Sunday, February 15, 2009

गजल









-नेपोलियन मरहट्टा
१)
म भित्र नि माया जाग्यो तिम्ले माया गरेपछि ,
माया नै उम्रिदो रैछ, मायाको बिउ छारेपछि ।

बगी जाने खोला जिबन, मौका आउछ पर्खिदैन,
कस्ले टिप्छ ? फूल्को थुँगा बोटबाट झारेपछि ।

नचिने कै भए पनि आजै आफ्नो बनाइहाल,
फेरि भेट नहोला कि ? अन्तै बसाइँ सरेपछि ।
तिमी मलाई विश्वाश गर, म नि तिमीलाई गर्छु
मलाई पनि ढुक्क हुन्छ, तिम्रो भर परेपछि ।

तिम्रो भन्दा मेरै माया हजार गुणा बढी हुन्छ,
कस्को माया बढी रैछ ? थाहा पाउछौ भरेपछि ।

जस्ले तिम्लाई आँखा लाउछ,त्यस्लाई छोड्दिन म,
राबण पनि मरेको थ्यो, सितालाई हरेपछि ।

२)
तिम्रो मेरो गाउँ भरी झुटो हल्ला चलेको हो,
मलाई थाहा छैन तिम्रो कसरी घर जलेको हो ?

मेरो केही गल्ती छैन तिम्ले शँका गरेपनि,
शँकाले नै तिम्रो मेरो विश्वाश यो ढलेको हो ।

तिम्लाई बदनाम् गराउन किन गर्थेँ मलजल ?
त्यो त बाँझो खेत भरी आँफै खेती फलेको हो ।

मैले तिम्रो इज्जतमा किन आगो लगाउछु र ?
ढुङ्गाहरु ठटाउँदा आँफै आगो बलेको हो ।

तिमीलाई रुवाउने मेरो पनि मन थिएन,
त्यसैले त, मैले आफ्नो बाटो बदलेको हो ।

३)
गजल हैन आज एउटा गीत लेख्छु तिम्रो लागि,
नजानेको हाम्रो यही प्रित लेख्छु तिम्रो लागि ।

ख्याल ख्यालमै पनि मान्छे नजीक हुदो रैछ,
नियतीको एउटा नयाँ रित लेख्छु तिम्रो लागि ।

उज्यालोले देख्ला भनी घाम डुबेपछी मात्रै,
पातमाथि जिबन बाच्ने शीत लेख्छु तिम्रो लागि ।

पृथ्वी यो घुम्दै जाँदा कुनै दिन भेट होला,
हार हैन अब देखी जित लेख्छु तिम्रो लागि ।

तिम्रो सबै काहानी त कहाँ थाहा छ र मलाई ?
मन भित्र लगाएको मित लेख्छु तिम्रो लागि ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

No comments: