Sunday, July 26, 2009

कथा

फ्ल्यास्ब्याक डोमा

-निराजन बतास
तोक्चेगोला मुन्तिरको भीरकोटबाट सुँगुरको चारो खोजेर फर्कनेहरुले कोलडाँडाबाट स्वर फुलाएर कराए-'मामा केल्हो होइ…खाङबा टुबु सोक्ने वई..डोमा.!' गुँड फर्कने साँझ मुबुवा खोला थर्कियो । दुधको अगुल्ठा तानेर डोमा फरिकोलाई धकेलेर बाहिर निस्किइ र कम्मरमा हात लाएर उकालो हेरी र भुतभुताई-'काम न काज खोङग्रीले क्यान बोला'की हो ?'
महिना दिन तुप्चेको बेंसीगोठ स्याहार्ने डोमा अत्तालिएझैं चाम्रा कुर्कुच्चा बजार्दै उकालो हान्निई । कन्तीको कालो नाकको डाँडीमा पोतिएको छ । सत्र वर्षे पश्चिम फुच्चीको उकालो कुदाइले सोबु र ङिदार आसाङ्का टोकुवा कुकुरलाई समेत पछि पार्यो । 'क्यान.. के भो र ?' सासलाई जितेर आँगनबाटै सोमपुटी (आमालाई) उसले भित्रतिर सोधी ।


बेतको कुर्सीमा सुकिलो ज्यान गडधक्क पल्टेको छ । चिउँडोमा देब्रे हात कानका लोती सुनले टल्केका छन् । हातमा साइको फाइभ गोल्डेन प्लाइड घडी बिहानको साढे दश बजाउँछ । रेलिङ्गका बुकी र दुबो जमिनतिर नुहिएका छन् । तारबार गरिएको घर माथिको खुला आँगनमा बच्चाहरु क्रिकेट खेलिरहेका छन् । बतासेमा कराएको रेलको डब्बा सोझै सुनिएको छ । अघिल्तिर तल पुलबजार घामले तिर्मिराएको देखिन्छ । लोधोमा खोलामा पौडी खेल्न एक हुल अल्लारे गाडीबाट ओरालिएका छन् । गंगामाई जलबिहार गर्नेहरु एक हुल फर्किसकेका छन् । अप्रिल २१ तारिख आज ऊ फ्ल्यास्ब्याकमा छे र पल्टिन्छे सुदुर पछिल्तिर । पैतीस साल माघ १७ गते । सोलुखुम्बुको तोक्चेगोला शेर्पागाऊँ । जहाँ ऊ रैथाने थिइ सत्र वर्षसम्म । फ्ल्यास्ब्याक …।


'दोछिरीले एउटा कुरो ल्या'को छ वई…क्या भन्नु मो त……' निकै बेरपछि सोमपुटीले भर्खरै मदेशबाट आइपुगेको जेठो छोरोलाई देखाउँदै भनी-'दोछिरी तोइँ भन्दै…के भन्नु मो त…।' सबै गम्भीर देखिए । डोमाको अनुहारको किन्चित डर र जिज्ञासालाई माझमा पुर्याउँदै दोछिरीले भन्यो-'डोमा तो आज देखि बेंशी बस्नुपर्दैन ।' बाउले आधी बैंशैमा मास छरेपछि दोछिरी रेखदेखको अगुवा थियो । उसले डोमाको प्रतिक्रिया अगावै कुरा थप्यो-'तोइले बिहा गर्नुपर्छ ।' डोमा हाठात् हतास देखिई र रुन कराउन थाली-'मो तिमेरुको लागि बोझ भएँ होइन ? मलाई काँहा बेच्न लाग्यौ म अचेल बिहा गर्दिनँ भनेको होइन ?' ऊ रुदै खोल्मातिर दौडिई ।
'केटो त राम्रै छ वइ…।' बेलुकी दोछीरीले भन्यो-'नेपालपारीको रिपुधन (मालिक) को घरमा धरानमा काम गर्छ । तोइले बिहा गरिस् भने मलाई जागिर दिने अरे…।सोमपुटी कुनातिर फर्केर सुक्क-सुक्क गर्न थाली । डोमाको आँखा पाकेको अकबरे खोर्सानी झै देखिने थकित थिए । दोछिरीले भन्यो-'भोलि बेहानै तो र म धरान जानुपर्छ ।' डोमा रातभरि सुत्न सकिन…'पच्चीस वटा भेडासँगै सुत्ने उसको ओछ्यान बेंशींमा उठाकै छैन…सुँगुरको चारो खोज्दा झाक्रीथुम्कामा छोडेको एक रुपेको बाँसको काईँयो ल्या'कै छैन…तिनचुलेको पसलमा रिबन किनेको पाँच रुपे तिर्न बाँकी छ…।गोरखपुरे र गोठबारी निम्जाले खाएको आरेकको ६ रुपे उठाउनै बाँकी छ…।रातु गाईले उसलाई मात्र दुध दिन्छे । दोभानेमा पासाङ्ग फूर्वा र च्याङलामुले आलु उसिनेर ल्याउँथे…ठेरेङबारीमा भेडा जन्मिदा पटुकामा बेरेर छतौरो उसैले ल्याएकी हो…कल्ली भेट्टाई दिएकाले दोलाकीले एक रुपे देकी थिई …।' आधारातमा अगेनामा झोक्राएकी आमासँग डोमा बेस्सरी रोई -'आमा म तिम्लाई कसोरी छोड्नु वई…।'
उज्यालो भयो । सोमपुटीले ढिके नुन खन्याएर खाली बोराभरि कपडा राखी र पलाष्टिमा सुठुनी र भोटे पिरालु पोको पारी र सबैलाई कुम्लोमा बेरी । देसानमसान नलागोस् भनेर हर्दीको सानो पोको कुम्लोमै राखी । इण्डियाबाट ङिमपुतर आउँदा दिने भनेर राखेको खुर्पा पनि डोमालाई राखी । सोमपुटीले डोमालाई आँखा छोपेर भनी-'राम्ररी जा वोई…।' डोमा डाँको छोडेर खुट्टा उफार्दै रोई । सोमपुटी छानामा झुण्डिएर डोमालाई नहेरी रोइरही । रुँदै डोमाले कटुसको पातमा बेरेको एक झुप्पा बिंडी झिकेर सोमपुटीलाई दिई -'ला…तिमी खाऊ…।' दोछिरी र डोमा खोल्मामाथि निस्किए । डोमाले आफूले रोपेको तरवारी फूलको एक थुंगा टिपी र नाडीले आँखा पुछेर दोछिरीको पिछाडि लागी । माझाघरे साङ्गेले आँगनमाथि जैफूलको बोटमा निस्केर दोछिरीलाई भन्यो-'बोइनीलाई बेचेर चैं नखा..अरु त क्या भन्नु र…? साङ्गेले आँखा चिम्सो पार्दै सोमपुटीलाई भन्यो-'आबो डोमाले जस्तो आरेक कल्ले बनाउँछ र…?'


ऊ चस्मा फुकाल्छे र मुन्टो फर्काएर रेल स्टेशन माथिको जापानीज टेम्पलतिर टक लगाउँछे । उसको मुद्रा अमिलो देखिन्छ । टोड्के पारी देखिने रिम्बिक र पारीपट्टिको सिक्किम वरपरका गाऊँ तोक्चेगोलाझै लाग्छन् उसलाई । उसको चिउँडो अब दाहिने हातमा सर्छ ।


अग्लो घर भूईँतलाको केही नओछ्याएको खाटमा डोमा बसेकी छे । पाँच दिन हिँडेर धरान झरेको डोमाको बोलोजभरि पसिना र मैलाका धर्काहरु छन् । भुक्के चप्पलले कुर्कुच्चा पिट्दा-पिट्दा र हिड्दा-हिड्दा खुट्टा खोच्याउने भएका छन् । उसको घाँटीमा झुण्डिएको साँचो सेमपुटीलाई दिन भुलेकी छे उसले । पाँच दानाको प्वाँलो उसको घाँटीमै छ । उसलाई डर लागेको छ-'दोछिरीले कस्तो घरमा ल्या'को वई..मलाई…?'
एक खाइलाग्दो र अग्लो केटो बाहिर निस्कियो र डोमालाई वरिवरि घुरेर हेर्यो । डोमालाई डर लाग्यो र आफ्नै मनसँग कुरा गरी-'आब्ब्ब्बुई…!' उसले सोची-'मेरो पोइ यै होला…। ऊ कताकता धेरै डराई-'यत्रोसँग कसोरी सुत्ने ? आबुई…।' एकछिनपछि अर्को मझौला केटो निस्कियो र फरि डोमालाई हेर्न थाल्यो । डोमा अब दोधार भई र खाटमा खुट्टा हल्लाउँदै बसी । मुटु ढुक..ढुक चल्न थाल्यो उसको । एकछिन पछि दुइटा केटी टाँडबाट झरे र भाउजु र माइजु भन्दै तल्लोपट्टि कोठातिर डोमालाई लगे । डोमाले बोल्न जानिन । चारपाटे साबुन र सेतो तौली दिएर उसलाई नुहाउन अह्राए । नयाँ पेटीकोट,लुङ्गी र बोलोज लगाइदिए । डोमाले सोची-'मेरो पोइ कुन चाईँ होला..?' उसले कसैलाई सोध्न पनि सकिन ।
अर्को दिन धेरै मान्छे भेला हुन थाले । दोछिरीले भन्यो-'आज तेरो बिहा हो ।' एकछिन पछि उसले जुवारीकोट र कटनको सुरुवाल र गम्बुट लगाएको अर्कै मान्छेलाई सिढीँको कोठामा राडीमाथि बसेको देखी । उसलाई डाँको छोडेर रुन मन लाग्यो । सोमपुटीलाई उसले बेस्सरी सम्झी । मन-मनमा क्वाँ-क्वाँ रोई र आँखा निरन्तर चिपचिपाई । दोछिरीले पनि आँखा मिच्दै भन्यो-'नरो डोमा..क्या गर्छस् ?तेरो जातै यस्तो । डोमाले कसैलाई हेर्न सकिन तर धेरैले उसलाई टिका लगाइदिए । दोछिरीले चाहिँ टिका लगाएर उसलाई काँधमा समाएर भन्यो-'डोमा सुखी हुनु होइ…।'त्यतिबेला दोछिरीको आँशु थालीमा परेका थिए ।


लेबोङमा आर्मीहरु परेड खेलिरहेको आवाज मधुरो उसको कानमा कता-कता सुनिएको छ यतिबेला । मिलन बस्ती मूनि कमसिरी चिया कमानमा बौद्धहरुको समाधीस्थलमा बालिएको केराको मुढाको धुँवा एकनासले आकाश थुरिएको छ । फ्ल्यासब्याक कन्टिन्यू…।

बिहाको रात होचो, भु्क्क परेको उसको पोइ बोल्दै बोलेन । डोमा सुत्न डराई र भित्तापट्टि खाटमा टुक्रुक्क बसिरही । उसको पोइ उसलाई हेर्दै घरि उठ्दै र सुत्दै ननिदाइकन छटपटाइरह्यो । मध्धे रातपछि उसको पोइ बोल्यो-'डे..मा !' अब डोमालाई झन् डर लाग्यो र समालिएर बसी । भाले बास्ने बेलामा डोमा भित्तातिर फर्किएर गुजुल्टिई । उसको पोइ उठेर खोक्दै र छटपटाउँदै बस्यो । रात त्यतिकै बित्यो । उसको पोइसँग सिस्नो टिप्दै एक हप्ता सर्दु सिरानमै बित्यो डोमाको । एक हप्ता पछि मात्र उसको पोइको बारेमा उसले अलिकति बुझी । उसको पोइ घरको सबसे बडे इमान्दार कर्मचारी थियो । रिपुधनका सबै सुँगुर कुखुरा उसको स्याहारमा खुब सप्रेका थिए । संखुवासभाको चेपुवाबाट मधेस झरेपछि निमदोर्ची भोटेले भाग्यले त्यहाँ काम पाएको थियो र ऊ आज डोमाको पोइ भएको थियो । एक हप्तामा निमदोर्चीले डोमालाई सेउतीको बगरमा अप्ठेरो गरी भन्यो-'डे..मा.. उसले बल निकाल्यो-'बच्चा जन्माउने गरी आज ता सुतुङ होइ…। डोमा बिस्तारै भिज्न थालेकी थिई । उसले भनी-'मलाई ता आउँदैन के गर्नुपर्ने हो ।' यति भनेर ऊ अर्कैतिर फर्किइ र मुख छोपी । त्यो रात दुवैले सुत्न जानेनन् । डोमाले भनी-'आइया…!' निमदोर्चीले भन्यो-'कस्तो अप्ठेरो पो हुँदै र'छ ।डोमा जुरुक्क उठेर समालिई ।
दश दिनपछि दोछिरी आएर डोमालाई भन्यो-'मैले फाराममा जागिर पाएँ । तोलाई राम्रै छ होइन..?' डोमाले 'अँ' मात्र भनी । दोछिरीले जागिर पाएकोमा मात्र पनि ऊ धेरै खुशी भई । दोछिरीले जागिर पाउने भएकैले उसले थोरै मन बेशीं छोड्ने मन लगाएकी थिई । दश दिनसम्म पनि कसैले बिडीँ नखाएको देखेर तोक्चेगोलादेखि ल्याएको लामपाते सुर्ती उसले बारको पल्लोपट्टि भोगटेको झाडीमा फालिदिई । गाउँको यादमा महिना दिन मनमनै रोएकी डोमाले एकदिन दोछिरीलाई भेटेर भनी-'मेरो करिमै हो,तो सँग के को गुनासो..?'

छतको टौवामा भँगेरा र भँगेरी फुर्र उडेर बसेका छन् । ऊ समानान्तरमा मुद्रित छे । जीवनमा उसले धरान छोडेको पनि तीसौं वर्ष भयो । तोक्चेगोला छोडेको झन कति धेरै वर्ष र ऊ बसेकी छ सीमानापारि । उसले देखेकी छे तेन्जिङ्ग रकको कापमा ठिटाठिटीहरु च्वाप्प-च्वाप्प 'किस' खाँदै मुख-मुख मैथुन गरिरहेका चौरस्ता त्यसको पछाडिको महांकाल डाँडो र नाइटिङ्गेल पार्कतिर विनासंकोच एक अर्काको छाती रगड्दै लठारिएका बैंशालुलाई उसले आँखापुग्दो हेरेकी छे । छोराछोरीहरु बेलुकै पिच्छे ब्वायफ्रेण्ड र गर्लफ्रेण्डको कुरा गर्छन् । ऊ आफ्नो कर्मको खेलले भोगिल्या'को समयलाई चटक मानेर छतबाट उत्तर फर्किएर अमुकदर्शक हेरिरहेकी छे ।


'तिमरुदेखि म खुशी छु ।' रिपुधनले हङकङ्ग जानुअघि निमदोर्ची र डोमालाई छाताचोकमा भन्यो र निमदोर्चीलाई धाप दियो-'छोरै सम्झेर मैले तिम्रो बिहा गर्देको हो मैले ।' निमदोर्चीले शिर झुकायो । 'आबो तिमरुको लागि मैले सोचेको कुरा के भने॥' रिपुधनले दोहोर्याएर भन्यो-'सोचेको कुरा के भने… मेरो दार्जेलिङ्गको घरलाई तिमरुले सिहार्नु…।'

तीन सालपछि रिपुधनले हङ्गकङ्गबाट तार गर्यो-'म तिमरुलाई त्यो घर जिम्मा लाउन आउँदैछु ।' त्यसपछि ढुक्कले शुरु भयो निमदोर्ची र डोमाको जीवन सिङ्गामारीको घुम्तीमुनिको पहारिलो मिलन बस्तीमा ओस्याइलो जिन्दगी । १९८४ मा डोमाले भुँडी बोकेकी थिई । त्यतिबेला गोर्खाल्याण्ड आन्दोलन चर्केको थियो । उसले छोरो त्यै साल जन्माई । चालीस दिनसम्म शहरमा कर्फ्यू लागेको थियो । कोही पनि बाहिर निस्कन सकेका थिएनन् । औरत र केटाकेटी मात्र घरमा बस्थे पुरुषहरु कमानका बुट्यानतिर दिनभरि लुकेर बस्थे । गोलीले कसै न कसैका घरका कुनै न कुनै झ्यालका सिसा छेडेको थियो । बिद्रोहीले मिलनबस्तीको फेदीका सबै घरमा आगो लगाएका थिए । पछि सुबास घिसिङ्गले सबैलाई त्यहाँ पुनःस्थापना गरायो र गाऊँलाई सुवास ग्राम भनियो । एकदिन सिआरपी सेना ढोका फोडेर भित्र पसे । उनीहरुले डोमालाई जिस्काए-'कित्ना चेहेरावाल मासुम हे मुझे देना ।' डोमा थरथरी कामी र बच्चालाई छातीमा पोको पारेर कुनामा धसारिइ । निमदोर्ची पछाडिको झ्यालबाट भित्र पस्यो र कुकुरमा सुईसुई भात पकायो र डोमालाई खान दिएर त्यतैबाट भाग्यो । डोमाले भोलिपल्ट घरमाथिको तेश्रो बाटोमा काटिएको मान्छेको टाउको र खुट्टा किलामा झुण्ड्याइएको देखी । टावरमुनिको घरबाट रसबिला बाहिर के निस्केकी थिई जीवनभर कुँजो हुने गरी उसको मेरुदण्डमा गोलीले छेड्यो ।

डोमा जर्याकजुर्युक उठ्छे र जीऊ तन्काउँछे । घाममा बसेकोले तिरिङमिरिङ आँखाले उसले आफ्नो उन्चास वर्षे खाइलाग्दो जीऊ र चिटक्कको तीन तले घरलाई छतबाट फन्को मार्छे । पुस्तकालय छेऊको कौशीमा कान्छो छोरो आयाम वरिपरिका केटाकेटीलाई कम्प्यूटरमा दार्जीलिङ्ग देखाउँदैछ । सेन्ट मारिज कलेजबाट भर्खरै कुक रिटायर्ड निमदोर्चीको पेन्सनले बाहिरपट्टि सिलीगुरीदेखि ईँटा मगाएर किचेन बनाइएको छ । पाहुनाको एउटासहित गाडी अड्ने ग्यारेजको लागि डोमाले मान्छे बोलाएकी छे । ऊ छतको बारमा अडेसो लाग्छे र दुवै हात बाँधेर पारि अलि उकालो हेरिरहन्छे । हिऊँपात र हुण्डरीले मुर्झाएको तर हाँसिरहेको काचनजंघा उसको आँखामा ठ्याक्कै छापिएको छ । ऊ आँखा मिचेर र टकटकाएर पालैपालो फेरि हेर्छे नियतिले हलचल गर्न नदिएको कंचनजंघा र नियतिले नै स्थिर बन्न नदिएको लोधोमा खोला । दार्जीलिङ्गको न्यानो घाम सबैलाई प्यारो छ । ऊ कम्प्युटर कोठातिर झर्छे । डोमा फ्ल्यास्ब्याक ..... ।



-कीर्तिपुर, काठमान्डौ
ईमेल: nbatas@gmail.com

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।