Tuesday, February 17, 2009

कबिता











मेरा रातहरु

-अनिता वाग्ले
आजकाल त साझ
त्यसै लम्पसार परिदिन्छ
रहरै नभएको पनि कहा हो र!
जाडपानीमा मस्त हुने,
बर्तमान सम्झिएर क्वा-क्वा रुने,
तर के गर्नु र यार?
खल्ती रित्तो छ,
सधै खाली कुनो भित्तो छ,
यता फर्किन्छु, उता पल्टिन्छु
निंद्रा पनि कुन डेटिङमा छ कुन्नि,
मरे फर्किन्न यार!
अनि त कसरी काट्नु र रात?
प्यास नमेटिएका मनहरु,
प्रियसीले भोगेका तनहरु
अध्कल्चिएका निदहरु
बोकेर खुसुक्क आउछन्
हो,त्यसबेला
यही सहरका ईमान्दार लामखुट्टेहरु
जोडदार साइरनका साथ
कर्तब्यनिष्ठ भएर
ब्युझन कहर लगाउछन
कर्तब्यपरायण म
जुरुक्क उठेर हाई काट्दा
किरियापुत्री बिहानीहरू
लाश बोकेर
टिभीमा नाच्दा
उफ्! उज्यालो भैसकेछ।
ओई, पृथ्बी छिटो नघुम् न यार
समय खत्तम
एउटा सपना त देख्नै पर्‍यो

अह!यो बिरानो रात
एम्बुसमा कोही पर्‍यो
न त भिडन्तमा कोही मर्यो
न घाटा न नाफा
उपलब्धी बिहिन रातहरु
आशाबिहिन मेरा रातहरु !

-सिंगापुर

No comments: