Saturday, November 15, 2008

निबंध

रहरै रहर

- जयदेव गौतम
रहर नै नभएको, कुनै रहर नै नपाल्ने मानिस संसारमा कोही होला कि ? केही रहर नबोक्ने, कस्तै रहर नसाँच्ने, कत्ति पनि रहर नपाल्ने, कहिल्यै नरहराउने मानिस कोही होला कि ? यस्तो रुमानी कल्पनामा हठात् डुबुल्की मार्दा पनि मन पुलकित भएर आउँछ, हृदय रोमाञ्चित भएर जाग्छ । किनभने जम्माजम्मी तीन अक्षर मिलेर बनेको रहर शब्द उच्चारण गर्दा जति मीठो लाग्छ, सुन्दा उत्ति नै प्यारो अनुभूत हुन्छ । यो आफैँमा सरल छ, सपाट छ, सुस्पष्ट छ । यसको सरलताभित्र शब्द गाम्भीर्य लुकेको छ, भाव गाम्भीर्य भरिएको छ, स्वर माधुर्य पनि छ र श्रुति माधुर्य पनि । यो सुन्दर छ, शान्त छ, रसिलो छ, भरिलो छ, चिटिक्क छ । आकारमा सानो भइकन पनि रहरले आफूभित्र अथाह सम्भावनाका मूलहरू समेटेको छ ।
तपाईं रहरलाई एक नामले होइन, अनेक नामहरूले बोलाउन सक्नुहुन्छ । व्याकरण र भाषाशास्त्रीहरूको लबजमा जसलाई पर्यायवाची भन्न सकिन्छ अर्थात् इख, धोको, मन, तृष्णा, इच्छा, आकाङ्क्षा, महìवाकाङ्क्षा, सपना, जपना आदि जे भन्नुहोस्, यी सबै रहरकै एक वा अर्को स्वरूप हुन् । आत्मा एउटै हो, आवरण पृथक् हो । सार एउटै हो, रूप अलग हो । प्रकृति समान हो, मौसम फरक हो । वृक्ष एउटै हो, शाखा प्रशाखा पृथक प्रतीत भएका मात्र हुन् ।
मानिसमा अनेक रहर हुन्छन् । एकाध ज्ञानी महात्मा र महापुरुषको अपवाद छाडीदिउँ, अन्यथा सबै मानिसमा तीन आधारभूत रहर हुन्छन् । स्त्रीलाई पुरुष र पुरुषलाई स्त्रीको रूपमा योग्य र सुहाउँदो जीवनसाथीको रहर हुन्छ, जीवनसाथी मात्र भएर हुंँदैन, उसलाई धनको रहर हुन्छ र त्यससँगै हुन्छ सन्तानको रहर । यिनै तीन रहरसँगै जोडिएर आउँछ यश र प्रतिष्ठा कमाउने रहर । त्यसो त पोको नै हो मानिस रहरहरूको । कसैलाई अकूत धन कमाउने रहर, कसैलाई नाम कमाउने रहर, कसैलाई ठूलो मान्छे बन्ने रहर, कसैलाई अरूलाई ठगी खाने रहर, कसैलाई गफ चुट्ने र घुमी हिँड्ने रहर, कसैलाई भलाद्मी हुने या देखिने रहर, कसैलाई पारिवारिक रवाफ देखाउने रहर, कसैलाई के रहर त कसैलाई के । यावत् रहरका प्रकृतिहरूलाई बालापन, अझ किशोर वयको अवस्थासित तुलना गरी हेरौँ त, मानिसका रहरालु मनका पत्रपत्र आफैँ प्रष्टिँदै जानेछन्, कुनै मोटो पुरानो ठेलीका पानापाना उप्किदै गए जसरी ।
अहो, मानिस सानो छँदा छाती भरिभरि कति सपनारूपी रहर हुने गर्छन्, कस्ताविधि रमाइलारमाइला कल्पनाहरूले डोर्‍याउने गर्छन् । रङ्गीचङ्गी विचारहरूले मन नै फुरुङ्ग्याइदिन्छन् । कतै केही देख्यो भने तत्काल त्यही हुन्छु भन्दै त्यसकै पछि भाग्न खोज्ने बालहठ Û अस्पताल गयो, बालसुलभ इच्छारूपी रहर डक्टर बन्न लालायित हुने । खेलमैदानमा पुग्यो, सफल खेलाडी बन्ने रहर । अध्ययन कक्षमा उपस्थित हुँदा राम्रो शिक्षक बन्ने धोको, गीत सुने गायक बन्ने रहर, गीतकार देखे गीत लेख्ने रहर, वकिल देखे वकालत
-कानुन) पढ्ने रहर, पत्रकार देखे महान् पत्रकार बन्ने रहर, पाइलट देखे विमान उडाउने रहर, योद्धा देखे लडाका बन्ने रहर, सिनेमा हेरे नायक बन्ने र अन्याय एवं खलनायकहरू विरुद्ध लड्ने रहर..., अनि यस्तै केके हो केके । यस्ता एकपछि अर्का क्षणिक रहरालु सपनाहरू सँगाल्नु पनि कति आनन्ददायक हुने गर्छ जीवनको त्यो वयमा । अझ आफूले सोचेअनुसारको आफू बन्न नसक्दा मन कति छटपटिन्छ । केवल तिनै रहरहरूबाहेक जिन्दगी अरू केही हो भन्ने नै लाग्दैन । व्यावहारिक जीवनका जटिलता र उहापोहहरू बाल मस्तिष्कको क्षितिजभन्दा धेरैधेरै टाढा हुन्छन् तर प्रकृति तटस्थ हुन्छ, समय निर्दयी बन्दै जान्छ । जीवनका जटिलताहरू र दैनिक भोगाइहरूको निर्ममताले अँठ्याउँदै लगेपछि धेरैजसो हाम्रा बालरहरहरू फगत लहड बन्न पुग्छन् र बित्दो समयसँगै क्रमशः मधुर स्मृतिमा फेरिंँदै जान्छन् । जतिसुकै रहर गरे पनि हाम्रा बाल रहरहरू फेरि कहिल्यै फर्केर आउन सक्दैनन् । जीवनमा सबै कुरा एकपटक पाइन्छ, घरिघरी पाउन सकिँदैन । सायद यसैको नाम हो मानव जीवन ।
मानिसको जीवन त हो नै रहरहरूको शृङ्खला । एक पुस्ताबाट अर्को पुस्तासम्म हाँगा फिजाइरहेको हुन्छ यही रहरले । एउटा रहर पूरा भएको हुँदैन अर्को रहर जन्मँंदै गइरहेको हुन्छ । बाबुबाजेहरूले, आमाबज्यैहरूले आफ्नो पालामा अथवा आफूले पूरा गर्न नसकेका रहरहरू, आफूले हासिल गर्न नसकेका उपलब्धिहरू अझ बेलाबखत आफूले प्राप्त गरेका सफलताभन्दा अझ धेरै र लोभलाग्दा सफलताहरू आफ्ना छोराछोरी नातिनातिनीहरूले हासिल गरिदिउन् भन्ने चाहन्छन्, आफ्ना अधूरा रहरहरू नयाँ सन्ततिले पूरा गरेको हेर्ने रहर पाल्छन् । यो प्रवृत्ति रहरहरूको क्रमिकता हो, शृङ्खलाबद्धता हो, एक पुस्ताबाट अर्को पुस्तामा गइरहने रहरयात्रा हो । यो रहरको कुनै सीमा छैन, कुनै बन्धन छैन, कुनै लगाम छैन र कुनै निर्दिष्ट दिशा पनि छैन । रहरहरूको लिगेसी मानिसमात्रको जन्मजात विशेषता हो, जन्मौटे गुण हो ।
रहर जडता भन्जक हो । मूढता, कुपमन्डुकता र स्थिरता भन्जक हो । यो गतिशीलताको द्योतक हो, निरन्तरताको कण्ठाहार हो । ती सब कुरा रहर नै त हुन्, जसले चाल्र्स डार्बिनलाई मानवको विकासवादको सिद्धान्त पत्ता लगाउन प्रेरित गरे । राइट ब्रदर्सलाई हवाइ जहाज उडाउन, जेम्सवाटलाई वाष्प इन्जिन बनाउन, न्युटनलाई वृक्षबाट स्याउ खसेको देखेर गुरुत्वाकर्षण सिद्धान्त पत्ता लगाउन प्रेरित गर्ने पनि त्यही रहर हो । पटमूर्ख भनेर कहलिएका कालिदास इखरूपी रहरले गर्दा नै कालान्तरमा संस्कृतका महाकवि बन्न पुगे । नेपालकै एक महिला विष्णुकुमारी वाइवा कमै उमेरमा पक्षाघातजस्तो गम्भीर रोगले थला परिन्, उनी आफैँले केही गर्नै नसक्ने भइन् तर उनीभित्र केही गरी देखाउने रहर थियो र उनले यो रहरलाई सकीनसकी कलम समातेर कागजमा आकृति दिन थालिन,् जसले गर्दा उनी अहिले -र पछिसम्म पनि) पारिजातको नामले नेपाली साहित्यमा सर्वप्रमुख महिला साहित्यकारका रूपमा स्थापित हुन पुगेकी छन् । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे पहिलो पटक सगरमाथा चढे । हिलारीभन्दा पहिलेका संसार प्रसिद्ध बेलायती आरोही जर्ज मेलोरीलाई सोधियो, तिमी किन त्यस्तो हिउँको ढिक्को सगरमाथा चढ्न खोजेर आफ्नो ज्यान जोखिममा हाल्न खोजिरहेछौ ? मेलोरीले सहजतासाथ, हाँस्दै भने, किनभने त्यो त्यहाँ छ ।’ -पछि, उनी सगरमाथाको चुलीमा टेकेर र्फकंदै गर्दा बीच बाटोमा सगरमाथाको हिउँभित्र कतै हराएका थिए भन्ने आममान्यता छ, उनी जीवित र्फकनै सकेनन् र त उनले प्रथम आरोहीको अमर श्रेय पनि पाउन सकेनन्) । जापानकी जुन्को ताबेई त्यहीँ रहरले पहिलो महिला सगरमाथा आरोही बन्न सफल भइन् । नेपालकी पासाङ ल्हामु शेर्पा सगरमाथा त चढिन् तर र्फकंदै गर्दा उनी पनि हिउँको थुप्रोमा हराइन् । सायद रहर गर्दैमा सबै पूरा हुन्छ, रहराएका वस्तु र आवश्यकताहरू जम्मै हासिल हुन्छन् भन्ने पनि होइन । ....... उदाहरणहरू अनेकानेक पाउन सकिन्छ ।
रहर आफैँमा एक प्रवृत्ति, एक विशेषता हो । यो नकारात्मक पनि हुन सक्छ, सकारात्मक पनि । बितेका कालखन्डहरूले पस्केको अनुभव हेर्दा थाहा हुन्छ, जबजब मानिसमा नकारात्मक तवरले रहर हावी हुन गयो तबतब दुनियाँले ठूल्ठूला उत्पात सहनु परेको छ, भिषण रक्तपात ब्यहोर्नु परेको छ, नराम्ररी मानव मथिङ्गल हल्लिएको विवश अनुभव गर्नु परेको छ । सुपर्णखाको काम रहरले राम-रावण युद्धको बाटो निर्माण गर्‍यो । दुर्योधनको इख र धृतराष्ट्रको पुत्र रहरले महाभारतको सर्वविनाशकारी महायुद्ध निम्त्यायो । युनानी योद्धा अलेक्जान्डरले रहर गर्‍यो, विश्व विजेता बन्ने । परिणाम के भयो ? अनगिन्ती नरनारीहरू तरबार, भाला र धनुषवाणहरूका अकाल गाँस बन्न पुगे । हिटलरले आर्य जातीय श्रेष्ठताको रहर गर्‍यो, लाखौँ आबालवृद्धबनिताको जीवन स्वाहा भयो, ग्यास च्याम्बर, बारुद र बमहरूले मानवतालाई क्षतविक्षत पारिदिए । मोहम्मद गोरी, चँगेज खाँ, महमुद गजनवीजस्ता इतिहासका कुख्यात लुटेराहरू, नृशंसताका सारा हद नाघ्ने निरङ्कुश राजामहाराजाहरू, क्रूरतालाई पनि मात गर्ने भोका उपनिवेशवादीहरू सबै नकारात्मक रहर बोक्ने जमात थिए । सुदूर इतिहास नै किन, निकट भूत बनेको बीसौँ शताब्दीको अन्त्यतिरको युगान्डाका इदी अमिन, चिलीका अगस्तो पिनोचे, इरानका आयोतुल्ला खोमेनी, कम्बोडियाका पोलपोट आदिसमेत धेरै तानाशाहहरूले सयौँ हजारौँ निर्दोष नरनारीलाई एकै चिहान पारेका आला घटनाहरू नकारात्मक रहरकै दुखद दृष्टान्त हुन् ।
त्यति मात्र होइन, रहर शारीरिक पनि हुनसक्छ र मानसिक पनि । शारीरिक ऐन्द्रीयहरूलाई वशमा राख्न सक्नु अथवा शारीरिक रहरलाई इच्छाअनुसार दबाउन सक्नु ठूलो खुबी हो तर मानसिक रहरलाई दबाउनु कुनै पौरख होइन । किनभने मनको प्रकृति नै उड्नु हो, यो निरन्तर उडिरहन्छ, नयाँनयांँ सोच विचार र सिर्जनाको खोजीमा भौतारिइरहन्छ मन । यो कुण्ठित भयो भने सिर्जनाहरू कुण्ठित हुन्छन्, अग्रगमनमा तगाराहरू तेर्सिन्छन् तर शरीर चञ्चल हुन्छ र अक्सर दैहिक सुख अनि अघोरी भोग लिप्साको प्राप्तिका लागि लालायित रहन्छ । आम मानिस आफ्ना दैहिक रहरहरूलाई दबाएर देवव्रत भीष्म बन्न सक्दैनन् ।
रहर भनेको चेतना पनि हो । चेतना जसले के ठीक के बेठीक, के सही के गलत, के राम्रो के नराम्रो, के असल के खराब, के सजीव के निर्जीव, के सानो के ठूलो, के तल के माथि, के घाम के छाया, के सत्य के असत्य आदि इत्यादि सबै छुट्याउन मानिसलाई दिशानिर्देश गर्छ । चेतना भन्नुस् या रहर, आखिर यही नै त त्यो अकाट्य अविच्छिन्न आधार हो, जसले मानिसलाई जनावरबाट अलग तुल्याउँछ, जो जनावर र मानिसबीचको विभेद खुट्याउने एकमात्र सहज आधार हो ।
मलाई त लाग्छ, सबै मानिसमा रहर हुनुपर्छ । रहरहरू पाल्नुपर्छ । छैन भन्ने लाग्छ भने पनि आफूभित्र रहर जगाउनुपर्छ । रहरलाई आवश्यकताका रूपमा बुझ्नुभयो भने, भनिएकै पनि छ, आवश्यकता आविष्कारकी जननी हो । पृथ्वीनारायण शाहलाई एकीकरणको रहर नजागेको भए नेपाल आजको रूपमा नरहन सक्थ्यो । त्यही रहर र त्यसलाई अमरसिंह थापा, भीमसेन थापा, बहादुर शाह, बलभद्र कुँवर, भक्ति थापा आदिहरूले होस्टेमा हैसे गरेपछि नै नेपाल राष्ट्रको उदय र विकास हुन सकेको हो । उनीहरूको त्यो पुस्तामा एउटा रहर थियो, एउटा सपना थियो, नेपाल राज्यलाई एक गराउने । उनीहरू बाइसे/चौबीसे राज्यहरूसित लडे, कतै बल काम लाग्यो, कतै कूटनीति । महाशक्तिशाली अङ्ग्रेजहरू उनीहरूको साहस, बहादुरी र आश्चर्यजनक युद्धकौशलबाट प्रभावित भए, अनि त नेपाल कहिल्यै कुनै विदेशी शक्तिको दास बन्नु परेन ।
रहर भनेकै भविष्यवाद हो, आशावाद हो । विगतलाई सम्झेर त्यसको रहर गर्नुमा कुनै उपादेयता छैन । विगत हाम्रो हातबाट फुत्किसकेको छ । त्यो इतिहास हो, त्यसको पुनप्राप्ति सम्भव छैन । त्यसैले मानिस भविष्यजीवी प्राणी हो, ऊ भविष्यका लागि बाँचेको हुन्छ, उसमा जिउने रहर हुन्छ, प्रबल जीजिविषा हुन्छ । उसलाई थाहा छ, पुनर्जन्म छैन, छ भने पनि अर्कोपटक मानव चोला पाउन चौरासी लाख जुनी कुर्नुपर्छ । त्यसैले एक जुनी पाएर मानिसको जिउने धीत मर्दैन, ऊ धेरै अझ धेरै बाँचिरहने रहर गरिरहेको हुन्छ । रहर होस् वा बाध्यता, मानिस कुनै न कुनै आशामा बाँचेको हुन्छ, त्यस्तो आशा जो भविष्यमा पूरा हुन सक्छ, अझ त्यस्तो आशा जो भविष्यमा हासिल गर्न सकिन्छ भन्ने उसलाई लाग्छ । यो उसको प्रकृति हो, नियति हो । यही प्रवृत्ति हो मानिस मात्रको जीवन बाँच्ने रहर ।
रहर गर्नुभनेको सपना पाल्नु हो । सपना अर्थात् रहरको प्राप्तिका लागि कल्पना गर्नु र त्यसलाई कसरी हासिल गर्न सकिन्छ भनेर लागिपर्नु हो, त्यस्ता कुराहरूका लागि सङ्घर्ष गर्नु हो जुन कुराहरू पहिले कहिल्यै सम्भव होलान् जस्तै लाग्दैनथिए । गोरेटो बनाउन गाहारो हुन्छ, सडकमा हिँड्न सजिलो । मानव सभ्यताको आदिम युगको घुमन्ते कालखन्डमा यत्रतत्र घुमीहिँड्ने जीवनलाई छोड्ने र निश्चित जग्ग्ाा घेरेर निजी स्वामित्वको रहरपूर्ण सुरुवात गर्ने त्यो पहिलो मानिस को होल्ाा ? एकै ठाउँ बस्ने आफ्नो रहरले गर्दा उसले कति आक्रमण र आलोचना सहनु पर्‍यो होला ? तर उसमा नयाँपन थियो, शनैःशनैः त्यही नयाँपनको किरणले अरूहरूमा पनि त्यस्तै रहर जाग्यो र मनुष्यको घुमन्ते जीवनयापन शैली क्रमशः बिलाउंदै जान थालेर ऊ सामाजिक प्राणीमा रूपान्तरण हुँदै जान थाल्यो । अनि क्रमशः मानव सभ्यताको जग बाक्ँिलदै, अनेक आरोह-अवरोह र उत्थान-पतन सहँदै, तमाम कालखन्ड व्योहोर्दै आजको युगसम्म आइपुगेको हो । रहरले गर्दा नै मनुष्य बेहतर जीवनको खोजीमा हुट्हुटिन्छ, नयाँनयाँ प्रयोग, नूतन सन्धान र अत्यन्त दुष्कर लाग्ने नौलानौला जोखिमहरू उठाउन तम्तयार रहन्छ । त्यसैले, हामीलाई यहाँसम्म ल्याइपुर्‍याउने हाम्रा रहरालु पुर्खाहरू स्वप्नदर्शी थिए । रहर पाल्ने र सपनाहरू साँच्ने स्वप्नद्रष्टा मानिसको जहाँतहीँ जहिलेसुकै खाँचो हुन्छ ।
रहरको खडेरीमा होइन, रहरको हरियो बगैँचामा रम्न सक्नुपर्छ किनभने रहर नयाँपनको जनक हो, साहसीहरूको प्रेरणा हो र जुझारुहरूको पाथेय हो । अन्तरहृदयले स्वीकारेको रहरलाई नै आफ्नो लक्ष्य बनाएर मानिस कर्मभूमिमा अगाडि बढ्यो भने उसले कुनै दिन सहजै शिखर चढ्न सक्छ, सफलता उसका पाइला चुम्न आफैँ ऊ सामु आइपुग्न बाध्य हुन्छ ।

-भक्तपुर

No comments: