Monday, December 1, 2008

लघुकथा

पालोको पैँचो

-पूजा ढकाल
छोरो कमलको विवाह भयो तर बिहे भएको छ वर्षम्म पनि नातिको मुख हेर्न नपाएकी कमला बुहारीदेखि रुष्ट थिइन् । छिमेकी महिलाहरूसँग भन्ने गर्थिन्, -"त्यो बाँझीको मुख देखेको दिन त मेरो सर्वनाशै हुन्छ । कुन साइतमा ल्याएछ त्यस अलच्छिनालाई ...।" सासूको अनेकौँ खप्की, रिस र कुर्टाई सहेकी बिचरी बुहारी त्यस्ता बचनवाणहरू सुन्नुपर्दा तरक्क आँसु झार्थिन् । उनकी छोरी इश्वरीको पनि बिहे भएको पाँच वर्षभैसकेको थियो । पालाको पैँचो त सबैले तिर्नै पर्छ नि । घरमा तिनलाई केही भन्न बाँकी राखेकी थिइनन् सासू चाहिँले । बाबु, आमा, दाजु सबैको नाम लिएर गाली गरेको सुन्दासुन्दा र डाडु, पन्यूँका अनेकौँ डामहरू थाम्दाथाम्दा असह्य भएर एकाबिहानै माइती आइपुगेकी इश्वरीलाई देखेर सबै अचम्मित र सशङ्कित भए । कमलाले हत्तपत्त सोधिन्, -"के भो नानी ? किन एकाबिहानै, यस्तो अवस्थामा ?" इश्वरी एक्कासी डाँको छोडेर रुन थाली । आमा मैले उनीहरूलाई नाति दिन सकिनँ..." बाँकी शब्दहरू सुन्न सक्ने शक्ति कमलामा थिएन । उनले एक पटक निर्दोष बुहारीको मुहार हेरिन र एकपटक छोरी इश्वरीको । रसाएको आँखाले आज हेर्दा छोरी र बुहारीको मुहार उस्तै-उस्तै लाग्यो उनलाई ।

No comments: