स्यालको हुइयाँ
-दीनवन्धु शर्मा
उनले एउटा सुन्दर कविता लेखेर तत्कालीन अर्का मुर्धन्य कविलाई देखाए । मुर्धन्य कविले नाक खुम्च्याएर भने, "यसमा परिष्कारको अभाव छ ।"
उनले एउटा अर्को कविता लेखे र यसपटक अर्का क्रान्तिकारी वरिष्ठ कविलाई देखाए । वरिष्ठले भने, "यसमा प्रगतिशीलताको शून्यता छ ।"
उनले एउटा नाटक लेखे र आफ्ना समकालीन नाटक सम्राटलाई देखाए । सम्राटले भने, "यसमा अभिनय कलात्मकताको प्रस्तुति छैन ।"
उनले एउटा कथा लेखे र प्रख्यात् कथाकारलाई देखाए । कथाकारले भने, "यो कथा एक शताब्दी पछाडि परेको छ ।"
उनले यी सबै कृति बटुलेर प्रकाण्ड समालोचकलाई देखाए । समालोचकले भने, "यी कृतिहरूमा उल्लेखनीय केही छैन "। उनले जताततै स्याल हुइयाँ सुने । उनी आफ्ना कृतिहरूको महत्त्व केही नभएको थाहा पाएर मरे । तर आज उनको जन्मजयन्तीमा कवि लेखक, नाटककार, समालोचक आदि सबै मुर्धन्य साहित्यकारहरूले एकै स्वरमा भने, "उनी साहित्यका प्रत्येक विधामा विलक्षण प्रतिभा देखाउने महान् स्रष्टा थिए ।"
मलाई आर्श्चर्य लाग्यो । जन्मजयन्ती कार्यक्रममा उपस्थित मेरो छेउका दाह्रीवाल साहित्यकारलाई कोट्याएर मैले सोधे, "उनको महत्त्व एक्कासी कसरी आकासियो ?"
उनले गम्भीर भएर जवाफ दिए, "युरोपबाट निक्लने प्रतिष्ठित पत्रिकामा एक जना अमेरिकी समालोचकले उनको प्रतिभाको प्रसंशामा बाह्र पेज लामो लेख लेखेको छ भन्ने सुनिएको छ ।" फेरि स्यालको हुइयाँ सुनिन थाल्यो उनको साहित्यिक प्रतिभाको ।
Friday, December 19, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment