Thursday, July 23, 2009

लेख

लेखकको जन्म पाठकको गर्भबाट

-नन्दलाल आचार्य
हामीहरु उज्यालोका उपासक हौँ । रात नवितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न भर्ने व्यक्तिहरुको कमि छैन । यस्ता रातका उपासकहरुबाट राष्ट्रलाई नबचाए राणाशासकले पंचायती निरंकुस व्यवस्थाले र जनआन्दोलन-१ पछिका शासकहरुको कुर्सीमोह एवं हानथापले पछि पारिएका हामी कहिल्यै अघि सर्न सक्दैनौँ । हृदयदेखि नै मन वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्शाउनेहरुको ताँती पनि हामीकहाँ लामै छ । "अनुभव गरेका कुरा लेख्न नसक्नेहरु र लेखेको कुरा पाठकको अनुभुतिमा प्रवेश गराउन नसक्नेहरु साहित्यका लेखक होइनन् । कुनै पनि लेखबाट लेखकको हृदय र मस्तिष्क देखिदैन भने पाठकले त्यसलाई पढन् छोडिदिन्छन् । साहित्यले पाठकको मनमा घाउ पार्दैन पारेको घाउ निको पार्छ । घाउ बोक्नेहरुलाई पनि आनन्दमा पुर्याएर छोड्नु साहित्यमा कलाको आफ्नो विषय हो । गल्ती गर्नेहरु र सृष्टि गर्न नसक्नेहरु लेखक बन्न सक्दैनन् । पाठकलाई भ्रममा पुर्याएर छोड्न अन्योलमा र अस्पष्टतामा पुर्याएर छोड्नेहरु लेखक होइनन् ??हल्लाको बजार जसले लिए पनि समयलाई शान्त ठाउँमा राखेर लेखकलाई प्रतीक्षा गरिरहेको पाठक यो संसारले दिन नसकेको सृष्टिको आनन्द र परिवर्तन लिन पर्खन्छ ?।लेखकलाई लेखक बनाउने पाठक र स्वयम् लेखक हुन् ?। कुनै तरिकाबाट परिवर्तन मुक्ति र भविष्य पाठकलाई नदिने साहित्य साहित्य होइन । यस्तो साहित्यको जन्म भए पनि पुनर्जन्म छैन ।" -गोपाल पराजुली गरिमा पू.३०८ । नेपालमा च्छो-रोल्पा जस्ता हिमताल सगरमाथा कंचनजंघा जस्ता हिमटाकुरा लामटाङ्ग खम्बु जस्ता हिमनदी भएको अपार प्राकृतिक सम्पदा छ ।
प्राकृतिक सम्पदाले नै हामी धनी छौँ । हामी भौतिक सुखभन्दा आध्यात्मिक सुखलाई उत्तम ठान्छौँ । अतिथिलाई देवतुल्य ठानी व्यवहार गर्ने हाम्रो सनातन परम्परा छ संस्कार छ । त्यसैले हामीले नेपाल भ्रमण वर्ष-१९९८ मनायौँ । त्यस वेला हाम्रो आतिथ्यलाई स्वीकारेर मनग्यै पर्यटकहरुको ओइरो लागेको थियो । देशले विदेशी मुद्रा आर्जन गर्ने र बेरोजगारले रोजगार भेट्ने अवस्था सिर्जना भएको थियो । हर्षको वर्षको रुपमा हामीले सन् १९९८ लाई धुमधामका साथ मनाएकै हौँ । तसर्थ जो नेपाली हो त्यसले नेपाललाई पढेको हुनुपर्छ । मुटुमा मुलुकलाई राख्न सक्ने र पवित्र कर्मद्वारा जगत्लाई धन्य पार्न सक्नेका करोडौं दुःखहरु मुलुकले नै निस्तेज पार्दिन्छ । हिमालको काचन जल पहाडका उपयोगी जडिबुटी-कन्तमूलहरु र मधेसको तातो जाउलो दिएर नेपाल आमाले हामीलाई धन्य बनाएकी छिन् भन्ने कुरा स्मरण गर्दै कवि विक्रम सुब्बाको कलम बोल्छ-

दूधले भरिएका आमाका स्तनहरु
जसले मभित्र सिंचित गरे
काचन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडिबुटीका सुगन्ध र कन्दमुलको स्वाद
मेची र कर्णलीको लयदार लोरीका धुनहरु
र त मेरा हरेक अङ्गहरु पुलकित देखिन्छन्
लाग्छजसका नसामा आपनो देशको हावापानी दौडिँदैन
सायद ऊ नै सबैभन्दा रोगी मानिस हो ।
पाठक : पृष्ठ-५ गरिमा पू.३०८
सम्पूर्ण नागरिकको मनको जुहार र मुहार स्वदेश प्रेम हो । रसिलो विहानी बनाउन मात्र हैन जीवनको सार नै स्वदेशको माटोसँग गाँसिएको हुन्छ । स्वदेशको माटो नै हरेक नागरिकको मुटु हो । यहीँ माटोमा आफ्नो जाँगर र पौरख देखाए मात्र माम पाइन्छ जीवन धन्य बन्दछ । माटोलाई माया गर्नु नागरिक धर्म हो । माटोप्रति ममता दसा्रएर अघि बढ्नेहरुको जीवनमा सदाबहार रुपमा वसन्त भित्र्न्छ । मानव जीवन एक नदी हो । असल कर्मले जीवनलाई श्रृङ्गार गर्ने जीवन पवित्र जल लिएर निरन्तर प्रवाहित हुने नदी हो भने समाजको अनिष्ट सोच्ने खालको जीवन गन्धे कुवाको गन्हाउने पानी हो । यस अर्थमा मानव जीवन नदी हो भने मानिस त्यस नदीमा बग्ने पानी हो । चैत्रको खडेरीमा पानीको ठूलो महत्व हुन्छ तर भदौरे भेलको बखतमा त्यस्तो महत्व हुन्न । एक दिन नदी अथाह सागरमा विलुप्त भएझैं मानव चोला पनि अस्त हुन्छ भन्ने शाश्वत कुरालाई अघि सार्दै कवि विनोद अश्रुमाली वशीभूत भएर सम्बोधन गर्दछन्-

एक दिन समाप्त हुने मेरो जीवन यात्रा
एउटा अथाह सागरमा विलुप्त हुनेछ
मलाई शरण दिने
मेरो सागरको कुनै वेला
म कल्पना गर्छु
अनि आत्मविभोर हुन्छु
यात्रा कायम छ
पहाडपर्वत भीरपहरा हुँदै
दौडिरहेछु आठै पहर अविछिन्न ।
म एक नदी :पृष्ठ -७ गरिमा पू.३०८
एउटै हत्केलाका औंलाहरु त समान हुँदैनन् एकै आमा-बुवाका सन्तान त समान स्वरुप र स्वभावका हुँदैनन् भने एक देशका अनेकन जनतामा समान विचार समान आकांक्षा र समान कार्यशैली भेट्नु आकाशको फल आँखा तरी मर भने सरह हुन्छ । नेपालले १०४ वर्षे राणाकालीन कालरात्री पार गर्यो ३० वर्षे निरंकुश पाचायती व्यवस्थाको महारोग खेप्यो र हरतरहले मुक्त भयो तर मुक्तिको हर्ष मनाउन सकेन । नेताहरुको कुर्सीको भागबण्डा र लुछाचुडीले उही राणाकालीन युगको गन्धले दुर्गन्धित पार्यो । मानवीय मूल्य-मान्यता र सिर्जना कुहिरोको काग बन्यो । देश अधोगतितर्फ घचेटियो । यसरी देश विरामी पर्यो । असल डाक्टर र बैद्यको खोजीमा देशले घनचक्कड लगाइरह्यो । ठाउँ र समयमा असन्तुष्टिको बोली नबोली र निस्वार्थ कार्य नगरीकन देशको हित हुन्न । देशले अग्रगति नभेटे देश बिरामी हुन्छ । बिरामी देशलाई निको पार्ने डाक्टर र बैद्य भनेका असल नागरिक हुन् । असल विचार र कार्य गरेर स्वदेशप्रेम झल्काउनु हरेक नागरिकको कर्तव्य र दायित्व दुबै हो । जे भए पनि हामी शान्ति प्रकि्रयामा धेरै अघि बढ्यौं । शान्तिको खोजीमा लालायित नेपालले प्रगतिका विविध रोचक र घोचक जंघारहरु तरिसकेको छ । प्रतिष्ठाका विभिन्न भ-याङ्गहरु उक्लिसकेको छ । आज गाउँशहर केही शान्त भए पनि िसंहदरबार अशान्तिको थलो भएको छ । सानो निर्णय लिन पनि लामो समय लिने र अविश्वासको लामो लहरो बनाउने काम हुने गरेको छ । यदि गाउँशहरमा शान्तिको श्वास फेर्न पाइन्छ भने सिंहदरवार अशान्त नै भइरहोस् भन्ने आकांक्षा सार्वजनिक गदै कवि पुरुषोत्तम दाहालको कलम वर्तमानको अव्यवस्थित रवैयाप्रति आक्रोशयुक्त स्वर सुसेल्दछ -
उड्दै गरेका चराहरुका पखेटा अब नकाटिऊन्

जङ्गलमा बारुदको विस्फोट अब सुन्न नपरोस्
खोलामा अब रगतको साटो
निर्मल पानीको कलकल सुन्न पाइयोस्
हामी सबै त्यसै भन्छौँ
गाउँ त्यसै भन्छ
सहर त्यसै भन्छ
शान्ति घरमा पसोस्
अशान्ति अब सिंहदरवारमा नै
आराम फरमाएर आनन्दसँग बसोस् ।
अशान्ति सिंहदरवारको बगैंचामा पुगेको छ : पृष्ठ -१० गरिमा पू.३०८
आफैले गरेको कर्म आफ्नै भविष्यका लागि कत्तिको हितकारी छ त्यसको लेखाजोखा गर्न सकिएन भने केही गर्नु भनेको अँध्यारोमा बन्दुक हानेजस्तो हुन्छ । लेखक कविहरुको त्यो जीवन आफ्ना लागि हैन पाठकका लागि हो । किनभने उनीहरुको सिर्जना पाठकहरुको पेवा धन हो । सचेत पाठकको मनलाई जित्ने रचना वा कृति कालजयी हुन्छ । कालजयी रचना सिर्जना गर्न नसक्ने लेखक कवि दीर्घकालसम्म अस्तित्व राख्न सक्दैन । पुरानै कुराहरु दोह-याउने सर्जकलाई पाठकहरु साहित्यिक सर्जक हैन ढोंगी ठान्दछन् । यही सत्य प्रक्षेपणका निम्ति कवि टेक बी.कार्कीको कलम अघि सर्छ-

भन्दाभन्दा लेख्दालेख्दा
बोधो भइसकेका बिम्बहरुलाई
कत्ति म ठुँगिरहूँ ।
कविताको घर :पृष्ठ -११ गरिमा पू.३०८
पसिना बगाउनेहरु पसिना बगाउँदा छन् । पसिना चाटेर मोटाउनेहरु मोटाउँदा छन् । मानवमुक्तिको संग्राममा लागिपर्नेहरु संसारलाई चिनेर र बुझेर लागेका छन् । मुक्ति संग्रामलाई नै ज्ञानको विश्वविद्यालय ठान्दछन् । उदयपुरे स्रष्टा पुण्य कार्की "मध्यरातमा कथासंग्रह-२०६३" मा संग्रहित "स्वलापू शीर्षकको कथामा लेख्दछन्-"आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस विश्वविद्यालयमा पढ्न नपाएकोमा कुनै पछुतो छैन । मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन कुरो रोजेँ अत्यन्तै ठीक रोजेँ आमा । हामी दाजुभाइ नै यस मानेमा प्रफुल्ल छौँ गौरवान्वित छौँ । क्रान्तिको महाअभियानमा पस्नु यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरु रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ ।
यहाँ यस्तो पनि देखियो आमा युगौयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरु छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरु बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरु कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी क नजान्ने हातहरु -हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गनमा त यस्तो लाग्छ -हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरु मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरुको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरुको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ नयाँ छ ? युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरु सिक्दै जादैछौँ । ?क्रान्ति सरल हुँदैन आमा ! यो जटिल हुन्छ बाङ्गोटिङ्गो हुन्छ अनगिन्ती मोड कुइनेटाबाट अगाडि बढेको हुन्छ । त्यस्तै जनताको स्वतन्त्रता र मुक्तिको महायज्ञमा होमिएर भौतिक स्वरुप अर्पण गर्ने सहिदहरुको आकांक्षा ओझेलमा परेको छ । धेरै गरे उनीहरुको पत्थरको शालिक बनाइन्छ र प्रत्येक सहिद दिवसमा वर्षको एक पटक स्मरण गरिन्छ । यही प्रथालाई खेदो गर्दै कवि नर पल्लवको कविता अघि सर्दै कुर्लन्छ-

अभावपूर्ण पूर्णिमाझैं उद्भासित
स्वतन्त्र जनस्वरलहरीको
त्यो क्रान्तदर्शी क्रन्दन
प्रत्येक पल
पत्थरसँग मानवमुक्तिको शिलालेख कुँद्ने गर्दछ
कठै ! ओजस्वीशून्य निस्तेज रातले
तर पराजित गर्न सक्तैन ।
शून्य निस्तेज रातले ? पृष्ठ -१२ गरिमा पू.३०८
मुलुकको चौतर्फी पक्षको समुन्नतिमा देशका हर्ताकर्ता नलागीकन पूरातनवादी यथास्थितिलाई नै मलजल गर्दै हिडे भने विद्रोहका हातहरु उठ्नेछन् । परिवर्तनको गीत गाउँने गायकहरु थपिनेछन् । चट्टानझैं शक्तिशाली छाती पारेर युगौंदेखिको पुरानो पर्दा च्यातचुत पार्नेछन् । यस महाअभियानको बाटामा तगारो बन्नेहरुले प्रायश्चित गर्ने शब्द र भाग्ने बाटाहरु पाउनेछैनन् भनेर हाँक दिने काममा कवि गण्डकीपुत्रको कविता अग्रसर हुँदै भन्छ-
यो आवाजलाई
पर्खालभित्र कैद गर्ने
सपनामा ननिदाओस् कोही पिन
आवाजलाई रोकियो भने
त्यो सुनामीको महाप्रलयका
हात समातेर पस्नेछ वैभवको महलमा
त्यत्तिबेला
आवाज रोक्न खोज्नेले
प्रायश्चित्त गर्ने शब्द भेट्टाउने छैन
र भाग्नका लागि
बाँकी रहने छैनन् कुनै बाटाहरु ।
विद्रोह हुन थालेपछि : पृष्ठ -१४ गरिमा पू.३०८
जीवन गतिशिल हुनुपर्छ । प्रत्येक जंघारहरु तर्दै गन्तव्यतर्फ बढ्नुपर्छ । स्वार्थको घैला भर्नेहरु धेरै छन् समाजमा । तिनीहरुको मुखमा बुझो लगाउन पनि हार स्वीकार्नु हुन्न । समाजमा त्यस्ता विकृत स्वरुपको मुखमा कालोमोसो दलेर विजयोत्सव मनाउने कार्यतर्फ अग्रसर हुनु जरुरी छ भन्ने भावना ओकल्दै कवि मुरारि अधिकारीको कविता बोल्छ-
मलाई खेलचारी लाग्छ तिम्रो भव्यता
त्यस्ौलाई मेरो हार भने मानेको हैन
तिम्रो सन्तोषको धसा्र बटुलेर
यसैको अभावलाई मेरो कमजोरी ठानेको होइन ।
मृत्युलाई स्वीकार गर्न सकिन :पृष्ठ -१५ गरिमा पू.३०८
प्राकृतिक सौन्दर्यताको सर्वोत्कृट नमुना भेडेटारको सौन्दर्यतामा दिनानुदिन भौतिक रङ्ग चढिरहेको छ । त्यहाँको भौगोलिक बनावटलाई आधुनिकताको तुवाँलोले ढाकिरहेको छ । विकास हुनुपर्छ तर विवेकले । आधुनिकता भित्रनुपर्छ तर प्राकृतिकतालाई ओझेलमा पारेर हैन भन्ने भाव साचार गर्दै कवि अच्युत वाग्ले लेख्छन्-
उही कुहिरो उही डोको
उही पीडा उही भ्यूटावर
उही भूमिकामा
केही नयाँ पात्रहरु
र थपिएका केही नयाँ महलहरुसँगै
द्रुत द्रुत आधुनिक हुँदै छ
भेडेटार ।
भेडेटार : पृष्ठ -१८ गरिमा पू.३०८
चाकरी-चाप्लुसी धाक-धम्की र घुसले सम्मानको पगरी गुथ्नेहरुप्रति रोष व्यक्त गर्दै सम्मानीय कर्म गर्नेहरुले सम्मान भेट्नुपर्छ भन्ने आवाज धन्काउँदै र दरिलो विश्वास प्रकट गर्दै कवि आयुष्मान शाक्य भन्छन्-
मेरो कविताको शब्दशब्दमा
बचाइराख्नेछु-मेरो सम्मानलाई
मेरो रचनाको हरेक पंक्तिमा
जोगाइराख्नेछु-मेरो सम्मानलाई
मेरो सिर्जनाको छाँया बनाई
सजाइराख्नेछु-मेरो सम्मानलाई
सम्मान ! सम्मान !! सम्मान !!!
पुनर्जन्मप्राप्त
मेरो प्यारो सम्मान
सम्मानको खोजी : पृष्ठ -२० गरिमा पू.३०८
अन्तमा आजका कविहरुले अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउँनु जरुरी छ । सर्वस्व देशप्रेमलाई ठान्दै देशभक्तिको गीत गाउँन अग्रसर हुनु आवश्यक छ । प्रेम-प्रणयका सम्बन्धमा कलम चलाउनेहरुले यसैको माध्यमबाट जीवनको रहस्य खोतल्न सक्नुपर्छ । भोकले दाबिएको पेट देख्दा र नाङ्गो आँङ भेट्दा असमानताको झाँको नझारी हुन्न । आजकल यता पीडा उता अभाव र सर्वत्र भताभुङ्ग छ । यो अवस्थामा जीवनको सार पहिल्याउन सर्जकले कुनै कसर बाँकी राख्नुहुन्न । प्राकृतिक रमणीयताको श्रेष्ठ मुलुकका बासिन्दा भएका नाताले पनि प्रकृतिले मोहित पार्दा त्यसैको भजन गाउँनैपर्छ । जहाँजहाँ अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेट्टाइन्छ त्यहाँ त्यहाँ खबरदारी गर्न विद्रोहको स्वर सुसेल्नैपर्छ । काम गरिखानेका हातगोडा जंजिरले बाँधेर दासत्वको पाठ पढाइएको बखतमा स्वतन्त्रता र स्वअस्तित्वको गाथा रच्नु आवश्यक हुन्छ ।

नेपाल गाउँ नै गाउँको देश अल्प शिक्षित र अधिकांश अशिक्षित नागरिक बसेको देश भएकाले रचना कृतिमा सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मीठास पैदा गर्नुपर्छ । जीवन र जगत्का बहुल यथार्थका पाटाहरुलाई जीवन्त रुपमा उतार्न सक्ने विषय विम्ब र प्रतीकहरुको छनौट गर्नुपर्छ । कविहरुले लयात्मक गेयात्मक र माझिएको भाषाशैलीको प्रयोगबाट काव्यात्मक भाव व्यक्त गर्ने गर्नु जरुरी छ । सरल सम्प्रेष्य ग्राह्य एवं प्राजल भाषाशैलीमा भाव सम्प्रेषण गर्ने गरेमा मात्र त्यो स्रष्टा पाठकको मनमन्दिरमा एक कुशल सर्जकको रुपमा वास गर्नसक्छ ।


-तपेश्वरी-१गल्फडिया, उदयपुर
हालः- लिटिल फ्लावर सेकेण्डरी स्कूल

राजविराज-९, सप्तरी



1 comment:

Unknown said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।