विडम्बना
-रमेश रोका
सहरको गल्लीमा एउटी सुन्दरी बस्थी। नाइट क्लबमा नाच्नु र पारखी ग्राहकलाई रात्रिसेवा प्रदान गर्नु उसको पेशा थियो। यसर्थ टोलमा ऊ नमूना वेश्याको रूपमा चिनिन्थी।
उसको डेराको अगाडि मन्दिर थियो। मन्दिरका पूजारी ब्रम्हचारी थिए। उनी मन्दिरछेउकै कुटीमा बस्थे। सबेरै उठी सुचीस्नानादिपछि पूजा, आराधना एवम् ध्यानमा रमाउने पूजारीलाई सांसारिक कुराको चासो थिएन तथापि नर्तकीलाई देख्ता उनी घृणाले मुख बिगार्थे र भगवान्को नाम जप्थे। ती दुवैको जीवनको गति आ-आफ्नै थियो। तर समयको लामो अन्तरालपछि एकदिन पूजारीको मन खेल्यो - 'आहा, त्यो नर्तकीले जीवनको कति मजा लुटिरहेकी छे। सारा मानिस सांसारिक सुखमा मग्न छन् र मचाहिँ ...? कतै भ्रममा परेर म यो सुखबाट बञ्चित त भएको छैन?'
उता नर्तकीले पनि स्वमूल्याङ्कन गरी, 'बाँच्नको लागि यस्तो तुच्छ पेशा अपनाउनु पर्ने पनि कुनै जीवन हो? सुखको भ्रममा परेर कतै म रौरवकुण्डमा डुबिरहेकी त छैन? हेर त त्यो ब्रम्हचारी, कति सुखी ! कति पूज्य। म भने ...'
समय आफ्नै गतिमा चिप्लिरहेको थियो। एक साँझ मन्दिरमा पूजा गर्दागर्दै पूजारीले नर्तकीको कोठामा हेरे, ऊ पनि यतै हेर्दै रहिछे। पूजारी रोमाञ्चित भए र हठात् कुटीतिर आए। भित्र पसेर कन्तुर खोले, केही सोचे र अनयास नर्तकीको कोठातिर बढे।
ढोकामा उभिएर उनले थर्थराउँदै भने- 'हे सुन्दरी ! मेरो जीवन व्यर्थ भएछ। म भ्रममा रहेछु। जीवनको मधुरस पिलाएर यो जीवन सार्थक बनाइदेऊ...'
तर बिन्तीको जवाफ आएन किनकि नर्तकी भने उता मन्दिर पुगेकी थिई। उसले दीप जलाइ, पटल बाँधी र प्रार्थना गरी, 'भगवान् ! मलाई यो पापकर्मबाट मुक्त गर। क्षणभङ्गुर सुखभोगबाट म वाक्क भएँ। मलाई ब्रम्हचर्यमा बस्ने प्रेरणा देऊ।'
Sunday, January 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment