Friday, December 12, 2008

लघुकथा

रोडम्याप

-कृष्ण वजगाईं
यस पटक पनि नेताहरुले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हिँडे । नेता अघिअघि जनता पछिपछि । लोकपथ सिधै गएर सिंहदरवारमा टुंगियो । त्यहाँ त आम जनतालाई प्रवेश निषेध रहेछ । तर नेताहरुलाई ससम्मान स्वागत रहेछ । आखिरमा नेता भित्रछिरे जनता बाहिरै छुटे ।
त्यस भन्दा अघि प्रजातन्त्र पथमा हिंडेका थिए जनता । त्यसबेला पनि सिंहदरवार बाहिरै रहेका थिए ।
त्यो भन्दा पनि अधि राजपथमा हिंडेका उनीहरु आधा बाटो पनि पुरा गर्न पाएका थिएनन् ।फेरि प्रचण्ड पथमा हिंडे । खतरनाक बाटो पुरा गर्ने प्रयास त गरेका थिए । यसबेला पनि अघिल्लापटक जस्तै जनतालाई आधा बाटैमा छोडेर नेतामात्र सिंहदरवार छिरे ।
नेताहरुले जुन्जुन् पथ हिँड्नु भने त्यही त्यही पथ जनता हिँडे । तर आधाबाटैमा उनीहरुलाई छाडेर नेतामात्र दरवार तिर छिरेकाले बाटो थाहा नपाएर अलमलिएका जनताहरु वर्षौदेखि चक्रपथमा झैँ कहिले दायाँबाट कहिले बाँयाबाट फनफनी घुमीरहेका छन् ।

No comments: