इच्छा
-बिमल निभा
पहिले ऊ जन्म्यो
त्यसपछि उसका इच्छाहरू
बिस्तारै-बिस्तारै
ऊ चाहन्थ्यो
अकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतीका समस्त भोकाहरूलाई
पेटभरि खुवाउन
ऊ भेडाहरूसँग
प्रेमपूर्वक ऊन माग्न चाहन्थ्यो
र जाडोले थरथरी कामिरहेकाहरूलाई
एक-एकवटा स्वेटर
बुन्न चाहन्थ्यो
पहाडसँग ढुङ्गा,
बादलसँग माटो
सापटी लिएर भए पनि
एउटा विशाल घर बनाऊँ
जहाँ सबै घर नभएकाहरू
अटाउन सकून्
केही दिनदेखि ऊ
इच्छाको गरिरहेको थियो
एकदिन वादशाहलाई
उसको इच्छाको खबर भयो
क्रुद्ध भयो बादशाह
र गर्जिन थाल्यो
मेरो राज्यमा
यस्तो इच्छा राख्नु अपराध हो
समात त्यो व्रि्रोहीलाई
र हाजिर गर मेरो दरबारमा
बादशाह अघि ल्याइयो उसलाई
कड्केर भन्यो बादशाहले
तँ खतरनाक इच्छाहरूको
दोषी होस्
अब मर्नलाई तयार हो
भन्, तेरो अन्तिम इच्छा के छ
उसले पनि कड्केर जवाफ दियो
मेरो अन्तिम इच्छा त्यही हो
जो मेरो पहिलो इच्छा हो
दोस्रो इच्छा हो
तेस्रो इच्छा हो
बादशाह यो सुनेर
झन् क्रुद्ध भयो
र भन्यो
फाँसी दे यसलाई
अन्ततः उसलाई मारियो
उसको हत्याको केही दिनपछि
बादशाह सवारीमा निस्क्यो
उसको बधस्थलनेर पुगेर
चकित भयो बादशाह
जहाँ उसलाई मारिएको थियो
त्यहाँ जीवित थिए इच्छाहरू
सास लिइरहेका
र सक्रिय
यो देखेर बादशाह
क्रोधले बहुलायो
र कराउन थाल्यो
मार, मार इच्छाहरूलाई
तर जति प्रयत्न गरे पनि
हात्ति, घोडा, भाला, तरबार,
सेना, तोप लगाएर पनि
इच्छाहरूलाई मार्न सकिएन
थकित भए
हार माने
सेनापति, भारदार, गुप्तचर र सिपाहीहरू
यही असफलताको शोकमा
बादशाहको मृत्यु भयो
यति भनेर चुप लाग्नुभयो मेरा पिता
मैले प्रश्न गरेँ
के कथा सकियो बुबा ?
उहाँले एउटा लामो सास तानेर
भन्नुभयो
हो छोरा, यो कथा
यहीँ समाप्त हुन्छ
तर समाप्त भएको छैन
उसको इच्छा
अहिले पनि त्यहाँ
जहाँ उसलाई मारिएको थियो
देख्न सकिन्छ
उसका इच्छाहरू
जीवित एवं उत्साहित
चारैतिर फैलिँदै फैलिँदै
गइरहेका इच्छाहरू
अगाडि-अगाडि बढिरहेका इच्छाहरू
एकबाट अनेक भइरहेका इच्छाहरू
असङ्ख्य असङ्ख्य इच्छाहरू
छोरा, उसको इच्छा
आज पनि जिउँदो छ
इच्छाहरू कहिल्यै मर्दैनन्
मेटिन सक्दैनन् इच्छाहरू
के तिमीसम्म त्यो इच्छाको ताप
पुगिसकेको छैन छोरा ।
Monday, December 8, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment