Saturday, December 20, 2008

कबिता

बाँसुरीबाट बग्ने आँसु

-नन्दु उप्रेती
बाँसुरीले मन रुवाउँछ ।

मायालु औँलाले प्वालहरू चुम्दै
ऊ आफूलाई बाँसुरीमा बजाउछ
बिस्तारै रुवाउँदै मानिसहरूको मन
आफू अलिकति बाच्छ
मानिसहरुको मन रुँदै निदाउँछ र सपना बन्छ
उसको बाँसुरीको धुनसँगै

छाती उधारेर मेरो मुटु लग्यो
उसले बाँसुरी बजाउँदा
मेरो हृदय राख्यो प्वालहरू उघार्दै
मेरा पीडाहरूले उसको बाँसुरी भरियो
फुक्यो तिनलाई
हृदय छिया-छिया पारेर
म रोइनँ आफूमा
उसको बाँसुरीमा रोएँ
म खूब रोएँ उसको बाँसुरीमा ।

म रित्तिँदै अझै
उसको बाँसुरीमा भरिएँ
रोएँ आफन्तहरूको सम्झनामा
मानिसहरूको जीवन खोज्दै जाँदा
फुलेका फूलहरूका यादमा
मेरो आकाश, धर्ती, नदी
मेरा चाहना र रहरहरूको स्मृतिमा
म रोइरहेँ उसको बाँसुरीमा
हृदय पगालेर ।

बिस्तारै मेरो हृदय ओरालो
उसको आफ्नो बाँसुरीबाट
र तररर...
आँसु खसाल्यो
सधैँ-सधैँ बाँसुरीबाट जीवनको खोजीमा

बग्ने उसको आँसु
आज आँखाबाटै बग्यो ।

-काठमाडौं

No comments: