष्य बारे केही जान्न सकिन्छ ?

-प्रथमत: गहन अध्ययन ,त्यस पछि चिन्तन र अन्तमा लेखन-यही योजना छ जीबनको ।लक्ष्य -अब बाकी रहेको केही समयलाई सही ठाउमा सदुपयोग गर्ने ।


♣ अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

-म जस्तो सामान्य मान्छेलाई यती ठूलो अवसर दिनु भएकोमा फेरी पनि निश्छल जीलाई धन्यबाद ।प्रबासमा रहेर पनि नेपाली साहित्यको बिकासमा टेवा पुर्‍याउने हेतुले यहाँले जुन प्रयास गरिरहनु भएको छ, यसले निरन्तरता पाउदै जाओस् भन्ने कामना गर्छु ।भन्न पर्ने कुरा भनिसकेर पनि साहित्य भन्दा अलिक फरक कुरा अझै भनौ कि जस्तो लाग्दैछ ।जहाँ जस्तो अवस्थामा बसे पनि समयलाई दुरुपयोग नगरौ ।अब यो संसार हामीबाट हाम्रो सन्ततीहरुमा हस्तान्तरण हुँदै छ ।मान्छेको लागि सबै भन्दा प्यारो चिज भनेकै सन्तानहरु हुन । हाम्रा प्यार सन्ततीहरुलाई कस्तो राष्ट्र वा समाज जिम्मा लगाउने भन्ने कुराको ख्याल आजै गरौ भन्ने अनुरोध गर्न चाहान्छु ।


No comments: