Saturday, November 8, 2008

लेख

कालीको गुनासो

-सन्तोष रिमाल
* कतै आफ्नो भुमरीमा आफैं पर्‍यौ कि
* आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ
* झरेको पातझैं भयो उजाड मेरो जिन्दगी

कालीप्रसाद रिजाल हर्षले गद्गद् हुन्छन्, वर्षौंअघि रचिएका यी गीत अझै पनि प्रसारण माध्यमका रोजाइमा परेको देखेर । दुई/तीन दशक अगाडिका गीत यति सारो चर्चित हुनुलाई उनी कम्ती उपलब्धिमूलक ठान्दैनन् । फेरि उनलाई एउटा डरले पनि सताउँदो रहेछ, 'यदि ती गीत अहिले रचेको भए के हुन्थ्यो होला ?' जवाफ तयारी छ, 'डायरीमा थन्किएका अन्य धेरै 'गम्भीर' गीतकै हविगत हुन्थ्यो सायद । सबैले मन पराउने, तर त्यसलाई श्रव्य सामग्रीको रूप दिन भने अन्कनाउने ।' वर्तमान संगीतकर्मीको मानसिकता पूरै व्यापारिक पाएका छन् यिनले । 'त्यसवेला त नारायणगोपाल थियो, जसले शब्दको गाम्भीर्य बुझ्यो । अहिले त सबै कान्छा र कान्छीको गीत माग्छन्,' 'हल्का' गीतको बोलवालाप्रति उनको गुनासो छ ।
खहरेसँगै बगेर हलुका गीत रचेकामा पछुतो छ उनीसँग । र, साहित्यिक गीत नरोज्ने संगीतकर्मीप्रति गुनासो पनि । उनको बुझाइ छ, 'साहित्य लेख्ने गीतमार्फत हो ।' तर, अचेलका गीतमा उनी साहित्य भेट्दैनन् । रेडियो नेपाल मात्र हुँदा जति स्तरीय गीत बनेका थिए त्यसको अनुपातमा साह्रै कम साहित्यिक गीत उत्पादन भएका छन् जस्तो लाग्छ उनलाई अहिले । सुविधा छ तर सिर्जना छैन भन्न उनले धेरै बेर सोचेनन् ।
संगीत व्यवसायीका लागि उनको कलम गतिशील हुन छाडेको छ । उनले कारण देखाए, 'संगीतलाई व्यापार ठान्नेसँग त म कुनै हालतमा पनि सहमत हुन्नँ । अनि उनीहरूले भनेजस्तो व्यापारिक गीत कसरी रचूँ ?' पुराना गीतको उचाइ अग्लिनुको पछाडि उनले देखेको एउटै पक्ष हो, व्यावसायिक सफलताको लालसाबाट मुक्त सिर्जना । संगीतक्षेत्रमा देखिएको नयाँ तत्त्व 'व्यापार'ले स्तरमाथि असर पुर्‍याएको उनको ठम्याइ छ । रिजाल स्वयंलाई आफ्ना पछिल्ला गीत निकै कमजोर लाग्छ अघिल्ला गीतको तुलनामा । जतिखेर नेपाली संगीतक्षेत्रमा क्रियाशील थिए, शिवशंकर, नातिकाजी र नारायणगोपालजस्ता स्रष्टा । 'त्यतिखेरका संगीत साधना र तपस्याका उपज थिए । जति सिर्जना गरिन्थ्यो मात्र आत्मसन्तुष्टिका खातिर,' उनले भने, 'व्यापारलाई महत्त्व दिएर तयार पारिएका गीत-संगीतमा आत्मसन्तुष्टि कहाँ मिल्छ र !'
आत्मसन्तुष्टि नभेटेपछि कम गरेँ भन्छन् गीत रचना गर्न । उनलाई चलचित्रका गीतप्रति त झनै ठूलो विकर्षण रहेछ । आधुनिक गीतका तुलनामा साह्रै कमजोर लाग्ने चलचित्रका लागि रचना गर्न छाडेको लामै समय बित्यो भन्छन् । जाँगर नलाग्नुका पछाडि विभिन्न कारण रहेछन् यिनीसँग । मुख्यतः संगीतकारको व्यवहारमाथि नै उनको गुनासो छ । उनी गीतको स्तर खस्कनुको मुख्य दोषी देख्छन् संगीतकारलाई । 'राम्रो संगीत त सिर्जना गरेनन्, गरेनन्, शब्दको मर्यादालाई पनि ख्याल नगर्ने परिपाटीसमेत भेटेँ,' भन्छन् उनी धेरै संगीतकारमा । रेकर्डिङका लागि मुम्बई पुर्‍याउन सक्ने, भारतीय गायक/गायिकाको आवाज खरिद गर्न सक्ने, तर रचनाकारलाई उचित पारिश्रमिक दिलाउन नसक्ने संगीतकर्मीलाई उनका आँखाले 'निरीह' देखेका छैनन् । बरु अधिकांशमा हेपाहा प्रवृत्ति देख्छन् रिजाल । बाजा बजाएपछि गीत भइहाल्छ भन्ने सोच बोकेका व्यक्तिका कारण अरू धेरै रचनाकार तर्किएको पाएका छन् रिजालले ।'चलचित्र संगीतमा आफूलाई बादसाह सम्झने व्यक्तिसमेत हजार रुपैयाँखाले गीत लेखिदिन अनुरोध गर्छन्,' उनले एउटा तीतो अनुभव सुनाए, 'एकजना चलेका संगीतकार निर्देशकलाई लिएर मकहाँ गीत माग्न आए । रमाइलो र उदासी दुवै अवस्थालाई समेट्नुपथ्र्यो गीतले । गीतको अवस्था बुझेपछि मैले समय र पैसाबारे सोधेँ । उनीहरूसँग समय पनि दुई दिनभन्दा बढी थिएन र पैसा त पन्ध्र सयभन्दा बढी दिने छाँटकाँट देखाएनन् ।' त्यसपछि त निर्मातालाई गीत सित्तैमा पाइने चिज हो भन्ने सोच संगीतकारले भरिदिएका हुन् भनेर ठोकुवा गर्न सकेँ भन्छन् रिजाल । तर, समय र पारिश्रमिक दुवैमा सीमा तोक्ने ती चलचित्रकर्मीका लागि कस्तो गीत दिए त यिनले ? 'उनीहरूको सर्त सुनेपछि मैले एक घन्टामा आउनू, गीत दिन्छु । पैसा पनि एक हजार मात्र दिए हुन्छ । तर, त्यस गीतमा नामचाहिँ तपाईंकी श्रीमतीको राखिदिनुहोला भनेँ । त्यसपछि ङिच्च हाँसेर हिँडेका उनीहरू फर्किएर आएनन् ।'चलचित्रमा बम्बइया प्रभाव देख्ने रिजाललाई गीत पनि त्यसको असरबाट मुक्त छ जस्तो लाग्दैन । उनले चलचित्रकर्मीबाट सुनेका छन्, 'गम्भीर गीत चल्दैन, हल्का गीत राख्नु हाम्रो बाध्यता हो ।' व्यापारिक बाध्यता देखाउनेसँग उनी केही हदसम्म सहमत छन् । तर, त्यसका नाममा सबै गीतलाई हलुका बनाउनेप्रति भने चर्कै आक्रोश छ । 'पाँचवटामा एउटा गीत त स्तरीय राख्न सकिन्छ नि ! अहिलेका गीत हेर्दा त म कुनै कोणबाट पनि चित्तबुझ्दो पाउँदिनँ ।'श्रोता/दर्शकलाई दोष दिएर कमसल गीतको सिर्जनामा लागेकाहरूप्रति उनको प्रश्न छ, 'ती गीतले चाहिँ प्रशस्त व्यापारिक सफलता कमाएका छन् त ?' उनले बुझेका छन्, सिनेमाका गीतले खर्च नउठाउने कुरा । त्यसैले दर्शकको माग यस्तै छ भन्नेहरूसँग आफू असहमत रहेको उनले सुनाए ।रेकर्डिङका लागि सुविधासम्पन्न स्टुडियो छन्, प्रसारणका लागि प्रशस्त सञ्चारमाध्यम छन् । उनलाई लाग्दैन, कुनै खास कारणले नेपाली संगीतक्षेत्रको विकासमा अवरोध खडा भएको छ । दर्शकको रुचि जाग्ने खालका गीत सिर्जना नहुनुलाई नै उनी समस्याको जड मान्छन् । 'गीत भनेकै हिन्दी गीत हो भन्ने अवस्थालाई पार गरेर आएका मान्छे हामी । रेडियो नेपाल नै नखुलेको अवस्थामा हिन्दी गीतको बोलवाला हुनु नौलो कुरा थिएन । तर, रेडियो नेपालका माध्यमबाट मात्र भए पनि अग्रज स्रष्टाहरूले श्रोताको मस्तिष्कमा नेपाली गीत-संगीत भर्न सके,' तर त्यस इतिहासले वर्तमानमा निरन्तरता पाउन नसकेकामा दुःखी छन् कालीप्रसाद । स्तरीय गीतले श्रोता पाउँछन् भन्ने कुराको प्रमाण मान्छन् उनी गोपाल योञ्जन, शिवशंकर र नातिकाजीका सिर्जनालाई । ती गीत अहिलेसम्म अमर रहनुका पछाडि उनले देखेको एउटै कारण हो 'स्तरीयता' । वर्तमान संगीत उद्यमीले यो यथार्थ किन बुझेनन् त्यो भने कालीप्रसादले पनि बुझ्न सकेका छैनन् । निरासै-निराशाबीचमा पनि उनलाई आशावादी बनाएको रहेछ लोकगीतको विकासले । 'ग्रामीण भेगको दायराबाट माथि उठ्न नसकेको लोकगीतले हिन्दी गजल घन्किने रेस्टुराँमा स्थान ओगटेको छ,' उनी यसलाई लोक-संगीतले मारेको ठूलो फड्को सम्झन्छन् । 'विकृति यसभित्र पनि छ । तथापि, नेपालीपनको आभास दिलाउने भएकाले लोकगीतप्रति मेरो धारणा नकारात्मक छैन,' उनले आफ्नो धारणा पोखे । समयसँगै विकास भएका पप, हिपहप, रकलगायत जुनसुकै शैलीका गीतप्रति पनि धारणा सकारात्मक छ उनको । तर, सबैमा खाँचो देख्छन् नेपालीपनकै ।

उनका रचनाले श्रव्य स्वरूप पाउने सिलसिला घटेको छ । तर, उत्तिकै छ भन्छन् सिर्जनाको क्रम । गम्भीर गीत माग्न उनीकहाँ कोही पनि आउँदैनन् । उनी चाहँदैनन् हल्का गीत रचना गर्न । त्यसो भए उनका रचनाको उपयोगिता कसरी हुन्छ ? उनले जिज्ञासा मेटाए, 'सकेसम्म आफैं एल्बम निकाल्छु । नभए मेरा सिर्जना डायरीमा सुरक्षित रहन्छ, भावी सन्ततिको जिम्मामा । तर, मर्म नबुझ्नेहरूलाई म गीत दिन सक्दिनँ ।'


-ईमेल: nsantro@gmail.com
साभार: नया पत्रिका

No comments: